२०८२ चैत्र २९
२०८२ चैत्र २९

 

चितवन, ५ असाेज ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले रेडक्रसकर्मी कृष्णप्रसाद ढकाललाई मानवीय सेवा अवार्ड प्रदान गर्ने भएको छ । असोज २५ गते भरतपुरमा हुने ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा मानवीय सेवा विधातर्फ ढकाललाई सम्मानीत गर्न लागिएको हो ।

मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले कोभिडसहितका विभिन्न असहज अवस्थामा बिरामीको उद्धार तथा रगतको प्रबन्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न ढकालले खेलेकाे भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई मानवीय सेवा विधातर्फ सम्मानीत गर्न लागिएको बताए ।

 

२०३३ सालमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ मा जन्मिएका ढकाल हाल भरतपुर–७ स्थित श्रीकृष्ण टोलमा बस्दै आएका छन् । रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजकको रुपमा रहेका ढकालले रगतको आवश्यकता पर्ने बिरामीहरुलाई रगत जुटाउने काम गर्दै आएका छन् भने आफैँले हालसम्म ३८ पटक रक्तदान गरिसकेका छन् ।

 

नियमित रक्तदाता ढकाल नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाका निवर्तमान सभापति समेत भइसकेका छन् । उनी उपशाखा सभापति रहँदा जिल्लाका ४२ वटा उपशाखामध्ये कृष्णपुर उपशाखालाई जिल्लामै उत्कृष्ट बनाउन सफल भएका थिए । कोभिड कहरका समयमा व्यक्तिले व्यक्तिलाई छुन पनि हुँदैन भन्ने भावना विकास भइरहेको अवस्थामा ढकालले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजाने ल्याउने काममा आफूलाई अग्रभागमा राखेका थिए ।

 

२०६५ सालदेखि रेडक्रसमा आबद्ध भएर विभिन्न भूमिका निभाउँदै आएका ढकाल सिर्जनशील समाज नेपालका कोषाध्यक्ष, मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यसमिति सदस्य, श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठानका कार्यसमिति सदस्य, श्रीकृष्ण टोल विकास संस्थाका पूर्वअध्यक्ष, नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, क्यान्सर सेवा समाजका आजीवन सदस्य छन् । भरतपुरको सिजी मलमा रहेको सिनेप्लेक्समा आयोजना हुने अवार्ड तथा सम्मान वितरण कार्यक्रमा मिडिया हाउसले जिल्लाबाट वरिष्ठ पत्रकार नवराज ढकाललाई पत्रकारिता विधातर्फ सम्मानित गर्ने जनाइसकेको छ भने थप नामहरु सार्वजनिक गर्दै जाने महाप्रबन्धक कार्कीले बताए ।

 

महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदैछ । ‘चितवनमै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दैछौँ’ उनले भने, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदैछ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटो यात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।

 

देशभरबाट विभिन्न विधाका दुई दर्जन कालाकारहरुलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए ।

कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उनले जाेड दिए ।  अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उनले बताए । २०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।

 

काठमाडाैं, ५ असाेज । 

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ ।

 

यस मुशायरामा आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाको तरुन्नमका जादूमय प्रस्तुति रहनेछ ।

 

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ । यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गर्ने कार्यक्रम छ ।

 

यस कार्यक्रमको मुख्य प्रायोजकमा रूपमा ग्लोबल आइएमई बैँक तथा अन्य सहयोगी एवं सहप्रयोजकहरूमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम लि., सूर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन् ।

संस्थाले आगामी २०८० कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

 

काठमाडौं, ३ असाेज ।

सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए । फिल्म पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन, प्रतिमा थापाको प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोडुसर छन् ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपालभरको वितरण जिम्मा लिएको छ। फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिईसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले जानकारी दिए।

निर्माता अधिकारी नयाँ फिल्म ‘डलर एयुडी’ को तयारुीमा छन् । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । सन्तोष ‘घर’ र ‘आमा’का सह–निर्माता पनि हुन् । उनको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

 

काठमाडौं, ३ असोज ।

लिटिल बुद्धका रुपमा परिचित र्यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए ।

पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन् ।

कन्सर्टको सुरुवात कारे महर्जन र डीजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए । यो प्रस्तुतिपछि साकार स्टेजमा उपस्थित हुँदा दर्शकले ‘साकार साकार’ भन्दै स्वागत गरेका थिए । उनको कन्सर्ट हेर्न करिब ७ सय दर्शक उपस्थित थिए ।

पहिलो गीतको प्रस्तुतिपछि साकारले उपस्थित पोखरेली फ्यानप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’का गीत सुनाएका थिए ।

साकारले कन्सर्टमा दिवंगत गुरु यम बुद्धलाई समर्पित गर्दै ‘सपना’ गीत गाएका थिए । यो गीतको ओरिजिनल कम्पोजर यम नै हुन् । यो गीत गाइरहँदा उनले मानसिक अस्वस्थताका बारेमा मन्तव्य दिएका थिए । मानिस मानसिक रुपमा अस्वस्थ रहँदा उसलाई के कस्तो असर पर्छ भन्ने कुरा सुनाएका थिए ।

साकारको सांगीतिक टुरको व्यवस्थापन पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले गरेको हो । पोखरा कन्सर्टको संयोजन स्टिभ देवनले गरेका हुन् । स्टिभका अनुसार पोखरा पछि साकारले पूर्वको इटहरी र बिर्तामोडबाट नेपाल टुर सुरु गर्नेछन् ।

 

 

भक्तपुर, ३ असोज ।

नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवको सह–आयोजनामा संघको ३३औँ स्थापना दिवस  अवसर पारी  भक्तपुरमा तेश्रो खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग  बुद्धिचाल प्रतियोगिता–२०८० हुने भएको छ ।

नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभागका संयोजक तथा प्रतियोगिताका चिफ आर्विटर फिडे राजकुमार लघुका अनुसार प्रतियोगिता असोज १९ र २० गते दुई दिन भक्तपुर भेलुखेलस्थित आदर्श आजाद माध्यामिक विद्यालयको सभाहलमा हुनेछ ।

प्रतियोगिता अन्तराष्ट्रिय बुद्धिचाल महासंघबाट मान्य प्राप्त रहेको छ । प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन तथा पूर्व राष्टिय च्याम्पियनहरुसहित १०० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने बताइएको छ । नेक्रायुसंघको ३३ औं स्थापना दिवसको अवसरमा हुने खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग  बुद्धिचाल प्रतियोगिता–२०८० मा रु ५० हजार नगद पुरस्कारको साथै आकर्षक ट्रफी तथा मेडलको बन्दोबस्त गरिएको छ । प्रतियोगिता स्वीग लिग प्रणाली अनुसार ९ चरण  खेलाइने छ ।

प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्न प्रतियोगिता आयोजक समितिका संयोजक एवं निणार्यक समितिका संयोजक राजकुमार लघुको संयोजकत्वमा निर्णायक समिति, राष्ट्रिय कराँते खेलाडी रामशरण त्वातीको संयोजकत्वमा प्रचार प्रसार समिति, राष्ट्रिय बुद्धिचाल खेलाडी एण्डिज ग्वाछाको संयोजकत्वमा  आर्थिक  समिति,  भक्तपुर चे क्लवका सचिव इन्द्रभक्त पंचको संयोजकत्वमा पुरस्कार व्यवस्थापन समिति र रत्ना चवालको संयोजकत्वमा खेलस्थल तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।

 

प्रतियोगितालाई नेपाल बुद्धिचाल सघं र भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा गर्नेछ । प्रतियोगिता ब्यवस्थित र भव्यरुपमा सम्पन्न गर्न विभिन्न संघ संस्था र ब्यवसायी तथा खेलप्रेमी महानुभावहरुलाई नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभाग तथा भक्तपुर चेस क्लवले  अनुरोध गरिएको छ ।

काठमाडौं, ३ असोज ।
चर्चित गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिका प्रोपाईटर सुवास रेग्मीबीचको विवादमा प्रतिलिपि अधिकारबारे गलत नजिर बस्न लागेको भन्दै स्रष्टाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

जिल्ला अदालत काठमाडौंले यी दुईबीचको विवादमा प्रतिलिपि अधिकार गायकमा हुने गरी फैसला गरेपछि स्रष्टाहरु यही नजिर बस्नेमा चिन्तित देखिएका हुन् ।

 

जिल्ला अदालत काठमाडौंले प्रतिलिपि अधिकार सम्बन्धमा त्रुटिपूर्ण फैसला गरेपछि गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबीचको विवाद थप लम्बिएर जाने देखिएको छ । अदालतले गायक प्रमोद खरेलमाथि प्रतिलिपि अधिकार भएको भन्दै उनको पक्षमा फैसला गरेको छ । प्रतिलिपि अधिकार ऐन ५९ अन्तर्गत गीत लेख्ने र संगीत भर्नेसँग मात्र प्रतिलिपि अधिकार हुन्छ भन्ने कुरामा न्यायाधीशले विवेक नपुर्याएको कानुनका जानकारहरु बताउँछन् ।

प्रमोद खरेल गायक मात्र हुन् । प्रतिलिपि अधिकार सम्बन्धी कानुनले प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक दुवैलाई प्रतिलिपि अधिकार दिएको छैन । तर, जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिना शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपि अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको छ । न्यायाधीशले प्रतिलिपि ऐनको विरुद्धमा गएर खरेललाई यसको अधिकार भएको ठहर गरेका छन् ।
कानुनका जानकारहरुका अनुसार गायकलाई प्रतिलिपि अधिकार दिनु भनेको न्यायिक विचलन हो । यसमा न्यायाधीशले नबुझेको वा बुझेर पनि प्रभावमा परेर फैसला गरेको भन्ने देखिन्छ । अर्को यही विषयमा उच्च अदालत पाटनले गरेको फैसलाबिरुद्ध गएर जिल्ला अदालतले फैसला गरेको छ । एउटै विषयमा उच्च र जिल्लाको फैसलामा अन्तर आउनुले पनि न्यायाधीशमा विचलन देखिएको जानकारहरु बताउँछन् ।

 

उच्च अदालतले कसुर ठहर नगरेको र सच्याउन भनेको विषयलाई जिल्ला अदालत काठमाडौंले भने दोषी करार गरेको छ । विवादको खास विषय प्रतिलिपि अधिकार भन्दा पनि आर्थिक लेनदेनको भएको देखिन्छ । जिल्ला अदालतले दुवैलाई प्रतिलिपि अधिकारमा दावी गर्न नमिल्ने विषय भए पनि खरेललाई अधिकार भएको भनेको छ । गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपि अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी दिएको फौजदारी जाहेरीका आधारमा मुद्दा चलेको देखिन्छ । जबकी यो विषय देवानी संहिताको क्षेत्राधिकार भित्र पर्ने देखिन्छ ।

जिल्ला अदालतको यो फैसलाप्रति गीतकार र संगीतकार बढी नै सशंकित देखिएका छन् । प्रमोद खरेल र सुवास रेग्मीबीचको विवादबारे संगीतबार विनीत किरणले अदालतको फैसलाले गलत नजिर बस्न सक्नेप्रति आफूहरु सशंकित रहेको बताए । अदालतले के फैसला गर्यो भनेर आफूले हेर्न नपाए पनि बजारमा आएका हल्ला अनुसार प्रतिलिपि अधिकारमा अदालतको फैसलाले गलत नजिर बसाउन सक्ने बताए । उनले प्रमोद र सुवासबीचको विवाद केवल आर्थिक मात्र भएको तर अदालत गएपछि यसको फरक र गलत ढंगले व्याख्या हुन थालेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने,‘ प्रमोद र सुवासको विषय एउटा सम्झौता हो । सम्झौता अनुसारको समय सकिएपछि उसले आफ्नो सामान फिर्ता मागेको हो । सम्झौताको करार अवधि सकिएपछि अब कसरी अगाडि जाने भन्ने विषयमा कुरा नमिल्दा उनीहरुमा विवाद आएको हो । मैले पनि प्रमोदलाई एउटा गीत दिएको थिए । गीत गाएर आएको पारिश्रमिक तिमीले खाने अधिकार भएपनि त्यसको प्रतिलिपि अधिकार चाँही मसँग नै हुन्छ भनेको थिए । तर, मुद्दा अदालत गएपछि कुरा अकै भएर आयो । हामी स्रष्टा सचेत हुनुपर्ने बेला आयो ।’

उच्च अदालतले कसुर ठहर नगरेको र सच्याउन भनेको विषयलाई जिल्ला अदालत काठमाडौंले भने दोषी करार गरेको छ । विवादको खास विषय प्रतिलिपि अधिकार भन्दा पनि आर्थिक लेनदेनको भएको देखिन्छ । प्रतिलिपि अधिकारमा दुवैलाई दावी गर्न नमिल्ने विषय भएपनि जिल्ला अदालतले खरेललाई अधिकार भएको भनेको छ । गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपि अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी दिएको फौजदारी जाहेरीका आधारमा मुद्दा चलेको देखिन्छ । जबकी यो विषय देवानी संहिताको क्षेत्राधिकार भित्र पर्ने देखिन्छ ।

गीतकार एवं रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले यो एउटा एल्बमको विवाद भएको बताए । लेनदेनको विषय भएकाले यो उनीहरू दुईजना बीचको मात्र कुरा भएको उनको भनाइ छ । उनले आर्थिक लेनदेनको विषयलाई प्रतिलिपि अधिकारसँग जोडेर गलत गरिएको दावी गरे । उनले स्रष्टाका अधिकारमाथि तलमाथि हुने अवस्था आए चुप लागेर बस्न नमिल्ने बताए । अधिकारीले प्रमोद र सुवास बीचको विषय प्रतिलिपि अधिकारभन्दा फरक भएको बताए ।

अधिकारीले भने, ‘यहाँ धेरै कुरा आएका छन् । मान्छेले बुझेर गरेका छन कि नबुझी । प्रतिलिपि अधिकार स्रष्टासँग मात्र हुन्छ । यी बाहेक अरू कसैसँग पनि यो अधिकार हुँदैन । कसैले यो अधिकार कुनै गायक वा उत्पादकसँग छ भन्छ भने त्यो गलत हो । अदालतले पनि प्रतिलिपि अधिकारसँग जोडेर फैसला गरेको भन्ने सुनेको छु तर, हेरेको छैन । अदालतको पूर्णपाठ कसरी आउँछ त्यो अनुसार आमी अगाडि बढ्छौ ।’

जिल्ला अदालत काठमाडौंले हालै गरेको फैसलामा भनिएको छ, ‘यसमा जाहेरवाला र प्रतिवादीबीच २०६६÷१२÷२७ गतेमा भएको करारबाट “प्रणय गीति संग्रह”मा रहेका गीतहरूको प्रतिलिपि अधिकार प्रमोद खरेलमा रहेको कुरा करारबाट प्रतिवादीहरुले स्वीकार गरेको पाइन्छ । सोही करारमा उक्त गीति संग्रहमा रहेका गीतहरूको सिर्जना सम्बन्धमा विवाद भएमा प्रमोद खरेलले नै विवाद सुल्झाउने भनी उल्लेख गरेको पाइयो । जसबाट सो गीति संग्रहमा प्रतिवादीहरुको प्रतिलिपि अधिकार रहेको भन्ने देखिन आएन । गीति संग्रह निर्माणमा प्रतिवादीले १ लाख १० हजार रूपैयाँ खर्च गरेको तथा भिडियो निर्माण तथा गीति संग्रहको प्रवर्द्धनमा समेत खर्च हुने ३ लाख रूपैयाँसमेत गरी जम्मा रु ४ लाख १० हजार रूपैयाँ प्रमोद खरेलले पाउने रोयल्टीबाट असुल उपर गर्ने र असुल उपर भएपछि मात्र प्रमोद खरेलले रोयल्टी पाउने भनी उल्लेख भएको र करार अवधि २०७१÷ १२÷ २६ गतेसम्म रहेको देखिँदा ध्वनी अंकन र सोबाट प्राप्त हुने लाभ र रोयल्टीमा करारको अवधिभन्दा बढी समयसम्म प्रतिवादीले प्रयोग गर्न पाउने भन्ने देखिन आएन ।

सो फैसलामा भनिएको छ, करारबाट जाहेरवालाले पाउने रोयल्टी रकमबाट नै गीति संग्रह निर्माणमा भएको खर्चसमेत असुलउपर गरिने भनि उल्लेख भएबाट सो गीति संग्रह निर्माणमा अप्रत्यक्ष रुपमा जाहेरवालाले प्राप्त गर्न रकम नै खर्च भएको देखिन आउँछ । तसर्थः यी प्रतिवादीहरुलाई ५० वर्षसम्म ध्वनी अंकनको अधिकार मान्न मिलेन । अतः प्रतिवादीहरुले जाहेरवालामा रहेको प्रतिलिपि अधिकार अन्तर्गतको प्रणय गीति संग्रह करार अवधि समाप्त भएपछि पनि करारको सर्त विपरीत प्रयोग गरेको देखिन आएकाले प्रतिवादीहरु सुवास रेग्मी र लिना शर्मा रेग्मीले अभियोग दावी बमोजिम प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५(१) (क) बमोजिमको कसुर गरेको ठहर छ, भनेको छ ।

यस फैसला अनुसार प्रतिलिपि अधिकार प्रमोद खरेलसँग भएको ठहर गरेको छ । फैसलाले विन्ध्यवासिनी म्युजिक प्रालिका सुवास रेग्मीले प्रतिलिपि अधिकार गायकलाई दिनुपर्ने भन्ने कुरा जनाउँछ । अझ न्यायाधीशले ऐनलाई करारले जित्छ भन्ने ढंगबाट फैसला गरेको देखिन्छ । जबकी दुई जनाबीच करार हुँदा सो करार मै स्पष्ट सँग भनिएको हुन्छ की दुई बीचको सहमति वा शर्त कानुन वा ऐनसँग बाझिएको हकमा स्वतः बदर भन्ने उल्लेख हुन्छ । यस्तै एउटा उत्पादकले कसरी प्रतिलिपि अधिकार पत्र अरूलाई दिन सक्छ भन्ने कुरामा न्यायाधीशको विवेक नपुगे कै देखिन्छ । एउटा गीतकारको गीत छ र अर्को संगीतकारको संगीत छ । जबकी वादी र प्रतिवादी दुवै पक्षसँग प्रतिलिपि अधिकार छैन ।

 

यसमा भएको सम्झौता अनुसार आम्दानी खाने तीन पक्ष देखिन्छन् । सुवास रेग्मीले यी सबैको प्रतिलिपि अधिकार गायकलाई दिने र उनीहरुलाई यसको धनी मान्दिने अधिकार हुँदैन । पैसाको हर हिसाबमा वा आम्दानीबारे करार अवधि ५ बर्ष मात्र भएको छ । यस भन्दा पछि गएर दावी गर्न समेत नमिल्ने अवस्था करारमा उल्लेख छ । यस अनुसार उत्पादन गर्ने कम्पनीको उत्पादन गर्ने अधिकार ऐन बमोजिम हुने की करार बमोजिम हुने भन्ने व्याख्या अदालतले गर्नुपर्ने हो । तर मुद्दाको मूल विषय प्रतिलिपि अधिकार कसको हो ? यो विषय फौजदारी हो की देवानी ? अनि आर्थिक लेनदेन मात्र विषय हो की के हो भन्ने बारेमा अदालतले फैसलामार्फत व्याख्या गर्नुपर्नेमा ऐनलाई करारले निर्देशित गरेको न्यायाधीशले जारी गरेको संक्षिप्त आदेशमा उल्लेख छ ।

गीतकार राजेन्द्र थापाका अनुसार यो विषय धेरै विवादको विषय नै थिएन । सुरुमा प्रमोद खरेलले धौलागिरिलाई दिन खोजेका थिए । तर पछि साथीभाइहरुले पहल गरेपछि सुवासलाई दिएका हुन् । उनीहरूबीच ५ वर्षको सम्झौता भएको थियो । प्रमोदले माग्दा सुवासले नदिनु विवादको जड भएको र यो विशुद्ध आर्थिक विषय भएको गीतकार थापाको भनाइ छ । उनले यो विवाद प्रोर्पटी राइटको भएको र कपी राइटको नभएको बताए । सम्झौतामा महेश खड्का र प्रमोदले ५०÷५० प्रतिशत आम्दानी बाँडेर लिने सहमति भएको थियो । थापाले अझै मुद्दा मामिलामा जानुभन्दा दुवै जना मिल्नुपर्ने बताए ।

 

संगीतकार संघका महासचिव वसन्त सापकोटाले सामान्य विषयलाई रनभुल्ल बनाइएको बताए । उनले सम्झौता अनुसार समय सकिएपछि प्रमोदले मागेको खण्डमा सुवासले दिनुपर्ने बताए । गीतकार र संगीतकारका विषयमा पनि नबुझी रनभुल्ल बनाउन खोजिएको भन्दै सापकोटाले अदालतको पूर्णपाठ आएपछि मात्र आफू यस विषयमा बोल्ने बताएका उनले पनि यो आर्थिक विषय मात्र भएको दावी गरे ।
गीतकार संघका अध्यक्ष वसन्त विन्यासी थापाले आर्थिक लेनदेनको विषयलाई प्रतिलिपि अधिकारसँग जोडेर अदालत लगिएको र त्यो सबै हेरेपछि मात्र यो विषयमा संघले धारणा सार्वजनिक गर्ने बताए ।

 

यस्तै रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले यो एउटा एल्बमको विवाद भएको बताए । लेनदेनको विषय भएकाले यो उनीहरू दुईजनाबीचको मात्र कुरा भएको उनको भनाइ छ । उनले आर्थिक लेनदेनको विषयलाई प्रतिलिपि अधिकारसँग जोडेर गलत गरिएको दावी गरे ।

अधिकारीले भने, ‘यहाँ धेरै कुरा आएका छन् । मान्छेले बुझेर गरेका छन कि नबुझि । प्रतिलिपि अधिकार स्रष्टासँग मात्र हुन्छ । यी बाहेक अरू कसैसँग पनि यो अधिकार हुँदैन । कसैले यो अधिकार कुनै गायक वा उत्पादकसँग छ भन्छ भने त्यो गलत हो । अदालतले पनि प्रतिलिपि अधिकारसँग जोडेर फैसला गरेको भन्ने सुनेको छु तर, हेरेको छैन । अदालतको पूर्णपाठ  आओस् अनि के भन्नुपर्ने हो त्यो संस्थागत रुपमा भनौँला ।’

 

अदालतको फैसलाले गीत उत्पादन र प्रयोगको अनुमति मात्र लिएका गायक र उत्पादक बीचको करारले श्रृजना गरेको प्रतिलिपि अधिकार धनी को हो भन्ने किटानी नजिरले भविष्यमा श्रष्टाहरुको प्रतिलिपि अधिकारको संरक्षण कसरी होला भन्ने प्रश्न खडा गरेको छ । गायक खरेल र उत्पादक सुवासबीचको विवाद प्रतिलिपि अधिकारको नभएको श्रष्टाहरु बताउँछन् । उनीहरुको भनाइमा यो विशुद्ध आर्थिक लेनदेनको विषय हो । यसमा प्रतिलिपि अधिकार लिने वा दिने भन्ने प्रसंग नै आउँदैन ।

 

काठमाडौँ, ३० भदौ।

गायक आनन्द कार्की र गायिका मिलन नेवारको  एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा  प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ ।

 

गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको  यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक  सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् ।

 

र्‍याम्प हुँदै  म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।

 

भिडियो लिंक : https://youtu.be/rigwj05lsFg

 

 

काठमाडौं, ३० भदौं ।

सन्तोष अधिकारी फिल्मसको व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ।

निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।

 

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

 

फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए । फिल्म पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन, प्रतिमा थापाको प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोडुसर छन् ।

 

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएको छ। फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिईसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले जानकारी दिए।

 

निर्माता अधिकारी नयाँ फिल्म ‘डलर एयुडी’ को तयारीमा छन् । यो फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । सन्तोष ‘घर’ र ‘आमा’का सह–निर्माता पनि हुन् । उनको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

मुम्बई, २८ भदौं । शाहरुख खानको जवानले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यसमा सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

 

शाहरुखको दोहोरो भूमिकालाई मानिसहरुले निकै रुचाइरहेका छन् । बुवाको भूमिकामा पनि शाहरुखको स्वैग प्रष्ट देखिन्थ्यो । जवान चाँडै ४०० करोड क्लबमा सामेल हुन लागेका छन्। फिल्मले ७ दिनमै यति ठूलो कलेक्सन गरेको छ । जवान थिएटरहरूमा लहरहरू मचाउँदैछ, अब प्रशंसकहरू यसको ओटिटी रिलीजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। जवानको ओटीटी अधिकार बेचिएको छ। यो फिल्म कुन ओटीटी  प्लेटफर्ममा रिलिज हुनेछ भनी जानौं ।

 

शाहरुख खानको जवानले बक्स अफिसमा मात्र राम्रो कमाई गरिरहेको छैन, यसको ओटीटी राइट्स पनि करोडौंमा बिक्री भएको छ । यसपछि फिल्मको नाफा निकै राम्रो हुने र यो फिल्म लामो समयसम्म हलमा रहनेछ ।

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने नेटफ्लिक्सले जवानको ओटीटी अधिकारहरू किनेको छ। नेटफ्लिक्स र जवान बीचको सम्झौता करोडौंको छ। रिपोर्टका अनुसार जवानको ओटीटी अधिकार २५० करोड भारुमा बेचिएको छ । यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । जे होस, शाहरुखको जवानले ओटिटी प्लेटफर्ममा सर्बाधिक मुल्यमा बिक्रीको रेकर्डसमेत राखेको छ ।

 

जवानको ओटीटी रिलिज मिति अझै खुलाइएको छैन। नियम अनुसार कुनै पनि चलचित्र थिएटरमा रिलिज भएको ४ हप्तापछि ओटीटी प्लेटफर्ममा रिलिज हुन्छ । तर जवानले संकलन गरिरहेको हुनाले अलि ढिलो रिलिज हुनेछ ।

 

जवानको बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने फिल्मले सात दिनमा भारतमा ३६८.३८ करोडको व्यापार गरेको छ । यो फिल्मले तमिल र तेलुगुमा पनि राम्रो कलेक्सन गरिरहेको छ । विश्वव्यापी सङ्कलनको कुरा गर्दा जवानले ६०० करोड रुपैयाँ नाघेको छ ।

 

काठमाडौं, २४ भदौ।

भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामाले आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने भएकी छन् ।

 

साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि हुनेछ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

 

केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए ।
‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन ।

 

यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।

मिलनले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरु गाउनेछिन्’, मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुशीको कुरा भएको बताए ।
आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।