आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहटको वनमा दैनिक एक सयदेखि एक सय दश ओटा काँचो रुख अवैध रुपमा कटान गरी तस्करी हुने गरेको आरोप लगाइएको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल, रौतहटले शनिवार आयोजना गरेको भन्डाफोर कार्यक्रमका अभियन्ताहरुले रौतहटको वन तथा चुरे क्षेत्रलाई सखाप बनाउने काममा धेरै जनाको संलग्नता रहेको आरोप पनि लगाएका छन् ।

अभियानका राष्ट्रिय सुनिल यादवले गत दुई महिनामा पाँच हजारभन्दा बढी रुख फँडानी भएको आरोप लगाएका छन् । गरुडामा आयोजित विरोध जुलुस प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय संयोजक यादवले रौतहटका डिएफओ, प्रदेशका वन मन्त्री र वन मन्त्रालयका सचिवको मिलोमतोमा रौतहटको वन सखाप भइरहेको गम्भीर दोषारोपण गरेका छन् ।

चन्द्रपुरको गैंडाटारमा पाँच बिगाहा क्षेत्रफलमा बन फँडानी गरेको र आफूले घटना सार्वजनिक गरेपछि ढाकछोप गर्न बैसाख महिनाको ४० डिग्री घाममा पनि वृक्षारोपण गरी हजारौँ बोटबिरुवाको हत्या गर्ने काम पनि गरेको आरोप यादवले लगाएका छन् । यादवले सिन्धुलीको मरिनबाट रौतहट चोचा र वृन्दावनको वन क्षेत्रमा मानिस ल्याएर बसाउने काम अवैध रुपमा वन प्रशासनको मिलोमतोमा भइरहेको आरोप पनि लगाएका छन् ।

यसै गरी डिएफओले आफ्नो छोरालाई नै वनको काठमो टेन्डर दिने गरेको आरोप लगाउँदै सप्तरीबाट वनमा लेबर ल्याएको कुराको पनि विरोध गरेका छन् ।
राष्ट्रिय संयोजक यादवले एक लाखभन्दा बढी क्युफिट काठको अवैध तरिकाले टेन्डर गरी करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र लाखौँ रुपैया राजस्व घाटा गराएको आरोप डिभिजन बन कार्यालय रौतहटका प्रमुख डिएफओ हेमन्त साहमाथि लगाएका छन् ।
यादवले मधेश प्रदेशका वन मन्त्री त्रिभुवन साह र वन मन्त्रालयका सचिव उद्धव घिमिरेको संलग्नतामा नै रौतहटको वन क्षेत्र फँडानी भइरहेको आरोप लगाउँदै स्वतन्त्र छानबिन र अनुगमनका लागि चुनौती दिएका छन् ।
अभियानका जिल्ला सचिव रामानन्द माझीले संचालन गरेको कार्यक्रममा जिल्ला संयोजक राजेश भन्डारी तथा अभियानी नन्दकिशोर रामले मन्तव्य व्यक्त गर्दै वन मन्त्री साह नै भूमाफिया भएको गम्भीर आरोप लगाएका छन् ।
कार्यक्रमको अध्यक्षता अभियानका जिल्ला संयोजक अमिरी सहनीले गरेका थिए ।
अभियानले गरूडा नगरपरिक्रमा मुख्यमन्त्री सहित वनमन्त्री,सचिव,डिएफओके विरूद्वमा नारावाजी गरेका थिए । साे क्रममा उनीहरूकाे तस्बिर समेत जलाई अभियानीहरूले विराेध जनाएका थिए ।

आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहट — लोकतान्त्रिक यूवा संघको संशोधित विधानअनुसार अरविन्द्र प्रसाद साहलाई केन्द्रिय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट सहर्ष जानकारी दिँदै उहाँलाई हार्दिक बधाई व्यक्त गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष सुजन यादवले एक वक्तव्य जारी गर्दै भने, “साहजस्ता युवा, ऊर्जाशील र जनप्रतिनिधिसँग निकट सम्बन्ध भएका व्यक्तिको नेतृत्वले संगठन अझ सशक्त र जनउत्तरदायी बन्ने विश्वास लिएको छु।”

उनले देश, मधेश, यूवा र पार्टीको हितमा साहको भूमिका उल्लेखनीय हुने पनि बताए । अध्यक्ष यादवले केन्द्रिय समितिमा युवा नेतृत्वको सशक्त उपस्थिति आवश्यक रहेको बताउँदै साहको मनोनयनलाई सही निर्णयको रूपमा व्याख्या गरेका छन् ।
राजिव राय,महाेत्तरी,२७ गते वैशाख ।
मटिहानी — मटिहानी नगरपालिका वडा नम्बर ६ मा अवस्थित मुस्लिम समुदायको कब्रिस्तानमा कम्पाउण्ड वाल निर्माण कार्यको आज एक समारोहबीच औपचारिक शिलान्यास सम्पन्न भएको छ।
उक्त शिलान्यास कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मटिहानी नगर कार्यसमितिका अध्यक्ष श्याम कुमार मण्डल, मटिहानी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कलीम अंसारी तथा वडा नं. ७ का वडा अध्यक्ष जीतनरायण माझीको संयुक्त उपस्थितिमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै नेताहरुले मुस्लिम समुदायको धार्मिक एवं सांस्कृतिक महत्व राख्ने स्थलको संरक्षण र विकासमा स्थानीय तहको जिम्मेवारी उल्लेखनीय रहेको बताए । उनीहरुले कब्रिस्तानको सुरक्षाका लागि कम्पाउण्ड वाल आवश्यक रहेको र यसले समुदायमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

स्थानीयवासीहरुले समेत निर्माण कार्यको स्वागत गर्दै सम्बन्धित निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
राजेश निर्माणी,राैतहट,२६ गते वैशाख ।
रौतहट—वृन्दावन नगरपालिकाले डिजिटल प्रोफाइल निर्माणमा जुटेका छन् ।नगरपालिकाले डिजिटल प्रोफाइल मार्फत नगर भरिकै वास्तविक तथ्यांक संकलन गरेर नगर भित्र रहेका किसान, युवा,विधार्थी,कर्मचारी, अपांग,बिरामी तथा शिक्षा, स्वास्थ्य, कृषि लगायतका पूर्वाधारको स्थिति र पहुँचलाई डिजिटल तथ्यांकमा समावेश गरेर आगामी वर्षको बजेट विनियोजन गर्ने सोचले उक्त प्रोफाइल निर्माणमा तीव्रता दिएका हुन् ।

नगरपालिकाले डिजिटल प्रोफाइल त्यार पार्नका लागि बाह्र जना कर्मचारी न्युक्त गरेका छन् कर्मचारीहरु मध्ये नौ जना गनकहरु लाई घरधुरी संकलन र तिनजनालाई संस्थागत घरधुरी संकलनका लागि न्युक्त गरिएकोछ। र उक्त कर्मचारीहरु नगरपालिकाको नौ ओटै वडाहरुको घरघरमा पुगेर प्रोफाइल पार्नेछन्।

डिजिटल प्रोफाइलले नगरपालिकाको कामकाज प्रभावकारी हुने र प्रोफाइलको आधारमा नीति तथा कार्यक्रम ल्याउन सकिने भएकाले डिजिटल प्रोफाइल निर्माण गरिरहेको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।

‘प्रोफाइलमार्फत नगरपालिकाको मार्गचित्र देखिने भएकाले त्यही अनुसार बजेट विनियोजन गर्न सजिलो हुनेछ,’ उनले भने, ‘नगरपालिकाको दीर्घकालीन योजना निर्माणका लागि समेत डिजिटल प्रोफाइल जरुरी रहेको र तथ्यांकको विश्वसनीयताका लागि समेत डिजिटल प्रविधिमा भण्डारण गर्न थालिएको उनलेे बताए ।

नगरपालिकाका अनुसार बाल विवाह, बहुविवाह, महिनावारी प्रथा लगायतका सामाजिक विकृतिको अवस्थाबारे समेत तथ्यांक राखिनेछ । वृन्दावनमा अहिले बालविवाह र दाइजो प्रथा लगायत अन्य कुरितिहरु रहेकोले प्रोफाइलका आधारमा कार्यक्रम सञ्चालन गरेर प्रथाको अन्त्य गर्न सहज हुने नगरपालिकाले जनाएको छ । शिक्षा, स्वास्थ्य, विद्युत्, सडक र सञ्चार लगायतको पहुँचबारेको सूचांक समेत तथ्यांकमा समावेश गरिनेछ ।

डिजिटल प्रोफाइलमार्फत अहिलेको अवस्था, आगामी वर्षको सम्भाव्यताबारे समेत विश्लेषण गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले बताए । ‘नगरपालिकाको पुरै जानकारी मोवाइल प्रबिधिमार्फत डिजिलाइजेसन गर्ने उदेश्यले डिजिटल प्रोफाइल निर्माण भइरहेको हाकिम भुजेलले बताए।
अब समानुपातिक र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सजिलो हुने उनको भनाइ छ ।

बज्जिकाञ्चल संवाददाता,२६ गते वैशाख ।
रौतहटको कटहरियामा भएको सवारी दुर्टनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । कटहरिया ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरी संग मोटरसाईकल जुधेर घाईते भएका एकजना स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको विआर ३००(७९३६ नम्बरको मोटरसाईकल बुधवार दिउँसो पुलको दुईसय मीटर पूर्व पट्टी जुधेको थियो।
दुर्घटनामा गम्भीर घाईते भएका विआर ३००(७९३६ नम्बरको मोटरसाईकल चालक स्थानिय फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादवको उपचारको क्रममा गएराती गण्डक अस्पताल बिरगंजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी डिएसपी दीपक कुमार रायले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा लागिएको बताइएको छ । यता आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार घटनाबारे सदनमा सरकार लाई जानकारी गराएका थिए। उनले कमिसनको चक्करमा तस्कर पक्राउ गर्ने नाउँमा जबरदस्ती दुर्घटना गराउने सशस्त्र प्रहरी माथी कार्वाही र घटनाको छानबिन हुनुपर्ने सरकार संग माग गरेका छन् ।
तराई मधेसमा सशस्त्र प्रहरीले कमिसनको चक्करमा परेर किसान, ब्यापारी देखी सर्वसाधारण लाई दुःख दिदैआएकाले त्यस्तो काम तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।
रौतहट । विद्यार्थी संख्या न्यून हुँदै गएपछि चन्द्रपुर नगरपालिकाले तीन वटा विद्यालयको तह घटाउनुको साथै एक विद्यालयलाई अर्को विद्यालयमा गाभेको छ ।
चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आठ कक्षा सम्म अध्यापन हुँदै आएको निम्म माध्यमिक विद्यालय चन्द्रपुर–२ असनवालाई नयाँ शैक्षिक सत्रको लागि कक्षा १ देखि कक्षा ३ सम्म अध्यापनको अनुमति दिने निर्णय गरेको छ ।

यस्तै कक्षा ६ सम्म अध्यापन हुने वसन्त आधारभूत विद्यालय बसन्तपुरलाई कक्षा ३ सम्म र ५ कक्षा सम्म अध्यापन हुने जनता प्राथमिक विद्यालय बडहरवा लाई कक्षा ३ सम्म मात्र अध्यापन अनुमति दिने निर्णय भएको छ ।
उता जनप्रिय प्राथमिक विद्यालय नयाँटोल पडहरियालाई श्री कृष्ण माध्यमिक विद्यालयमा गाभ्ने निर्णय भएको चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले बताए । उनका अनुसार जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मान्यताका साथ विद्यालयको कक्षा घटाइएको हो । अनावश्यक शिक्षक दरबन्दी रहेको पाइएपछि व्यवस्थापनको लागि यस्तो निर्णय गर्नु परेको उनले बताए । न्यूज अफ नेपालमा रौतहटबाट सञ्जय कार्कीले यो समाचार लेख्नु भएको छ ।
आरके श्रीवास्तव,राैतहट,२६ गते वैशाख ।
कटहरिया । रौतहट जिल्लाको गुजरा नगरपालिका–९, भवानीपुर–अम्तवामा छठघाट निर्माणकाे शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । करिब २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त छठघाटकाे बजेट मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाजकल्याण मन्त्रालयबाट विनियोजन गरिएको हो ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री केशव राय चौधरी रहनु भएको थियो । उहाँले छठ पर्वजस्ता धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भएको हाे ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, उपभोक्ता समिति सदस्यहरू, युवा तथा आमजनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयवासीहरूले छठघाट निर्माणले धार्मिक, सामाजिक तथा पर्यटकीय दृष्टिकोणले स्थानको महत्व बढ्ने विश्वास व्यक्त गरेका छन् ।
चन्दन यादव,रौतहट,२४ गते वैशाख ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका–८ स्थित भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको विभिन्न सामानसहित प्रहरीले एक मोटरसाइकल र तीन साईकल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीको क्रममा भन्सार छली गरेर ल्याइँदै गरेका अन्दाजी रू. ७० हजार ३ सय ८५ बराबरका लत्ताकपडा, किराना तथा अन्य विभिन्न प्रकारका सामानहरू फेला पारेको हो ।

त्यस्तै, ती सामान ढुवानीका लागि प्रयोग गरिएको बिआर ०५एएस२२११ नम्बरको मोटरसाइकल (एक थान) र साईकल तीन थान पनि प्रहरीले बरामद गरेको छ । बरामद गरिएको मोटरसाइकलको अनुमानित मूल्य रू. ५६ हजार रहेको जनाइएको छ ।

समग्र रूपमा रू. १ लाख २६ हजार ३ सय ८५ रूपैयाँ बराबरको सर-सामान, मोटरसाइकल र साईकललाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिएका छन् ।
महोत्तरी, बैशाख २५ – महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक धुर्वकुण्डको मर्मत तथा सौन्दर्यकरण कार्यक्रमको शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ।

शिलान्यास कार्यक्रम लोसपा नेपालको संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य जय नुल राईन, बलवा नगरपालिकाका प्रमुख रामविजय महतो, वडा नं. ९ का वडा अध्यक्ष सनाउला शेख, लोसपा नेपाल बलवा नगरपालिकाका सभापति रामनिवास यादव, लोसपा नेपालका केन्द्रीय सदस्य जिवक्ष साह तथा वडा नं. १० का लोसपा नेता तथा प्रत्याशी रामेश्वर मण्डलको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा लोसपा पार्टीका विभिन्न तहका नेताहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूले ऐतिहासिक र धार्मिक महत्व बोकेको धुर्वकुण्डको संरक्षण, मर्मत तथा सौन्दर्यकरणमार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। शिलान्यास समारोहको क्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
काठमाडौं, २५ बैशाख ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई/मधेशमा सशस्त्र प्रहरीको ज्यादती अति नै भएको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सिमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाएका हुन् ।
उनले भने,‘हिजो रौतहटको कटहरियामा सशस्त्र प्रहरीको टोलीले टेङगडहा निवासी अनुठा यादव र रामजिनिस साहजी कटहरिया बजारबाट फर्किरहेका थिए, तस्करको चक्करमा मोटरसाईकलमा ठोकिएर मोटरसाईकल ध्वस्त भएको छ ।
त्यसमा सवार दुई जनाको अहिले आईसियुमा उपचार भैरहेको छ । म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु –यो घट्ना कसरी भयो ? सशस्त्र प्रहरीले किन यसरी ज्यादती गर्यो ? यो घट्नाको विषयमा सदनमा जानकारी गराउनुहोस । उपचार गराईरहेकाहरुलाई भेट्न कोही पनि गएकै छैन, सरकारलाई म भन्न चाहन्छु कि ती घाईतेहरुको उपचारको जिम्मा लिनुहोस ।
त्यस घट्नामा संलग्नहरुलाई कारबाही गर्नुहोस ।’ पूर्वमन्त्री साहले सरकारका मन्त्रीहरु र अफिसरहरुलाई आफ्नो तलवले जीवन निर्वाह गर्न पुग्छ कि पुग्दैन ? भनेर पनि प्रश्न तेर्साए । उनले भने,‘के तपाईंहरुको तलबले पुग्छ कि पुग्दैन ? तपाईंहरुको बुवा, बाजेहरुको सम्पत्तिले आफ्नो खर्च धान्न सक्नुहुन्छ कि हुँदैन ? यदि पुग्छ भने यसरी व्यक्तिको निजी सम्पत्ति किन खोस्नुहुन्छ ? भन्सार नबुझाएकै कारण त्यो चोरीको सामान हुन्छ भने आयकर नबुझाउनेहरुसँग पनि सामान खोस्नुहोस न ।
सम्पत्ति लुकाउने र सम्पत्तिको कर नुबझाउनेहरुको पनि सम्पत्ति खोस्नुहोस न । ठूलाबडाले कर लुकाउँदा त्यहाँ नखोस्ने ? अनि भन्सार नबुझाएकै नाममा दिनदहाडै डकैती गर्ने, लुट्ने र कमिशन बाँड्ने ? ४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् । र, उनीहरुको कोहीपनि सहारा छैन ।” किसानले आफ्नै पहलमा भारतबाट अत्यावश्यक सामग्री मलखाद ल्याउँदापनि प्रहरी प्रशासनले दिनदाहाडै लुट्ने काम गरेकोमा पनि साहले आक्रोश पोखे ।
उनले थपे–‘अहिले किसानलाई मलखाद सरकारले दिँदैन, किसानले आफ्नै पहलमा भारतबाट मलखाद ल्याउँदा प्रहरी नाकामा कुरेर बस्छन् अनि लुट्छन । प्रहरीलाई म भन्न चाहन्छु–हत्यारालाई तपाईंहरु पत्ता लगाउन नसक्ने ? बच्चादेखि युवाहरुको जीवन बर्बाद भैरहेको विषय लागुऔषधको जालो तोड्न नसक्ने, यत्रो चोरी–डकैती बढिरहेका छन्, उनीहरुलाई समात्न नसक्ने ? दिनदाहाडै मोटरसाईकल चोरिन्छन्, मोटर खोलिन्छन्, ती चोर एउटा पनि पत्ता लगाउनुहुन्न, तर किसानको खाद समात्नुहुन्छ, नून, चिनी, तेल समात्नुहुन्छ, के ती सामान चोरीका सामान हुन र ?’ सिमा नाकामा जनताले ठूलो सास्ती भोगिरहनुपरेको उनको भनाई छ ।
उनले जनताको जिनी सम्पत्तिलाई चोरीको सामानजसरी खोस्ने कार्य भएको भन्दै आपत्ति जनाए । इमानदार प्रहरी अधिकारी भएको भए जनताको निजी सम्पत्ति लुट्दैनौं र आफूहरुलाई कमिशन चाहिँदैन भनेर भन्नसक्नुपर्ने साहको सुझाव छ ।