आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ १० गते ।
गरूडा – रौतहटको गरूडामा नवसर्जक साहित्यकारहरूकाे सक्रिय सहभागितामा एकदिने साहित्य सिर्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । शनिबार गरूडा स्थित नमूना माध्यमिक विद्यालयमा नवसर्जक साहित्य चौतारी नेपाल मधेस प्रदेशकाे आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत नवसर्जकहरू सहभागी भएका थिए ।


साहित्यप्रति अभिरुचि बढाउने र कविता लेखनमा उत्प्रेरित गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमकाे प्रमुख प्रशिक्षककाे रूपमा बज्जिका अभियन्ता तथा साहित्यकार संजय साह मित्रले प्रशिक्षण प्रदान गरेका थिए । उनले कविता लेखनका विभिन्न पाटाहरूमा सहभागीहरूलाई मार्गदर्शन गर्दै साहित्य सिर्जनामा लाग्न प्रेरित गरेका थिए ।

कार्यक्रम नवसर्जक साहित्य चौतारी मधेस प्रदेश अध्यक्ष अभिजित रामको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक सन्तोष न्यौपाने, धनदेव जोशी र हरि जिसीले पनि नवसर्जकहरूलाई साहित्यिक सिर्जनाको महत्त्व र अभ्यासका तरिकाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बज्जिकाञ्चल मिडिया प्रा.लि.का सञ्चालक आरके श्रीवास्तव, बज्जिकाञ्चल दैनिकका सह-सम्पादक चन्दन यादव, स्थानीय पोस्ट साप्ताहिकका सञ्चालक एवं सम्पादक आरएन पटेल तथा प्रकाशनको तयारीमा रहेको बज्जिदूत साप्ताहिकका प्रकाशक/सम्पादक देवेन्द्र चौधरीले नवसर्जकहरूद्वारा सिर्जित रचनाहरू आ-आफ्ना पत्रपत्रिकामा प्रकाशन गर्ने प्रतिबद्धता जनाएका थिए ।

साहित्यिक गतिविधिलाई गाउँ-नगरस्तरसम्म विस्तार गर्ने अभियानस्वरूप गरिएको यस कार्यक्रमले रौतहट जिल्लामा नयाँ पुस्ताका साहित्यकार उत्पादनमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ ०९ गते ।
चुरे तथा वनजंगल संरक्षण अभियानले मधेश प्रदेशका वन सचिव उद्धव घिमिरेलाई तत्काल बर्खास्त गरी कारबाहीको माग गरेको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिमा अभियानले घिमिरेमाथि गम्भीर लापरवाही र वन संरक्षणमा असक्षमता देखाएको आरोप लगाउँदै उनलाई अन्यत्र सरुवा गरी योग्य व्यक्तिको नियुक्तिको माग गरेको हो ।
रौतहट डिभिजनका विभिन्न सव-डिभिजन कार्यालयहरू — गैडाटार, चन्द्रपुर, वृन्दावन, चोचा र पौराही क्षेत्रमा फैलिएको अवैध वन अतिक्रमण, काठ तस्करी र सरकारी संरचना निर्माणप्रति अभियानले गम्भीर चिन्ता व्यक्त गरेको छ। विशेष गरी चन्द्रपुर–२ मा पाँच बिगाहा भन्दा बढी वन क्षेत्र अतिक्रमण भई सयौं सिसौका रुख फँडानी गरिएको दाबी गरिएको छ ।

Oplus_0
अभियानले सार्वजनिक गरेको भिडियोमा अतिक्रमणको प्रमाण देखिएपछि उक्त प्रमाण मेटाउने उद्देश्यले वैशाख महिनाको अत्यधिक गर्मीमा वृक्षारोपण गरिएको उल्लेख छ। यस्तै, गुजरा–३ स्थित सिम्री सिक्टि टोलमा झण्डै पाँच बिगाहा वनमा मकै खेती भइसकेको छ।
२०८१ पुसमा भएको काठ लिलामी प्रक्रियामा समेत अनियमितता भएको भन्दै अभियानले राजदेवी, परवेज, सुरज, आरएन, कल्याणी, नन्दनी, सुरेन्द्र, लक्ष्मी लगायत काठ मिलहरूसँग गोप्य अवैध सम्झौता गरिएको आरोप लगाएको छ। रु. २२०० को दरमा काठ बिक्री गर्नुपर्नेमा रु. १४८० मा टेन्डर गरिएर राज्यलाई ठगी भएको दाबी गरिएको छ।

अभियानले मधेश प्रदेश सरकार, वन मन्त्रालय र सम्बन्धित निकायहरूलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै, चुरे तथा वनजंगल संरक्षणमा सबै सरोकारवालाहरू — राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाज — को सक्रिय सहकार्यको आवश्यकता औंल्याएको छ।
यसैबीच, पूर्व वनमन्त्रीको बर्खास्तीलाई अभियानले सकारात्मक कदम भन्दै स्वागत गरेको छ र नव नियुक्त वनमन्त्री सञ्जय यादवलाई सफल कार्यकालको शुभकामना दिएको छ। मुख्यमन्त्री सतिश सिंहलाई वैशाख २१ मा बुझाइएको ज्ञापनपत्रपछि सुरु भएको विरोध कार्यक्रमले मन्त्री बर्खास्तीको मार्ग प्रशस्त गरेको अभियानको दाबी छ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०९ गते ।
“निर्वाचन अघि जनतालाई दिएका वाचाहरू जस्तै कोल्ड स्टोर, सय शय्याको नगर अस्पताल र प्रत्येक गाउँमा पक्की सडक निर्माण मेरो पहिलो प्राथमिकता हो,” नगरप्रमुख जलन्धर सिंह जैसवारले स्थानीय तहको भूमिकाबारे आयोजित न्युज २४ को ‘सीधा कुरा मेयरसँग’ कार्यक्रममा स्पष्ट पारेका छन् ।

शुक्रवार पचरौता नगरपालिका अन्तर्गत बेनाैली बजारमा सम्पन्न कार्यक्रमकाे प्रत्यक्ष प्रसारण गरिएको थियो । स्थानीय तहको अधिकार, सेवा प्रवाह र विकास निर्माणका विविध पक्षमा छलफल गरिएको कार्यक्रममा सिंहले आफ्नो तिन वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन् ।

नगरप्रमुख जैसवारले नगरभित्र सुशासनसहितको समावेशी विकासमा जोड दिँदै, “सहमति, सहकार्य र पारदर्शितामार्फत विकास योजनाहरू अघि बढाइँदैछ,” भने । उनले एमबिबिएस अध्ययनका लागि एक छात्र र एक छात्रालाई वार्षिक १०/१० लाख रुपैयाँ छात्रवृत्ति दिने र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने योजना सार्वजनिक गरेका छन् ।

कार्यक्रममा सहभागी भएका वडा अध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र सूचना प्रवाह सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रम न्युज २४ का प्रस्तोता सुमन ढुंगानाले सञ्चालन गरेकाे पचराैता नगरपालिकाका नगर प्रवक्ता लक्ष्मी यादवले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०९ गते । राैतहट जिल्लाको कटहरिया नगरपालिका–५ मा अवस्थित माध्यामिक विद्यालय वलिरामपुरमा आज एक स्वागत कार्यक्रम आयोजना गरी नवआगन्तुक प्रधानाध्यापक अनिल कुमार निधिलाई स्वागत गरिएको छ ।
अनिल कुमार निधि कटहरिया नगरपालिकाको शिक्षा शाखामा समेत सक्रिय रहँदै आएका छन् । शिक्षा क्षेत्रमा लामो अनुभव बोकेका निधिले वलिरामपुर माविमा प्राचार्यको रूपमा कार्यभार सम्हाल्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक निधिले विद्यालयको गुणस्तरीय शिक्षामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षसँग सहकार्यमा अघि बढ्ने जनाएका छन् ।
कटहरिया नगरपालिका शिक्षा शाखाले समेत प्रधानाध्यापक निधिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
राजेश निर्माणी,राैतहट,२०८२ जेठ ०९ ।
रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शुक्रबार एक समारोहका बीच विद्यालय भवनको शिलान्यास गरेका छन् ।
वृन्दावन नगरपालिका वडा नम्बर २ स्थित श्री नेपाल माध्यमिक विद्यालय,बिश्रामपुरमा आयोजित कार्यक्रममा मेयर कुर्मीले ३५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सुविधा सम्पन्न दुईतले भवनको शिलान्यास गरेका छन् ।

उक्त विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरू खुला चौरमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका थिए। सोही अभाव हटाउने र शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले भवन निर्माण थालिएको नगरप्रमुख कुर्मीले जानकारी दिएका छन् ।

उनका अनुसार विद्यालयकै जमिनमा पठनपाठनको सहज वातावरण सिर्जना गर्न नगरपालिका आफैंले बजेट विनियोजन गरी भवन निर्माण प्रक्रिया अघि बढाएको हो ।

स्थानीय बासिन्दा, विद्यालय परिवार तथा विद्यार्थीहरूले उक्त कदमलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,गरूडा,०९ गते जेठ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा राैतहटकाे परोहा नगरपालिका–७ मा २५ लाख रुपैयाँको लागतमा सडक ढलान कार्य सुरु गरिएको छ । सो सडक निर्माणको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश सचिव ओम लोक पटेलले एक कार्यक्रमकाबीच गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पटेलले भने, “स्थानीय तहको समुचित विकास बिना समृद्धि सम्भव छैन । जनताको प्रत्यक्ष सुविधा हुने पूर्वाधार निर्माणमा हामी प्रतिबद्ध छौं । यो सडक ढलान परियोजना परोहाका बासिन्दाको लागि सुविधा र गर्वको विषय हो ।”
उनले थपे, “मधेसका प्रत्येक वस्तीमा बाटो, बिजुली, पानी र शिक्षा स्वास्थ्य जस्ता आधारभूत पूर्वाधार पुर्याउने हाम्रो लक्ष्य हो। हामी जनतासँग गरेका वाचा पूरा गर्दै अघि बढिरहेका छौं ।”

सडक ढलान सम्पन्न भएपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरूले आवागमनमा सहजता पाउने र वर्षायाममा देखिने समस्याहरूको समाधान हुने विश्वास लिइएको छ । परियोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गरिने उनले जानकारी गराएका हुन् ।
कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी तथा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ ०८ गते ।
रौतहटको चन्द्रनिगाहपुरस्थित एएन प्लाजा होटलमा डिभिजन वन कार्यालयको आयोजनामा “वन संरक्षण प्रणालीमा आधारित दिगो वन व्यवस्थापन” विषयक दुईदिने तालिम सुरु भएको छ । तालिम सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गर्दै सुरु गरिएको हो ।
तालिम उद्घाटन समारोहमा डिभिजन वन प्रमुख हेमन्त प्रसाद साहले वन संरक्षण तथा सुशासनका सवालमा कडा धारणा प्रस्तुत गरे । उनले योजनाहरू स्थानीय उपभोक्ताको आवश्यकता अनुसार निर्माण हुनुपर्नेमा जोड दिँदै भने, “काठमाडौँ वा जनकपुरमा बसेर तयार गरिने कार्ययोजनाले वनको दिगो विकास सम्भव छैन। योजना समुदायकै आवश्यकता र वास्तविकता अनुरूप बन्नुपर्छ ।”

उनले सामुदायिक वनमा रूख कटानी गर्दा सुकिसकेका, बुढा, ढलेका वा मर्न लागेको रूख मात्र काट्न निर्देशन दिए। वन सफाइको नाममा हुने अनावश्यक रूख फडानी रोक्न उनले कडा चेतावनी पनि दिए । “यस्तो कार्यमा संलग्न भए कडा कानुनी कारबाही हुनेछ,” साहले स्पष्ट पारे ।
वन क्षेत्रमा अनधिकृत संरचनाहरू—जसमा पोखरी, पैनी, मन्दिर, सामुदायिक भवन आदिको निर्माण भइरहेको सूचनामा प्रतिक्रिया दिँदै उनले भने, “यस्ता संरचना हटाउने प्रक्रिया अघि बढिसकेको छ। सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। अब त्यसमा कसरी भुक्तानी हुन्छ? यस्तो लगानी डुब्ने पक्का छ ।”
साहले सहभागीहरूलाई लाभान्वित घरधुरीको यथार्थ डेटा संकलन गर्न, महिला–पुरुष सहभागीताको विवरण राख्न र तथ्यमा आधारित अभिलेख राख्न आग्रह गरे। उनले वन व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अनिवार्य रहेको उल्लेख गर्दै भने, “सुशासनका लागि कसैसँग सम्झौता हुँदैन ।”

तालिममा डिभिजन वन कार्यालयका विभिन्न विज्ञहरूले सहभागीहरूलाई दिगो वन व्यवस्थापन, वन ऐन तथा नियमावली, र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिइरहेका छन् । तालिममा रौतहट जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिवलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।
सहभागीहरूले तालिमबाट आफूहरू थप जिम्मेवार र सचेत हुने विश्वास व्यक्त गरेका छन् । तालिमको उद्देश्य सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यावरणीय सन्तुलन कायम राख्नु र उपभोक्ताको क्षमता अभिवृद्धि गर्नु हो ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०८ गते ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय ई.बसन्त कुशवाहा दोस्रोपटक मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् । उनले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका छन् ।
यसअघि कुशवाहा तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वको सरकारमा कृषि मन्त्री रहेका थिए । दोस्रोपटक मन्त्रिपदमा पुनः नियुक्त भएपछि रौतहटबासीबीच विकासको अपेक्षा अझ बलियो बनेको छ ।

जनमत पार्टीले हालै मधेश प्रदेश सरकारबाट आफ्ना दुई मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । मन्त्री फिर्ता गरिएपछि वसन्त कुशवाहालाई उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

रौतहट जिल्लाबाट पुनः एकपटक मन्त्री नियुक्त भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ भने जिल्लाको समग्र विकासमा नयाँ गति आउने विश्वास गरिएको छ ।

पार्टी तथा शुभेच्छुकहरूले मन्त्री कुशवाहालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
आरके श्रीवास्तव,गरुडा,२०८२ जेठ ०८ गते ।
राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर ४ मा कृषकहरूलाई लक्षित गरी २० वटा कृषि विद्युत पोल गाडिएको छ । स्थानीय कृषकहरूको खेतीपातीमा सहजीकरण गर्ने उद्देश्यले नगरपालिकाले “कृषि विद्युत सञ्जाल विस्तार कार्यक्रम” अन्तर्गत उक्त पोलहरू जडान गरेको हो ।

नगरपालिकाका अनुसार यस कार्यक्रमले किसानहरूलाई सिंचाइ तथा आधुनिक कृषि प्रणालीमा पहुँच सहज बनाउँदै उनीहरूको उत्पादन क्षमतामा वृद्धि गर्ने विश्वास गरिएको छ ।

“नगरवासीहरूलाई आत्मनिर्भर र कृषि उत्पादनमुखी बनाउने हाम्रो अभियान अन्तर्गत यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ,” नगर प्रमुख कन्थमनी जयसवालले बताए ।
नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रमहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । यस अभियानले सम्पूर्ण नगरलाई दीर्घकालीन रुपमा कृषि समृद्धितर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०७ गते जेठ ।
रौतहट जिल्लाको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरको प्रशासनिक कामकाज प्रभावित भएको छ । वैशाख २१ गते प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालसम्म नयाँ अधिकृत पठाएको छैन् ।
बजेट निर्माणदेखि भुक्तानी प्रक्रिया सुरु हुने यो महत्त्वपूर्ण समयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा सबै काम ठप्प भएको नगर प्रमुख सन्तलाल चौधरीले बताए । “हामीले मन्त्रालयमा पटक–पटक अनुरोध गरिरहेका छौं, तर अहिलेसम्म कसैलाई पठाइएको छैन,” उनले भने, “नगरवासीको सेवा र विकास निर्माणका काम प्रभावित भएका छन्।”
उनी भन्छन्-हाकिम सरूवा गर्ने अधिकार मन्त्रालयकाे हाे भने हाकिम पठाउने जिम्मा पनि उसैको हाे । तर हाकिम अहिलेसम्म पठाइएको छैन् । कस्ताे बिडम्बना हाे ?

नगरपालिकामा अहिले चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा योजनाको मूल्यांकन, भुक्तानी, तथा आगामी वर्षको बजेट निर्माणका कार्यहरू तिव्र रूपमा अघि बढाउनु पर्ने अवस्था छ । तर, कार्यालय प्रमुख नहुँदा निर्णय प्रक्रियामा बाधा आएको छ ।
स्थानीय तहका सरोकारवालाहरूले संघीय मन्त्रालयले यस्तो संवेदनशील समयमा अधिकृत नपठाएर नगरपालिकालाई अस्तव्यस्त बनाउने प्रयास गरेको आरोप लगाएका छन् । असार मसान्त आउन २५ दिन मात्र बाँकी रहँदा प्रमुख प्रशासकीय अधिकृतको अभावले समग्र नगर प्रशासनमा अन्योल उत्पन्न भएको छ ।
नगर प्रमुख चौधरीले मन्त्रालयमा पत्राचार र भेटघाटमार्फत प्रमुख प्रशासकीय अधिकृत चाँडै पठाउन पहल भइरहेको बताएका छन् ।