सागर ठाकुर,देवाहीगाेनाही,०९ गते असार ।
रौतहटकाे देवाही गोनाही नगरपालिका–९ धरहरीमा जनप्रतिनिधिहरूको सक्रियतामा स्थानीय पूर्वाधार विकासका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।

सोही क्रममा स्थानीय स्तरमा लोकप्रियता कमाएका वडा अध्यक्ष वीर बहादुर साहको पहलमा वडा नम्बर ९ का विभिन्न टोलहरूमा नाला निर्माण तथा सडक ढलानको काम सुरु गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ अन्तर्गत कुल २४ लाख रुपैयाँको लागतमा सम्पन्न हुने यी योजनाहरू हाल कार्यान्वयनको चरणमा छन् । वडा अध्यक्ष साहका अनुसार श्री जय किसान नमुना माध्यमिक विद्यालय धरहरीको उत्तर र पूर्व साइडमा रहेको सडकमा नाला निर्माण र ढलानको काम सुरु गरिएको छ ।
त्यसैगरी, जगरनाथ साहको घरदेखि मुख्य सडकसम्म जोडिएको सडकमा नाला निर्माण कार्य भइरहेको छ भने नन्दकिशोर दासको घरदेखि बिशुनदेव यादवको घरसम्म र रामनारायण ठाकुरको घरदेखि मुख्य सडकसम्म पनि नाला निर्माण कार्य जारी छ ।

वडा अध्यक्ष साहले स्थानीय पूर्वाधार सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राख्दै जनतासँग सिधा संवाद र सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका कार्यहरूलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयवासीहरूले पनि यस्ता जनहितका कार्यहरूप्रति खुसी व्यक्त गर्दै वडा अध्यक्ष साहप्रति आभार प्रकट गरेका छन् ।
चन्दन यादव, रौतहट, १९ गते पुस ।
फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो ।

प्र.अ. अनिल कुमार यादवको विशेष पहलमा यो पनि चार कोठ्ठे भवनको आज शिलान्यास सम्पन्न भएको हो । फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातूनको प्रमुख आतिथ्यतामा नगर प्रमुख खातून र वडा अध्यक्ष यादवको संयुक्तामा उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त चार कोठ्ठे विद्यालय भवन कुल ५५ लाखको लगानिमा निर्माण हुने विद्यालयका प्र. अ. अनिल कुमार यादवले बताएका छन ।

प्र.अ. भए देखी नै स्कुलको शैक्षिक अवस्थामा सुधार, चार कोठ्ठे भवन निर्माण र व्यवस्थित शौचालयको पनि निर्माण गराएका हुन् । ग्रामीण भेगमा भए पनि पढाईको गुणस्तर पनि पहिलाको तुलनामा अहिले राम्रो भएको त्यहाँको स्थानियहरुले बताउँ छन् ।

शिलान्यास कार्यक्रममा उक्त पालिकाको वडा नं ४ का स्थानियहरुको धेरै संख्यामा उपस्थिती रहेका थिए । साथै उक्त विधालयका शिक्षकहरुको, सुरक्षाकर्मी, भद्रभलादमी र पत्रकारहरुको विशेषउपस्थितिमा उक्त विधालयमा नयाँ चार कोठ्ठे भवनको शिलान्यास भएको थियो ।
सागर ठाकुर,देवाहीगाेनाही,०८ असार ।
रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा अवस्थित श्री जय किसान नमुना माध्यमिक विद्यालयमा कक्षा ९ र १२ मा अध्ययनरत प्राविधिक धारका विद्यार्थीहरूलाई स्कुल पोसाक टी–सर्ट वितरण गरिएको छ ।

आईतवार विद्यालय परिसरमै आयोजित एक कार्यक्रमका बीच वडा नम्बर ९ का वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यतामा विद्यालयका १ सय २० जना विद्यार्थीलाई स्कुल पोसाक वितरण गरिएको हो । विद्यालयको आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०८१/८२ काे बजेट अन्तर्गत टी–सर्ट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहज वातावरण सृजना गराउने उद्देश्यले पोसाक वितरण गरिएको हो । प्रधानाध्यापक गुप्ताले पोसाक शिक्षामा समानता र अनुशासनको माध्यम बन्ने विश्वास व्यक्त गरेका छन् ।
वडा अध्यक्ष साहले विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका सम्पूर्ण प्राविधिक धारतर्फका विद्यार्थीलाई पोसाक वितरण गर्नु विद्यालयको शैक्षिक सुधार प्रयासको एक महत्वपूर्ण पाटो भएको बताए । उनले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह सदैव अग्रसर रहने प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्दन साह, विद्यालयका शिक्षक/शिक्षिकाहरू, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक विकास र आवश्यकताका लागि विविध कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ ।
आरके श्रीवास्तव,राैतहट,०७ गते असार
रौतहटकाे बौधीमाई नगरपालिका–४ ईनरवारीमा वडा अध्यक्ष तुरन्तनारायण यादवको सक्रिय नेतृत्वमा पछिल्लो समय उल्लेखनीय विकास कार्यहरू सम्पन्न भएका छन् । स्थानीय पूर्वाधारको स्तरोन्नति र जनजीविकासम्बन्धी योजनाहरूले वडालाई नयाँ गति दिइरहेका छन् ।

यादवको पहलमा हालै मात्रै करिब १५ लाख रुपैयाँको लागतमा ४ सय ३५ मिटर लम्बाइको माटो, ग्रेभल र सडक ढलान सम्पन्न भएको छ । साथै, करिब १७ लाख रुपैयाँको लागतमा ३ सय ६४ मिटर लम्बाइको अन्डरग्राउण्ड नाला निर्माण सम्पन्न गरिएको छ, जसमा हिलटेक पाईप प्रयोग गरिएको छ ।

सडक संरक्षण र दीर्घकालीन पूर्वाधार निर्माणतर्फ उन्मुख हुँदै करिब ११ लाखको लागतमा ५४ मिटर लामो रिटेनिङ्ग वाल निर्माण गरिएको छ । शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले चार कोठे विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

त्यसैगरी, वडामा नयाँ सडक निर्माण, कृषि क्षेत्रको प्रवर्द्धनका लागि ट्रान्सफरमर जडान, र १३ वटा अधुरा पोलमा विद्युत् तार जडान लगायतका कार्यहरू पनि प्रगति क्रममा छन् । उज्यालो अभियान अन्तर्गत एकवटा नयाँ विद्युत टावर निर्माण गरिनुका साथै दुईवटा जीर्ण टावरहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ ।

यी सम्पूर्ण विकास कार्यहरूले ईनरवारीका बासिन्दाहरूमा सकारात्मक उत्साह सिर्जना गरेको छ । वडा अध्यक्ष तुरून्तनारायण यादवको नेतृत्व र प्रतिबद्धता नै यी उपलब्धिहरूको आधार भएको स्थानीयवासीहरूले बताएका छन् । उहाँले “विकास र समृद्धिको लागि जनप्रतिनिधि जिम्मेवार र उत्तरदायी हुनुपर्छ” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै वडालाई अग्रगामी बनाउने दिशामा काम गरिरहनुभएको छ ।
फाेटाे फिचर:


आरके श्रीवास्तव,गरूडा,०७ गते असार ।
रौतहटकाे गढीमाई नगरपालिकाको १२ औं नगर सभा शनिबार समनपुरस्थित कार्यपालिका भवनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले नगर सभाको उद्घाटन ब्यानर पढेर गरेका थिए ।

नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान तथा आन्तरिक स्रोत समेटिएको छ ।
नगरप्रमुख यादवका अनुसार बजेटमा संघीय सरकारबाट
समानीकरण अनुदान ११ करोड २१ लाख,सशर्त अनुदान २५ करोड ५७ लाख,राजस्व बाँडफाँड १० करोड ८७ लाख ६५ हजार १०८,प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ लाख ४९ हजार,विशेष अनुदान ३० लाख,समपूरक अनुदान: २० लाख,राजस्व बाँडफाँड ६३ लाख ५८ हजार,सशर्त अनुदान: ९५ लाख,सडक बोर्ड नेपाल ४० लाख रहेको छ ।
त्यसैगरी, मालपोतबाट राजस्व बाँडफाँड अन्तर्गत २ करोड र आन्तरिक श्रोतबाट पनि २ करोड रुपैयाँ बजेटमा समेटिएको छ ।

चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ र पूँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख यादवले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा धार्मिक क्षेत्रमा उल्लेखनीय काम भएको जनाउँदै आउँदो दिनमा गढीमाईलाई अन्य पालिकाभन्दा अगाडि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकता दिँदै मोटर, स्प्रे ट्यांकी, कृषि विधतीकरण, कृषि मिटरको बिल पालिकाले व्यहोर्ने व्यवस्था गरिने जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख अस्मिता यादवले स्वागत मन्तव्य दिँदै सम्पूर्ण अतिथिहरूलाई स्वागत गरिन् । वडाध्यक्षहरूले प्रस्तुत नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् ।
आरके श्रीवास्तव,गरूडा,०७ गते असार ।
रौतहटकाे ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४९ करोड ६४ लाख ५२ हजार ४ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नगरसभाको सभाहलमा बसेको ११ औं अधिवेशनमार्फत नगर प्रमुख कौशलया देवी सिन्हाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत नन्दनकिशोर गुप्ताले भने, “आगामी वर्षको बजेट समावेशी, दिगो र नतिजामुखी विकासलाई ध्यानमा राखेर तयार गरिएको हो । हाम्रा सबै योजना स्थानीय आवश्यकता र सम्भावनाको मूल्यांकनका आधारमा तय गरिएका छन् ।”
उनका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सृजना, कृषि प्रवर्द्धन र सफा खानेपानीका कार्यक्रमहरूमा बजेटको विशेष ध्यान केन्द्रित गरिएको छ । गुप्ताले थपे, “विगतका वर्षमा सिकेका अनुभवका आधारमा हामीले कार्यान्वयन योग्य र परिणाम दिने योजना छनोट गरेका छौं । बजेट पारदर्शिता र जिम्मेवारीताका साथ कार्यान्वयन हुनेछ ।”

नगर प्रमुख सिन्हाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, बालमैत्री नगरपालिका निर्माण, महिला सशक्तिकरण, वातावरण संरक्षण तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी थिइन् ।
नगरपालिकाको यो बजेटले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, र सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते असार ।
रौतहट– देवाहीगोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले जय किसान बहुप्राविधिक शिक्षालय धरहरीको भौतिक पूर्वाधार सुधारमा निरन्तर सहयोग गर्दै आएकी छन् । शिक्षालयको मुलगेटदेखि प्रशासनिक भवनसम्मको सडक ढलान तथा ग्रेभलको काम हालै सम्पन्न भएको छ, जुन कार्य उपप्रमुख पटेलको बजेट सहयोगमा सम्पन्न भएको हो ।

“शिक्षालयको वातावरण राम्रो बनाउनु सबैको दायित्व हो । मेरो तर्फबाट सकेको सहयोग गर्दै आएको छु र आगामी दिनमा पनि यसैगरी साथ रहनेछु,” उपप्रमुख पटेलले भनिन् । शिक्षालय भित्र रहेको ठुलो खाल्डाखुल्डी पुर्न लगाएको र आउजाउ गर्न सहजहाेस् भन्ने अभिप्रायले बाटाे बनाउन लगाएको उनकाे भनाइ छ ।

प्रत्येक आर्थिक वर्षमा उनले आफ्नो तर्फबाट केही न केही बजेट विनियोजन गरी शिक्षालयको आवश्यक पूर्वाधार निर्माण तथा सुधारमा निरन्तरता दिँदै आएकी छिन् । यस प्रकारको स्थानीय तहको सक्रिय सहभागिताले शिक्षालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थी तथा कर्मचारीहरूको दैनिक गतिविधिमा सहजता ल्याएको छ ।
शिक्षालयका प्रमुख इन्जिनियर धनोज कुमार यादवका अनुसार, “उपप्रमुखज्यूको निरन्तर सहयोगले हाम्रो संस्थाको वातावरण अझ व्यवस्थित र पहुँचयोग्य भएको छ । उहाँको सक्रियता र शिक्षाप्रतिको प्रतिबद्धता प्रशंसनीय छ । हरेक वर्ष उहाँले आफ्नै तर्फबाट बजेट विनियोजन गरी शिक्षालयको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।”
उपप्रमुख पटेलको पहलमा सम्पन्न यो विकास कार्यले शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरू तथा आगन्तुकहरूको सुविधामा ठुलो सहजता ल्याएको छ । स्थानीय तहबाटै प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धिमा गरिएको यस्तो योगदान उदाहरणीय रहेको भन्दै शिक्षालय परिवारले कृतज्ञता व्यक्त गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते असार ।
रौतहट — माधवनारायण नगरपालिकाले आफ्नो १०औं नगरसभा भव्य समारोहका बीच सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्थानीय विकासका लागि समावेशी र समग्र दृष्टिकोणले अघि बढ्ने प्रतिबद्धता जनाए। उनले बजेटमार्फत कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

उनका अनुसार बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, ससर्त र विशेष अनुदान, प्रदेश सरकारबाट प्राप्त वित्तीय अनुदान, तथा राजस्व बाँडफाँट लगायतका विविध स्रोत समावेश छन् । चालू तथा पुँजीगत खर्चका लागि छुट्याइएको रकमले नगरको पूर्वाधार, सामाजिक सेवा र धार्मिक–पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास नगर प्रमुख यादवले व्यक्त गरेका छन् ।

नगरसभामा नगरपालिकाका उपप्रमुख निर्मलादेवी रमन, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, सबै वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्य, स्थानीय पत्रकार, सुरक्षाकर्मी र अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नगरपालिकाले यस आर्थिक वर्षमा विशेषगरी माधवनारायण क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व उजागर गर्न योजना बनाएको उल्लेख गरिएको छ ।

कामरेन्द्र वर्मा,काठमाडौं,०६ गते असार ।
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा असार ६ गते लुम्बिनीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न गरेको छ । भगवान् बुद्धको पवित्र जन्मस्थल तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा आयोजना गरिएको उक्त बृहत् योग प्रदर्शनमा स्थानीयवासी, सरकारी प्रतिनिधि, योग अभ्यासकर्ता र विभिन्न संघसंस्थाबाट प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सहभागी हुनुहुन्थ्यो । दुबै विशिष्ट अतिथिहरूले भारत र नेपालबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रकारको कार्यक्रमको सराहना गर्दै भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको उत्पत्ति भारतमा भए पनि अहिले विश्वव्यापी रूपमा यसको महत्व र अभ्यास बढिरहेको उल्लेख गर्नुभयो । वहाँले संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै लुम्बिनी जस्तो शान्ति र आध्यात्मिकताको प्रतीक स्थानमा यस्तो कार्यक्रम हुनुको विशेष महत्व रहेको बताउनुभयो । साथै, लुम्बिनी विकास कोषप्रति धन्यवाद ज्ञापन गर्दै उनले लुम्बिनीलाई विश्वव्यापी आध्यात्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरू तथा ५०० भन्दा बढी योग अभ्यासमा रुचि राख्ने सहभागीहरूले विभिन्न योग आसन र ध्यान अभ्यासमा भाग लिएका थिए ।
यो कार्यक्रम भारतीय राजदूतावासद्वारा नेपालका विभिन्न शहरहरूमा आयोजना गरिँदै आएका ११ औं अन्तर्राष्ट्रिय योग दिवसका कार्यक्रमहरूको एक अङ्ग हो । यसै क्रममा राजदूतावासले असार ७ गते पोखरा महानगरपालिकासँगको सहकार्यमा पोखरा रंगशालामा पनि विशाल योग प्रदर्शनको आयोजना गर्ने जानकारी दिएको छ ।