जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारमा सत्ता गठबन्धन दलहरुमा विवाद भएको छ ।
मन्त्रालय भागबण्डामा विवाद भएपछि सोमबार गरिने भनेको सरकार स्थगित भएको छ । सोमबार नेकपा एमालेका शारदा थापा, मनोज सिंह र लखन लाल दासले शपथ लिने तयार गरेको अवस्थामा सत्ता साझेदार दल नेकपाले असन्तुष्टि जनाएपछि सरकार विस्तार रोकिएको हो ।
नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयको अडान राखेको बताइएको छ भने भागबण्डामा नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने सहमति भएको बताइएको थियो । त्यस्तै एमालेले चार मन्त्रालय र कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालयको सहमति भएको थियो ।
मधेशमा यसअघि सत्ता साझेदार रहेका जनमत र जसपा नेपाललाई बाहिर राख्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत सोमबार नेकपा एमाले र नेकपाको समर्थनमा विश्वासको मत लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारको समीकरण परिवर्तन भएको छ ।
जनमत र जसपा नेपाललाई बाहिर राखेर काँग्रेसले एमालेसँग सत्ता गठबन्धन गरेको छ । एमालेका मोहम्मद समिरलाई बिहीबार राती नै बिना विभागीय मन्त्री नियुक्त गरिएको छ । यता, कांग्रेस नेतृत्वको सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्री अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहले बिहीबार राति नै राजीनामा गरेका छन् ।
कांग्रेस, एमाले र नेकपाबीच केन्द्रीय तहमै भएको सहमतिअनुसार मधेश प्रदेश सरकारमा पनि जनमत र जसपा नेपाललाई सत्ताबाहिर राखिएको छ ।
जसपा नेपालले सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि उसलाई गठबन्धनबाट बाहिर राखिएको छ । मुख्यमन्त्री कृष्ण यादवले मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई हटाएका छन् । गुप्ता, तिवारी र सुमन जसपा नेपालबाट मन्त्री बनेका थिए । जसपा नेपालका तीनै जना मन्त्रीलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए । राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । एमालेले समर्थन गरेपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारसँग बहुमत रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।
कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र विश्वासको मत लिने निर्णय गरेका छन् ।
यादव नेतृत्वको सरकारमा रहेको जनमतले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार परिवर्तनको चलखेल शुरु भएको थियो ।
१०१ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५१ सिट आवश्यक पर्दछ । जसमा सरकारमा रहेका चार दलमा काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५ र लोसपाको ८ सिट गरेर कुल ६३ सिट रहेको छ ।
मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
सागर संगम ठाकुर रौतहट बैशाख १८ गते
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा पछिल्लो समय विकास निर्माणका कार्यहरूले तीव्रता पाएका छन्। वडा अध्यक्ष वीर बहादुर साहले वडामा रहेका अधुरा योजनालाई प्राथमिकतामा राख्दै निर्माण कार्यलाई अगाडि बढाइरहेका छन्। वडाको करिब रु ४५ लाख रुपैयाँको लागतमा नयाँ सडक तथा नाला निर्माण, श्मशान घाटमा तटबन्ध निर्माण, सडक ढलान तथा माटो भर्ने काम । इदगाहमा ट्रस्ट भवन निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन् । यी कार्यहरू आर्थिक वर्ष २०८२÷८३ अन्तर्गतका वडा स्तरीय योजनाबाट भइरहेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो। वडा अध्यक्ष साहका अनुसार, वडा कार्यालयका लागि निःशुल्क उपलब्ध गराइने जग्गामा दुई वटा नयाँ सडक निर्माण भइरहेको छ। त्यसैगरी जय किसान बहुप्राविधिक शिक्षालय परिसरस्थित बौद्वीमाई मन्दिरदेखि स्थानीय रामबालक राय यादवको खेतसम्म करिब १५० मिटर लामो, १ मिटर चौडा र ३ फिट गहिराइको नाला निर्माण भइसकेको जानकारी दिए । त्यस्तै मुसलीमहरुको इदगाहमा ट्रस्ट भवन निर्माण गर्ने बताएका छन । मुस्लीम समुदायमा मान्छे मरेपछि इदगाहमा शवलाई गाडने परमपरा रहेको छ । वडा अध्यक्ष साहका अनुसार मुस्लीमहरुको शवलाई इदगाह सम्म लैजान प्रयोग गरिने खटोला राख्नको लागि तिन मिटर चौडा र चार मिटर लम्बाई भएको एउटा ट्रस्ट भवन निर्माण गर्न लागिएको बताए । यसका साथै हिन्दुहरको श्मशान घाटमा ढुङ्गाको तटबन्ध निर्माण तथा सडक ढलान, पुरानो ट्रस्ट भवनको प्लास्टर तथा मर्मत सम्भार हुने बताए । त्यस्तै वडा अध्यक्ष साहको घर नजिकै महेन्द्र पण्डितको घरदेखि रामचन्द्र साह भनिने (गोखुल साह) को घरसम्मको पुरानो सडकमा नाला निर्माण तथा माटो भर्ने काम गरिने बताएका छन । उक्त क्षेत्रमा सडकमा नाला नहुँदा वर्षायाममा स्थानीयवासीले ठूलो समस्या भोग्दै आएका थिए। तर अब नाला निर्माणपछि पानी निकासको समस्या समाधान हुने र स्थानीयले सहज आवतजावत गर्न पाउने विश्वास वडा अध्यक्ष साहले व्यक्त गर्नुभएको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,वैशाख ९ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ मा आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा निर्माण व्यवसायी तथा निर्माण व्यवसाय संघ रौतहटका निर्वाचित जिल्ला सदस्य सरोज कुमार यादवले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने चाहना सार्वजनिक गरेसँगै चुनावी माहोल थप तातेको देखिएको छ। आउँदो स्थानीय तह निर्वाचनमा कटहरिया–१ बाट सरोज कुमार यादव वडा अध्यक्षको तयारीमा रहेका छन्।
लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका यादवले वडाको समग्र विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्। उनले सडक, नाला, खानेपानी, सरसफाइ लगायत आधारभूत सेवामा सुधार ल्याउँदै वडालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादवले पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गर्दै युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने, सीपमूलक अवसर सिर्जना गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत दिगो विकास अघि बढाउने योजना अघि सारेका छन्। उनले आफ्नो उम्मेदवारीलाई विशेषगरी जेनेरेसन–जेड (Gen Z) युवाहरूको चाहना, सोच र अपेक्षासँग जोडिएको बताउँदै आधुनिक, पारदर्शी र परिणाममुखी नेतृत्वको मागलाई सम्बोधन गर्ने दाबी गरेका छन्।
उनको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीय बासिन्दाहरूबीच, विशेषगरी युवा तथा जेन्जि पुस्तामा उत्साह र चासो बढ्दै गएको छ। कटहरिया–१ मा यसपटकको चुनाव प्रतिस्पर्धात्मक र थप रोचक हुने संकेत देखिन थालेको छ।
आरके श्रीवास्तव,रौतहट,०९ गते वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी को ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले रौतहट जिल्ला जनसङ्गठनद्वारा देवाही गोनाही नगरपालिका–८, गोनाही बजारमा बृहत्तर रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।
कार्यक्रम जनसङ्गठनका प्रमुख रुपेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा एमाले रौतहट जिल्ला अध्यक्ष सचितानन्द साह को उपस्थिति रहेको थियो ।

त्यस्तै, विशिष्ट अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र सिंह, वडा नं. ८ का अध्यक्ष विजय पटेल, वडा नं. ७ का अध्यक्ष उपेन्द्र राय यादव तथा इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विभिन्न पालिकाबाट आएका नेता–कार्यकर्ता, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताहरूले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

रक्तदान कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाले सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता जनहितका कार्यक्रमहरूलाई निरन्तर अघि बढाइनेछ ।
आरके श्रीवास्तव,राैतहट,०७ गते वैशाख ।
रौतहटको कटहरियामा “मितेरी बचत तथा ऋण सहकारी संस्था लि.” को औपचारिक उद्घाटन गरिएको छ । वि.सं. २०७० सालमा स्थापना भएको उक्त संस्थाले आजदेखि आफ्नै कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सुरु गरेको हो । यसअघि नेपाल बैंक लिमिटेड कटहरिया शाखा रहेको भवनमै सहकारीले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको हो ।

कटहरिया नगरपालिकाभर कार्यक्षेत्र रहेको यस सहकारीबाट स्थानीय व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थामार्फत नागरिकहरूले बचत गर्नका साथै सहज रूपमा ऋण सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सहकारीका सञ्चालक श्याम यादवले विधिवत् पूजापाठ गरी संस्थाको उद्घाटन गर्नुभएको हो । उक्त सहकारी अन्य लगानीकर्ताहरूको संयुक्त पहलमा सञ्चालनमा आएको हो । साथै, चन्दन दास बाँनियालाई शाखा प्रबन्धकको जिम्मेवारी दिइएको छ ।

एक कार्यक्रमका बीच कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारीको उद्घाटन गर्नुभयो । सो अवसरमा कटहरिया वडा नम्बर १ वडा अध्यक्ष भूपेन्द्र महताे,कटहरिया ४ का वडा सदस्य रामईश्वर यादव लगायत स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारी संस्थाले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने, साना तथा मध्यम व्यवसायीलाई सहयोग पुर्याउने र बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई पारदर्शी, विश्वसनीय र सेवामुखी रूपमा सञ्चालन गर्न सुझाव दिँदै स्थानीय बासिन्दालाई सहकारीसँग जोडिन आग्रह गर्नुभयो ।
त्यस्तै, सञ्चालक श्याम यादवले पनि सबैलाई सहकारीसँग आबद्ध हुन आह्वान गर्दै आधुनिक प्रविधियुक्त सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, संस्थाको दिगो विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
आरके श्रीवास्तव,रौतहट,०४ गते वैशाख ।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट ले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका फरार ६ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सम्मानित अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत खोजतलास तीव्र बनाइएका क्रममा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा बुझाइएको छ । पक्राउ पर्नेहरूमा दिनेश सहनी, सुरेस साह सोनार, सर्वजित कुमार साह, राम नरेश प्रसाद, मुकेश साह तेली र राम सोगारथ राय यादव रहेका छन् ।
उनीहरू विरुद्ध लेनदेन, चोरी तथा चेक अनादर लगायतका मुद्दामा अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये कसैलाई १ वर्षसम्म कैद सजाय तोकिएको छ भने केहीलाई १ महिना १५ दिनदेखि ३ महिनासम्म कैद सजाय निर्धारण गरिएको छ । त्यस्तै, १,५०० रुपैयाँदेखि १०,००० रुपैयाँसम्म जरिवाना समेत तोकिएको जनाइएको छ । प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बिष्णु प्रदिप बस्यालले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने बताएका छन् ।