बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०३ गते साउन ।
महोत्तरी जिल्लाको बलवा नगरपालिका–८ मा निर्माण हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्र भवनको भूमि पूजन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
उक्त भूमि पूजन कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा सम्माननीय नेता महन्थ ठाकुर र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपा नेपालका वरिष्ठ नेता माननीय शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो ।

समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै लाेसपा नेताहरूले युवालाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित स्थापना हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्रले रोजगारीको अवसर सिर्जना गर्ने र स्थानीय विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उक्त भवन निर्माणपछि सिलाइ, बुनाइ, इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर तथा अन्य सीपमूलक तालिम सञ्चालन गरिने योजना रहेको जनाइएको छ ।
कार्यक्रमको सफल आयोजनाका लागि सहयोग गर्ने सबैलाई आयोजक समितिले आभार व्यक्त गरेको छ । साथै, भवन निर्माण कार्य छिट्टै प्रारम्भ भई गुणस्तरीय ढंगले सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०२ गते साउन ।
मटिहानी नगरपालिकाको आयोजना तथा प्राविधिक शिक्षा प्रवर्द्धनको उद्देश्यले श्री राम माध्यमिक विद्यालय, मटिहानीका कक्षा ११ मा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सम्मानित नेता महन्त ठाकुर तथा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हातबाट ल्यापटप वितरण सम्पन्न भएको हो ।

उक्त अवसरमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, लाेसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता जयनुल राइन,नगरप्रमुख हरिप्रसाद मण्डल, नगर उपप्रमुख, नगर शिक्षा शाखा प्रमुख, विद्यालयका प्राचार्य, शिक्षकगण, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरू पनि उपस्थिति रहेका थिए ।
कार्यक्रममा मन्तव्य दिंदै नेता ठाकुरले आधुनिक शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस्तो पहलले विद्यार्थीको सिकाइ क्षमतामा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले भने सरकारले प्राविधिक शिक्षामा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख मण्डलले मटिहानी नगरपालिकाले प्रविधि र शिक्षाको संयोजनमार्फत समावेशी तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनहरूमा थप शिक्षामैत्री कार्यक्रमहरू ल्याइने जानकारी दिनुभयो ।

कार्यक्रमको समापनमा विद्यालयका प्राचार्यले नगरपालिकाप्रति आभार व्यक्त गर्दै, ल्यापटप वितरणले विद्यार्थीहरूको डिजिटल दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
बज्जिकाञ्चल संवाददाता,महोत्तरी,०२ गते साउन ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा जलेश्वर नगरपालिका वडा नं. २ मा निर्माण गरिने क्रीकेट एकेडेमीका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सो एकेडेमी निर्माणको सन्दर्भमा शुक्रबार विशेष निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी कुमारी तिवारी, मधेश प्रदेशका सांसद एवम् संसदीय दलका नेता जैनुल राईन, नेपाल–भारत मैत्री समाजका मधेश प्रदेश अध्यक्ष लव राजा सिंह, तथा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको गरिमामय उपस्थिति रहेको कार्यक्रमका क्रममा एकेडेमी निर्माणको लागि तोकिएको जग्गा स्थलगत निरीक्षण गरिएको हो ।

कार्यक्रममा जिल्ला क्रीकेट संघ महोत्तरीका अध्यक्ष तथा नेपाल क्रीकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले जग्गाको अवस्थाबारे जानकारी गराउँदै एकेडेमी निर्माणको आवश्यकता र सम्भावनाबारे प्रष्ट पार्नुभएको थियो । उहाँले एकेडेमीले जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।
निरीक्षणपछि उपस्थित माननीयहरूले निर्माण कार्य यथाशीघ्र सुरु गर्न सकरात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूले एकेडेमी निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उल्लेख गर्दै स्थानीय युवा तथा खेलकुद क्षेत्रको विकासका लागि यो एक महत्वपूर्ण परियोजना हुने बताउनुभयो ।
एकेडेमी निर्माण कार्य स्थानीय सरोकारवालाको समन्वय, पारदर्शिता र गुणस्तरीय निर्माणका आधारमा अघि बढाइने जानकारी आयोजक समितिले दिएको छ ।
बज्जिकाञ्चल संवाददाता,महोत्तरी,०२ गते साउन ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा वरिष्ठ नेता महन्थ ठाकुरले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध अत्यन्त बलियो र प्रगाढ रहेको बताएका छन् ।
शुक्रबार महोत्तरीको जलेश्वरमा नेपाल–भारत मैत्री संघद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रहेका अध्यक्ष ठाकुरले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक वा कूटनीतिक तहमा सीमित नगरि जन–जनको आत्मीयता र ऐतिहासिक सम्बन्धको जगमा आधारित रहेको बताए ।

“अधिकारको लागि संघर्षको मैदान कहिल्यै छोड्नु हुँदैन,” उनले जोड दिँदै भने, “तर सम्बन्ध सधैं जनताको तहमा गहिरो र स्थायी हुन्छ । त्यसलाई अझ सुदृढ गर्न हामी सबैको भूमिका हुनुपर्छ।”
कार्यक्रममा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बदलिंदो भूराजनीतिक परिस्थितिमा नेपाल–भारत खुला सिमानाको सुरक्षा दुवै देशको साझा दायित्व भएको उल्लेख गर्दै, नेपाली भूमि भारतविरुद्ध प्रयोग हुन नदिन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए ।

समारोहमा धनुषाका २४ र महोत्तरीका १८ विद्यार्थीलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल–भारतबीचको मित्रता प्रगाढ बनाउन आयोजित गरिएको आयोजक संस्थाले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०२ गते साउन ।
रौतहटकाे माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा रहेको श्री मावि पथराबुधराममा आर्थिक वर्ष २०८१/८२ का लागि कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम आजदेखि सुरु भएको छ । बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य सर्युग राय यादवको अध्यक्षता तथा वडा अध्यक्ष ईश्वर दयाल प्रसाद यादव, सदस्यहरू मनोज ठाकुर, बालदेव प्रसाद यादव र समाजसेवी शैलेन्द्र रामको विशेष आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको बिधालयका शिक्षक लखिन्द्र यादवले जानकारी गराएका हुन् ।
बिद्यालय व्यवस्थापन समिति (बि.ब्य.स.) का अध्यक्ष विवेक यादवका अनुसार सबै छात्रा र दलित समुदायका छात्रहरूलाई प्राथमिकतामा राखी छात्रवृत्ति वितरण थालिएको हो । प्रत्येक विद्यार्थीलाई ४ सय रुपैयाँको दरले छात्रवृत्ति दिइएको लेखापाल भगत साहले बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक राजेश सिंहले प्रत्येक आर्थिक वर्षमा नियमितरूपमा छात्रवृत्ति वितरण हुँदै आएको जानकारी दिएका छन् ।
छात्रवृत्तिबाट विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रोत्साहन मिल्ने र आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई शिक्षामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०१ गते साउन ।
राैतहटकाे गरुडा नगरपालिका वडा नं. ९ श्रीपुर टोलमा उल्लेखनीय राजनीतिक घटनाक्रम देखिएको छ । नेकपा एमाले परित्याग गर्दै पूर्व गाविस उप–प्रधान सर्फलाल पासवानसहित दर्जनौं नेताहरू नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन् ।

यस अवसरमा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख प्रत्यासी सुनिल यादवले नवप्रवेशीहरूलाई माल्यार्पण गरी स्वागत गरेका थिए । कार्यक्रमले कांग्रेस पार्टीप्रति बढ्दो विश्वास र जनसमर्थनलाई झल्काउने काम गरेको छ ।

नगर प्रमुख प्रत्यासी श्री सुनिल यादवले आफ्नो सम्बोधनमा जनताको भरोसा जित्न सकिने शुद्ध, पारदर्शी र जनमुखी स्थानीय शासन व्यवस्था निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएका थिए । “श्रीपुर टोलमा आज देखिएको यो परिवर्तन कांग्रेसको नीति, विचार र हाम्रो स्थानीय विकासको दृष्टिकोणप्रति जनताको समर्थन हो,” यादवले बताए ।

सर्वसाधारण, युवा र स्थानीय अग्रजहरूबीच बढ्दो उत्साहसँगै कांग्रेसप्रतिको भरोसा जनस्तरमा बलियो बन्दै गएको संकेत गरिरहेको छ ।
नवप्रवेशी सर्फलाल पासवानले पनि आफ्नो सम्बोधनमा अबको स्थानीय विकास, समावेशी सहभागिता र सामाजिक न्यायका लागि कांग्रेस नै उचित विकल्प भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा स्थानीय नेता, समाजसेवी तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । नेपाली कांग्रेसको तर्फबाट स्वागत गरिएको यो प्रवेश अभियानले गरुडा नगरपालिका निर्वाचनमा निर्णायक प्रभाव पार्ने विश्वास गरिएको छ ।
साे अवसरमा वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही यादव लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको गरूडा नगरपालिका वडा नम्बर ५ का वडा प्रत्यासी रमेश यादवले जानकारी गराएका हुन् ।
राकेश यादव,राैतहट, १ गते साउन ।
रौतहट जिल्लाको सदरमुकाम गौर बाट प्रहरीले ठुलो मात्रामा लागु औषध सहित २ जनालाइ पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्सा र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक राम कुमार महतोको नेतृत्वमा खटेको संयुक्त टोलीले प्रतिबन्धित औषधि ३ हजार ट्याब्लेट र ९ सय एम्पुल सहित २ जना लाइ पक्राउ गरेको हो।
भारत बैरगंनियाबाट बी आर ०५ यु ५८६० नम्बरको मोटर साइकललाइ गौर नगर पालिका वडा नम्बर १ स्थित शुभम होटेल अगाडी रोकेर चेकजाच गर्दा उक्त परिणाम बरावारको लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
लागु औषध साथ स्थानीय राजदेवी नगर पालिका वडा नम्बर ८ मा बस्ने बिश्वनाथ पंडितको २२ बर्षीय छोरा नितेश कुमार पंडित र शिब राय यादवको ३२ बर्षीय छोरा पिन्टू कुमार यादवलाइ नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन्।
प्लास्टिकको कालो रंगको झोलामा लुकाई राखेको अवस्थामा नाइट्रोभेट १० लेखिएको १२० पत्तामा १८ सय ट्याब्लेट,नेटजेकेयर १० लेखिएको ९० पत्तामा ९०० ट्याब्लेट,नेटज़ेकेयर १० लेखिएको ३० पत्ता ३०० सानो ट्याब्लेट, डाईजेपाम ३०० एम्पुल, फेनेरगन ३०० एम्पुल, बुप्रेनोरफिने इन्जेक्शन ३०० एम्पुल गरी ९०० एम्पुल र २ थान मोबाइल बरामद गरिएको प्रबक्ता राय ले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई रौतहट जिल्ला अदालत बाट म्याद थप गराई अनुसन्धानको कार्य अगाडी बढाइएको छ।
ओम प्रकाश यादव,साउन १ गते, रौतहट।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवको नेतृत्वदायी भूमिका र विशेष सक्रियताका कारण मधेश प्रदेशमा विकास निर्माण कार्य गति लिएको छ।
कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी रहेको अवस्थामा कांग्रेस मधेश प्रदेश सभापति यादवले प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई विकासको कामलाई द्रुत गतिमा अगाडी बढाउन दिएको निर्देशन अनुसार नै ती मन्त्रीहरुले काम गरेकोले विकास निर्माण कार्य तीब्र गतिमा अगाडी बढेको हो ।
मधेश प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एवं रौतहट क्षेत्र नम्बर १ ख का प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता कृष्ण प्रसाद यादवको निर्देशनमा पार्टीका मन्त्रीहरुले जनताको इच्छा र चाहना अनुसार काम गर्दा मधेश प्रदेश शिक्षा, स्वास्थ्य, कृषि खानेपानी, भौतिक पूर्वाधार निर्माण लगाएत कार्यमा पछिल्लो समय फड्को मार्न थालेको छ।
भ्रष्टाचारलाई निर्मूल पार्न र सुशासन कायम गर्ने गरी नेता कृष्ण प्रसाद यादवले आफ्ना पार्टीका मन्त्रीहरुलाई काम गर्न दिएको निर्देशनको पूर्ण पालना हुँदा प्रदेशमा सयौं महत्वकाँक्षी योजनाहरू धमाधम अगाडि बढेको हो।
कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको मधेश प्रदेशको नेतृत्वको जिम्मेवारी सम्हाल्ले देखि नै कांग्रेसको सफल नेतृत्वका कारण मधेश प्रदेशमा विकास निर्माणका कार्य तीब्र गतिमा अगाडी बढेको छ।
कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव प्रदेशकाे राजनीतिमा ठूलो पकड़ भएका दिगज नेता हुन् । मधेशको राजनीतिमा कृष्ण यादव ठूलो प्रभाव राख्ने एक क्रांतिकारी , विकास र समृद्धिको सम्बाहक नेता हुन ।
नेता यादव प्रदेशको राजनीतिमा ठूलो प्रभाव राख्ने एक प्रभावशाली एवं शक्तिशाली नेता मानिन्छ । त्यसैले उनको नेतृत्व प्रदेशका नेपाली कांग्रेसका सबै नेताले सहज स्वीकार गर्छन र उनीहरूले सभापति यादवको निर्देशनको पूर्ण पालना गर्ने गर्दछन् ।
नेता यादवको अग्रगामी एवं दूरदर्शी सोच, भिजन, योजनाका कारण मधेश प्रदेशमा यतिखेर ठुल ठूला विकासका योजनाहरू अगाडि बढेको पाइएको छ भने मधेश प्रदेश विकास र समृद्धिको दिशामा अगाडि बढ्दै गएको छ।
कांग्रेस सभापति कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशका जनता एकपटक मुख्यमन्त्रीको रूपमा हेर्न धेरै दिनदेखि आतुर रहेको पाइएको छ।
कृष्ण प्रसाद यादव मुख्यमन्त्री बनेपछि मात्र मधेश प्रदेश विकसित र समृद्ध हुने भन्दै त्यहाँका जनता उनलाई नै मुख्यमन्त्रीको रूपमा हेर्न चाहेको छ।
कृष्ण प्रसाद यादव मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएपछि मात्र मधेश र मधेशी जनताको अवस्था परिवर्तन हुने र विकासको काम झन् तिब्रता पाउने उनीहरूको बुझाइ छ।
कृष्ण प्रसाद यादव मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेस मधेश प्रदेशमा अझै बलियो र मजबूत हुने र आगामी निर्वाचनमा कांग्रेसको सीट बढ्ने भएको हुनाले पार्टीले कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउनका लागि विशेष पहलकदमी लिनु आवश्यक रहेको मधेश प्रदेशका कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।
आरके श्रीवास्तव, रौतहट,०१ गते साउन ।
रौतहटको गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय नयाँ गम्हरियामा कार्यरत शिक्षक रवीन्द्र प्रसाद साहलाई विद्यालयबाट खारिज सहित निष्कासन गरिएको छ । उनले कक्षा १० मा अध्ययनरत एक १६ वर्षीया छात्रालाई मोबाइलमार्फत ‘ह्यापी बर्थडे मेरी जान’ भन्ने आपत्तिजनक सन्देश पठाएको आरोपमा विद्यालयले उनलाई हटाउने निर्णय गरेको हो ।
विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासका अनुसार असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको वडा समिति, स्थानीय अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरूको बैठकले उक्त निर्णय गरेको हो ।
पीडित छात्राका अभिभावकले दिएको उजुरीका आधारमा विगत एक वर्षदेखि शिक्षक साहले यौनजन्य मनसाय राखी डिजिटल सन्देश पठाउँदै आएको खुलासा भएको बैठकले जनाएको छ ।
४९ वर्षीय साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ लाई सामाजिक विषय अध्यापन गर्दै आएका थिए । सन्देश सार्वजनिक भएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए र विद्यालय परिसरमै प्रदर्शन समेत गरेका थिए ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार साहविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिइएको छ । उनलाई गत आइतवार पक्राउ गर्न खोज्दा विद्यार्थीहरूले विरोधस्वरूप ढुङ्गामुढा गरेपछि प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । त्यस क्रममा चार जना प्रहरी सामान्य घाइते भएका थिए ।
एक स्थानीय बासिन्दाका अनुसार साह यसअघि २०६२/६३ सालतिर पनि यस्तै किसिमको दुर्व्यवहारमा संलग्न भएका थिए र सामाजिक दण्ड भोगेका थिए । तर कानुनी कारबाही नभएकाले यस्ता व्यवहार दोहोरिएको आरोप लागेको छ ।
स्थानीय सर्फलाल पासवानले भने गरुडा नगरपालिकाले शिक्षक साहलाई जोगाउन प्रयास गरिरहेको आरोप समेत लगाएका छन् ।
राहत शिक्षक साह राहत निमावि दरबन्दीका करार शिक्षक हुन् । निज शिक्षकको नियुक्ति प्रक्रिया कानुन संवत् नभएर दिएको उजुरी आधारमा २०७२ मा अख्तियारले समेत बर्खास्त गरेका थिए तर पनि पुनः विद्यालयले सोही पदमा विज्ञापन निकाली तत्कालीन विव्यास अध्यक्ष राजकुमार दास तत्माले रवीन्द्र प्रसाद साह लाई नियुक्ति गरेका थिए ।
यता स्थानीय अभिभावक, समाजसेवी र विद्यार्थीहरू शिक्षक साहलाई कडा कानुनी कारबाहीको माग गर्दै पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरिरहेका छन् ।
विद्यालयले शिक्षकको आचरणविरुद्ध कडा निर्णय लिएपछि स्थानीयले स्वागत गरे पनि अब कानुनी प्रक्रिया पनि निष्पक्ष हुनुपर्ने उनीहरूको माग छ ।
आरके श्रीवास्तव,राैतहट,०१ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघ पर्साको कार्यालय आज एक समारोहबीच उद्घाटन गरिएको छ । संघका जिल्ला संयोजक समसुदिन मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका पूर्व वनमन्त्री रमेश कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो भने उद्योगपति डा. सुबोध प्रसाद गुप्ता विशिष्ट अतिथि रहनु भएकाे थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुर्मीले लोकतान्त्रिक पत्रकार संघलाई आवश्यक परेको जुनसुकै समयमा सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाउनु भयो । उहाँले पत्रकारहरूलाई समाजमा सत्य र निष्पक्ष सूचनाको प्रवाहमार्फत आफ्नो भूमिका मजबुत रूपमा निर्वाह गर्न आग्रह गर्नु भयो । हालै पत्रकारहरूमाथि भएका घटनाहरूको निन्दा गर्दै उहाँले

पत्रकार सुरक्षाको ग्यारेन्टी लिन राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन सत्रमा लोकतान्त्रिक मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. कमरुल्ला अन्सारी, उद्योगपति डा. सुबोध प्रसाद गुप्ता, लोसपा नेपालका केन्द्रीय उपाध्यक्ष श्याम प्रसाद गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूले मन्तव्य राख्दै पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको र जनसरोकारका मुद्दामा कलम चलाउन पत्रकारहरूले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले संघमार्फत् अझ व्यवस्थित र जनउत्तरदायी पत्रकारिता गर्ने प्रतिबद्धता जनाएका छन् ।

लोकतान्त्रिक पत्रकार संघ पर्सा शाखाले पहिलोपटक आफ्नै कार्यालय उद्घाटन गरेको छ । पर्सामा पहिलोपटक औपचारिक रुपमा कार्यालय स्थापना गर्दै संघले पत्रकारिता क्षेत्रमै संस्थागत उपस्थिति विस्तार गरेको हो ।
संघका अन्य जिल्लामा हालसम्म कार्यालय सञ्चालनमा नरहे पनि पर्साबाट यस कार्यको थालनी गरिएको छ । पछिल्लो समय लोकतान्त्रिक पत्रकार संघ संगठनका रुपमा स्थापित बन्दै गएको छ ।
संघले मधेस प्रदेशका ८ वटै जिल्लामा संयोजक तोकेको छ भने अन्य जिल्लाहरूमा पनि संयोजक नियुक्त गर्ने काम जारी रहेको जनाएको छ ।
लोकतान्त्रिक पत्रकार संघको नेतृत्व हाल केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले गरिरहेका छन् । उनको नेतृत्वमा संघले संगठन विस्तारसँगै लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
संघले निकट भविष्यमा अन्य जिल्लाहरूमा पनि कार्यालय विस्तार गर्ने लक्ष्य लिएको छ ।