- अभिमनु कुमार पटेल, रौतहट, ७ गते साउन । सीमावर्ती क्षेत्रको सुरक्षामा चौबीसै घण्टा तत्पर सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले सुरक्षा मात्र होइन, मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।
भर्खरैको घटनामा, रौतहट माधवनारायण नपा वडा नं ४ विषनपुरवाकी २८ वर्षीया लक्ष्मीनिया देवीलाई डेलिभरीको समयमा A+ve ब्लडको आपतकालीन आवश्यकता परेको थियो। यस्तो संकटपूर्ण अवस्थामा सशस्त्र प्रहरी बलमा कार्यरत हबल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौर पुगेर तुरुन्तै रक्तदान गरे।

सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणका प्रहरी उपरीक्षक संतोष बस्नेतका अनुसार, चालु आर्थिक वर्षमा मात्रै गण तथा मातहतका कार्यालयहरूबाट ६३ जना सशस्त्र प्रहरी जवानहरूले बिरामीका लागि स्वेच्छिक रक्तदान गरेका छन्। “हाम्रो टोली मात्र सुरक्षा कार्यमा सीमित छैन, जब समाजलाई रक्तको आवश्यकता पर्छ, हामी त्यहाँ पनि उपस्थित हुन्छौं,” एसपी बस्नेतले बताए।
सामाजिक कार्य र रक्तदानमा अग्रसर यस गणले हरेक वर्ष स्थापना दिवसको अवसरमा पनि सामूहिक रक्तदान गर्दै आएको छ। यस वर्ष वैशाख महिनामा मात्र २४ जना सशस्त्र प्रहरी जवानले रक्तदान गरेका थिए।
एसपी बस्नेतका अनुसार, “प्रादेशिक अस्पताल गौरमा होस् वा पर्सा जिल्लाको वीरगंजमा, जब कहिले रक्तको खाँचो पर्दछ, सिधै हामीलाई सम्झिने चलन बनेको छ। आवश्यकता अनुसार रौतहटबाट प्रहरी जवान पठाएर रक्तदान गराउने काम हामीले गर्दै आएका छौं।”
एसपी बस्नेतले विगत ५ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म शान्तिको अनुभूति दिलाउने खालका रणनीतिहरू अपनाएका छन्। सुरक्षा मात्र होइन, समाजप्रति जिम्मेवार अभिव्यक्तिको रूपमा रक्तदान, जनसहभागिता, सहकार्य र मानवता प्राथमिकतामा परेको उनले स्पष्ट पारे।
“हामीले प्रत्येक समस्यालाई राज्यको तर्फबाट सेवा गर्ने अवसरको रूपमा लिन्छौं। रगत होस्, विपत होस्, अपराध नियन्त्रण होस् वा जनताको विश्वास, सशस्त्र प्रहरी बल एक परिवार हो जसले राष्ट्र र जनताको सेवा नै धर्म ठानेको छ,” उनले बताए।
देशको दक्षिणी सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने रौतहट, जहाँ अवैध क्रियाकलाप, तस्करी, आपराधिक गतिविधिहरूको जोखिम उच्च छ, त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट कानून पालन, शान्ति सुरक्षा र सीमा निगरानीमा बलियो गढको रूपमा परिचित छ। तर, यति मात्र होइन, यो गण सामाजिक सेवा, सद्भाव र मानवीय भावनामा समेत जिम्मेवार संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
- रक्तदान जस्ता संवेदनशील कार्यमा निरन्तरता दिँदै, संकटमा परेका नागरिकको साहारा बनेको यो गण रौतहट जिल्लामा पहिलो संस्थाको रूपमा यथार्थ सेवाको उदाहरण बनिरहेको छ। यसरी, सुरक्षा र सेवा दुबै मोर्चामा क्रियाशील सशस्त्र प्रहरी बल, नेपाल नं. ११ हे.क्वा. रौतहट आज एक प्रेरणादायी संस्थाको रूपमा जिल्लामा स्थापित बन्दै गएको छ।
प्रेमचन्द्र झा,साउन ७ गते
रौतहट । जिल्लामा दुई दिनको अन्तरालमै सिचाइका लागि मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
बुधबार बिहान ७ बजेतिर रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका करिब ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्न मोटर चलाउने क्रममा विद्युत प्रवाह भएको तारले छोएपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्यादा पनि बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिजो मंगलबार दिउँसो १ बजे रौतहटको कटहरिया नगरपालिका–२ जमुनियाका करिब ५२ वर्षीय मोक्तार देवानको पनि त्यस्तै घटनामा ज्यान गएको थियो। उनी पनि आफ्नै खेत सिचाइ गर्नका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्कालै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। खेत सिचाइका क्रममा सुरक्षाका मापदण्ड नअपनाउँदा करेन्ट लाग्ने घटनाहरू बढिरहेका छन्। स्थानीय प्रशासनले यसप्रकारका दुर्घटना न्यूनीकरण गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन।
बज्जिकाञ्चल संवाददाता,रौतहट, ०६ गते साउन ।
नेपाली काँग्रेस रौतहटले गौर नगरपालिकामा स्थायी पार्टी कार्यालय निर्माणका लागि ५ कठ्ठा ९ धुर जग्गा खरिद गरी ऐतिहासिक पहलको थालनी गरेको छ । जिल्ला सभापति एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवको दृढ संकल्प र नेतृत्व क्षमताले यो कार्य सफल भएको हो ।
सभापति यादवले उक्त अवसरमा प्रतिक्रिया दिँदै भने, “नेपाली काँग्रेस जस्तो विचार र सिद्धान्तमा आधारित पार्टीलाई संस्थागत गराउने बाटो भौतिक संरचनाबाट सुरु हुन्छ । गौरमा हाम्रो आफ्नै कार्यालय हुनु केवल भौतिक उन्नति मात्र होइन, यो संगठनको आत्मसम्मानको प्रतीक पनि हो।”
उनले थपे, “रौतहटमा काँग्रेस पार्टीले देश र मधेश आन्दोलनमा अग्रणी भूमिका खेलेको गौरवपूर्ण इतिहास छ। सोही गौरवलाई आत्मसात गर्दै सबै कार्यकर्ताको अपनत्व हुने किसिमले कार्यालय भवन निर्माण गरिनेछ।”
नेपाली काँग्रेसले वर्षौंदेखि भाडाको संरचनाबाट पार्टी सञ्चालन गर्दै आएपनि अब भने स्थायी संरचना निर्माणको बाटो खुलेको छ। यो अभियान मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको मार्गदर्शन तथा पार्टीका जिल्ला सचिव मिथिलेश कुमार मिश्र लगायतका नेपाली काँग्रेसका नेताहरूकाे सक्रियतामा अघि बढाइएको हो ।
जग्गा खरिदका लागि आवश्यक सबै प्राविधिक, कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरिएको सचिव मिश्रले जानकारी दिए । उनका अनुसार, खरिद गरिएको जग्गाको मूल्य प्रति कठ्ठा रु २५ लाख रहेको छ, र यसमा जिल्लाका विभिन्न नेताहरू, कार्यकर्ता, शुभेच्छुक र चन्दा सहयोगदाताको उल्लेखनीय भूमिका रहेको छ ।
विश्लेषकहरूका अनुसार, यो निर्णयले पार्टीभित्र संरचनात्मक सुदृढीकरणमा नयाँ आयाम थप्नेछ। यसले कार्यकर्तामा ऊर्जा थप्ने, संगठनमा स्थायीत्व ल्याउने र जिल्लाको राजनीतिक भूमिकामा काँग्रेसको उपस्थिति थप प्रष्ट बनाउने अपेक्षा गरिएको छ ।
सचिव मिश्रले भने, “पार्टी कार्यालयको निर्माणले काँग्रेसप्रति प्रेम, समर्पण र निष्ठा भएका सबैमा उत्साह थपेको छ।”
सभापति यादवको नेतृत्वमा अघि बढाइएको यो कदम केवल तत्कालीन आवश्यक्ता पूरा गर्ने कार्य होइन, भविष्यप्रति गरिएको दीर्घकालीन लगानी हो, जसले रौतहटको काँग्रेस इतिहासमा नयाँ युगको थालनी गर्ने विश्वास गरिएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सोमबार रौतहटको चन्द्रपुर नगरपालिका–८, सन्तपुर बेतौनास्थित कोटिहोम परिसरमा वृक्षारोपण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा दर्जनौं प्रजातिका बिरुवाहरू रोपिएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका मधेश प्रदेशका अर्थमन्त्री तथा कांग्रेस रौतहटका जिल्ला सभापति सुनिलकुमार यादवले वीपी कोइरालाको योगदान आज पनि प्रेरणादायी रहेको उल्लेख गरेका छन् ।

उनले भने, “महामानव वीपी कोइरालाले नेपालको मात्र होइन, भारतको स्वतन्त्रता आन्दोलनमा समेत ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले देखाएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मार्ग आजको सन्दर्भमा झन् सान्दर्भिक बनिरहेको छ।”
मन्त्री यादवले वर्तमान राजनीतिक परिवेशमा वीपीका मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै वीपी कोइरालालाई शोषित, पीडित र वञ्चित वर्गको मुक्तिको संवाहकको रूपमा स्मरण गरेका छन् ।
कार्यक्रममा अन्य वक्ताहरूले पार्टी सुदृढीकरणका लागि संगठनात्मक अनुशासन र विचारप्रति प्रतिबद्धता आवश्यक रहेको बताए ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका वीपी कोइराला २०१६ जेठ १४ गते नेपालका प्रथम प्रजातान्त्रिक प्रधानमन्त्री बनेका थिए । २०३९ सालको साउन ६ गते उहाँको निधन भएको थियो । नेपाली कांग्रेसले प्रत्येक वर्ष यस दिनलाई “वीपी स्मृति दिवस” का रूपमा देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । राैतहटमा मनाईएकाे साे कार्यक्रममा नेपाली काँग्रेस राैतहटका नेतागणहरूकाे सहभागीता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,०६ गते साउन ।
रौतहटको गरुडा नगरपालिका–४ स्थित नापी कार्यालय नजिकै चेकजाँचको क्रममा प्रहरीले ठूलो परिमाणमा लागुऔषध जस्तो देखिने गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान करीब ८:३० बजे चपुर–गौर सडकखण्डमा चेकजाँचको क्रममा एक कार भागेपछि प्रहरीले उक्त सवारी साधन झाझपुल नजिकै सडकको पश्चिम साइडमा खाल्टोमा करीब १० फिट तल फसेको अवस्थामा फेला पारेको थियो ।
चेकजाँच गर्दा ग ३ च ६८९६ नम्बरको रातो रङको कारको डिक्कीमा प्लास्टिकका १३ वटा पोका फेला परेका छन् । जसमा अन्दाजी १३३ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थ लुकाइएको थियो । गाडी चालक भने घटनास्थलबाट फरार भएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाडी र लागुऔषध इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । फरार चालकको पहिचान र खोजी कार्य तीव्र रूपमा भइरहेको ईप्रका गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले लागुऔषध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सडकमा निगरानी र चेकजाँच कार्यलाई अझ सशक्त बनाइरहेको जनाएको छ।
आरके श्रीवास्तव, रौतहट, साउन ५ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सितलपुरले पछिल्ला दिनहरूमा उल्लेखनीय सुधार हासिल गरेको छ। यस सफलतामा वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (संजय) को नेतृत्वदायी भूमिका निर्णायक रहेको छ ।

शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धतासहित अध्यक्ष यादवको सक्रिय पहलमा विद्यालयमा थुप्रै सुधारात्मक कार्यहरू सम्पन्न भएका छन्। स्थानीय स्रोतको अधिकतम उपयोग, वडा कार्यालय तथा नगरपालिकासँगको सहकार्यबाट विद्यालयमा शैक्षिक र भौतिक सुधार सम्भव भएको हो।

विद्यालयको आफ्नै आम्दानीबाट झण्डै ३ लाख रुपैयाँ खर्चेर विद्यालयकाे कम्पाउण्ड वाल निर्माण निर्माण भएको हाे । भने नगरपालिकाकाे सहयाेगमा मूल गेटमा रंगरोगन गरिएको छ । जसले विद्यालयलाई आकर्षक र सुरक्षित बनाएको छ ।

बालबालिकाको प्रारम्भिक शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाको सहयोगमा बाल विकास कक्षाकोठाको व्यवस्थापन पनि गरिएको छ । अन्य आवश्यक भौतिक सुधार कार्यहरू वडा कार्यालयको सक्रियतामा सम्पन्न भएका हुन् । स्तरीय साैचालय पनि निर्माण गरिएकाे छ ।

वडा अध्यक्ष यादवले भने, “समुदाय र जनप्रतिनिधिबीचको सहकार्यबाट मात्रै शिक्षा क्षेत्रमा दिगो सुधार सम्भव छ । विद्यालय सुधार हाम्रो साझा दायित्व हो र म यसको लागि सधैं अग्रसर रहन्छु।” उनले आगामी दिनमा विद्यालयमा थप पूर्वाधार विकासका योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मुकेश यादवले पनि सकारात्मक परिवर्तन ल्याउन समर्पित भएर काम गरिरहेका छन्। उनको नेतृत्वमा शिक्षण सिकाइको गुणस्तर सुधारसँगै विद्यालयको समग्र वातावरणमा सुधार आएको छ ।

स्थानीय बासिन्दाहरूले विद्यालयमा भइरहेको सुधार कार्यप्रति सन्तोष व्यक्त गर्दै वडा अध्यक्ष यादवको नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यस्तो समन्वय र नेतृत्वले मात्रै शिक्षाको स्तरमा वास्तविक परिवर्तन सम्भव छ ।
राजेन्द्र महताे,सिराहा,५ गते साउन ।
प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।
विष्णुपुर गाउँपालिकासँग सम्बन्धित समाचार लेखेको निहुँमा यादवलाई स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवनको अवस्थामा गालीगलौज, दुर्व्यवहार तथा फोनमार्फत ज्यान मार्ने धम्की दिएको पीडित यादवले बताएका छन् ।

सम्पादक यादवले आफ्नो पत्रिकामा गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशित गरेका थिए। सोही विषयलाई लिएर योजनाबद्ध रूपमा पत्रकारमाथि दवाव र आक्रमण गरिएको हो भन्ने आरोप छ ।
नेपाल पत्रकार महासंघ, सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीहरूलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले विज्ञप्तिमार्फत यस्ता घटनाहरू पत्रकारिता क्षेत्रका लागि अपमानजनक र अस्वीकार्य भएको स्पष्ट गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा संगठित हुन आह्वान गरेको छ ।

महासंघले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी समेत दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०५ गते साउन ।
रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ मा सडक पक्कीकरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । वडाध्यक्ष सर्फलाल गुप्ताको पहलमा गल्ली गल्लीका कच्ची सडकहरू अहिले ढलान भई व्यवस्थित बन्दै गएका छन् ।

वडाका विभिन्न टोलहरूमा ढलानको काम धमाधम भइरहेको छ । स्थानीयवासीहरू भन्छन्, “पहिला वर्षाैँसम्म हिलो र धुलोमा हिँड्नुपर्थ्याे, अहिले भने ढलान भएका सडकमा सजिलै हिँडडुल गर्न पाएका छाैं।”

वडाध्यक्ष गुप्ताले आफ्नो नेतृत्वमा ‘विकास र सुविधा जनताकाे घर आँगनमै’ भन्ने नारालाई सार्थक बनाउँदै आएको जनगुनासो छ । पहिलो कार्यकालमै वडाको आधारभूत पूर्वाधारमा व्यापक सुधार ल्याएपछि जनताले उनलाई दोस्रो कार्यकालका लागि पनि मौका दिएका थिए ।

“जनताले दिएको विश्वास र जिम्मेवारीप्रति म गम्भीर छु। वडामा हरेक टोलसम्म सडक, नाला, विजुली, खानेपानीजस्ता सेवाहरू पुर्याउन लागिपरेका छौं,” वडाध्यक्ष गुप्ताले बताए ।
हाल ढलान भएका सडकहरूलाई दिगो बनाउने र नियमित मर्मतकाे योजना पनि वडा कार्यालयले अघि सारेकाे छ । स्थानीय तह, प्रदेश सरकारकाे बजेट सदुपयोग गर्दै वडाध्यक्ष गुप्ताले कटहरिया–५ लाई विकासको नमुना वडा बनाउने दाबी गरेका छन् ।
राजिव राय,महोत्तरी,०४ गते साउन ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता माननीय शरतसिंह भण्डारी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११, कालिपुरमा अवस्थित ऐतिहासिक शनिदेव मन्दिरमा आयोजित भव्य कलशयात्रामा सहभागी हुनुभयो।

कार्यक्रमका अवसरमा मन्त्री भण्डारीले मन्दिरका पुजारी मोहन महतोबाट वैदिक विधिपूर्वक शनिदेवको पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्नुभयो।
उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग महोत्तरीका जिल्ला अध्यक्ष तथा लोसपा नेपालका केन्द्रीय सदस्य पिताम्वर महतो,केन्द्रीय सदस्य देव नारायण महतो, नगर अध्यक्ष उपेन्द्र महतो, नगर उपाध्यक्ष दिप नारायण राय पटेल, युवा नेता प्रमोद महतो गौशाला नगरपालिकाका वडा अध्यक्ष रामपृत महतो लगायत हजारौं श्रद्धालु भक्तजन र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कलशयात्रामा सहभागी महिलाहरू परम्परागत भेषभूषामा कलश बोकी आकर्षक झाँकीमा देखिन्थे भने युवाहरूको सांगीतिक टोलीले वातावरण झनै भक्ति र उल्लासमय बनाएको थियो। कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश समेत प्रवाह भएको जनाइएको छ।
बज्जिकाञ्चल संवाददाता,धनुषा,०४ गते साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, धनुषा जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता लोसपा नेपाल धनुषा जिल्ला अध्यक्ष जिबेन्द्र झाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष बनायो ।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थिति रहेको थियो । साथै पार्टीका महासचिव परमेश्वर साह,संसदीय दलका नेता जयनुल राईन, सचिवद्वय सदाशिव मिश्र र ज्ञानेन्द्र झा, प्रदेश समिति उपाध्यक्षद्वय राम ज्ञान मण्डल र अरुण पाठक, लगायत अन्य थुप्रै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन विस्तार, कार्यकर्ता सुदृढीकरण तथा भावी रणनीति सम्बन्धमा गहन छलफल र मार्गनिर्देशन गरिएको थियो । नेताहरूले जनतामाझ पार्टीको विश्वसनीयता र सशक्त उपस्थिति निर्माण गर्न सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
उक्त कार्यकर्ता भेटघाट कार्यक्रमले पार्टीभित्र एकता, सहकार्य र नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।

धनुषाको राजनीतिक वातावरणमा लोसपाको सशक्त उपस्थिति पुनः पुष्टि गर्नेगरी यो कार्यक्रम सफल र उत्साहजनक भएको आयोजकले जनाएको छ ।