२०८३ असार २६
२०८३ असार २६

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते साउन । 

राैतहटकाे मौलापुर नगरपालिकाले पत्रकार रविन्द्र प्रजापतिको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नगर प्रमुख रिना कुमारी साहको नेतृत्वमा पालिकाले दिवंगत पत्रकारका परिवारलाई नगद रू २५ हजार सहयोग प्रदान गरेको छ ।

नगर प्रमुख साह तथा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरपालिकाकाे तर्फबाट रविन्द्र प्रजापतिको घरमै पुगेर परिवारलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँहरूले स्व. प्रजापतिको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नगर प्रमुख साहले भनिन्, “पत्रकार रविन्द्र प्रजापतिको असामयिक निधनले हामी सबै स्तब्ध भएका छौं। पालिकाको तर्फबाट यो सानो सहयोग मार्फत उहाँका परिवारलाई केही राहत मिलोस् भन्ने हाम्रो चाहना हो।”

स्व. प्रजापति लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए र उनले स्थानीयस्तरमा जनसमस्या उठाउने कार्यमा उल्लेखनीय भूमिका खेलेका थिए ।

स्मरणीय हाेस् गत साउन गते शनिबार राति पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए।

आरके श्रीवास्तव,राैतहट,१५ गते साउन । 

रौतहटकाे कटहरिया नगरपालिका–७ मा रहेको श्री मावि बगहीका पूर्व प्रधानाध्यापक सरोज साहलाई विशेष सम्मान गरिएको छ । आफ्नो दुई वर्षे कार्यकालमा इमानदारीपूर्वक सेवा दिएका साहको समर्पण र कर्मनिष्ठाको कदर गर्दै वडा कार्यालयले उनलाई सम्मान गरेको हो ।

समारोहमा वडा अध्यक्ष सहिद मियाँ धोबीले सरोज साहलाई मोबाइल, टाइटन घडी, दुई जोर कपडा, जुत्ता–मोजा, चप्पल, बेल्ट, रूमाल, डायरी, कलमसहित सम्मानपत्र प्रदान गरेका छन् ।

उक्त सम्मानलाई साहले अत्यन्त गहिरो सम्मानका साथ ग्रहण गर्दै सम्पूर्ण वडा परिवारप्रति आभार व्यक्त गरेका छन् ।

“कर्म इमानदारीपूर्वक गर्नुपर्छ, मुल्यांकन अवश्य हुन्छ,” साहले सम्मान ग्रहण गर्दै संक्षिप्त मन्तव्य दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय अभिभावक, समाजसेवी तथा वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो सम्मान शिक्षक–शिक्षण पेशाप्रतिको आदर र समर्पणप्रतिको कदरको प्रतीक भएको बताइएको छ । शिक्षक साह हाल श्री जनता मावि कटहरियामा कार्यरत छन् ।

 

आरके श्रीवास्तव,राैतहट,१५ गते साउन । 

नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा मौलापुर वितरण केन्द्रको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको नेतृत्व वितरण केन्द्रका कार्यालय प्रमुख ई. रामदिनेश यादवले गर्नुभयो ।

ई. यादवका अनुसार यस प्रकारका कार्यक्रमले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै कार्यालय परिसरलाई हरियालीयुक्त बनाउने उद्देश्य राखिएको छ ।

उहाँले भन्नुभयो, “विकास र पूर्वाधार निर्माणसँगै वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण जस्ता कार्य अपरिहार्य छन् । विद्युत प्राधिकरणले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो पहललाई निरन्तरता दिनेछ ।”

कार्यक्रममा वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । विभिन्न जातका फलफूल तथा छायाँदिने बिरुवा रोपिएको जानकारी दिइएको छ ।

यस अवसरमा कार्यालय प्रमुख यादवले कर्मचारीहरूलाई नियमित रूपमा वृक्षहरूको हेरचाह गर्न आग्रह गर्नुका साथै भविष्यमा थप वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवलाई सामाजिक तथा वातावरणीय सन्देशमूलक बनाउने प्रयासस्वरूप गरिएको यो वृक्षारोपण कार्यक्रम सराहनीय कदमको रूपमा लिइएको छ ।

आरके श्रीवास्तव,राैतहट,१५ गते असार ।
रौतहटकाे गरुडा नगरपालिका–२, गेडहीगुठ्ठीमा आज एक विशेष कार्यक्रमका बीच छात्र–छात्राहरूलाई साईकल वितरण गर्दै कक्षा ११ को औपचारिक सुरुआत गरिएको छ ।


कार्यक्रममा नगरप्रमुख कन्थमनी जयसवालले सहभागी भई छात्रछात्राहरूलाई साईकल वितरण गर्न पाएको र कक्षा ११ को औपचारिक सुरुआत गर्न पाएकोमा अत्यन्त खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको सुधार र छात्रहरूको शैक्षिक पहुँचलाई अझ सहज बनाउन नगरपालिकाले गर्दै आएको प्रयास अन्तर्गत यो कार्यक्रम एउटा सकारात्मक पाइलाको रूपमा लिएको छु।”


नगरप्रमुख जयसवालले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थप्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा नगरपालिकाले ठोस कामहरू गर्दै जाने प्रतिबद्धता समेत दोहोर्याउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मौजेलाल साहले नगरपालिकाको यो पहलप्रति आभार व्यक्त गर्दै भने, “साईकल वितरणले दूरदराजबाट विद्यालय आउने विद्यार्थीहरूको यात्रा सजिलो बनाउनेछ । यसले विशेष गरी विपन्न वर्गका छात्रछात्राहरूलाई विद्यालयमा नियमित गराउने र पठनपाठनमा अझ सक्रिय बनाउनेछ ।”


प्रधानाध्यापक साहले कक्षा ११ को सुरुआतले विद्यालयमा उच्च माध्यमिक तहको शिक्षामा नयाँ अध्याय प्रारम्भ भएको उल्लेख गर्दै विद्यार्थी र अभिभावकको भरोसालाई कायम राख्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,१५ गते साउन । 

राैतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० मा आज गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न वितरण गर्दै मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य मन्त्रालय, मधेस प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयको सहयोगमा कुपोषणको जोखिममा रहेका महिलालाई प्रत्यक्ष राहतस्वरूप पोषण सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले “स्वस्थ आमा नै समृद्ध समाजको आधार हो” भन्दै मातृ तथा शिशु स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारको पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रदेश सांसद प्रत्यासी शेख सेराजले मातृ स्वास्थ्यलाई बलियो बनाउने यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउँदै, स्वास्थ्य क्षेत्रमा अझ बढी बजेट र योजनाहरू ल्याउनुपर्ने धारणा राख्नुभयो ।

वडा नम्बर १० का वडा अध्यक्ष मञ्जय चौधरीले गर्भवती र सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्यान्न वितरणले ठुलो राहत मिल्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

जनकपुर । जनकपुरधाममा दिनहुँजसो विरोध, प्रदर्शन, ज्ञापन पत्र बुझाउने, धर्ना, आन्दोलन हुनु कुनै नयाँ कुरा होइन । तर मंगलबार (आज) ज्ञापन पत्र बुझाउने एउटा अनौठो शैली देखिएको छ ।

विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षणसहितका मागहरु लिएर आवाज उठाउँदै आएका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालो पट्टी बाँधेर नगर परिक्रमा गरेका छन् ।

उनले विभिन्न माग राख्दै आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

संयोजक यादवले आँखामा पट्टी बाँधेर जनकपुरधामको जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेश सरकारका उपसचिव बासुदेव मल्ललाई सात बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

यादवले बुझाएको ज्ञापनपत्रमा हाल संसदमा पेश भएको भुमि व्यवस्था ऐन तत्काल फिर्ता लिन माग गरिएको छ ।

प्राकृतिक श्रोतमाथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले सो ऐन तत्काल संसदबाट फिर्ता लिइ वन जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।

खानेपानीको व्यवस्थाअन्तर्गत अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजना, कार्यक्रम र बजेट सुनिश्चितता गरि कार्यन्वयनको लागि घोषणा गर्न, मधेश प्रदेशलाई सुख्खा खडेरी र जल संकटग्रस्त क्षेत्र सरकारले घोषणा गरेपनि किसानको लागि तत्कालीन राहत र क्षतिपूर्तिको घोषणा गरि रकम उपलब्ध गराउनुपर्नेलगायतका मागहरु उल्लेख रहेको छ । सभार राताे कागज 

प्रेमचन्द्र झा,राैतहट,१३ गते साउन । 

राैतहट । मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज बीरगंजमा एक भव्य समारोहका बिच सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्मा कोअध्यक्षता र मधेश प्रदेशका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै मन्त्री जयसवालले जेष्ठ नागरिकहरू राष्ट्रको गौरव र अनुभवका धनी स्रोत रहेको उल्लेख गर्दै, उनीहरूको सम्मान र सहभागितालाई संस्थागत गर्न राज्य प्रतिबद्ध रहेको बताए। संयोजक जगदीश शर्माले जेष्ठ नागरिकको हक, हित र सुरक्षाका लागि संघले निरन्तर आवाज उठाउने बताए।

अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित अध्यक्षमा विजय किशोर झा (रौतहट), प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा), महिला उपाध्यक्षमा ज्योति शाह (पर्सा), महासचिवमा सूखचन्द्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी) निर्वाचित भएका छन्। सदस्यहरूमा सलमा नेशा खातून (सर्लाही) र महेश्वर लाल कर्ण (रौतहट) चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सहभागीहरूले संघलाई अझ सक्रिय, जिम्मेवार र प्रभावशाली बनाउने अपेक्षा व्यक्त गरे।

बज्जिकाञ्चल संवाददाता,पर्सा,१३ गते साउन । 

बिरगंज-पर्साको बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाले उल्लेखनीय स्वास्थ्य सेवा पाएका छन् ।

शिविरमा ८७ जना सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो, जसमा १६ जनामा मोतियाबिन्दु देखिएको वीरगंज सामुदायिक आँखा केन्द्रका डा. प्रभात चौरसियाले जानकारी दिए । मोतियाबिन्दु भएका बिरामीको साउन १६ गते बिहीबार निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरमा डा. चौरसियाले आँखा परीक्षण गरेका थिए भने अस्पतालका ओमप्रकाश चौधरीले परीक्षणमा सहयोग पुर्‍याएका थिए। बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।

कार्यक्रममा राप्रपा अलौंका वडा इकाइ सभापति छठु साह कानु, राप्रपा नेपाल पर्साका नेता उदित सहनी, जसपा पर्साका नेता बिरेन्द्र प्रसाद यादव, जादोलाल सहनी, पत्रकार विष्णु राम र समाजसेवी अमर यादवलगायतको उपस्थिति रहेको थियो।

पत्रकार साहको सक्रियतामा सम्पन्न उक्त शिविरले स्थानीयस्तरमै प्रभावकारी सेवा प्रदान गर्दै जनस्वास्थ्यप्रति नागरिकको पहुँच बलियो बनाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

राम विश्वास कुशवाहा, सर्लाही,१३ गते साउन । 
हरिवन -नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो ।

नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो । यस्ता विशेष पर्वहरूमध्ये नागपञ्चमी पनि एउटा पर्व मानिन्छ । हरेक श्रावण शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।

हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पूजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्म र संस्कारअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रहेको छ । नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको नागपञ्चमीकै दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश स्थापना गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा गरी नागपञ्चमी मनाउँदै आएको पाइन्छ ।

भगवान् शंकरले गहनाको रुपमा र भगवान् विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नाग लाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । पञ्चध्यानी बुद्धहरुमध्ये उत्तर दिशाका अमोघशिद्धि नागफणाद्धारा रक्षित हुन्छन् । नागपञ्चमी दिन भएकाले सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ ।

पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्य, शंखचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन् । श्रावण महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी हो । घस्रेर हिँड्ने लम्बाकार विषालु कीरो, सर्पलाई नाग पनि भनिन्छ । श्रावण महिना नागको मालाधारी भगवान् शिवको पूजा गरिने महिना हो । यो महिनामा पर्ने सोमबार बोलबम नारासहित भगवान् शिवको पूजा गरिन्छ । पौराणिक परम्पराअनुसार नागले बास गर्ने जलाशय नाग बस्ने दहलाई नागदह भनिन्छ ।

सर्पहरू गृष्म ऋतुमा जमिनबाहिर र शीत ऋतु जाडोमा जमिनमित्र दुलोमा बस्दछन् । सर्प अक्सर दुलोमा बस्दछन् । सर्पलाई सधाएर, नाच्न लगाएर त्यसबाट आयआर्जन गरेर जीवननिर्वाह गर्ने चटकीहरू पनि छन् । नागबाट बहुमूल्य, अति दुर्लभ र उपयोगी नागमणि पाइन्छ भन्ने किम्वदन्ती पनि छ । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

आरके श्रीवास्तव,राैतहट,१३ गते साउन । 

आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र परम्पराअनुसार मनाइँदैछ । घरकाे मूलगेटमा नाग फाेटाे टाँसी परम्परागत संस्कार अनुसार गाउँघरमा बिहानै उठी गाेबरबाट घरकाे भित्तामा नागकाे चित्र बनाइन्छ भने, “बालु पढ्नेर मगाउने” परम्परासमेत निभाइन्छ ।

यस अवसरमा विशेषगरी कृषक समुदायले नागदेवतालाई वर्षा, उब्जनी र समृद्धिको प्रतीक मानी पूजापाठ गर्ने परम्परा रहेको छ । नागकाे तस्बिर बनाई पूजा गरी नागदेवतालाई दूध, अक्षता, फूल, दुग्धजन्य पदार्थ अर्पण गरिन्छ ।

ग्रामीण क्षेत्रमा आजको दिनलाई विशेष मानिँदै आएको छ । महिलाहरू घरको सरसफाइ गरी भित्तामा गाेबरले नाग बनाउने चलन आज पनि कायमै छ । साथै, परम्पराअनुसार बालु पढेर मगाउने चलनले सामाजिक र धार्मिक चेतनाको निरन्तरता झल्काउँछ ।

धार्मिक मान्यताअनुसार नाग पञ्चमीमा नाग देवताको पूजा गरेमा सर्पदंशबाट रक्षा हुने र घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।