आरके श्रीवास्तव,राैतहट,२६ गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले हालसालै केहि स्थानीय सञ्चारमाध्यमहरुमा कार्यवाहक नगरप्रमुख अमवेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र अन्य कर्मचारीहरूलाई लक्षित गरी प्रकाशित समाचारप्रति खण्डन जारी गरेको छ । नगरपालिका कार्यालयले २०८२ साल साउन २६ गते पत्रकार सम्मेलन गर्दै सार्वजनिक रूपमा उक्त समाचारहरू भ्रामक, अपुष्ट र तथ्यहीन रहेको स्पष्ट पारेको छ ।
नगरपालिकाका अनुसार, प्रशासकीय प्रमुख भरत प्रसाद यादव दैनिक रूपमा कार्यालयमा उपस्थित भई नियमित रूपमा कामकाज गर्दै आएका छन् र कार्यशैलीमा पारदर्शिता तथा जवाफदेहिता अपनाइएको छ । सार्वजनिक खरिद प्रक्रिया, कर्मचारीको हाजिरी, र कार्यक्रम सञ्चालन सम्बन्धी कार्यहरू सबै सम्बन्धित कानुन र नगरसभाको निर्णयअनुसार नै गरिएको व्यहोरा खण्डनपत्रमा उल्लेख छ।
योजना शाखामा रामाशंकर यादवलाई अस्थायी रूपमा जिम्मेवारी दिनु परेको विषयमा पनि प्रष्ट पार्दै भनिएको छ । पूर्व योजना प्रमुख विल्टु राय यादव कार्यालयमा नियमित रूपमा नआएको र निजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले वैकल्पिक व्यवस्था गर्नुपरेको हो ।
त्यस्तै, सरकारी गाडीको दुरुपयोग, अनावश्यक पेट्रोल वितरण र बजेटको अपचलनका आरोपहरू समेत अस्वीकार गर्दै खण्डनमा भनिएको छ कि प्रमुख प्रशासकीय अधिकृतले कानुनअनुसार प्राप्त सेवा सुविधा मात्र प्रयोग गरेका छन्, अनावश्यक खर्च नभएको र कुनै अतिरिक्त चालक पनि नराखिएको स्पष्ट पारिएको छ ।
सबैभन्दा भ्रष्ट भन्ने आरोपप्रति कडा आपत्ति जनाउँदै फतुवा विजयपुर नगरपालिकाले हालै वार्ड नं.११ को सार्वजनिक कार्यक्रममा भरत यादवको इमान्दारी र आर्थिक अनुशासनको प्रशंसा सार्वजनिकरूपमै गरिएको उदाहरण दिँदै उक्त आरोप आधारहीन भएको स्पष्ट गरेको छ ।
नगरपालिकाले स्थानीय सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न अनुरोध गर्दै अपुष्ट सूचना सार्वजनिक नगरिदिन आग्रह समेत गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,सर्लाही,२५ गते साउन ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा
सर्लाही जिल्लाको वसवरीया गाउँपालिका वार्ड वार्ड नं ४ र ५ मा जसपा नेपाल परित्याग गरी वार्ड नं.४ का पुर्व वार्ड अध्यक्ष कमल चौधरी तथा वर्तमान वार्ड अध्यक्ष युवानेता सुरेश साहको नेतृत्वमा १०० जना सम्मानित व्यक्तित्व नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
एक विशेष कार्यक्रममा पूर्वमन्त्री सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस सर्लाही जिल्लामा सशक्त रुपमा स्थापित हुँदै गएको प्रदेश सांसद सिंहले बताए। उनले कांग्रेसले सर्लाहीमा १२ स्थानीय तहमा जित दर्ता गराइसकेको र आगामी निर्वाचनहरूमा प्रदेशसभा तथा प्रतिनिधिसभामा पनि विजयी हुनेगरी संगठन बलियो बनिरहेको दाबी गरे।
“जनताको दुःखसुखमा निरन्तर साथ दिइरहेका छौं, विकास–निर्माण र जनसेवामा कांग्रेसको उपस्थिति बढ्दो छ,” सिंहले कार्यक्रममा बताएका थिए।
पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार केही दिन अगाडि मात्र हरकठवामा पार्टी प्रवेश भएका थिए।
पछिल्लो समय कांग्रेसप्रति आकर्षण बढिरहेको र विभिन्न पार्टी परित्याग गरेर नेता–कार्यकर्ताहरू प्रवेश गरिरहेको क्रम जारी छ।
आरके श्रीवास्तव,राैतहट,२३ गते साउन ।
आज मधेस प्रदेशभरि दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम र विश्वासको प्रतिकको रूपमा रक्षा बन्धन पर्व हर्षोल्लासका साथ मनाइँदैछ । विशेष गरी हिन्दू धर्मावलम्बीहरूको मुख्य चाडमध्ये पर्ने यो पर्व आज बिहानैदेखि भाइलाई रक्षासूत्र बाँधेर मनाइँदै आएको छ ।
राैतहट जिल्लाको गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, इशनाथ लगायतका शहर र गाउँहरूमा दिदीबहिनीहरू भाइहरूको हातमा रक्षाबन्धन बाँधेर दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गरिरहेका छन् । यस अवसरमा भाइहरूले पनि दिदीबहिनीलाई उपहारस्वरूप लुगा, मिठाइ तथा नगद रकम दिइ आफ्नो प्रेम प्रकट गरिरहेका छन् ।
यस पर्वका अवसरमा विभिन्न मन्दिरहरूमा पूजा-अर्चना गर्न पुग्ने भक्तजनको भीड लागेको देखिएको छ। गौरको प्रसिद्ध दुर्गा मन्दिर, महादेवस्थान र लक्ष्मी नारायण मन्दिरमा विशेष पूजा कार्यक्रमको आयोजना गरिएको छ।
सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध प्रगाढ बनाउने सन्देश दिने यो पर्व मधेसमा विशेष रूपमा मनाइन्छ । घर-परिवारमा उमंग र उत्साहको वातावरण देखिएको छ ।
रक्षा बन्धनसँगै आज जनैपूर्णिमा पर्व पनि मनाइँदैछ । यसै अवसरमा ब्राह्मण तथा क्षेत्री समुदायले जनै फेर्ने परम्परा निर्वाह गरिरहेका छन् ।
पर्वका कारण बजारमा पनि चहलपहल बढेको छ।
आरके श्रीवास्तव,राैतहट,२३ गते साउन ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आउँदो साउन ३० गते नगरसभा हुने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले उक्त मिति तय गरेको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” विभिन्न कारणले संविधानले तोकेको समयसीमाभित्र बजेट पारित गर्न सकेनाै । ढिलै भएपनि यस विषयमा हामी गम्भीर छौं । त्यसैले हामी नगरसभालाई प्रभावकारी बनाउने दिशामा जुटेका छौं।”

नगरसभा तयारीका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली बिहीबार नगरपालिकामा पुगेको थियो । मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीको नेतृत्वमा आएको उक्त टोलीले साउन मसान्तभित्र बजेट पेश गरी पारित गर्न सहजीकरण गर्ने उद्देश्यले भ्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले जानकारी दिनुभयो ।
नगरसभा सफल बनाउन आन्तरिक तयारी तीव्र पारिएको फतुवा बिजयपुर वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव (पप्पु) ले बताउनुभयो । उहाँका अनुसार नगरसभा तयारीका विषयमा वडास्तरमा समेत छलफल सुरु गरिएको छ ।
नगरसभा हुने खबरले नगरवासीहरूमा उत्साह थपिएको प्रदेश सांसद प्रत्याशी शेख सेराजले बताउनुभयो । उहाँले नगरसभा लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएको भन्दै यसले पारदर्शिता र स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाले अबको केही दिनभित्रै बजेट प्रस्तावसहितको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२३ गते साउन ।
रौतहटकाे गरुडा नगरपालिका वडा नं. ९ गमहरियामा आम जनता पार्टीको २६ सदस्यीय नयाँ वार्ड कमिटी गठन गरिएको छ । स्थानीय जनताको हितमा काम गर्ने उद्देश्यका साथ गठित यस कमिटीले विशेष गरी बिजुली र खानेपानी निशुल्क उपलब्ध गराउने तथा किसानहरूलाई समयमा खाद–मल उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीका नेता रविन्द्र यादव रहेका थिए भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य अमीनद्र यादव, मञ्जु महतो, अफ्रोज आलम, रिता शाह तथा जयलाल महतो रहेका थिए । कार्यक्रमको अध्यक्षता जयलाल महतोले गरेका थिए ।

गठित कमिटीमा प्रमशिला देवी अध्यक्ष, निकलेश महतो उपाध्यक्ष, मनौहरी देवी साह सचिव, श्रीनारायण महतो सह–सचिव र ओर्मिला देवी कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा विन्दु देवी महतो र सोविता राम लगायत अन्य स्थानीय कार्यकर्ताहरू समावेश गरिएका छन् ।
कार्यक्रममा बोल्दै अतिथिहरूले आम जनता पार्टीले स्थानीय जनताको जीवनस्तर उकास्नका लागि निरन्तर रुपमा काम गर्ने बताउँदै नवगठित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
बज्जिकाञ्चल संवाददाता,बारा,२३ गते साउन ।
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिचाई सम्झौता अनुसार भारतसंग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कार्य भएको टिप्पणी गरेका छन् ।
बाराको कलैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले नेपाल–भारत बीचको सम्झौता अनुसार नेपालले पानी नपाउदा समेत प्रधानमन्त्री ओली मौन बस्नु राष्ट्रघाती काम भएको बताए ।
मधेसमा पानीको हाहाकार हुँदा किसानले समयमै धानखेती गर्न नपाउदा मर्कामा परिरहेका बेला नारायणी सिचाई आयोजना, कोशी सिचाई आयोजनामा आउनुपर्ने पानी नआउदा समेत प्रधानमन्त्री ओलीले चुपी साध्नु राष्ट्रवादी नभई राष्ट्रघाती काम भएको उनले बताए ।
‘यही नारायणी नहर बारा जिल्लाको बीच भएर जान्छ, तर पानी छैन् । नेपाल र भारतको सम्झौता अनुसार जति दिनुपर्ने हो त्यसको १० प्रतिशत पनि पानी नेपालले पाएको छैन् । आफ्नो हक अनुसार भारतसंग पानी माग्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि होइन ? यो सरकार किन बनेको हो ? खाली सम्झौता गर्न, बेच्नका लागि बनेको हो ? कि आफ्नो हक खोज्नका लागि पनि बनेको हो ?,’ आजपा अध्यक्ष साहले भने, ‘केपी ओलीजी तपाई राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिचाईबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ । केपी ओलीजी तपाई राष्ट्रघात गर्ने । हाम्रो सिचाई बेचेर अनि मालपानी जोड्ने ?’
नेपाल–भारतको सम्झौता अनुसार गण्डक नहरमा पानी नआउँदा समेत प्रधानमन्त्री ओली भारतसंग पानी नमागेर राष्ट्रघाती काम गरेको बताउदै उनले आक्रोश पोखका छन् । भारतले दिनुपर्ने पानी किन नदिएको प्रश्न गर्दै उनले यसबारेमा भारतसंग किन सम्बाद नगरेको भन्दै आलोचना समेत गरे ।
‘सम्झौता अनुसार पानी पाउनु किसानको हकअधिकार हो । तर तपाईले किन पानी नपाउदा कुरा गर्नुभएन ? आफ्नो हकअधिकार पनि छोडने सरकारलाई राष्ट्रवादी भन्ने कि राष्ट्रघाती भन्ने ? हामी त्यसलाई देशभक्त भन्ने कि दलाल भन्ने ? केपी ओलीजी यो राष्ट्रघाती काम चल्दैन । तपाई (ओली)को राष्ट्रघाती कार्य हामीलाई स्वीकार्य छैन् । तपाईको शरिरमा थोरै पनि नेपालको दानापानी छ भने नेपालको हकको बारेमा बोल्नुस् । नेपालीको भाग खोज्नुस्,’ आजपा अध्यक्ष साहले भने ।
अहिले एमाले–कांग्रेस सहितको दुई तिहाईको शक्तिशाली सरकार छ । तर दुई तिहाई शक्तिशाली सरकारको काम ‘एक पैसा’को पनि नभएको टिप्पणी साहले गरेका छन् । सर्वसधारण जनता, किसान, मजदुरको पक्षमा वर्तमान सरकार काम नगरेर ‘मृत्यु शैया’मा पुगे जस्तै अनुभुती भईरहेको उनले बताए ।
‘मधेसमा पानीको हाहाकार छ । पानी नपाएर सर्वसधारणदेखी किसानहरु पीडामा छन् । अहिले नारायणी सिचाई आयोजना, कोशी सिचाई आयोजनामा आउनुपर्ने पानी एक चौथाई समेत आएको छैन,’ आजपा अध्यक्ष साहले भने, ‘आफ्नो हक अनुसारको पानी दावी गर्नु र ल्याउनुको साटो प्रधानमन्त्री केपी ओलीजी चुपकी साधेर बस्नुभएको छ, मौन बस्नुभएको छ । चुपकी साधेर भारतको गुलामी गरेर सम्झौता अनुसार पानी आउदै । म सोध्न चाहन्छु यस्तो अवस्थामा प्रधानमन्त्रीजी चुपकी किन साधेको ? सम्झौता अनुसार पानी किन ल्याएको ?’
सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको समेत उनले बताए । आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् ।
बज्जिकाञ्चल संवाददाता,पर्सा,२२ गते साउन ।
पर्सा — नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन शुक्रबार वीरगन्जस्थित टाउन हलमा सम्पन्न भएको छ । “आफ्नो देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने मूल नारासहितको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)ले मधेशको कृषि समस्या समाधानका लागि केवल डिप बोरिङमा निर्भर रहन नहुने स्पष्ट गरेका छन् । उनले चुरे क्षेत्रको विनाशलाई गम्भीर चुनौतीका रूपमा औंल्याउँदै भने,”चुरेको विनाश रोक्न नसके मानव सभ्यतामै संकट आउँछ । यसलाई व्यवस्थापन नगरी किसानको समस्या दीर्घकालीन रूपमा हल हुँदैन।”

उनले थपे, “मधेशमा सिंचाइको लागि मरीन डाइभर्सनलगायतका आयोजनाहरू समयमै सम्पन्न नगरी पूर्ण सिंचित प्रदेशको लक्ष्य पुरा हुँदैन । प्रदेश सरकारसँग स्रोत सीमित भएकाले संघ सरकारमा पनि निर्भर रहनुपर्छ, तर किसानको समस्यामा हामी सधैं साथमा छौं ।”

अधिवेशनमा महासंघका मधेश प्रदेश अध्यक्ष सन्तलाल साहको अध्यक्षतामा ८ वटै जिल्लाका किसान संघका अध्यक्ष, केन्द्रीय सदस्य, मेयर–उपमेयर, कृषिमन्त्री जनार्दन शर्मा क्षेत्री, तथा विभिन्न स्थानीय नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा रौतहट बाट अर्थमन्त्रीका स्वकीय सचिव गणिलाल प्रसाद यादव,नेता बालमिकी यादव,कटहरिया ४ का वडा प्रत्यासी हरिन्द्र राय यादव,पूर्व वडा अधयक्ष शम्भु यादव,वडा प्रत्यासी दिपलाल यादव लगायतका नेताहरु सहभागि थिए ।
आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रका भौतिक संरचनामा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा कार्यवाहक नगर प्रमुख अमबेया खातुनलाई आम नागरिकहरूले सम्मान पत्र प्रदान गरेका छन् । यस नगरपालिकाका नागरिकहरूले समाजसेवी अच्युत मैनालीको नेतृत्वमा उक्त अभिनन्दन समारोह आयोजना गरेका थिए । बुधबार फतुवा बिजयपुर ११ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र समुदघाटनकाे अवसर साे नागरिक अभिनन्दन गरिएको हाे ।

कार्यवाहक नगर प्रमुख खातुनको नेतृत्वमा नगरपालिकामा पाँच वटा स्वास्थ्य क्षेत्रका भौतिक संरचनाहरूलाई सुधार गरी ती क्षेत्रहरूलाई ठोस र उपयोगी बनाइने काममा सफलता प्राप्त भएको छ । यो कार्य नगरपालिकाका नागरिकहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने दिशा थियो, जसको कदर गर्दै उनले यो सम्मान प्राप्त गरेकी छिन् ।

सम्मान पत्रमा नगरपालिकाका नागरिकहरूको तर्फबाट “श्री अमबेया खातुनलाई स-सम्मान अभिनन्दन गरिएको छ।” उल्लेख गरिएको छ र अगामी दिनहरूमा पनि नगरपालिकाका अन्य क्षेत्रमा यस्तै सुधारात्मक पहल र गुणस्तरीय कामको अपेक्षा गरिएको छ ।
सम्मान समारोहमा प्रमुख समाजसेवी अच्युत मैनाली,प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव,प्रदेश सांसद प्रत्यासी शेख सेराज,शिक्षा संयाेजक सुबाेध प्रसाद यादव,पूर्व वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य उमाशंकर साह कलवार,परमेश्वर यादव र अन्य स्थानीय नागरिकहरू उपस्थित थिए । कार्यवाहक नगर प्रमुख अमबेया खातुनले, “यो सम्मान मैले मात्र प्राप्त गरेको होइन, यो नगरपालिकाका सबै नागरिकहरूको साझा सफलता हो,” भनिन् ।
समारोहको दौरान नागरिकहरूले नगरपालिकाको अन्य क्षेत्रहरूमा पनि सुधार र विकासका लागि कार्यवाहक प्रमुखको निरन्तर पहलको अपेक्षासमेत व्यक्त गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् । संसदभित्रको नकारात्मक कृयाकलापले संसदको गरिमा खस्किदै गइरहेको टिप्पणी उनले गरे ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउदै संसद् संसद् जस्तो नभएको अनुभुति सुनाए ।
‘आजकाल संसद् संसद् जस्तो छैन् । संसद्भित्रको नाकारात्मक कृयाकलापले संसद्को गरिमा खस्किदै गइरहेको हामीले देखिरहेका छौं । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’
सानो दलहरुमाथि संसदमा निषेध भइरहेको उनले बताए । यदी निषेध गरिएको होइन भने संसदको कार्य व्यवस्थामा एक सिट भएको दललाई किन निषेध गरिएको भन्दै प्रश्न उठाएका छन् । अहिले एक सिट भएका तीन वटा दलहरुलाई कार्य व्यवस्थामा किन निषेध गरिएको भन्दै जवाफ माग गरेका छन् ।
‘संवैधानिक समितिहरु, सार्वजनिक सुनुवाई समिति लगायतका कयौं संवैधानिक समितिहरुमा एक सिटवाला सांसद भनेर निषेध गरिएको छ, के त्यसलाई नै लोकतन्त्र भन्छ ? त्यो निषेध होइन भने के समानता हो ? के त्यो प्रतिस्पर्धा हो भनेर प्रश्न उठछ । हैन प्रतिस्पर्धा हो निषेध होइन भने त्यसले के सन्देश दिन खोजेको हो भन्ने प्रश्न उठछ,’ आजपा अध्यक्ष साहले भने ।
संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको उनले बताए । साहले प्रश्न गर्दै भने, ‘के एक सिट हुदैमा पछाडी बस्नुपर्ने ? सत्तापक्षमा भएपछि के अगाडी बस्नुपर्ने ? सिट पलानिङको कुनै मापदण्ड हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौं, सिट १७ वटा छ । त अगाडीबाट १७ जोडेर अर्को १७ गरी एउटा न्यायिक ढंगले गर्नुपर्छ कि पर्दैन ? तर आज ठुलोले सानोलाई हेप्ने, विभेद गर्ने, निषेध गर्ने जो खेल भइरहेको छ, संसदभित्रको यो खेलले देशकोजनतालाई कसरी आश्वस्त गर्ने ? यो सरकार र यहाँका नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध छ, प्रतिस्पर्धामा विश्वास गर्छ । सानोको पनि सम्मान गर्छ भन्ने भाव त कतै देखिएन सभामुखज्यू ।’
ठुलो दल उभ्यो भने संसद अवरुद्ध हुने तर दुई दलले ७० दिनदेखी संसद बहिष्कार गर्दा समेत अवरुद्ध नहुने बताउदै संसद बहिष्कार गर्ने दलहरुसंग सरकारले वार्ता, छलफल पनि गर्न नचाहनु संसदभित्र ठुला दलको दम्भ भएको बताए । साहले २०६३ सालदेखी निन्तर सांसद रहेको, कार्यव्यवस्था समितिका साथै संसदीय व्यवस्था मन्त्रीदेखी संसदीय सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै यस्तो विभेद आफूले कहिल्यै पनि नदेखेको उनले बताए । ६०१ सदस्यी संविधानसभा र ३० वटा दलहुँदा समेत यस्तो विभेद नभएको स्मरण उनले गरे ।
‘आज अनैतिक ढंगले, अप्राकृतिक ढंगले, अप्रजातान्त्रिक ढंगले जो गठबन्धन र जसरी सहकार्य अगाडी बढाइएको छ । सानालाई निषेध गर्ने, लोकतन्त्रलाई निल्ने, जहाँ पनि सिण्डीकेट खडा गर्ने जो काम भइरहेको छ त्यो धेरै लामो जादैन । यसले संसद्को गरिमालाई घटाइरहेको छ । संसदको सम्मानलाई घटाइरहेको छ । लोकतन्त्रमाथि नै प्रश्न उठाइरहेको छ । यसमा गम्भिर ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
जनता समाजवादी पार्टी नेपाल, रौतहटद्वारा आयोजित नवप्रवेशी सम्मान तथा जिल्ला विस्तारित बैठक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी सहित शीर्ष नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका कटहरीया नगरपालिकाका जुझारु युवा नेता राजाबाबु साहलाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

राजाबाबु साह, जो नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन्, लामो समयदेखि राजनीति र सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, चुलहाई राय यादव, रामअस्रे चौधरी, पार्टी निर्वाचन आयोग संयोजक विश्वनाथ पटेल, केन्द्रिय सल्लाहकार समिति सदस्यद्वय राजकुमार दास र राम आशिष यादव लगायत जिल्ला कार्य समिति सदस्यहरूको उपस्थिति थियो ।
पार्टीका शीर्ष नेताहरूले राजाबाबु साहको राजनीतिक साहस र जनप्रतिबद्धताको खुलेर प्रशंसा गर्दै जसपाको संगठनात्मक विस्तारमा उनीबाट ठुलो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।
यस नवप्रवेशी सम्मान समारोहले जसपा नेपाल रौतहटमा संगठनात्मक बल थपेको र आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउने दिशामा ठोस पाइला भएको नेताहरूको भनाइ रहेको छ ।U