आरके श्रीवास्तव,रौतहट,भदौ १६ गते ।
गौरीशंकर यादव रौतहट फाउण्डेसन र नेपाल पत्रकार महासंघ रौतहट शाखाबीचको सम्झौता बमोजिम अबदेखि हरेक वर्ष दुई पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
महासंघ रौतहटका सचिव गौतम श्रेष्ठद्वारा जारी गरिएको सूचनामा उल्लेख अनुसार ‘गौरीशंकर यादव रौतहट पत्रकारिता पुरस्कार’ र ‘गौरीशंकर यादव रौतहट फोटो पत्रकारिता पुरस्कार’ नामक दुई विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक पुरस्कारको राशी जनही ११ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । यी पुरस्कारहरू नेपाल पत्रकार महासंघ रौतहट शाखाको वार्षिक साधारण सभाको अवसरमा वितरण गरिनेछ ।
फाउण्डेसन र महासंघबीचको सहकार्यले जिल्लामा पेशागत पत्रकारिता तथा फोटो पत्रकारितामा सक्रिय स्रष्टाहरूलाई प्रोत्साहन पुग्ने विश्वास लिइएको छ ।
राकेश यादव,राैतहट,भदौ १५ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरूले आइतवार रौतहटको सदरमुकाम गौरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन भूमि सम्बन्धी विधेयक र सर्वोच्च अदालतले जारी गरेका परमादेशको विरुद्धमा गरिएको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष राजिव रंजन यादवका अनुसार, सरकारले ल्याएको भूमि विधेयक मधेसको लागि विनाशकारी भएकोले विरोध गरिएको हो । “यस विधेयकले मधेशका जंगलहरू मास्ने र भूमाफियाले जमिन कब्जा गर्ने बाटो खोल्ने खतरा छ,” अध्यक्ष यादवले बताए ।
जसपाको केन्द्रिय कार्यालयले भाद्र ९ गतेदेखि १५ गतेसम्म देशभरि विरोध कार्यक्रम घोषणा गरेअनुसार गौरमा प्रदर्शन गरिएको हो। मधेशी क्रान्ति चौकबाट सुरु भएको विरोध र्यालीले नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा कोण सभाको रुप लिएको थियो ।
कोण सभामा सम्बोधन गर्दै जसपा नेताहरूले भूमि विधेयक तुरुन्त फिर्ता गर्न माग गरे। साथै, मधेस आन्दोलनसँग सम्बन्धित राजनीतिक मुद्दाहरू खारेज गर्नुपर्ने माग समेत राखिएको थियो ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ १६ ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले शहीद राम मनोहर यादवको आठौं स्मृति दिवस आइतबार विविध कार्यक्रमहरू गरी मनाएका छन् । रौतहट सहित देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममार्फत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका योगदानको स्मरण गरिएको छ ।
यस अवसरमा रौतहटको राजदेवी नगरपालिकामा पार्टीका केन्द्रीय सदस्य तथा नगर प्रमुख उम्मेदवार विकास कुमार यादवको नेतृत्वमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । राजदेवी मन्दिर परिसरमा भएको उक्त कार्यक्रममा सहभागीहरूले मन्दिर क्षेत्र सफा गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएका थिए ।

शहीद राम मनोहर यादव २०७५ साल भदौ ८ गते बर्दिया जिल्लामा तत्कालीन स्वास्थ्य मन्त्रीलाई प्रश्न सोध्न गएका थिए । उक्त घटनालाई लिएर प्रहरीद्वारा पक्राउ गरिएका यादवलाई हिरासतमा चरम यातना दिइएको थियो । यातनाका कारण उहाँको २०७५ साल भदौ १५ गते प्रहरी हिरासतमै मृत्यु भएको थियो । जनमत पार्टीले उहाँको मृत्युलाई राज्यद्वारा गरिएको हत्या भन्दै न्यायको माग गर्दै आएको छ ।
पार्टीका अनुसार राम मनोहर यादवका बलिदान र संघर्षले आजको राजनीतिक आन्दोलनलाई ऊर्जा प्रदान गरेको छ । स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी वक्ताहरूले शहीद यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १५ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मा कुटपिटको घटनामा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका अनुसार, साउन १ गते मोबाइल चोरीको आशंकामा स्थानीय केही व्यक्तिहरूद्वारा कुटपिटमा परेका ३० वर्षीय नसिब बैँठाको भदौ ११ गते उपचारका क्रममा ज्यान गएको हो । गम्भीर घाइते भएका बैँठालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो भने पछि थप उपचारका लागि उनलाई बिरगन्जस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी आमा सुनैना देवी बैँठाले दिएको जाहेरीका आधारमा घटनामा संलग्नमध्ये एक जना, गर्भुदयाल सरभङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशंका छ र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
हनुमत यादव,रौतहट, भदौ १४ गते ।
नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ । समिति पुनर्गठन कार्यक्रम ने. अ. न. प्रचार प्रसार समिति रौतहट को आयोजनामा जिल्लाको सदरमुकाम गौर स्थित होटल जि मार्टमा गरीएको छ ।
यस संगठनमा आवद्ध जिल्लाका इन्जिनियर्सको हकहितको लागि हरदम तयार रहनको निमित्त १२५ सदस्य समिति गठन भएको छ । समितिका अध्यक्ष – राकेश यादव उपाध्यक्ष – अलोक साह, बलिराम साह, अरुण गुप्ता, करीना साह सचिव अनुरुध यादव सह सचिव दिव्य प्रकाश ठाकुर, अनिल साह, आर्यन दिपक राउत कोषाध्यक्ष रिता जयसवाल सह कोषाध्यक्ष तबरेज आलम जिल्ला सुचना संयोजक चन्द्रभुषण यादव जिल्ला प्रचार तथा प्रेस संयोजक लखिनद्र ठाकुर जिल्ला सल्लाहकार संयोजक ललन साह लगायत १२५ सदस्य समिति चुनिएको छ ।
कार्यक्रम ने. अ. न. को मधेश प्रदेश अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा सफलता पुर्वक सफल भएको छ। नव गठित समितिका अध्यक्ष राकेश यादवले आफ्नो कुरा राख्दै सबै साथीको सहयोको अपेक्षा सहित संगठनको लागि कट्टीबद्ध रहने प्रद्तिब्दता गरे साथी एकबद्ध भए एक ढिका भए संगठन लाई मजबुती प्रदान गर्ने सोचका साथ अगाडि बढ्ने अठोट रहेको उनले बताए ।
प्रदेश अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष रहेको यादवले आफ्नो कुरा राख्दै भने की यो संगठन स्थापनाको मात्र ५ वर्ष भएको छ तर यो संगठनको कार्य प्रगति देखेर अन्य संगठनका व्यक्तीहरु विचलिए भएको जिकिर गरे ।
यस संगठनका सदस्य तथा पद अधिकारी कुनै पार्टी बाट संचालित नभई निष्पक्ष रुपमा अगाडि बढिरहेको बताए । साथै यस संगठनमा जुडिएको इन्जिनियर कहीले पनी पदको लागि काम नगरेको मात्र एक सच्चा सदस्यको रुपमा निःस्वार्थ रुपमा काम गर्दै आइरहेको उनले भने ।
दिपेन्द्र रजक,राैतहट,भदौ १४ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ ।
बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको समयमा बैठा गाउँमै रहेको एउटा पसलमा बसेर कुरा गरिरहेको अवस्थामा स्थानिय संजय यादव, विजय यादव,गर्भु गोसाइँ,शम्भु गोसाइँ,प्रभु गोसाइँ र लक्ष्मी गोसाइँको समुहले कुटपिट निर्मम तरिकाले गरी बैठाले मोबाइल चोरी गरेको स्विकार गर्न लगाएपनि उनले आफुले मोबाइल चोरी न गरेको बताए पछि,केही व्यक्तिले बैठालाई घरसम्म छोडेर फर्केका थिए।
तर फेरि पनि त्यसको भोली पल्ट अर्थात श्रावण १७ गतेका दिन संजय र विजय यादव लगायतका समुहले बैठाको घरमा गई, उलाइ समातेर आँखामा पटि बाँधी गाउँ भन्दा करिब ३०० मिटर टाढा लगी आपको रुखमा रसिले उल्टो बाध बाधेर साइकलको चैन,बेल्ट तथा हात,मुका समेतले मर्नासन हुने गरि निर्घात कुटपिट पछि प्रहरीलाई फोन गरी प्रहरीको जिम्मा लगाएका थिए।
तर इलाका प्रहरी कार्यालय कटहरियामा पञ्चायती हुदा बैठा निर्दोष साबित भएको थियोे,अर्थात बैठाले मोबाइल चोरी गरेको पुष्टि भएन। त्यसपछि प्रहरीले बैठालाई निर्दोष भन्दै छोडेको थियो। तर कुटपिटका कारण बैठाको शारिरिक अवस्था एकदमै कमजोर भएपछी अर्थात उ हिडडुल गर्न न सक्ने भएपछि बैठाका भाइले बैठालाई उपचारका निम्ति बिरगंज स्थित स्पोर्ट् अस्पताल मा लगी उपचार गराएका थिए, र सोही उपचार कै क्रममा बैठाको मृत्युु भयो।
बैठाका भाईले मृत्यु पश्चात् आफुहरुले न्याय तथा छतिपुर्ति न पनउन्जेलसम्म बैठाका शवलाई न जलाउने अडान लिएपनि गाउँघरकै ठुलाबडा का दवाबमा शव जलाउन बाध्य भएको बताए। र पछि इलाका प्रहरी कार्यालय कटहरियामा मुदा दिए पनि हालसम्म प्रहरीले आफुहरुलाई कुनै वास्ता नै न गरिरहेको र यता गाउँ घरमा केहीव्यक्तिले मुदा मिल्न दवाब समेत दिरहेको बताए।
जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष डा.राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिएका छन् ।
रामुपाको धनुषा जिल्ला समितिको विस्तारित बैठकमा सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष डा.झाले यस्तो धारणा राखेका हुन् ।
उनले माओवाद, माक्र्सवाद, लेनिनवाद जस्ता आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेलेको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र देशलाई धनी बनाउन र विश्व सामु चिनाउन सक्षम हुने धारणा राखे ।
त्यसैगरी पार्टीका प्रवक्ता रमण पाण्डेयले मधेशी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गरे । साथै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग समेत गरे ।

रामुपाका जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन आफु जिल्लाको अध्यक्षको हैसियतमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति लगायत सबै समुदायलाई समेट्दै सम्मान दिलाउने प्रतिबद्धता जनाए ।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठनको सफलताका लागि अनुशासन अपरिहार्य हुने बताउँदै मधेश आन्दोलनका शहीदलाई सम्मान गर्नु पर्ने बताए ।
केन्द्रीय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अहिलेसम्म एकल चरित्रको भएको उल्लेख गर्दै ३१ प्रतिशत मधेशी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्यको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गर्दै राज्यलाई समावेशी बनाउनुपर्नेमा जोड दिए ।
स्वागत मन्तव्य जिससको पूर्व उपसभापति दीपक झाले राखेका थिए । बैठकलाई निष्कर्षमा पु¥याउँदै जिल्लाको आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन व्यापक एकता र संगठन विस्तार गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा राम जीवन साह, विजय यादव, विजय राय, सरगुन पासमान, शिव शंंकर राउत लागायतले मन्तव्य राखेका थिए ।
धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं धनुषा जिल्ला प्रभारी डा. राजीव झाको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा केन्द्रीय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
बैठकले जिल्ला कार्यसमिति लाई हाललाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ। साथै, युवा समिति जिल्ला संयोजकमा किशन साहलाई मनोनयन गरिएको छ।
एक साताभित्र जिल्लाको पदाधिकारीलाई पूर्णता दिन र सो प्रक्रियामा जिल्लास्थित केन्द्रीय कार्यकारिणी सदस्यहरूको सल्लाहमा एक सप्ताहभित्र मनोनयन गर्ने जिल्ला अध्यक्ष राजेश चौधरी राजुलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १३ गते ।
राैतहटकाे कटहरिया नगरपालिकामा आज एक विशेष कार्यक्रमका बीच स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको स्थापना गरिएको छ । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव एमेन्द्र उपाध्याय र विशिष्ट अतिथि गृह, सञ्चार तथा कानुन मन्त्रालयका बिमल प्रसाद बरालको संयुक्त उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर लहेरा तथा गृह तथा कानुन मन्त्रालयका सचिवको पनि विशेष सहभागिता रहेको थियो । उनीहरूले संयुक्त रूपमा आपतकालिन कार्यसञ्चालन केन्द्रको कार्यालयको उद्घाटन गरेका छन् ।
यस उद्घाटन समारोहमा नगरपालिकाका सदस्यहरू, वडा अध्यक्षहरू, कर्मचारीहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आपतकालीन व्यवस्थापनको सुदृढीकरण तथा स्थानीय तहको तयारी क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ केन्द्रको आवश्यकता र औचित्यबारे प्रकाश पारिएकाे थियोे ।
यसै क्रममा, केन्द्रको प्रमुख पदका लागि कौशल किशोर चौधरीलाई थप जिम्मेवारी दिइएको छ । चौधरी अब आपतकालीन अवस्थाहरूमा समन्वय, व्यवस्थापन र सूचनाको प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
कटहरिया नगरपालिकाले यस केन्द्रमार्फत बाढी, डुबान, आगलागी, भूकम्प लगायतका प्राकृतिक तथा मानवजन्य विपद्हरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
राजिव साह,सर्लाही,भदौ १३ गते ।
प्रहरीले विशेष सूचनाका आधारमा हातहतियारसहित एक युवालाई पक्राउ गरेको छ । रामनगर गाउँपालिका–०७, सिसौट टोलका २५ वर्षीय किशन महरा भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार बीआर–०६–डीएम–९५२३ नम्बरको मोटरसाइकलमा सवार महरालाई प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछमा उनले आफूले बोकेको हतियार बागमती नगरपालिका–०४, जिरायत टोलका १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताएका थिए।
श्याम महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनले सो हतियार बागमती नगरपालिका–१२, बागमती नदी किनारमा राखेको बताएका थिए। त्यसपछि प्रहरीले त्यही स्थानबाट कटुवा पेस्तोल एक नाल बरामद गरेको डिएसपी राईले जानकारी दिनुभयो।
पक्राउ परेका दुवैजनामाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाण्डौं, भदौ १२ — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को शीर्ष तहको विस्तारित बैठक भदौ ८ र ९ गते काठमाण्डौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकले पार्टीको महत्त्वपूर्ण निर्णयहरू गर्दै तराई-मधेश क्षेत्रका वर्तमान समस्याहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०८२ सालको चैत्र ६ र ७ गते गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशन श्रावण मसान्तमा गर्ने तयारी थियो ।
तराई-मधेशमा खडेरीको कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएको भन्दै लोसपाले संघीय तथा प्रादेशिक सरकारसँग क्षतिपूर्तिको प्याकेज घोषणा गर्न माग गरेको छ । साथै, सुख्खाग्रस्त मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको चरम अभाव भएको उल्लेख गर्दै चापाकल, इनार तथा पोखरीहरू सुकेको अवस्थाले जनजीवन कष्टकर बनेको जनाइएको छ ।
बैठकले भनेको छ, “तीन तहकै सरकारहरूले तुरुन्तै खानेपानी व्यवस्थापनमा गम्भीरता देखाउनुपर्छ।”
लोसपाले चुरे क्षेत्रको संरक्षणलाई दीर्घकालीन समाधानको उपायको रूपमा जोड दिएको छ, र स्थानीय वासिन्दाको सहभागिता सुनिश्चित गर्दै कार्ययोजना ल्याउन माग गरेको छ । पार्टीका अनुसार, पानीको सतह घट्दै जाँदा तराई-मधेश मरुभूमी बन्ने खतरा बढ्दो छ।
त्यसैगरी, तराई-मधेशमा बढ्दो आपराधिक गतिविधिहरू—जसमा लुटपाट, चोरी-डकैती र हत्या–प्रति गम्भीर ध्यानाकर्षण गर्दै लोसपाले संघीय सरकारसँग कानूनी राज्यको प्रत्याभूति र नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाको सुनिश्चितता गर्न जोडदार माग राखेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले यी सबै विषयमा सरकारलाई तुरुन्तै कदम चाल्न आह्वान गरेको छ ।