२०८३ श्रावण ७
२०८३ श्रावण ७

जनकपुरधाम, ८ पुस :

भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ । जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले राससलाई जानकारी दिनुभयो । उपहारमा विभिन्न प्रकारका आभुषण, भाँडावर्तन, समावेश गरिनेछ । उहाँका अनुसार माघ ६ गते अयोध्यामा राम जन्मभूमि राममन्दिर ट्रष्टलाई उपहार हस्तान्तरण गर्ने योजनासहित माघ ४ गते जनकपुरबाट यात्रा प्रारम्भ हुनेछ । जनकपुरधामबाट जलेश्वरनाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विधिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने कार्यक्रम छ । त्यसैगरी सहमहन्थ दासको नेतृत्वमा उपहार यात्राका मूल समारोह समितिसमेत गठन गरिएको छ । समितिको संरक्षकका रूपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह रहनु हुनेछ । –––

वीरगञ्ज (पर्सा), ८ पुस :

नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् । वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ ।

वीरगञ्ज (पर्सा), ८ पुस :

यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल आर्मी क्लब र पर्सा–११ बीच अर्को प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी चार अङ्कसहित शीर्षस्थानमा छ भने समान चार अङ्कका साथ पर्सा–११ दोस्रो स्थानमा छ । अङ्कतालिकामा समान दुई–दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन् । भारतको युपी–११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन् । नारायणी रङ्गशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलले संयुक्तरूपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले राससलाई जानकारी दिनुभयो । प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।  (रासस)

 

रौतहट पुष ८/     

स्थित चन्द्रपुर नगरपालिका , २ मा रहेको राधाकृष्ण मन्दिरमा आश्रम निर्माण हुने भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि श्री अरबिन्द फाउन्डेसन तथा गौ संरक्षण केन्द्र् भक्तपुरका संस्थापक श्री अरबिन्द शास्त्रीको विशेष उपस्थिति र वडा अध्यक्ष दुत्त बहादुर थिङ ( बुद्ध ) ले सयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । पुजारी निवास नाम दिएको उक्ति आश्रम धारा र शौचालय सहित दुई कोठे पक्की भवनको रुपमा निर्माण हुने फाउन्डेसनले जनाएको छ ।

यसरी निर्माण हुन भनिएको धार्मिक स्थल बारे खुसी ब्यक्त गर्दै नगर प्रमुख सन्जय काफ्लेले सरोकार विशेष मार्फत वडा बासीलाई धन्यवाद दिनु भै आफू यस्ता कार्यमा साथमा र्रहेको जानकार समेत दिनुभएको छ । शिलान्यास पश्चात् आफ्नो भनाइ राख्नु हुँदै वडा अध्यक्ष दुत्त बहादुर थिङ ( बुद्ध ) ले आफ्नो सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

सोही शिलान्यास कार्यक्रममा फाउन्डेसनको तर्फबाट भक्तहरुलाइ सम्बोधन गर्नुहुदै श्री अरबिन्द शास्त्री महाराजले यस राधाकृष्ण मन्दिर आस्थाको धरोहर रहेको हुदा पुजारी निवास बरदान साबित हुने र सबैले साथ दिन आग्रह समेत गर्नु भै भागवत पुस्तकमा भक्तजनले आस्था स्वरुप चढाएको भेटी फाउन्डेसले सामाजिक काममा खर्च गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न सहयोगी दाता बाट शिलान्यास समयमै करिव एक लाख भन्दा बढी रकम नगद र जिन्सि दिने प्रतिबद्धता जाहेर भएको श्री अरबिन्द फाउन्डेसनले जानकारी दिएको छ । कार्यक्रममा गौ संरक्षण केन्द्र चन्द्रपुर , २ उप समिती , समाजसेबि बुद्धिजिबि लगाएत सम्पुर्णको उपस्थिति रहेको जसमा सन्तलाल कुस्वार , कल्याण कुस्वार , सन्जिब कुस्वार , कमला थापा लगाएतको श्री अरबिन्द फाउन्डेसनलाइ विशेष सहयोग रहेको संस्थाले जनाएको छ ।

विराटनगर, ७ पुस :

राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैनभने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।” अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उहाँले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गर्नुभयो । नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपतिले सुझाउनुभयो । “कूल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालको पहिलो औद्योगिक नगर कोशी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरतमोहन अधिकारी, भूविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरञ्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । राष्ट्रपतिले संविधान प्रदत्त भूमिका निष्ठपूर्वक पालना गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै उहाँले उद्योगी र व्यवसायीको समस्या समाधानजमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारको सहयोगी अङ्गको रुपमा रहेका उद्योगी–व्यापारीले रोजगारी सृजनामा सघाएकामा आभार व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले लोकतन्त्र र गणतन्त्रका लागि लामो सङ्घर्ष गर्नु भएका वर्तमान राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न अभिभावको भूमिका निर्वाह गरिहन आग्रह गर्नुभयो । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग परिसङ्घका संस्थापक अध्यक्ष विनोद चौधरी, सङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र पाण्डेले देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । समारोहमा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो । राष्ट्रपतिले पत्रकार शङ्कर खरेल र अनन्त न्यौपानेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।  (रासस)

 

सरिता श्रीवास्तव,राैतहट,पुस ०७ गते ।

रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा परिवार नियोजन तथा स्थाई बन्धयाकरण   शिविर शुरु भएको हो। सो शिविरको शनिबार एक समारोहका बिच नगर प्रमुख कन्थमनी प्रसाद जयवसालले उद्घाटन गरेका हुन ।

उक्त शिविर पुस ७ गते शनिबारदेखि सोमबार साझ सम्म संचालनमा रहने गरुडा नपाका स्वास्थ्य संयोजक प्रवीण झाले जानकारी दिएका छन। नगर भरिकाका करीब १ सय ५० जना महिलालाई सो सेवा लिन पाउने जनाएको छ। काठमाडौंका विशेषज्ञ डाक्टरहरुको टोलिले लगातार तीन दिनसम्म सो शिविर मार्फत सेवा दिईने संयोजक झाले बताए ।

सर्लाही, ७ पुस :

सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर २६ गतेदेखि चालु यामको उखु क्रसिङको तयारी थालेको इन्दुशङ्करले जिल्लाका उखु उत्पादक किसानले आन्दोलन थालेपछि उखु उत्पादक किसानको आग्रहलाई स्वीकार गर्दै केही समय क्रसिङ रोकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । मङ्सिर २६ गतेदेखि नै उखु क्रसिङ थाल्ने उद्योगको तयारी थियो । उखु उत्पादक किसानले राज्यले चालु यामका लागि उखुको मूल्य निर्धारण नगरेको र गत वर्ष उखु बिक्री गरेका उखु उत्पादक किसानलाई दिनुपर्ने अनुदानबापतको रु ५२ करोड हालसम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलन गरेका थिए । उखु उत्पादक किसानको सहमतिमा चालु यामको क्रसिङ सुरु गरिएको प्रबन्धक रजकको भनाइ छ । उहाँका अनुसार उद्योगले चालु याममा करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । उद्योगले गत वर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले पनि उखु क्रसिङ थालेको छ । सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ निर्धारण गरेको छ । मूल्य निर्धारणप्रति उखु उत्पादक किसान असहमत रहेका नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

 

पुस,६ गते।

रौतहट जिल्लाको नगर वृन्दावन नगरपालिका वडा नम्बर – ६ हर्षाहामा आज चार कोठे स्वास्थ्य चौकी भवनको उदघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

गत चैत ११ गतेका दिन शिलान्यास भएको सो नवनिर्मित स्वास्थ्य चौकी भवनको शुक्रबार एक समारोहका बिच नगर प्रमुख कुर्मीले उदघाटन गर्नुभएको छ। नगर स्तरीय योजनाबाट बजरंगबली निर्माण सेवाले ४० लाख ५५ हजार ७ सय ९५ रुपैयाँमा काम सम्पन्न गरेको छ भने सो निमार्ण कम्पनीले काम सम्पन्न गर्ने क्रममा ३८ लाख ९८ हजार ४० रुपैयाँको अन्तिम भुक्तानी पाएको सो नगरपालिकाका ईन्जिनियर दिलिप यादवले जानकारी गराए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख कुर्मीले मानव जिवनको लागि शिक्षा र स्वास्थ्य एकमदै जरुरी रहेको र शिक्षा र स्वास्थ्यको विकासले नगरमा समुन्नति आउने भएकोले आफुले शिक्षा र स्वास्थ्यलाई नै विशेष प्रार्थमिकतामा राखेर अगाडि बढिरहेको बताउभयो।

उहाँले भवन निर्माण कार्य सम्पन्न भई सो भवनबाट स्वास्थ्य सेवा पाउनु त्यहाँका नागरिकका लागि सुखद कुरा भएको उल्लेख गर्दै सो स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु लाई स्वास्थ्य चौकीमा समयमा उपस्थित भई दैनिक रुपले सेवा प्रवाह गर्न निर्देशन दिदै स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सेवा सुविधा गुणस्तरीय हुने बताउनु भयो । नगर प्रमुख कुर्मीले विपक्षीहरुले आफुलाई असफल बनाउनका लागि विभिन्न जालझेल गरिररहे पनि ती सारा जालझेल लाई चिरेर नगरको विकासका निम्ति आफु अगाडि बढिरहेको र अबको केही दिनमै वृन्दावन विकासोन्मुख नगरपालिका बन्न गइरहेको बताउनु भयो ।

उक्त उदघाटन कार्यक्रममा नि.प्रमुख प्रसासकिय अधिकृत रासनरायण पटेल वडा नं.-१ का वडाअध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडानं.९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान, रामबाबु साह,नेकपा एस का विधायक प्रत्यासी शेख सतार अहमद र नेकपा एस का नगर कमिटी अध्यक्ष सुरेन्द्र पटेलको साथै सो नगर पालिकाका ईन्जिनियर दिलिप यादव र विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, कर्मचारी,स्थानीय भद्रभलादमी,स्वास्थ्यकर्मी र पत्रकारहरु को समेत सहभागिता रहेको थियो ।

 

 राैतहट,०७ गते पुस ।

राैतहटकाे राजदेवीमा नगरस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । राैतहटकाे राम नरेश लक्ष्मण माध्यमिक विद्यालय हजमिनियामा मा• वि र आ• वि• स्तरीय अलग अलग हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि हजमिनियामा सम्पन्न भएकाे साे कार्यक्रममा मा वि तर्फ मा वि हजमिनिया, मा वि मुडवलवा, मा वि ब्रह्मपुरी, मा वि वसतपुर, मा वि सेढवा र मा वि पथरा तथा आ वि तर्फ आ वि लक्ष्मीपुर बेलबिछवा र सबै मा वि गरी ७ वटा विद्यालयकाे सहभागीता रहेकाे थियाे ।

साे प्रतियोगितामा मा वि तर्फ मा वि हजमिनिया प्रथम, मा वि मुडवलवा द्वितीय र मा वि वसतपुर तृतीय स्थान हासिल गरेका थिए भने आ वि तर्फ आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछवा प्रथम , मा वि ब्रह्मपुरी द्वितीय र मा वि पथरा तृतीय स्थान हासिल गर्न सफल भयाे । विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाकाे नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले पुरस्कार तथा ट्रफी वितरण गर्नु भयाे ।

मा वि हजमिनियाकाे सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि ब्रह्मुरीकाे सूचना अधिकारी राम विश्वास मुखियाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको साे कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयाे । यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फाेटाेमा माल्यार्पण गर्दै प्रतियोगिताकाे शु-भारम्भव गर्नु भएकाे थियाे ।

सहायक प्रधानाध्यापक नरेश यादवले स्वागत मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा मा वि मुडवलवा र मा वि हजमिनियाकी छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरकाे शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयाे । विद्यार्थीमा रहेकाे प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयाेग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयाे । साेही कार्यालयलाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रकाे डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयाेग गर्ने बताउनु भयाे ।

पालिकाकाे शैक्षिक गुणस्तर सुधारमा पालिका लागेकाे बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत याे पनि एउटा रहेकाे बताउनुभयाे । यसले विद्यार्थीलाई भविष्यमा आयाेगका लागि सहयाेग पुर्याउन समेत बताउनु भयाे । मा वि हजमिनियाबाट कार्यक्रमकाे सुरुवात भएकाे बताउदै वहाँले आगामी दिनमा पालैपालाे सबै विद्यालयमा कार्यक्रम गर्ने बताउनु भयाे ।

मा वि हजमिनियाकाे प्रधानाध्यापक संजय कुमार यादवकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा मा वि ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तव, सूचना अधिकारी राम विश्वास मुखिया, मा वि वसतपुरकाे प्रधानाध्यापक राम विश्वास यादव, मा वि मुडवलवाकाे शिक्षक टेकनाथ खतिवडा , मा वि पथराकाे प्रधानाध्यापक उतिचन्द्र यादव, आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछवाकाे भृगु पंडितलगायतका शिक्षक तथा विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।