आरके श्रीवास्तव,रौतहट,१३ गते पुस ।
विजयपुर । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतवार बसेको कार्यपालिका बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा प्रस्तुत गरिएका एजेन्डाहरूमा सहमति जुट्न नसकेपछि निर्णयविहीन बनेको हो । छलफल अधुरै रहेकाले ती विषयहरू आगामी कार्यपालिका बैठकमा पुनः छलफल गर्ने सहमति भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले बैठकमा हिउँदे नगरसभा, विद्युत महसुल, कार्यालय व्यवस्थापन तथा विविध सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । बैठकको अध्यक्षता कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले गर्नुभएको थियो । यसअघि पुस ११ गते सम्पूर्ण कार्यपालिका सदस्यहरूलाई पत्र काटी बैठकका लागि डाकिएको थियो र नगरपालिका कार्यालयमै बैठक बसेको थियो ।
हिउँदे नगरसभा सम्बन्धमा कुल बजेटको ६० प्रतिशत खर्च भइसकेपछि मात्र नगरसभा गर्न सकिने कानुनी प्रावधान रहेकाले यस विषयमा तत्काल निर्णय हुन सकेन । नियमअनुसार कसरी प्रक्रिया अघि बढाउने भन्नेमा थप छलफल आवश्यक देखिएपछि यो विषय पनि अर्को बैठकमा लैजाने निर्णय गरिएको छ ।
विद्युत महसुलका विषयमा नेपाल सरकार, अर्थ मन्त्रालयको परिपत्र अनुसार विद्युत महसुल नतिर्न भनिएको उल्लेख गरिएको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले हालसम्म कुनै बजेट सञ्चालनमा नरहेको बताउँदै आवश्यक निर्णय सबैको एकमतमा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले परिपत्र जारी हुनु अघिसम्मको विद्युत महसुल मात्र तिर्न सकिने बताउनुभएको छ, जसमा वडा अध्यक्षहरू सहमत रहेको जनाइएको छ । उनले कार्यपालिका बैठक नबाेलाउने गरेको आफूमाथि आराेप लगाउँछन् तर बैठक हुँदा वडा अध्यक्षहरूले उपस्थितिमा समेत हस्तान्तरण गर्दैनन् । यसरी नगर्नुपर्ने हाे ।
बैठकबारे जानकारी दिँदै फतुवा विजयपुर नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव ‘सञ्जय’ले विद्युत महसुलका लागि २ करोड रुपैयाँ बराबरको बजेट समानिकरण अनुदानबाट छुट्याइएको र सो रकम आन्तरिक स्रोतमा इन्ट्री गरिएको दाबी गर्नुभयो । उहाँले उक्त बजेट कार्यवाहक नगरप्रमुखले आफ्नै शीर्षकमा राख्न लगाएको आरोपसमेत लगाउनुभयो ।
तर कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले आरोपलाई निराधार भन्दै अस्वीकार गर्नुभएको छ । वडा अध्यक्ष यादवले कार्यालय व्यवस्थापनका लागि बजेट उपलब्ध रहेको र हिउँदे अधिवेशन ६० प्रतिशत बजेट खर्च भएपछि मात्र गर्न मिल्ने नियमअनुसार आफूहरू छलफल गर्न तयार रहेको बताउनुभयो ।
बैठकबाट कुनै ठोस निर्णय ननिस्किएपछि नगरपालिकाका महत्त्वपूर्ण विषयहरू अर्को कार्यपालिका बैठकमा पुनः छलफल गरी टुंग्याउने तयारी गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१३ गते पुस ।
गरुडा । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक सुविसु इन्टरनेट गरूडा र चन्द्रपुर शाखाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिकामा रहेको श्री बंशीराम जयसवाल अनाथालयलाई सहयोग गरेको छ ।

सुविसु इन्टरनेटले अनाथालयमा आश्रित बालबालिकाहरूको दैनिक जीवन सहज बनाउन दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गर्नुका साथै इन्टरनेट सेवा निःशुल्क रूपमा जडान गरिदिएको हो ।
सहयोग कार्यक्रममा रिजनल मैनेजर सुनिल ठाकुरको नेतृत्वमा सुविसु इन्टरनेटको टिम सुविसु गरूडाका सेल्स सुपरभाइजर नन्दकिशोर यादव ,चन्द्रपुरका शाखा प्रबन्धक बासु उपाध्याय र सुविसुका अन्य कर्मचारीहरू अनाथालयमा पुगेर सामग्री हस्तान्तरण तथा इन्टरनेट जडान कार्य सम्पन्न गरेको थियो ।

कार्यक्रमका क्रममा सुविसु इन्टरनेटले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै समाजप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको उल्लेख गरिएको छ । कम्पनीले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
स्थानीय स्तरमा गरिएको यस सहयोगले अनाथालयमा बसोबास गर्ने बालबालिकाहरूको शिक्षा, सूचना पहुँच र दैनिकीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग सहकार्य गर्दै अघि बढ्नु सुविसु इन्टरनेटको प्रशंसनीय पहल भएको स्थानीयवासीहरूको प्रतिक्रिया छ ।
आरके श्रीवास्तव,राैतहट, पुस १३ गते ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ ।
मिति २०८२ पौष १३ गते काठमाडौँमा बसेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सहित दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायत अग्रगामी परिवर्तनका एजेन्डालाई मजबुत रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ । यी मूल्य र सिद्धान्तहरूलाई आत्मसात गर्दै न्यायपूर्ण समाज निर्माणका लागि एकीकृत राजनीतिक शक्ति आवश्यक भएको ठहर बैठकले गरेको छ ।

दुवै पार्टीको एकीकरणले मधेस केन्द्रित राजनीति मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दाहरूलाई थप सशक्त बनाउने विश्वास लिइएको छ। एकीकरणसम्बन्धी आगामी कार्ययोजना, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थापनबारे थप निर्णयहरू चाँडै सार्वजनिक गरिने जनाइएको छ ।
पार्टी एकीकरणको निर्णयले समावेशी राजनीति र संघीयताको सुदृढीकरणमा नयाँ गति दिने नेताहरूले बताएका छन् ।
आरके श्रीवास्तव,राैतहट,१३ गते पुस ।
रौतहट । निजगढ–तिलगङ्गा सामुदायिक आँखा अस्पताल र राजपुर नगरपालिकाको सहकार्यमा आज निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रिया हुने बिरामीहरूसँग भेटघाट तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ ।

राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलम स्वयं निजगढ पुगेर तिलगङ्गा आँखा अस्पतालका चिकित्सक डा. रिता गुरुङसँग भेट गरी नगरपालिकाको तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो ।

नगरप्रमुख आलमका अनुसार यस कार्यक्रमअन्तर्गत ६३ जना बिरामीको मोतियाबिन्दु शल्यक्रिया निःशुल्क रूपमा भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आँखा उपचारलाई उच्च प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो ।

नगरप्रमुख आलमले स्वास्थ्य सेवालाई नगरपालिकाको मुख्य दायित्वका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न दीर्घकालीन योजना अनुसार काम गरिरहेको बताउनुभयो ।
“नगरप्रमुखज्यूको नेतृत्वमा स्वास्थ्य सेवालाई पहुँचयोग्य, पारदर्शी र प्रभावकारी बनाउँदै लगिएको छ। तिलगङ्गा आँखा अस्पतालसँगको सहकार्यले राजपुरका नागरिकले गुणस्तरीय उपचार पाउने विश्वास छ,” प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भन्नुभयो ।

यस पहलबाट राजपुर नगरपालिकाका विपन्न तथा ज्येष्ठ नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । केही दिन अघि राजपुर नगरपालिका आँखा शिविर सञ्चालन भएको थियोे जसमा त्यहाँका नागरिकहरूले आँखा चेकजाँच गराउने अवसर पाएका थिए ।
प्रेमचन्द्र झा,राैतहट,पुस १३ गते ।
राैतहट ।फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ स्थित दलित प्राथमिक विद्यालय गम्हरियामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालयको नाम परिवर्तनलाई लिएर विवाद भएको छ। हालका अध्यक्षले आफू अझै अध्यक्षकै रूपमा रहन पाउनुपर्ने माग गर्दै आएका छन् भने वडाध्यक्ष विजय यादवले षडयन्त्रपूर्वक दलित समुदायका प्रतिनिधिलाई अध्यक्ष पदबाट हटाउन खोजेको आरोप लागेको छ।
स्थानीयका अनुसार यो विवाद फतुवा विजयपुर नगरपालिकामा मात्र सीमित नरही गत वर्ष सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भएको विषय हो। यसैक्रममा हाल विद्यालयको नाम समेत परिवर्तन गरिएको छ। पहिलेको नाम परिवर्तन गरी ‘सितामाई दलित प्राथमिक विद्यालय गम्हरिया’ राखिएको छ।

नगरपालिका शिक्षा शाखाको समन्वयमा समाजसेवी शम्भु त्रिपाठीले आर्थिक सहयोग लगानी गरी विद्यालयको नाम परिवर्तन गरिएको बताएका छन्। उनले आफ्नी आमाको नाम जोडेर विद्यालयको नाम ‘सितामाई दलित प्राथमिक विद्यालय गम्हरिया’ राखिएको स्पष्ट पारेका छन्।
तर विद्यालयको नाम परिवर्तन र अध्यक्ष पद सम्बन्धी निर्णयप्रति स्थानीय समाजसेवी बाबुलाल यादवसहित स्थानीय दलित समुदायले असन्तुष्टि जनाएका छन्। उनीहरूले दलित समुदायको सहमति बिना नाम परिवर्तन गर्नु र दलित प्रतिनिधिलाई नेतृत्वबाट हटाउने प्रयास हुनु आपत्तिजनक भएको बताएका छन्।
स्थानीय दलित वर्गले यस विषयमा निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाइरहेका छन्। उनीहरूको माग छ—दलित समुदायको पहिचान, अधिकार र सहभागितालाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने।
यस विषयमा नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी रहेको छ।
आरके श्रीवास्तव,राैतहट,१२ गते पुस ।
रौतहट । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने व्यक्तिको नाम खुलेको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने छ जना कामदार घाइते भएका छन् ।
मृत्यु हुनेमा कटहरिया–८ बलुवा निवासी लक्षमन राय यादव रहेका छन् । घाइते हुनेमा कटहरिया–८ पिप्रा पोखरिया निवासी बिगन राय यादव, बलिराम राय यादव, रहमत आलम, कैलाश माली, प्रमजित राय यादव, जगदिश राय र गरूडा–५ महम्मदपुर निवासी मुकेश राय रहेका छन् ।
घटना स्थलमा खटिनु भएका इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) धर्मेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिएकाे छ ।
सई पौडेलका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा राखेर थप क्षति नहोस् भन्न सुरक्षा व्यवस्था कडा बनाएका छन् । साथै, प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य समेत गरिरहेको छ।
फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,१२ गते पुस ।
रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा शनिबार बिहान ठूलो दुर्घटना भएको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गरिएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी बरिस्ठ नायब निरीक्षक (सई) धर्मेन्द्र पौडेलले आफू घटनास्थलमा पुगिसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । घटनाको कारण, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
हनुमत कुमार यादव,रौतहट, ११ गते पुस ।
रौतहट जिल्लाका उखु किसानहरूले उद्योगबाट समयमै उखु खरिद नहुनु र भुक्तानीमा चरम ढिलासुस्ती भइरहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । आफ्ना जायज मागहरू सम्बोधन गर्न आग्रह गर्दै किसानहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
किसानहरूले अन्तरजिल्ला उखु ढुवानीमा लगाइएको कथित सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै कडा आपत्ति जनाएका छन् । उनीहरूका अनुसार हालै बाबा बैजुनाथ चिनी उद्योगको नाममा गरिएको सम्झौताले रौतहटका किसानलाई अन्य जिल्लाका चिनी उद्योगमा उखु लैजान रोक लगाइएको छ, जसले किसानहरूलाई थप पीडित बनाएको छ ।
किसानहरूको भनाइ अनुसार विगतका वर्षहरूमा रौतहटका किसानहरूले आफ्नो उखु बारा जिल्लाको रिलायन्स सुगर मिल, सर्लाहीको इन्दु शंकर चिनी उद्योग तथा महोत्तरीको एभरेष्ट सुगर मिल जस्ता उद्योगहरूमा उप–केन्द्र (काँटा) मार्फत सहज रूपमा बिक्री गर्दै आएका थिए। तर यस वर्ष अघोषित सिन्डिकेट लागू गरिँदा किसानलाई अन्य जिल्लाका उद्योगमा उखु लैजान स्थानीय प्रशासन र केही स्वार्थ समूहले अवरोध गरिरहेको गुनासो गरिएको छ ।
किसानहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई पायक पर्ने र समयमै भुक्तानी दिने उद्योग छनोट गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको उल्लेख गर्दै हालको व्यवस्थाले ढुवानीमा सास्ती, आर्थिक शोषण र खेतमै उखु सुक्ने अवस्था सिर्जना गरेको बताएका छन् ।
ज्ञापन पत्रमा अन्तरजिल्ला उखु ढुवानीमा लगाइएको रोक तत्काल हटाउन, सरकारले घोषणा गरेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानमध्ये बाँकी रहेको ३५ रुपैयाँ रकम अविलम्ब किसानको बैंक खातामा जम्मा गर्न माग गरिएको छ । उक्त अनुदान रकम विगत लामो समयदेखि रौतहटका हजारौं किसानले नपाएको किसानहरूको भनाइ छ ।
त्यसैगरी स्थानीय चिनी उद्योगहरूले समयमै तौल र चलानी (पुर्जी) वितरण नगर्दा किसान थप मारमा परेको भन्दै कुनै पनि दबाब वा प्रभाव बिना सहज रूपमा उखु तौल गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कममा उखु खरिद गर्ने वा विभिन्न बहानामा रकम कट्टा गर्ने उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि किसानहरूले गरेका छन् ।
पसिना बगाएर उत्पादन गरेका किसानलाई सडकमा आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, ज्ञापन पत्रमा उल्लेख गरिएको छ, कृषि प्रधान देशको गरिमा जोगाउन किसानको पेशागत सुरक्षा र सम्मानको ग्यारेन्टी गरिनुपर्छ ।
किसानहरूले प्रशासनले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक लिई तत्काल समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरेका छन् । तर ४८ घण्टाभित्र माग सम्बोधन नभए र बेवास्ता गरिएमा रौतहटभरिका किसानहरू कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
रौतहट किसान संघर्ष समितिका अध्यक्ष रकेश यादवद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेश, जिल्ला समन्वय समिति रौतहट तथा उखु उत्पादक किसान संघलाई बोधार्थ पठाइएको छ ।
किसानहरूले समयमै समस्या समाधान नभए जिल्लाभर आन्दोलन चर्काउने चेतावनी दिँदै सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
आरके श्रीवास्तव,राैतहट,११ गते पुस ।
रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर–३ गम्हरियामा रहेको श्री माध्यमिक विद्यालय गम्हरियाको विद्यालय प्राङ्गनभित्र अवस्थित जिर्ण अवस्थाका भवनका कोठाहरू डाँक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ ।
विद्यालय परिसरमा रहेका जस्ता पत्ताले छाएका ट्रस ब्लक संख्या ३ र टालीले छाएको १ कोठा गरी जम्मा ४ कोठाको डाँक बढाबढद्वारा ठेक्का प्रक्रिया सम्पन्न भएको हो । उक्त ब्लक बिक्रीका लागि विद्यालयले न्यूनतम ६ लाख ४५ हजार रुपैयाँबाट डाँक बढाबढ सुरु गरेको थियो ।

डाँक बढाबढ प्रक्रियामा ठेकेदार अनिलकुमार साह, हरिन्द्र राय यादव लगायत अन्य ठेकेदारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक डाँक बढाबढमा सबैभन्दा बढी रकम ८ लाख २५ हजार कबोल गर्ने ठेकेदार अनिलकुमार साहलाई ठेक्का प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्देश्वर साहले जानकारी गराएका हुन् । अर्का प्रतिस्पर्धी ठेकेदार हरिन्द्र राय यादवले ८ लाख २० हजार रुपैयाँसम्म मात्रै डाँक बढाउन सकेका थिए।

विद्यालयका प्रधानाध्यापक साह, विद्यालयका लेखापाल, मौलापुर नगरपालिकाका शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार साहको उपस्थितिमा ठेक्का प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिएको जनाइएको छ । साथै कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, सुरक्षाकर्मी, पत्रकार, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाप्रेमी भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसअघि पुस ०६ गते तेस्रो पटक प्रकाशित सूचनाअनुसार आज पुस ११ गते शुक्रबारका दिन वडा नम्बर–३ का कार्यवाहक वडा अध्यक्ष पचिया देवीको अध्यक्षतामा डाँक बढाबढ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा सदस्य राकेश बैठा, वडा प्रत्यासी राजकिशोर यादव, अभिभावक रामनरेश प्रसाद कुशवाहा तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जरनइल राय यादव लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय प्रशासनले जिर्ण संरचना हटाएर विद्यालयको भौतिक विकास र सुरक्षित शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
आरके श्रीवास्तव, मधेस,११ पुस ।
जनकपुरधाम । मधेस प्रदेशका युवाहरूलाई गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने लक्ष्यसहित सञ्चालन हुने ‘क्वालिटी’ परियोजना कार्यक्रम आज जनकपुरधाममा औपचारिक रूपमा उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी रहिन् ।

कार्यक्रमको उद्घाटन अवसरमा मन्त्री तिवारीले यस पहलको महत्वमा जोड दिँदै भनिन्-“यस कार्यक्रमले प्रदेशका युवाहरूलाई आवश्यक सीप र दक्षता विकास गर्न मद्दत पुर्याउनेछ। यसले उनीहरूलाई रोजगारीका नयाँ अवसरहरूमा जोड दिने मात्र होइन, मधेस प्रदेशको शैक्षिक र आर्थिक समृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु।”
कार्यक्रमले युवाहरूलाई प्राविधिक तालिम, उद्यमशीलता विकास, र रोजगारीका अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विभिन्न पहलहरू समेट्ने बताइएको छ । यस पहलमार्फत मधेस प्रदेशका युवाहरूलाई सक्षम, आत्मनिर्भर र समृद्ध नागरिक बनाउने लक्ष्य राखिएको छ ।

मन्त्री तिवारीले प्रदेशका युवाहरूलाई गुणस्तरीय तालिम र दक्षता विकासमार्फत प्रतिस्पर्धी र रोजगारमुखी बनाउने प्रदेश सरकारको प्रतिबद्धतामा पनि जोड दिइन् । उनीहरूलाई आवश्यक मार्गदर्शन, सीप, र अवसर उपलब्ध गराएर प्रदेशको दीर्घकालीन विकास र समृद्धिमा योगदान पुर्याउने योजना रहेको बताइन् ।