रौतहट, २ चैत ।
रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ ।

शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । भारतीय नम्बरको मोटरसाइलमा आएका उनीहरु ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजाकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डीएसपी गिरीले जानकारी दिइन् ।
न्युज कारखाना
काठमाडौं, २ फागुन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘३० हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । त्यो बचतकर्र्ताको माग छ, सहकारी सञ्चालकको सम्पत्तिबाट हाम्रो बचत फिर्ता दिनुपर्छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ ?,’ उनले बैठकमा भने, पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरुले आन्दोलनबाट सृजना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ । म आग्रह गर्न चहान्छु, मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरणीय प्रस्तुत गर्नूस् ।’
आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री बन्न नहुने भन्दै उनले अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने बताए । न्युज कारखाना
काठमाडौं, २ चैत ।
सुनको मूूल्य ४०० रुपैयाँले घटेको छ ।
बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
शुक्रबार चाँदी मूल्य भने स्थिर छ । यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।न्युज कारखाना
सिन्धुली, २ चैत ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ । न्युज कारखाना
काठमाडौं, २ चैत ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्
शुक्रबार बिहान वालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।
आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।न्युज कारखाना
बिरगञ्ज, २ चैत ।
पर्साको जिल्लाको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
विगत एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘ डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।
दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार हिजाे दिउँसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिना यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो ।
बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला बन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेशगरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमणसमेत गर्ने गरेको थियो ।
बाघको आक्रमणबाट सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्दन सबन्धी केही एेनलाइ संसोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ ।
उपप्रधान एवं गृह मन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
साथै, आ.ब. २०८१÷८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना
काठमाडौं, १ चैत ।
लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।
ईलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय बिकास बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।
थप अनुसन्धान एवम् सोधपुछको क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ । न्युज कारखाना
सिरहा १ चैत।
सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ। जिल्लाको कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।

नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजीझैँ प्रयोग गर्दै आएको स्थानीयहरु बताउँछन्।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय राम कुमार यादवले बताए । उनले भने , ‘उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।’

कल्याणपुरगाउँबाट सोमबार अबेर राती उपमेयरको श्रीमान अजय यादव र गाउँका ४/७ जनालाई गाडीमा बोकेर जन्तीको लागि जनकपुर गएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए। उनले भने, ‘ जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।’

सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटाे कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन्। गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरुले आरोप लगाएका छन्।न्युज कारखाना
काठमाडौं, १ चैत । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्दार समेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।न्युज कारखाना