२०८३ बैशाख १३
२०८३ बैशाख १३

काठमाडौं, ११ चैत ।

नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।

 

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।


जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

 

आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।न्युज कारखाना

बारा, ११ चैत ।

प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ ।

 

जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

 

टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन जोडेको थियो ।

 

पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, बिशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिए ।

 

पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले तीन विकेट लिए ।

 

उपाधि विजेता मकवानपुरले एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पाएको छ । यसैगरी मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार मकवानपुरका विशाल फुयालले प्राप्त गरेका छन् ।

 

विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

 

समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो ।

 

प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य अर्जुन रसाईली, जीतपुरसिमरा ३ की कार्यबाहक वडाध्यक्ष माया विक, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नेता किशोर शर्मा, अमृतलाल श्रेष्ठ, रवीन्द्र खकुरेल, बरुण गौतम, आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाह, अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

 

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए । न्युज कारखाना

 

रौतहट, ११ चैत ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आम इन्जिनियर्श एण्ड टेक्निकल एसोसिएशन गठन भएको छ। आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार इन्जिनियर्शहरूको भेलाले कमिटी गठन गरेको हो।

 

इन्जिनियर गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको सदस्यमा मनोजकुमार कर्ण, अनन्त रञ्जन साह, गोपाल कर्ण, कपिल ढुङ्गेल, प्रेमकुमार साह, प्रदिप साह, रामप्रित साह, बिजया श्री बरुण, रचना न्याइच्यई श्रीजना होना रहेका छन्।

 

यसैगरी अरुणकुमार साह, रमेश साह, कृष्णा पञ्जियार, मनिषकुमार साह, रामशंकर महतो, रितु राज साह, श्यामकुमार यादव, चन्दनप्रसाद साह, ललेन्द्र इसर, रविन्द्र कुमार साह, संजिव कुमार, रपेश कुशवाहा, चन्दन कुशवाहा, ब्रजेश्वर साह, निरज झा, राजेश रविदास, राजदेव साह, संजीव यादव, खगेन्द्र साह, रञ्जित साह, गोविन्द प्रसाद गुप्ता सदस्य रहेका छन्।

 

यसैगरी सदस्यहरुमा दीलिप साह, प्रेमकुमार साह, अनिल साह, योगेश कर्ण, श्याम साह, अनिश न्याइच्याई, रिसव साह साहिल, गोवन्द प्रसाद साह, रवि कुशवाहा, घनश्याम साह, कौशल साह, मन्तोस पाईक, रुपेशकुमार साह, विकेश तामाङ, पशान्त थापालगायत रहेका आइटी आर्मीको केन्द्रीय सदस्य रामसरण यादवले बताए।

 

कमिटी गठन पश्चात आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले देश निर्माणको मेरुदण्डका रुपमा क्रियाशील इन्जिनियरहरूको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवम् विकासका लागि शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना

काठमाडौँ, ११ चैत ।

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका छन् । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।’

राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् । न्युज कारखाना

काठमाडौं, १० चैत ।

पाईले बोतलको पानीको म्याद समाप्त हुने मिति कहिल्यै देख्नु भएको छैन, त्यसैले तपाईले सोच्नु भएको छैन कि पानीको पनि मिति समाप्त हुन्छ कि हुँदैन। त्यसैले हामी तपाईलाई बताउछौं कि बोतलको पानीको म्याद समाप्त हुने मिति पनि हुन्छ।

 

एक रिपोर्टका अनुसार बोतलको पानीमा म्याद समाप्त हुने मिति लेखिएको छ र प्याकिङको मितिभन्दा २ वर्ष नाघेको छ । वैज्ञानिकहरुका अनुसार बोतलको प्लाष्टिक बिस्तारै पानीमा घुल्न थाल्छ, त्यसैले २ वर्षपछि पिउन अयोग्य हुन्छ ।

जबकि धारा र नदीको पानीको मिति कहिल्यै समाप्त हुँदैन किनभने यो एक रासायनिक यौगिक हो र जैविक पदार्थ होइन। यसमा हाइड्रोजन र अक्सिजन अणुहरू छन्, जुन समयसँगै परिवर्तन हुँदैन।

 

यद्यपि, पानीमा अशुद्धता हुन सक्छ, जुन समयसँगै बिग्रन्छ। यसमा ब्याक्टेरिया, भाइरस र रसायनहरू समावेश हुन सक्छन्। तर नदी र धाराको पानीमा जीवाणुरोधी गुण हुन्छ, जसले यस पानीमा ब्याक्टेरिया र भाइरसको वृद्धिलाई रोक्छ।

न्युज कारखाना

सिरहा, १० चैत। 

सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि  गरेको पाइएको छ।

 

अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच हजारसम्म परीक्षा केन्द्र खर्च असुल गरेको पाइएको हो।

परीक्षाको प्रवेशपत्र लिन पुगेका विद्यार्थीहरुसँग प्रधानाध्यापक यादवले परीक्षा खर्च बापत एक हजार देखि पाँच हजार सम्म लिएर प्रवेश पत्र दिइएको विद्यार्थीहरुले बताए। प्रवेशपत्र लिन गएका विद्यार्थीले हामीले तिर्नुपर्ने सवै रकम तिरिसकेका छौं। अब के को पैसा चाहिएको हो? भनि प्रधानाध्यापकलाई सोध्दा प्रधानाध्यापकले परीक्षा खर्च चाहिन्छ भन्दै हजार रुपैयाँको दरले असुलेको उनीहरुले बताए।

प्रधानाध्यापक यादवले परीक्षा खर्चको नाममा रकम लिनै नमिल्ने जिकिर गरेपनि आफैले विद्यार्थीले तिर्नुपर्ने रकम बाँकी रहेकाहरुसँग लिएको हुन सक्ने बताए। बिद्यार्थीहरुबाट रकम आफ्नो नामको खातामा किन हाल्न लाउनु भयो ? भनि प्रश्न गर्दा प्रधानाध्यापक यादव अलमलिंदै यस विषयमा भेटेरै कुरा गरौंला भन्दै फोन काटे।


यस विद्यालयबाट यो पटकको एसईई परीक्षामा ७६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक यादवले जानकारी दिए। यो विद्यालयको परीक्षा केन्द्र विष्णुपुर गाउँ पालिकाको गौरीपुर माध्यमिक विद्यालयमा परेको छ।

 

संस्थागत विद्यालयहरुले विद्यार्थीबाट सेन्टरखर्चको नाममा रकम लिने गरेको चर्चा पहिला देखि नै चल्दै आएको हो। यस पटक सामुदायिक विद्यलयले पनि परीक्षा केन्द्र खर्चको नाममा विद्यार्थीसँग अनाधिकृत रकम असुलि गरेको खुलेको छ।न्युज कारखाना

जनकपुरधाम,१० चैत ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् ।

एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

योसँगै मधेस प्रदेशको मन्त्रिपरिषद ११ मन्त्री र तीन राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ ।न्युज कारखाना

काठमाडौँ ,१० चैत ।

देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुने गरेको देखिन्छ ।

यसैबीच सभामुख देवराज घिमिरेले संसद बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ ।

चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड तर्फ लागेका छन् ।

चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरेसँग  संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, एमालेका महेशकुमार बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार स्वीट्जरल्याण्ड पुगेका छन् । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत भ्रमण टिममा सहभागी रहेका छन् । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यसमा रोचक कुरा के छ भने यसका लागि संसद नै बन्द गरिएको छ । चैत्र ७ गते बसेको प्रतिनिधिसभाको बैठक अब चैत्र १८ गते बस्ने गरि तोकिएको छ । अहिले देशमा अन्योलता बढेको, व्यवस्थाप्रति नै सडकबाट प्रश्न उठिरहेको, आर्थिक संकटले चौतर्फी रुपमा अर्थतन्त्र धारासायी भएको दलका सांसद नेताहरुले संसदमै बोलिरहेने तर अवसर पाउना साथ संसद बैठक नै रोकेर विदेश भ्रमणमा कुदिहाल्ने दोहोरो चरित्र राजनीतिमा देखिएकैले अहिले राजनीतिक वितिष्णा बढेको सजिलै अनुमान गर्न सकिन्छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत्र ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा जादै छन् । सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री ९ दिनसम्म चीन भ्रमण गर्ने विषय प्रश्न उठेको छ । सत्तारुढ दल नेकपा एमालेकै युवा नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ? भन्दै प्रश्न गरेका छन्  ।

उनले भनेका छन्- कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’

यसअघि गृहमन्त्री रहेका श्रेष्ठ अहिले परराष्ट्रमन्त्री बनेका छन् । परराष्ट्रमन्त्रीको रुपमा उनको अहिलेको प्राथमिकता रुसी सेनामा रहेका नेपालीहरुको छिटो उद्धार गर्नु हुनुपर्ने हो । अहिलेसम्म सरकारसँग रुसी सेनामा कति नेपाली छन् भन्ने आँकडा समेत नभएको अवस्थामा यस विषयलाई प्रमुख एजेण्डा बनाएर काम गर्नुको सट्टा ९ दिनसम्म चीनको भ्रमणलाई प्राथमिकता दिएका छन्  ।

निष्कर्षमा राजनीतिक रुपमा अहिले नयाँ दल र पुराना दलको संयुक्त सरकार छ । तर पद तथा विदेश भ्रमणको अवसरलाई दाँया बाँया नहेरी लिने सन्दर्भमा पुरानासँगै नयाँले पनि खुट्टा उचाल्ने गरेको पाइन्छ  । यसले राजनीतिक रुपमा थप वितिष्णा बढाउने र सरकारप्रतिको विश्वास घट्ने नै देखिन्छ ।  न्युज कारखाना

बारा,१० चैत ।

बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउसो निजगढ नगरपालिका १३ भक्तलालका २१ वर्षिय लाल बहादुर वाईबालाई दुई सय १६ किलो गाँजा सहित पक्राउ गरेको हो ।

 

घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा सहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

सवारी सहित नियन्त्रणमा लिएको वाईबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।न्युज कारखाना

बारा, १० चैत ।

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघ भिड्ने भएका छन् । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।

 

मकवानपुरले अब उपाधिका लागि शनिबार पर्सासंग खेल्नेछ । पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गरिसकेको छ । पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।

 

यता समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो ।

 

मकवानपुरका लागि तक्षक सिम्ख्डाले ५४ रन बनाए । उनले २४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । यसैगरी मकवानपुरका गौरव खड्काले २७, युविन बुढाथोकीले २१, बिशाल फुयालले १९ र सक्षम वस्ताकोटीले ११ रन बनाए । भैरहवाका रोशनलाल गुप्ताले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर तीन विकेट लिए भने अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट हात पारे ।

 

रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४.५ ओभरमै भेट्टाउनुपर्ने बाध्यताका साथ मैदानमा उत्रिएको भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३३ मात्र रन जोड्न सफल भयो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र बिशाल फुयालले समान २–२, समिर चौलागाई र अशिम श्रेष्ठले १–१ विकेट हात पारे ।

 

भैरहवाले १४.५ ओरभमा लक्ष्य प्राप्त गरेको भए रनरेटका आधारमा समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्ने थियो भने १६ ओभरमा मकवानपुरलाई पराजित गरेको जनकपुर पेस फाउण्डेशन अन्तिम दुईमा प्रवेश गर्ने थियो । समूह ‘बी’ को यसअघिका खेलमा मकवानपुरले जनकपुरलाई ३१ रन र जनकपुरले भैरहवालाई ४८ रनले पराजित गर्दै समान २–२ अंक बटुलेका थिए । समूह ‘बी’ को अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

 

खेलको प्लेयर अफ दि म्याच मकवानपुरका तक्षक सिम्ख्डा घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।