२०८३ बैशाख १२
२०८३ बैशाख १२

रौतहट,२५ बैशाख ।

रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ ।

विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पहिलाको तुलनामा मोटरसाइकल चोरीका घटनामा केही कमी आएको भएपनि पछिल्लो समय आएर चन्द्रनिगापुर क्षेत्रबाट दैनिक रुपमा मोटरसाइकल चोरीका घटना हुन थालेका हुन् । तीन दिन पहिला चन्द्रपुर ८ सन्तपुरबाट एउटा मोटरसाइकल हराएको थियो भने, आइतबार चन्द्रनिगाहपुरको व्यस्त क्षेत्र नेपाल बैंक अगाडिबाट एउटा मोटरसाइकल हराएको थियो । विगत एक हप्तादेखि चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानबाट दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको छ ।

प्रहरीको फितलो गस्तीका कारण दिनदाहाडै बजार क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै जान थालेका कारण यसतर्फ प्रहरीले आफ्नो सक्रियता बढाउनुपर्ने चन्द्रनिगापुरका स्थानीय बासिन्दा अनन्त अधिकारीको भनाइ रहेको छ ।

चन्द्रपुर नगरपालिकाले नगरका मुख्य चोकहरूमा सिसिटिभी क्यामेरा जडान गरेको बताए पनि पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा संलग्नहरु सिसिटिभीको अगाडि फेला पर्न सकेको छैनन् । चन्द्रपुर नगर क्षेत्रबाट चोरी भएका मोटरसाइकलहरू चोर समूहले बारा जिल्लाको कोल्बी लगायतका स्थानमा लगेर काटेर बेच्दै आएको जानकारहरूको भनाइ रहेको छ ।

स्थानीयले प्रहरीको फितलो बस्तीका कारण चन्द्रपुर क्षेत्रमा दैनिक जसो चोरीका घटना बढेको भन्दै गुनासो गर्दै आएका छन् । विगत एक हप्तादेखि दैनिक रूपमा एउटा मोटरसाइकल चोरी हुँदै आएकोमा प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले चोरीमा संलग्न गिरोहको खोजी कार्य भइरहेको र उनीहरू चाँडोभन्दा चाँडो प्रहरीको फन्दामा पर्ने बचाएको छ  ।

केही महिना रोकिएको मोटरसाइकल चोरीका घटना पछिल्लो समय आएर पुन बढ्न थालेपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।न्युज कारखाना

 

काठमाडौं, २४ वैशाख । गृह मन्त्रालयले अपराध अनुसन्धान वा अभियोजनामा पक्राउ परेका व्यक्तिहरूलाई अस्पताल लैजानेबारे तीन बुँदे निर्देशन दिएको छ।

पक्राउ परेपछि हिरासत छल्न विभिन्न स्वास्थ्य समस्या देखाउँदै अस्पताल जाने प्रवृत्ति बढेपछि गृह मन्त्रालयले सोमबार तीन बुँदे निर्णय गरेको हो।

प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानुनी प्रवन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउने गृहले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको छ।

काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृहले तीन बुँदे निर्देशन जारी गरेको हो।

उक्त निर्देशन अनुसार पहिलो बुँदामा दीर्घरोगीहरू पर्छन्। उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लैजानुपर्ने गृहले निर्णय गरेको छ।

यस्तै, दोस्रो बुँदामा अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर राख्नुपर्ने वा अपर्ने निर्णय गर्न सक्ने उल्लेख छ।

तेस्रो बुँदामा अस्पतालमा अब्जरभेसनका लागि ४८ घन्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनुपर्ने उल्ले खछ।

गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो।

गृहले ३ बुँदे निर्णय कार्यान्वयका लागि सम्बन्धित निकायहरूलाई निर्देशन र विभिन्न माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सम्प्रेषण गर्ने बताइएको छ।

पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाउने घटना यदाकदा देखिएको भन्दै पदभार ग्रहणलगत्तै मन्त्री रवि लामिछानेले यसबारे चासो लिएर छलफल सुरू गरेका थिए।

‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो। राज्यले त्यो हक सुरक्षित गर्छ नै। तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो,’ मन्त्री लामिछानेले भने। न्युज कारखाना

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए । न्युज कारखाना

वैशाख २३ गते

आम जनता पार्टी (आजपा) ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । आजपा जिल्ला कमिटी बाराले आईतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारा मार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग आजपाको रहेको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए । आजपाका केन्द्रीय उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव निर्विज लगायत सयौं नेताकार्यकर्ताहरुले कलैयामा र्याली सहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थीको अनुपातमा शिक्षकको ब्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइदैन, विद्यार्थीको भबिष्यसंग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, आम जनता पार्टी जिन्दावाद लगायतका नारा प्रदर्शनकारीले लगाएका छन् ।

यस अघि गत साता रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र बिषयगत शिक्षक दरबन्दी पुर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । ४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निष्कर्ष निकालेको थियो ।

मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक बर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

आरके श्रीवास्तव,राैतहट२३ गते वैशाख ।

नीति, थिति र निर्णय सबैलाई लत्याउँदै रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नगरलाई अस्तव्यस्त बनाएका छन् । नगर प्रमुख र हाकिम दुवै जना कार्यालय छोडेर बेपत्ता हुन थालेपछि नगरपालिकाको सबै काम अस्तव्यस्त बन्न पुगेको वडाध्यक्षहरुको आरोप छ ।

आइतवार कटहरिया नगरपालिकाको कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख र हाकिम दुवै जना अनुपस्थित भएपछि कार्यपालिका सदस्यहरु आक्रोशित बनेका छन् । पूर्व सूचना गरी बोलाइएको कार्यपालिका बैठकमा नगर प्रमुख अजय प्रकाश र कार्यालय प्रमुख सुरेन्द्रमान प्रधान दुवै जना अनुपस्थित भएपछि उपस्थित कार्यपालका सदस्यहरु आक्रोशित बनेका हुन् । कटहरिया ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले बैठकमा उपस्थित नभई कार्यालय प्रमुख प्रधानले मोबाइलको स्वीचसमेत अफ गरेर उपसचिवजस्तो गरिमामय पदको मर्यादा गिराएको आरोप लगाएका छन् ।

नीति, नियम र नैतिकताको कुनै ख्याल नै नगरी कार्यालय प्रमुख प्रधान नगर प्रमुखको इसारामा मात्र चल्ने गरेको आरोप वडाध्यक्ष गुप्ताको रहेको छ । नगर प्रमुख र कार्यालय प्रमुख दुवै जना मिलेर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउँदै वडाध्यक्ष गुप्ताले जनताले सबैको हिसाबकिताब लिने बताएका छन् । नगरपालिकामा कति जना ज्यालादारीका कर्मचारी छन् र महिनाको कति खर्च ज्यालादारीमा हुन्छ भन्ने यकिन जानकारी नगर प्रमुख र कार्यालय प्रमुखले दिने गरेका छैनन् ।

ज्याला तथा करारका कर्मचारीको नियुक्ति तथा कामको विवरण महिनौँदेखि कार्यपालिका सदस्यहरुले माग्दै आएका छन् । नगरपालिकाको तलब खुवाएर नगर प्रमुख र कार्यालय प्रमुखले दर्जनौँ मानिसलाई चिनीमिलमा काम गराएको आशंका जनप्रतिनिधिहरुको रहेको छ । कटहरिया नगरपालिका ९ मा रहेको चिनी मिलका संचालक नगर प्रमुख अजय प्रकाशले नगरपालिकाबाट भुक्तानी दिने गरेको तर निजी उद्योगमा दर्जनौँ कर्मचारी खटाएको आशंका रहेको छ ।

करार तथा ज्यालादारीको कामदारको विवरण, तिनीहरुमा भइरहेको खर्च, हरेक महिना इन्धनमा नगरपालिकाको खर्चको विवरण माग गर्दै केही महिना पहिले नगर उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुमाथि पार्टीको दबाब परेपछि रातारात ताला खोलाइएको थियो ।

कटहरिया ४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगर प्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा लुटको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । वडाध्यक्ष कुशवाहा भन्छन् – जनताको अदालतले एक दिन हरेक कुकर्मको हिसाब गर्नेछ । कार्यालय प्रमुख प्रधान नगरपालिकालाई अस्तव्यस्त बनाउनमा माहिर छन् ।

यसअघि रौतहटकै फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबिच फाटो ल्याएर एक पक्षीय विवादास्पद निर्णयहरु गराएका थिए । प्रधान कार्यालय प्रमुख रहुन्जेल फतुवा विजयपुरमा पटकपटक विवाद र कार्यालयमा तालबन्दी भएको थियो ।

प्रधानको विवादास्पद चरित्रकै कारण रौतहटको वृन्दावन नगरपालिका कार्यालयमा स्थानीयले हाजिर हुन दिएका थिएनन् ।

काठमाडौं, २४ वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ।

आज बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।   न्युज कारखाना

काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपुर्ण आन्दोलनको मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना गरेका छन् ।

देशको समृद्धिसँग जोड़िएको यो ऐतिहासिक संघर्षमा गिरफ़्तार हुनुभएका भन्सार कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हक हित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उप महासचिव मनोज कुमार यादव लगायतका कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको आम जनता पार्टीले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ ।  आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।

विदेशमन्त्री योकोले विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन भ्रमण गरेकी हुन् ।

एक दिनको भ्रमणमा नेपाल आएकी विदेशमन्त्री योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
न्युज कारखाना

हेटौंडा / बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ ।

बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ गुरुम्फी खोलामा ढुङ्गाको चेपमा एक पुरुषको लास भेटिएको हो । उक्त लास दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भई हाल दोलखा गौरीशंकर गाउँपालिका–५ सुम्ना स्थित छोरीको घरमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रत्न बहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ । उनी बिहानै देखि घरबाट निस्की हिडेको भन्ने बुझिएको र स्थानीयले माछा मार्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानी स्थित रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का घर देखि करिव ५०० मिटर पर टलक बहादुर सार्कीको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ पेलदानखर्क स्थित भिरमा एक लास फेला परेको जनाएको छ । हाल नाम थर वतन नखुलेको, मागी खाई हिड्ने हेर्दा तराई मुलुकको जस्तो देखिने अन्दाजी ३५ वर्षीय एक पुरुषको शव फेला पारेको प्रहरीले जनाएको छ । उत्त लास जाँच प्रकृति पश्चात पोष्ठमार्टमको लागि जिल्ला स्थित धुन्चे अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।