२०८३ असार २९
२०८३ असार २९

 

रौतहट- रौतहटमा मापदण्ड पूरा नगरी खोलिएका दर्जनौं निजी अवैध अस्पतालहरूमा झोले डाक्टरहरूले उपचार गरी सयौं नेपालीको ज्यानसँग खेलवाड गरिरहेका छन। उनीहरूले उपचारको नाममा त्यस्ता अस्पतालमा बिरामीसँग लाखौं रुपैयाँ लुटिरहेका छन्।

तर, नियमनकारी निकाय मौन बसेको गुनासो बढ्दै गएको छ। नियमनकारी कुनै पनि निकायबाट त्यस्ता अवैध अस्पतालहरूको अनुगमन/निरीक्षण भएको देखिएको छैन।

त्यसको ज्वलन्त उदाहरणको रुपमा रहेको छ शिवनगरस्थित आनन्द हस्पिटल। जिल्लाको मध्यभाग गरुडा नगरपालिका शिवनगरमा रहेको उक्त अस्पताल वर्षौंदेखि अवैध रूपमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको छ।

उक्त अस्पतालमा प्यारालाइसिस पक्षाघात (लकवा) रोगको ग्यारेन्टी उपचारको नाममा झोले डाक्टर उमेशप्रसाद जैसवालले प्रत्येक बिरामीसँग एकदेखि डेढ लाख रुपैयाँसम्म लुट्दै आएका छन्।

तर नियमनकारी कुनै पनि निकायले हालसम्म नियमन/अनुगमन गरेको छैन। स्थानीय प्रशासन, स्थानीय निकाय अथवा औषधी व्यवस्था विभाग वीरगन्ज मुकदर्शक बनेको छ।

आनन्द पोलिक्लिनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएर २०७६ फागुन १३ गते गरुडा नगरपालिकामा नवीकरण गरेको तथ्यांक रहेको छ। तथ्यांकमा आनन्द पोलिक्लिनिक एक्युपञ्चर रहेको छ तर यथार्थमा आनन्द हस्पिटल प्रालि नाम राखेर वर्षौंदेखि सञ्चालन गर्दै झोले डाक्टर जैसवालले बिरामीहरूसँग लाखौं रकम लुट्दै आएका छन्।

अस्पतालमा बेड राख्ने प्रक्रिया पूरा नै नगरी दर्जनौं बेड राखेर नक्कली डाक्टर उमेशप्रसाद जैसवालले बिरामीहरूको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरिरहेका छन्।

स्थानीय स्रोतका अनुसार जैसवालले नियमनकारी निकायलाई पैसाको प्रभाव र राजनीतिक दबाबमा पारेर अहिलेसम्म बिरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएका छन्।

गाउँ-गाउँमा दलाल राखेर पक्षाघात (लकवा) भएका बिरामीहरूलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको नाममा उनले आर्थिक लुट मच्चाउँदै आएका छन्। झण्डै एक दशकदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरीत गैरकानुनी रुपमा हस्पिटल सञ्चालन गर्दै आएको स्थानीयहरूले बताएका छन्।

निजीस्तरको हस्पिटल सञ्चालन गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्वारा निर्धारण गरिएको परिपत्र अनुसार २८ वटा बुँदामा लेखिएका पूर्वाधार पूरा गर्नु पर्दछ।

तर, बिनापूर्वाधार आनन्द हस्पिटल प्रालि गैरकानुनी रुपमा सञ्चालन रहँदा कुनै पनि निकायबाट कारबाही नगरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्।

आनन्द हस्पिटल एउटा उदाहरण मात्र हो, रौतहट जिल्लाको प्रायः सबै पालिकामा मापदण्ड विपरीत दर्जनौं निजी अस्पताल सञ्चालनमा रहेका छन्।

अबैध रुपमा सञ्चालित त्यस्ता अस्पतालहरूमा एकातर्फ बिरामीको स्वास्थ्यसँग खेलवाड भइरहेको छ भने अर्कोतर्फ उपचारको नाममा बिरामीसँग लाखौं लाख असुल भइरहेको छ।

यस्तै, गुनासो आएपछि केही महिनाअघि जिल्ला प्रशासन र जिल्ला प्रहरीको संयुक्त टोलीले सुकदेव चौकस्थित एक निजी अस्पतालमा छापा मारी तीन जना भारतीय नक्कली डाक्टरलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो।

पालिकाभित्र कसैले पनि बिना मापदण्ड पूरा गरी अस्पताल, क्लिनिक, मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थसँग खेलवाड गर्छ भने त्यस्तालाई कारबाहीको दायरामा ल्याउने अधिकार स्थानीय निकायसँग रहेको छ।

तर विभिन्न राजनीतिक प्रभावको कारण जिल्लाको १८ स्थानीय तहमध्ये प्रायः कुनै पनि पालिकाले अहिलेसम्म अनुगमनको पहल गरेको देखिएको छैन।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानुनी रुपमा जिल्लामा सञ्चालनमा रहेका निजी अस्पतालहरूमा अनुगमन गर्ने पहिलो अधिकार स्थानीय निकायको रहेको बताएका छन्।

तर, स्थानीय तहसँगै अन्य निकायले ध्यान नदिँदा जिल्ला प्रशासनबाट चाँडै अनुगमन सुरू गर्ने तयारी भइरहेको रेग्मीले जानकारी दिएका छन्।

शिक्षा र स्वास्थ्यजस्ता नागरिकसँग प्रत्यक्ष सरोकारको विषयमा स्थानीय प्रशासनसँगै स्थानीय निकायका प्रमुखहरूको पनि ध्यान जान जरुरी रहेको छ।न्युज कारखाना

काठमाडौं- अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिनसहित पक्राउ

पौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन्।

कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागुऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन्। दुबईबाट काठमाडौं आएकी उनलाई काठमाडौं ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।

शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ।

यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।न्युज कारखाना

चन्द्रपुर,१३ जेठ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वन बनहुअरीमा बनेको वृद्ध आश्रम यतिबेला अलपत्र अवस्थामा परेको छ । नेपाल सरकारको ३ करोडको लागतमा बनेको सो वृद्धाश्रमको भवन यतिबेला अलपत्र अवस्थामा परेको भएपनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।

केही राजनैतिक दलका नेता तथा ठेकेदारको आफ्नै इच्छा अनुसार डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको वन बनबहुअरी सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने वनको जग्गामा बनेको सो भवन यतिबेला अलपत्र अवस्थामा परेको हो । केही राजनैतिक दलका नेता तथा वन बनबहुअरीकै ठेकेदार देवराज अधिकारीले आफ्नै मनोमानी तरिकाले जंगलको छेउमा बनाएको वृद्ध आश्रम संचालनमा नआउदा राज्यको तीन करोड स्वाह भएको छ । वनको जग्गामा जंगलको छेउमा ठेकेदार अधिकारीले राज्य संयत्रको सेटिङमा बनाएको बृद्धाआश्रम अहिले भत्कले अवस्थामा पुगेको छ । जंगलको छेउमा भएका कारण समेत त्यहाँ आश्रम संचालनमा समस्या आएको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जंगलको छेउमा सघन सहरी विकास मन्त्रालयले ठेकेदार अधिकारी मार्फत तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धा आश्रम संचालनमा आउन नसकेर अलपत्र अवस्थामा पुगेको स्थानीयले बताए ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको बुद्धा आश्रम नै राज्यको नियम विपरित रहेको र घना वनको छेउमा रहेका कारण संचलनमा ल्याउन समस्या भएको जानकारहरुको भनाइ रहेको छ ।

निर्माण सम्पन्न भएको दुइ बर्ष हुन लाग्दा समेत भवन संचालन आउन सकेन, के कारणले संचालन हुन नसकेको स्थानियले बुझ्m्न नसकेको बताउछछन् । उक्त भवनमा ठेकेदारको ईच्छा अनुसार अनकन्टार स्थानमा निर्माण भएका कारण समेत संचालनमा आँउन नसकेको जानकारहरुको भनाइ रहेको छ ।

करोडौको लागतमा बनेको सो भवन दुइ वर्षदेखी अलपत्र बनेको छ । राज्यको तीन करोड लगानी भएको सो भवन यतीबेला सम्म संचालनमा नआँउदा भवन प्रयोगमा नआँउदै भत्कने अवस्थानमा पुगेको एक स्थानीय बासिन्दाले बताए । न्युज कारखाना

 

 

काठमाडौँ । पछिल्लो १० महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा परि ४ सय १० जानाले ज्यान गुमाइसकेका छन् ।

 

बागमती प्रदेशमा सवारी दुर्घटनाको जोखिम घटाउन प्रहरीले कडा कारबाही गर्दै चालु आर्थिक वर्षको बैशाखसम्ममा मात्र करिब ७२ करोड रुपैयाँ जरिबाना असुली गरे पनि सवारी दुर्घटनाका घटनाहरू नरोकिनु नागरिकको चिन्ताको विषय बनेको छ।

 

प्रहरीबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको बैशाखसम्म प्रदेशभरि ८ हजार ८ सय भन्दा बढी व्यक्ति सवारी दुर्घटनाका कारण घाइते भएका छन् भने ७ हजार ९ सय ३५ वटा सवारी दुर्घटनाका घटनाहरू घटेका छन्। यहि अबधिमा, ट्राफिक नियम उल्लङ्घन गर्ने ९ लाख भन्दा बढी सवारी चालकलाई कारबाही गर्दै ७२ भन्दा बढी रुपैयाँ जरिबाना असुल गरिएको छ । यहि आँकडा हेर्दा बागमती प्रदेशमा सानाठुला दुर्घटना गरि दैनिक २० वटा भन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

 

“यस्तो जरिबानाले हामीलाई सचेत बनाउँछ तर पर्याप्त छैन,” चितवन-काठमाडौं बस चलाउने सन्तोषकुमार राईले भने, “सडकहरू पुरानै छन्, सङ्केतहरू छैनन्। सवारी चालकहरूलाई शिक्षादीक्षा पनि उत्तिकै आवश्यक छ।” अर्का चालक उमेश लामाले पनि “नगद जरिबाना मात्रै भएर नपुग्ने” बताए।

 

सवारी चाप र सडक अव्यवस्थित हुनुका साथै चालकहरूको सचेतना अभावले गर्दा दुर्घटनाका घटनाहरू बढ्दै गएको प्रहरीको विश्लेषण छ। जरिबानाभन्दा पनि सडक सुरक्षा शिक्षा, सरोकारवाला निकायबीच सहकार्य र नयाँ प्रविधिको प्रयोग जरुरी देखिएको छ।

 

प्रहरी प्रशासनले पनि ट्राफिक नियमको कडाइ, चेकिङ र अनुगमन बढाए पनि दुर्घटनाको खतरा कायमै रहेको स्वीकार गरेको छ। चालु आर्थिक वर्षको बैशाखसम्ममा प्रदेशभर ९ लाख ४३ हजार ५ सय १३ जना बढी सवारी चालकलाई कारबाही गरिए पनि दुर्घटनाको सङ्ख्यामा खासै कमी आउन सकेको छैन। अर्थात् सचेतना हुन्दामात्रै दुर्घटना कमि हुने देखिएन ।

 

सरकारी तथा गैरसरकारी निकायहरूका साथै सर्वसाधारण नागरिकको सहभागितामा सडक सुरक्षा अभियानलाई नयाँ रणनीतिसहित अगाडि बढाउन सकिने विज्ञहरूको विश्लेषण छ।

 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही

बागमती प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कडा कारबाही गरेको देखिन्छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्याङ्कले यसतर्फ प्रकाश पारेको छ।

 

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशको उपत्यका बाहेकका जिल्लाहरूमा मात्रै १ लाख ८४ हजार १५८ जना ट्राफिक नियम उल्लङ्घनकर्तालाई कारबाही गरिएको छ। यस क्रममा प्रहरीले करिब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ।

 

जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी ३५ हजार ६ सय ३९ जनालाई कारबाही गरिएको छ भने त्यहाँबाट २ करोड ५८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, मकवानपुरमा २९ हजार ७ सय ११ जना र धादिङमा १८ हजार ७ सय १९ जनालाई कारबाही गरिएको छ। राजस्व सङ्कलनतर्फ मकवानपुरबाट २ करोड २० लाख ८८ हजार र धादिङबाट १ करोड ३५ लाख ६७ हजार रुपैयाँ सङ्कलन भएको छ।

 

यसरी, सवारी चालकमाथि कडा नियम लागू गरिएको देखिन्छ। तर नियम उल्लङ्घनका घटनाहरू अझै बढ्दै गएकाले यसलाई लिएर चिन्ता बढेको छ। सरोकारवालाहरूले शान्त र सुरक्षित यातायात व्यवस्थाको सुनिश्चतताका लागि नियममा थप कडाइ गर्नुपर्ने बताउँछन्।

 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सजग गराउँदै कारबाही गर्ने उद्देश्यले विभिन्न चेकपोइन्टहरू स्थापना गरिएको बताउँदै सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको नेपाल प्रहरी प्रवक्ता दान बहादुर कार्की बताउँछन्।

 

सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्लेषकहरूको भनाई छ। सबैको सहयोगमा मात्र दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षित यात्रा सम्भव हुने बताइएको छ। न्युज कारखाना

रौतहट,१३ जेठ । गढीमाइ नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ ।

गढीमाई नगरपालिकाका मेयर र हाकिमकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाउदै आएकाछन् ।

नगर प्रमुख र हाकिमको साथ पाएका ठेकेदारले ति दुबै घाटमा मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन गरी चरम दोहन गरिरहेको स्थानियले जानकारी दिएका छन ।

समनपुरको बागमती नदिको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्बी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिएका छन ।

ति दुबै घाटमा अहिले दिनरात स्काभेटर र टिपर चलिरहेको स्थानियले जानकारी दिए । स्थानियबासीले दिएको जानकारी अनुसार पुल उत्तर ४ वटा स्काभेटर चलेका छन भने पुल दक्षिण पनि ४ वटा स्काभेटरले भकाभक नदी उत्खनन गरिरहेका छन ।

नगरपालिकाले पुल उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको छ ।

दुबै क्षेत्रमा माछा पाल्ने किसिमको ठुल्ठुला पोखरी तथा नदि बगिरहेको ठाउबाट नै बालुवा गिटी निकाल्ने काम भइरहेको पाइएको छ । नदीमा चरम दोहन भएपछि शुक्रबार स्थानियले केही बेर अबरोध पनि गरेका थिए ।

नदीजन्य पदार्थको अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु पनि कानमा तेल हालेर बसेका छन । अनुगमन समितिको गैर जिम्मेबारपनको कारण रौतहटको बिभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ । यसैबिच गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादवले चाडै नै सो क्षेत्रको अनुगमन गर्ने बताएका छन ।

नदीजन्य पदार्थ निकाशी गर्ने जेठ मसान्त सम्म मात्र रहेको नेपाल सरकारको प्राबधान छ ।

नदीजन्य वस्तुको अवैध उत्खननबाट नगरपालिकाका हाकिम र मेयरलाई धेरै लाभ हुने भएका कारण समय सीमा सकिनु अगाडि नै नियम विपरीत बागमती खोला धमाधम उत्खनन भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुखकै मिलो मतोमा मनोमानी रुपमा बागमती धुन हुँदा वर्षायाममा बागमती गाउँ पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले पटकपटक घडीमाई नगरपालिकाको कार्यालय घेराउ गर्दै आएका छन्  । नगरपालिकाका जनप्रतिनिधिले आफ्नो लाभका लागि मनोमानी रुपमा बागमती उत्खनन गराउँदा आउँदो वर्षायाममा बागमतीको बाढी गाउँमा बस्ने खतरा बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । न्युज कारखाना

 

काठमाडौं-  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।

काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

‘दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए।

बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारबाही गर्न/गराउन सशक्त आन्दोलन गर्ने समेत निर्णय गरेको छ।

विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकले निर्णय गरेको प्रवक्ता साहले जानकारी दिए।

‘भ्रष्टाचार, अनियमितता, कुशासनको विरूद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ साहले भने।

यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप शसक्त प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय बैठकले गरेको छ।

आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरूमा विद्यार्थीको अनुपात एवम् विषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ। सो आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ,’ आजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।न्युज कारखानाच

 

रौतहट ११ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ।

 

प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र  भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो ।

 

नगरपालिकामा बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा  छलफल भएको छ ।

 

पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने,  नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।

 

आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल , पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव,

 

नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष ब्रह्ममा यादब, दीप नारायण साह,  दीप नारायण चौधरी , नगर उपाध्यक्ष रधाकानत यादव, मुस्लिम मोर्चाका केन्द्रिय महासचिव शेख मोविन्, महिला मोर्चाका केन्द्रीय सचिव सुनिता देवी महतो,दलित मोर्चाका केन्द्रिय सचिव रमा शंकर पासवान, आइटी आर्मीका नगर इञ्चार्ज रामशरण यादव, नगर अध्यक्ष गोपाल साह, सानु भुजेल, रामअधार पटेल, युवा नेता मुकेश साह, प्रमोद पासवान, रामकिशोर साह, रामानन्द यादव,रामाकन्त साह, सहदेव हजार प्यारेलाल यादव लगायतका लगायतको  सहभागिता रहेको थियो ।

 

बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ ।

 

मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।न्युज कारखाना

बारा ११ जेठ। उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी निकट नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव  एक कार्यक्रम बीच प्रेस युनियनमा प्रवेश गरेका छन ।

 

बाराको सदरमुकाम कलैया स्थित शुक्रवार आयोजित कार्यक्रममा उनले जनता समाजबादी पार्टी नेतृत्व प्रती असन्तुष्टी जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए।

 

उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै युनियनमा भित्र्याएका थिए। उक्त अवसरमा प्रेस युनियन बाराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।न्युज कारखाना

 

आरके श्रीवास्तव,राैतहट,१० गते जेठ । 

बज्जिका भाषाका अन्वेषक एवम् साहित्यकार संजय साह मित्र कृत बज्जिका भाषाको पहिलो बुद्ध महाकाव्यको लोकार्पण भएको छ । आज बिहिवार एक कार्यक्रम बीच साे महाकाव्यकाे लोकार्पण गरिएको छ ।

भगवान् गौतम बुद्धको २५६८ औं जयन्तीको अवसरमा आकृति क्रिएसन हेटौडा मकवानपुरको आयोजना तथा बज्जिका साहित्य संगम गरुडा ४ रौतहटको व्यवस्थापनमा साे कार्यक्रम भएको थियोे ।

कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानु, पुर्ब प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर प्रसाद सिन्हा,बज्जिका अभियन्ताहरू शिवचन्द्र साह,रामचन्द्र महताे कुशवाहा र शैली देवी ठाकुरले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन।

मधेस प्रदेशको तेस्रो ठूलाे भाषाकाे रूपमा रहेको बज्जिका भाषाकाे याे महाकाव्य लाेकार्पण कार्यक्रममा वक्ताहरूले साहित्यीक क्षेत्रमा ठूलाे धमाकाकाे संज्ञा दिएका छन् ।

बज्जिका भाषाको विकास संरक्षणको लागि निरन्तर रुपमा कलम चलाउदै आएका संजय साह मित्रले लेखेका पहिलो बज्जिका भाषाको बुद्ध महाकाव्यको लोकार्पण गरिएको हो।

 

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख साहले मातृभाषा बज्जिकालाइ राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले गरिएको यो रचनाले बज्जिका भाषाको विकासमा थप उर्जा प्रदान हुने विश्वास व्यक्त गरेका छन्।

बुद्ध महाकाव्यको रचनाकार संजय साह मित्रले २०७८ सालको कोरोना भाइरसको प्रचण्ड प्रकोपको बेला घरमा बस्नु पर्ने अवस्था सृजनाले रचना गर्ने मनमा जिज्ञासा उठे पछि बज्जिका भाषामा बुद्धको जीवनमा आधारित महाकाव्यको रचना गरेको बताए।

वज्जिका भाषामा बिभिन्न लेख, रचना, कविता, खण्ड काव्य, कहावत, लगायतको रचना गरी सकेका साहित्यकार साहले बज्जिका भाषामा पहिलो पटक महाकाव्यको रचना गरेर पाठक माझ ल्याउन पाउदा हर्शित भएको बताए।

५५ अध्याय २४० पृष्टमा विस्तार गरिएको महाकाव्य बज्जिका भाषिको लागि उपयोगी हुने रचनाकारको विश्वास रहेको छ।

कार्यक्रमकाे अध्यक्षता रामअविकासले गरेका थिए । भने कार्यक्रम सञ्चालन किसुन दयाल यादव गरेका थिए ।

काे हुन् संजय साह मित्र ? 

वि.स.२०३० सालमा साविक गेडही गुठी हाल गरूडा नपा २ मा पिता अच्छेलाल साह र माता अनुरगियादेवी कनुइनकाे काेख बाट जन्मिएका मित्रले नेपाली साहित्य र इतिहासमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् ।

वि.स.२०६१ सालमा पच्चीस डेङ बज्जिका कविता संग्रह बाट पुस्तक लेखन सुरू गरेका उनको  एक दर्जन कृतिहरू प्रकाशनमा छन् ।

उनलाई दुई वटा ठूलाे उपाधी पनि दिईएकाे छ । २०७७ सालमा बज्जिका समृद्धि समाज सर्लाही द्वारा बज्जिका शिराेमणी र २०७४ सालमा मधेस संस्कृतिक प्रतिष्ठान राैतहट द्वारा मधेशरत्न उपाधी हासिल गरेका छन् ।

उनलाई धेरै पुरस्कारहरू प्रदान गरिएको छ भने दर्जनौं सम्मानपत्र द्वारा सम्मान गरिएको छ ।

सिरहा, ९ जेठ। सिरहामा पछिल्लो समय ग्राभेल माफियाहरुले अबैधरुपमा  गर्ने गरेको उत्खनन्ले स्थानियहरु आजित भैइसकेका छन्। गाँउ बस्ती नै डुवानमा पर्नेगरी विना दर्ताकै ग्राभेल माफियाहरुले गरेको अवैध उत्खन्न्ले स्थानियहरु आजित भएका हुन्।

आज विहान बवैध रुपमा ग्राभेल उत्खन्न् गरिरहेको अवस्थामा प्रहरीले नगरहा  गाउँ पालिका ३ खोरियाबाट दुईवटा टिपर र एकथान स्काभेटर नियन्त्रणमा लिएको छ।

स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा खानी समेत दर्ता नगराई ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल गोलबजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्वरको टिफार र नम्वर नखुलेको स्काभेर नियन्त्रणमा लिएको हो।

स्थानीयले दिएको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीले उत्खनन गरिरहेको स्थानबाटै टिफर र स्काभेर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गोलबजारको प्रहरी निरीक्षक दशरथ अधिकारीले जनाएको छ।नियन्त्रणमा लिएको टिफर र स्काभेटर गाउँ पालिकाको जिम्मामा लगाउने कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

नरहा ३ को दर्जनौं स्थानबाट अबैधरुपमा उत्खनन् भईरहेपनि स्थानीय प्रहरी र जनप्रतिनिधीको मौनताले उनीहरुको संलग्नता स्पस्ट देखिएको स्थानीयहरु बताउँछन्। कुनै खानी दर्ता नभएपनि यहाँका पहुँचबाला व्यसायीहरुले प्रशासन र जनप्रतिनिधीलाई प्रभावका पारेर ग्राभेल निकाल्ने गरेको स्थानीय एक शिक्षकले जानकारी दिए।

उनका अनुसार दिनभरी मिर्चैया प्रहरीको डिउटी बसेकै क्षेत्रबाट ग्राभेल लानेगरेपनि प्रहरी देखेको नदेखेझैं गरेकाले प्रहरीको नीयत त्यसै उदाङ्गो भएको देखिन्छ।

उनले भने, ‘पालिकाकै अगाडीबाट दिनहुँ दर्जनौ टिफर जान्छ, वडा अध्यक्षलाई हामीले पटक पटक भन्दा पनि वास्ता गर्दैन, प्रहरीलाई भन्दा पनि सुन्दैन, आज बल्ला सशस्त्रले गाडी समायो। यो अबैध धन्दा रोकिनु पर्छ।’

ती शिक्षकले पक्राउ परेका टिफरहरु पनि निश्चित राजस्व बुझाएर छोड्नु नहुने बताउँदै भने, ‘यो चोर पुसको खेल जस्तो भयो, महिना दिन चलाउँछ। स्थानीयको धेरै विरोध हुन थालेपछि पकडेर देखाएजस्तो गर्छ। यो देखावा सकियो। अव उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।’

नरहा गाउँ पालिकामा आजसम्म कुनै खानी दर्ता नभएको प्रशासनले जनाएको छ। यहाँ बाट निस्कने सवै ग्राभेल चोरी निकासी गरेर निस्कने गरेको छ। न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।