रौतहट-रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ।
दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र बनेको हो।
यसैबीच, गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्।
पक्राउ पर्नेमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका-१ बस्ने बर्ष ४८ को श्यामनारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन्।
पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं दलाल घुमिरहेको देख्न सकिन्छ।
दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ। स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत् हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।
कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन्। तर प्रत्यक्ष रूपमा जुन समय जाँदा पनि दलाललाई कार्यालयमा देख्न सकिन्छ।न्युज कारखाना
सञ्जय मिश्रा
रौतहट- उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ।
५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताएका छन्। मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहेका थिए।
लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर रोग लागेको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो। त्यसको एक वर्ष लगातार क्यान्सर रोगको उपचार गराएका वडाध्यक्ष यादव धनाधन सतगुरुको गरुडास्थित आश्रममा लागेका थिए।
आश्रमका गुरुको सल्लाह अनुसार उनले क्यान्सर रोगको उपचार छोडेर एक वर्षबढी समयदेखि पूजापाठ र ध्यानमा लागेपछि उनको अवस्था नाजुक भएको थियो। त्यसपछि उनलाई पुनः उपचारको लागि क्यान्सर अस्पताल भरतपुरमा भर्ना गरिएको मेयर यादवले जानकारी दिएका छन्।
मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्तेष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ।
क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ। न्युज कारखाना
१९ जेठ, महोत्तरी विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेपछी जिल्ला समन्वय समिती महोत्तरीले ध्यानाकर्षण जनाएको छ ।
अनुगमनको क्रममा विकासका योजनाहरु संचालन गर्दा होडिङ्ग बोर्ड नराखेको र काम सम्पन्न भएका ठाउँहरुमा कच्चा पदार्थ यथास्थितिमा छाडदा दुर्घटनाको जोखिम समेत बढेको समन्वय समितिको ठहर छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समन्वय समितिका संयोजक सुमनलाल कर्णले जिल्लाका सवै पालिकाहरुमा संचालनरत योजनाहरु ऐन, नियमको परिधिमा रहेर काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन ।
योजनास्थलमा होडिङ्ग बोर्ड नराख्ने र कुन योजना कति लागतको हो भन्ने समेत नखुलाउदा आम मानिसको सुचनाको हक कुन्ठित भएको संयोजक कर्णको भनाई छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा २१ लाई लिएर पनि समितिले ध्यानाकर्षण जनाएको छ । दफा अनुसार विकास निर्माणको योजना सकिएपछी मालसमान उक्त ठाउँवाट निश्चित ठाउँमा बिसर्जन गर्नुपर्ने व्यवस्था छ तर अनुगमनको क्रममा दुर्घटनालाई प्रोत्साहन गर्नेगरी मालसामान यथास्थानमा राखिएको र तत्काल उक्त सामान उठाउन निर्देशन समेत दिईएको छ ।
रौतहट- रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले नियमविपरीत चलेका सवारी चलाकलाई कारबाही गरेर ८ दिनभित्र ६ लाख रुपैयाँ भन्दाबढी राजश्व संकलन गरेको छ।
जेठ ९ गते देखि लिएर १७ गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियमविपरीत चलेका सवारी चालकलाई कारबाही गरेको हो।
ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवाना स्वरूप ६ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छिन्।
पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि हुनुका साथै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
हाल जिल्ला सदरमुकाम गौर, गरुडा, सुकदेव चौक, बम नहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, मौलापुर, विजयपुरलगायत ग्रामीण भेगमा समेत ट्राफिक प्रहरी क्रियाशिल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।न्युज कारखाना
रौतहट- रौतहट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ।
बिहीबार बिहान प्रहरीले इशनाथ नगरपालिका-४ बाट ३४०० किलो धान बरामद गरेको हो।
राजपुर नगरपालिका-६ का ४२ वर्षीय अमर साहले भारतबाट भन्सार छलेर ल्याएको उक्त परिमाणको धान बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्।
७९० बोरामा रहेको उक्त धानको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको गिरीले बताइन्।
धानसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको छ।न्युज कारखाना
वीरगन्ज- वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।
वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन्।
यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।न्युज कारखाना
काठमाडौं- वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको?’ विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरूले तेस्रो जनाआन्दोलन् गरेर भए पनि यो व्यवस्था बदल्नुपर्ने बताएका छन्।
कार्यक्रममा आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सीमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताए।
अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै साहले भने, ‘आम जनता लाचार, तर दलका नेता र तिनका सीमित आसेपासेहरू मालामाल रहेको कहालीलाग्दो स्थितिलाई हामीले कहिलेसम्म सहने?’ वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ। ‘यो विकृत संसदीय व्यवस्थाको समूल नष्ट गर्दै आम जनताको सर्वोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौं,’ उनले भने।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदीय व्यवस्था दलालहरूको कब्जामा रहेको जिकिर गर्दै यसको निकासका लागि विद्रोह गर्नुपर्ने धारणा राखे। बास्तोलाले अहिलेको खिचडी र स्वार्थ केन्द्रित व्यवस्थामा रहेर देश बर्बादभन्दा केही नहुने दाबी गरे। ‘यसको परिधिमा रहेर प्रचण्ड, केपी, प्रभु साह वा स्वयम् म आफैं भए पनि केही हुनेवाला छैन,’ बास्तोलाले भने।
नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले वर्तमान न्याय प्रणाली र देशको शासन प्रणाली जनमुखी नरेकोले यसमा व्यापक संशोधन र सुधार गर्नुपर्नेमा जोड दिए। अध्यक्ष घिमिरेले हरेक नेता तथा कार्यकर्ता दलभन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्ने समेत सुझाए।
प्रा.डा. सुरेन्द्र केसीले जनताले ठूलो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई दलहरुले निश्चित वर्गको लुटको स्वर्ग बनाउने आधार बनाएको आरोप लगाएका छन्। उनले भारतमा संविधान निर्माण गर्दा ६ करोड लागेको तर नेपालको संविधान बानाउन अर्बौं–अर्ब लाग्नु दुःखद् भएको बताउँदै भने, ‘संविधान निर्माण गर्दाखेरी नै देश कंगाल बनाउने आधार खडा भइसकेको थियो।’
एक अर्को प्रसंगमा डा.केसीले वर्तमान विज्ञान र प्रविधिको विकासले हरेकको हातहातमा मोबाइल भएपछि ठूला कर्पोरेट मिडिया आवश्यक नरहेको समेत बताउँदै भने, ‘ठूला भनिएका मिडियामा जनताको विश्वास उडेपछि किन चाहियो कान्तिपुरजस्ता मिडिया?’
नगरिक अगुवा सुन्दरमणि दिक्षितले जन आन्दोलनमार्फत राजा फालेर ल्याइएको गण्तन्त्रमा पनि अनगिन्ती छोटे राजाहरूले देशलाई असफल बनाउन लागेको आरोप लगाए।
संसदीय व्यवस्थामा संसद मन्दिरतुल्य भए पनि अहिले त्यसलाई माजाक बनाइरहेकोप्रति रोष प्रकट गर्दै दिक्षितले भने, ‘अहिले सत्ता र प्रतिपक्ष कोही पनि जिम्मेवार देखिएनन्, त्यसैले विद्रोह गरेर भए पनि यो व्यवस्था खारेज गरेर राष्ट्रपतीय प्रणालीमा जानुपर्छ।’
उनले लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता भए पनि कैलाश सिरोहियालाई गिरफ्तार गरेर वर्तमान सरकारले शाही सत्ताको झल्को दिएको आरोपसमेत लगाए। उनले देशको प्रमुख दुष्मन भ्रष्टाचार भएको र संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नु पर्ने पनि बताए।
आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगारले वर्तमान शासन व्यवस्थाले देशलाई दिनप्रति दिन कमजोर बनाउँदै लगेको जिकिर गर्दै तेस्रो जनाआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए।
किराँत स्वायत्त प्रदेश संघर्ष समिति संयोजक नगेन्द्र राईले जनयुद्ध र जनाआन्दोलनबाट पहिचानको मुद्दालाई स्थापित गरे पनि पछिल्लो समयमा त्यसको विरुद्धमा मुख्य दलहरू लागेको आरोप लगाए।
आम जनतापार्टी उपत्यका विशेष कमिटी अध्यक्ष देवी पण्डितले सभाअध्यक्षता गरेको कार्यक्रमलाई पार्टी प्रवक्ता चन्द्रभुषण साहले सञ्चालन गरेका थिए।न्युज कारखाना
रौतहट- रौतहटको पश्चिमिभेग फतुवा विजयपुर नगरपालिका-११ स्थित श्री आधरभूत विद्यालय राङ्गीको प्राङ्गणमा सरस्वती माता मन्दिरको शिलान्यास गरिएको छ।
मन्दिर निर्माणका लागि सयौं समाजसेवी बुद्धिजीवी र शिक्षा प्रेमी महानुभावको उपस्थितिमा मंगलबार स्थानीय अच्युत मैनालीको ममतामयी माता ज्येष्ठ नागरिक कृष्णलक्ष्मी मैनालीको हातबाट मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
राङ्गी गाउँका १५२ घरधुरीको आर्थिक सहयोगमा मन्दिर निर्माण हुन लागेको हो। ज्येष्ठ नागरिकको हैसियतले सम्मानस्वरुप शिलान्यास गरेपछि मन्दिर निर्माण हुने सोही विद्यालयका प्रधानाध्यापक विजयकुमार कुशवाहले जानकारी दिएका छन्।न्युज कारखाना
आगामी मंसिर १ गतेदेखि पञ्चवर्षीय मेला लाग्दै
सञ्जय मिश्रा
रौतहट- जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ। त्यही स्थान हो रौतहटको गुजरा नगरपालिका वडा-३ सिमरी गाउँमा रहेको नवनिर्मित गढीमाई मन्दिर।
यो मन्दिरको मंगलबार उद्घाटन गरिएको छ। वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहासिक गढिमाई मन्दिर निर्माण भई मंगलबार विधिवत् रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष अशोक चौधरीले बताएका छन्। यसअघि सानो तथा जीर्ण मन्दिरमा पूजा हुँदै आएको थियो।
सिमरी गाउँस्थित नवनिर्मित गढीमाई मन्दिरमा बत्ती बालेर पूजा गरेपछि मात्र विश्वप्रसिद्ध बाराको ठूलो गढीमाई मन्दिरमा बत्ती बालेर पूजा सुरू हुने परम्परा रहेको छ।
यस पटक सिमरीस्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुरस्थित गढीमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पूजा सुरू हुने बताइएको छ। यसअघि उनका बुवा दुखन धामी कछडिया तान्त्रिक पुजारी रहेका थिए।
चार वर्षअघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछडियाले तान्त्रिक पुजारीको रूपमा जिम्मेवारी पाएका छन्।
प्रत्येक पाँच वर्षमा विश्वप्रसिद्ध बारास्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल-भारतलगायत संसारको धेरै देशबाट लाखौं मानिस मेला भर्न आउने गर्दछन्।
पाँच वर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मुसा, बोका, परेवा, सुँगुर, राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।
सबैभन्दा बढी बली चढाउने भएकाले बाराको वरियारपु स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा छ।
मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबली चढाएपछि सर्वसाधारणले भाकलअनुसार बली चढाउने गर्छन्।
गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकालेर चढाएरपछि बली सुरू हुन्छ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बली भएको गढीमाई पूजा व्यवस्थापन समितिले जनाएको छ। भाकल पूरा भएर मेला भर्न पूजा गर्न आउने भक्तजनहरूले हजारौं परेवा उडाउने गर्छन्।
बारा गढीमाई मन्दिरमा पूजा हुनुअघि रौतहट गुजारा नगरपालिका-३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पुजारी उमाशंकर धामी (कछडिया)ले विशेष पूजा, आराधाना गरेसँगै आफ्नो शरीरको पाँच ठाउँबाट रगत निकाली नर बलीस्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यसपछि रांगा, बोका, परेवा र पाठीको बली दिएर मन्दिरमा बत्ती बालेर तान्त्रिक पुजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।
तान्त्रिक पूजारी कछडिया, बारा गढीमाईका मूल पुजारी मंगल चौधरी, अन्य पुजारीहरूका साथमा रही रातभर पूजा हुन्छ। पूजा-आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफैं बत्ती बल्छ र पञ्चबली हुने गरेको पुजारी उमाशंकरले बताएका छन्।
परापूर्वकलदेखि हिन्दु धर्म संस्कृतिमा पशु बलीलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन रहिआएको छ। शक्तिस्वरुपा देवीलाई खुसी बनाउन बली अनिवार्य भएको प्रचलन रहिआएको छ।
विश्वप्रसिद्ध पञ्च वर्षीय गढीमाई मेला यस वर्ष आगामी मन्दिरमा लाग्दैछ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन् २०२४ नम्बर १६ तारिखदेखि मंसिर ३० डिसेम्बर १५ तारिख एक महिनासम्म मेला लाग्ने छ।
गढीमाई मन्दिरमा विशेष पूजा तथा राँगा बली मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बली त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिख हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।
बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने एक महिने मेलाको लागि स्थानीयहरू एक वर्ष अगाडिदेखि तयारी सुरू गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिनाभरि बस्ने कारण आ-आफ्नो क्षमता अनुसार खाने/बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन्।न्युज कारखाना
ललितपुर । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी साउनभित्र सकिने भएको छ । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरुलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरि अन्तिम चरणको काम भइरहेको छ ।
नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने जानकारी दिए । मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका डिजी कुमार घिमिरे, सहचिवहरु पद्मकुमार मैनाली, चक्रवर्ति कण्ठ सहित भैसेपाटी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतीवारे जानकारी लिनुभएको थियो ।
मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीज्यूहरुलाई सार्ने गरि निर्माणको काम सक्न निर्देशन दिनुभएको थियो । धेरैजसो काम सकिएपनि बाहिरी संरचना र क्वाटरभित्र साससज्जा गर्ने काम भइरहेको अनुगमनको क्रममा पाएकाले साउन महिनाभित्र हस्तान्तरण गर्न मन्त्री बुढाले निर्माण कम्पनीलाई समेत निर्देशन दिएका थिए ।मन्त्री बुढाले बनमन्त्री नवल किशोर साह र स्वास्थ्यमन्त्री प्रदीप यादवलाई समेत नयाँ क्वाटर हेर्न बोलाएका थिए ।
भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्र्तगत ८ आनामा भवन निर्माण गरिएको छ ।
राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने काम अन्तिम चरणमा पगेको छ ।न्युज कारखाना