काठमाडौं, २ चैत ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। बज्राचार्यलाई सीआईबीबाट नेपाल प्रहरी कार्यालय, कार्यविभागमा सरुवा गरिएको छ।
बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई ल्याइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले बज्राचार्यको सरुवा गरेको हो। सुन तस्करीको अनुसन्धान गर्दा सीआईबीले केही व्यक्तिलाई जोगाएको जाँचबुझ आयोगले औंल्याएको थियो।न्युज कारखाना
काठमाडौं, २ चैत ।
सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।
प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ।न्युज कारखाना
भक्तपुर, २ चैत ।
भोलिदेखि भक्तपुरको सल्लाघारी मैदानमा दुई दिने सन्त समागम हुने भएको छ। सन्त निरंकारी मण्डल नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी ‘२३औं निरंकारी सन्त समागम नेपाल’ चल्ने जानकारी दिएको हो।
कार्यक्रमका लागि एक हजार दुई सय जना स्वयंसेवक खटाइएको आयोजकले जनाएको छ । कार्यक्रममा नौ हजार भारतीय र पाँच हजार नेपाली उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ।
सुरक्षाकर्मीदेखि नै सत्संघका खटिने जनाइएको छ। उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खानेबस्ने व्यवस्था, यातायात, पानी सवैको बन्दोवस्त गरिएको जनाइयो।
त्यहाँं भेला हुने मानिसका लागि पाँंच सय वटा शौचालयहरूकोसमेत व्यवस्था गरिएको जनाइयो। नि:शुल्क दिनमा तीन छाक प्रसादको व्यवस्था रहे पनि थप खानेकुारको लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो।
पत्रकार सम्मेलनमा आयोजक सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर राउतले नेपालमा हुन लागेको यो अहिलेसम्मकै भव्य समारोह रहेको बताए। समारोह सल्लाघारीको १०८ रोपनी क्षेत्रफलमा फैलिएको पूर्व राजा हाल नेपाल टष्टको नाममा रहेको खाली जग्गामा हुने छ।
सम्मेलनमा आयोजक संस्थाका विदेश विभाग प्रमुख विनोद बोहराले कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुदेखि लिएर सांसदहरु तथा भिआइपीहरू सहभागी हुने योजना रहेको सुनाए। पत्रकार सम्मेलनको कार्यक्रममै सांसद उपस्थित रहेको थियो । सम्मेलनमा संस्थाका प्रेस संयोजक विमल सिंह (केटी मान्छें)ले कायृक्रम सभ्य र भव्य रुपमा सुसम्पन्न हुने बताइन्।
कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरी पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए।
सो कार्यक्रमका लागि कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ।
१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा एक सय २५ सत्संघ भवन रहेको कार्यक्रममा बताइएको छ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएपछि राजनीति तरंगित भएको छ ।
नयाँ गठबन्धनले विश्वासको मत जितिसकेपछि पनि राजनीतिक वृतमा सरकारको स्थिरता र नयाँ विकल्पको बारेमा अड्कल बाजी कायम रहेको छ । यसै अड्कलबाजीका बीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने विषय सबैभन्दा बढी चर्चामा रहेको छ ।
नेपाललाई अघिल्लो गठबन्धनमा कम्तिमा एक बर्ष प्रधानमन्त्री बनाउने सहमति थियो । तर अघिल्लो गठबन्धन टुटेसँगै नेपालको प्रधानमन्त्री बन्ने सहमति समेत तुहिएको थियो । तर नयाँ गठबन्धनमा सामेल हुनेक्रममा नेपालले यस अघि सम्झौतालाई उठाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई प्रधानमन्त्री बनाउन सहमत भएको चर्चा चलेको छ ।
एकीकृत समाजवादीकै नेताहरुले तीन नेताहरु १५-१५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको दाबि मिडियामा गरिरहेका छन् । नेता नेपालका पछिल्ला अभिव्यक्तिहरु सुन्दा पनि उनलाई प्रचण्ड र ओलीले प्रधानमन्त्री बनाउने आश्वासन दिएको सजिलै बुझ्न सकिन्छ । तर औपचारिकमा रुपमा शिर्ष नेताहरुले यस्तो सहमति भएको अस्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले फागुन ३० गते सरकारले विश्वासको मत लिने क्रममा संसदमा सम्बोधनकै क्रममा कसैलाई प्रधानमन्त्री बनाउने सहमति नभएको बताएका छन् ।
तर पनि माधव नेपाल प्रधानमन्त्री बन्ने चर्चा अहिले पनि जारी रहेको छ । तर संबिधान अनुसार भने नेपाल प्रधानमन्त्री बन्ने सम्भावना कम देखिन्छ । नेपाल प्रधानमन्त्री बन्न उनको दल एकीकृत समाजवादी एमालेसँग एकीकरण गरेर ठुलो दल बनेमा मात्र सम्भव देखिन्छ । तर हाल नेपाली कांग्रेसको प्रतिनिधि सभामा ८८ सांसद रहेकोमा एक जना निलम्बित भएपछि ८७ सांसद छन् । त्यसैगरी एमालेका ७९ मध्ये एक जना निलम्बित र सुबासचन्द्र नेम्वाङको निधनपछि इलाम-२ खालि भएपछि ७७ सांसद रहेका छन् । यस्तो अवस्थामा एकीकृत समाजवादीसँग एकीकरण भएको अवस्थामा एमालेका पनि ८७ सांसद हुन्छन् भने इलाम- २ मा पुन: जित हासिल गरेपछि ८८ सांसद हुनसक्ने अवस्था देखिन्छ । एकीकरणपछि ठुलो दल भएको अवस्थामा मात्र ओली र नेपाल १५-१५ महिना संबिधानको धारा ७६ को उपधारा ३ र ५ अनुसार प्रधानमन्त्री बन्न सक्ने देखिन्छ । एकीकरण नभएको अवस्थामा कुनै पनि कारणले प्रचण्ड नेतृत्वको सरकार ढलेमा सरकारको नेतृत्व संसदको ठुलो दल नेपाली कांग्रेसको हातमा पुग्ने छ ।
सरकार गठन बारे संबैधानिक व्यवस्था:
संबिधानको धारा ७६ मा सरकार गठन हुने तरिकाको व्यवस्था गरिएको छ । अहिलेको संसदमा कुनै पनि दलको बहुमत नरहेकाले यो सरकार संबिधानको धारा ७६को उपधारा २ अनुसार बनेको छ । अब यो सरकार ढलेमा अर्को सरकार बन्ने भनेको उपधारा ३ अनुसार नै हो । उपधारा ३ अनुसार राष्ट्रपतिले संसदको सबैभन्दा ठुलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
धारा ७६-
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
(८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।
(९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।
स्पष्टीकरणः यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।
(१०) प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन् ।
ओलीको निशाना
संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नआएको अहिलेको अवस्थामा आफ्नो गठबन्धन बनाउन नेता तथा दलहरुले प्रधानमन्त्रीको पद ललिपप जस्तै बाँडदै हिडेको पाइएको छ । तर अहिलेको गठबन्धन बन्दै गर्दा नेपाली कांग्रेसले माधव नेपाल र रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको विषय बाहिर आएको थियो । तर संबिधानमा भने दलहरुले ललिपप बाँडे जसरी प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिदैन । अहिलेको गठबन्धनमा पनि तीन नेताहरु पालैपालो १५-१५ महिना प्रधानमन्त्री बन्ने सहमति गरेको भए पनि संबिधानको व्यवस्था अनुसार त्यो सम्भव देखिदैन ।
तर अहिलेको राजनीतिक घटनाक्रममा एमालेले देखाएको लचकता उसको विगतसँग मेल खादैन । ओलीले पछिल्लो दुई सातामा एमालेलाई पछाडी राखेर नयाँ गठबन्धन बनाएका छन् । उनले आफु भन्दा धेरै कम सिट भएका माओवादी केन्द्र र रास्वपालाई महत्वपूर्ण मन्त्रालय दिन सहमत भएर नयाँ गठबन्धन निर्माण गरेका छन् । उनको लक्ष्य अहिले सरकार र भागबन्डा भन्दा पनि बलियो एमाले रहेको बुझ्न सकिन्छ । यसका लागि उनले अबको रणनीति भनेको एकीकृत समाजवादीसँगको एकता नै हो । नयाँ गठबन्धनलाई आधार बनाएर उनले एकीकृत समाजवादीलाई एमालेमा समाहित बनाउन सके भने त्यो सरकारको भागबन्डा र मन्त्री भन्दा ठुलो हुने उनले बुझेका छन् । यसैको कडीको रुपमा उनी धेरै पछि माधव नेपालको निवासमै पुगेर उनलाई फकाउन सफल भएका छन् ।
लामो समयको आरोप प्रत्यारोप र कटुतालाई बिर्सेर ओलीले गल्ति महसुससहित नेपाललाई एमालेमा फिर्ता लैजान यो गठबन्धन गरेको बुझ्न सकिन्छ । त्यसैले ओलीको अहिलेको निशाना यो गठबन्धन र सरकार भन्दा बढी एकीकृत समाजवादीमा रहेको छ । अहिले नयाँ दलहरुप्रति जनतामा आकर्षण देखिएको र मिशन २०८४ लाई सफल बनाउन पार्टी एक हुन अत्यावश्यक भएको बुझेर नै ओलीको नसोचिएको लचकता अहिले देखिएको बुभन्दा अन्यथा हुदैन । ओलीको यस लचकताप्रति एकीकृत समाजवादी र माधव नेपालले कति फाइदा उठाउन सक्छन त्यो उनीहरुकै हातमा रहेको देखिन्छ । राजनीतिक रुपमा अहिले सरकारमा जानु एकीकृत समाजवादीका लागि फाइदाजनक देखिएको छैन । तर ओलीको लचकता र ओलीसँगको निकटताले राष्ट्रिय दलसम्म बन्न नसकेको यथार्थताबीच नयाँ अवसर आएको एकीकृत समाजवादीको नेतृत्वले कति र कसरी बुझ्छ त्यो आगामी दिनमा प्रष्ट हुने छ । न्युज कारखाना
काठमाडौं, २ चैत ।
युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो।
दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि संचालन गरेका कारण रंगशालाको अवस्था नाजुक बनेपछि नेपालले बहराइनविरुद्धको विश्वकप छनौटको खेल खेल्न सकेको थिएन। रंगशालाको अवस्था मापदण्ड अनुसार नभएको भन्दै बहराइनले खेल्न अस्वीकार गरेपछि सो खेल बहराइनमै हुने भएको छ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो ।
सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्् ।
सहमतिको पूर्णपाठ :
नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा लघुवित्त वित्तीय संस्थाका क्षेत्रमा देखिएका समस्या समाधान गर्न गठित वार्ता समिति तथा मन्त्रालय लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका प्रतिनिधिहरु बीच आज मिति २०८०।१२।०२ मा अर्थ मन्त्रालयमा देहाय बमोजिमका विषयमा सहमति गरियो ।
१. लघुवित्त वित्तीय संस्थाहरु कम्पनी कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेको कारण सेवामुखी भन्दा नाफामुखी संस्थाको रुपमा विकास भएको र तिनीहरुलाई सेवामुखी बनाउनुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको हुँदा यस्ता संस्थाहरुलाई थप सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न के कस्तो नीतिगत एवं कानूनी व्यवस्था गर्न आवश्यक छ भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरु तथा अन्तर्राष्ट्रिय कानून समेतको अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्था सम्बन्धमा सिफारिस गर्न नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।
२. लघुवित्त वित्तीय संस्थाहरुको क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा नेपाल राष्ट्र बैंकबाट हालसम्म भएका कार्यहरुका सम्बन्धमा छलफल भई देहायका विषयहरुमा समयानुकूल सुधार र प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र उक्त कानूनी तथा नीतिगत प्रावधानहरु र राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउनेः
क) नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन पाउने तोकिएको अधिकतम व्याजदर र सेवा शुल्क मात्र लिन पाउने व्यवस्था कडाईका साथ लागू गर्ने ।
ख) तोकिएको कर्जा सीमाभन्दा बढी सामूहिक कर्जा दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र यसको उल्लंघन गर्ने वा गरेका संस्थाहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्ने ।
ग) एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुवाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने,
घ) ऋण लिँदाकै बखत ऋणीको अनुमति बिना वा ऋणीलाई प्रभावमा पारी निश्चित प्रतिशत रकम कट्टा गरी बचत खातामा रकम जम्मा गर्न लगाउने, ऋण लगानी गर्दाकै समयमा किस्ता बापतको रकम अग्रिम जम्मा गर्न लगाउने जस्ता कार्यलाई नियन्त्रण गर्ने । ङ) कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने ।
३. लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरुलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले सम्बन्धित संस्थाहरुबाट अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाउने ।
४. आन्दोलनरत पक्षबाट एकल अंक व्याज दर तथा एक प्रतिशत सेवा शुल्क कायम गर्न माग भएको सन्दर्भमा त्यस्तो व्याजदर तथा सेवा शुल्क कम गरी समयानुकूल बनाउन अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका साथै लघुवित्त वित्तीय संस्थामा गरिने बचतको व्याजदर र कर्जाको व्याजदरको अन्तर कम गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकार अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।
५. वि.सं. २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नु पर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, व्याज, शुल्क, जरिबाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाईते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितहरुको कर्जा मिनाहा लगायतका विषयहरुलाई सम्बोधन गर्नुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको साठी दिन भित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन सिफारिसका आधारमा लघुवित्त वित्तीय संस्थाहरुको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि बढाउने ।
६. आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन गर्ने सहमति भयो ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-३ घर भएकी २२ वर्षीया बिनिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता सिरहाकाे औरही गाउँपालिका-१ दरैहिया हनुमानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६९ मिलिग्रामसहित कर्जन्हा नगरपालिका-२ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ८२८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक ठाकुरलाई पक्राउ गरेको हो । न्युज कारखाना
काठमाडौं, २ चैत ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)ले प्रशिक्षकहरूलाई तालिम दिने भएको छ । डिएलए नेपालको आयोजनामा हुन लागेको प्रशिक्षक प्रशिक्षण चैत ४ गते आइतबारदेखि ५ दिनसम्म चल्नेछ ।
देशभरका सामुदायिक विद्यायमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गर्न लागिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।
प्रशिक्षण कार्यक्रममा ३२ जना कानुन व्यवसायीहरूको सहभागिता रहनेछ । तालिम लिएपछि तिनै प्रशिक्षकहरू देशभरका सामुदायिक विद्यालयहरूमा पुग्नेछन् र कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनेछन् ।
‘नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् रु साइबर ल के हो रु पारिवारिक कानुनले के भन्छ रु बालबालिकाका सबालमा कानुनले के भन्छ रु जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई पढाउन जरुरी छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैले देशको कानुनको बारेमा विद्यार्थीलाई जानकार गराउन हामीले यो प्रशिक्षण गर्न लागेका हौँ ।’
केसीका अनुसार कानुनसँगै विद्यार्थीहरूलाई ३ तहको सरकार तथा संघीयताका बारेमा पनि जनाकारी गराइनेछ । त्यसैका लागि डिएलए नेपाल अहिले प्रशिक्षकहरू तयार पार्नका लागि प्रशिक्षण गर्ने जुटेको छ ।
पहिलो चरणमा पाइलट परियोजनाअन्तर्गत काठमाडौँका ६६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइनेछ भने बिस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुग्ने योजना रहेको केसीले बताए ।न्युज कारखाना
काठमाडौं, २ फागुन ।
प्रनिनिधिसभालाई नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।
यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।न्युज कारखाना
काठमाडौं, २ चैत ।
राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।
हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् । न्युज कारखाना