२०८२ चैत्र ३०
२०८२ चैत्र ३०
  1. मनहरी (मकवानपुर), १८ पुस :
  • मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाँैडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् ।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
  • मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा–४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका उहाँले बताउनुभयो । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । (रासस)

काठमाडौँ, १८ पुस :

न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए । (रासस)

काठमाडौं, पुस १७ गते ।

’ काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ ।

No description available.

जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

No description available.

‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्छ सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’

No description available.

नरेश महर्जनले बताए । प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.०’ कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।

सोमबार कलेजमा विद्यार्थीहरू सँगकाे प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ ।

नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ।’ उनले भने । जेइएसएका इन्जिनियरिङ सल्लाहकार किरिहराका अनुसार नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य उर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ । ‘जनवरी देखि मे सम्म हावाबाट विद्युत निकाल्ने र अन्य समय सौर्य उर्जा प्रयोग गर्न सकिन्छ ।’ ठूल्ठूला स्कुल, कलेज, विश्वविद्यालय र अर्गनाइजेसन हरुमा हावा र सौर्य उर्जा प्रयोग गर्न सकिने उनको भनाई छ ।

नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रा.डा. गणेश साह, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विभागका सहप्राध्यापक गणेश प्रसाद अधिकारीले ‘हावा प्रोजेक्ट २.०’ले नेपालमा हावाबाट विद्युत उत्पादन गर्ने सवालमा सम्भाव्यता अध्ययनसँगै विद्यार्थीहरूलाई नवीनतम कार्य गर्न र ज्ञान हासिल गर्न प्रेरित गर्ने बताए । प्रोजेक्ट अन्तरगत अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ ।

त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । नेकमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रोजेक्टमा सहभागी गराइने भएकाले उनीहरूले नवीनतम उर्जा, वैकल्पिक उर्जाका क्षेत्रमा नयाँ अनुभव हासिल गर्ने कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विभागीय प्रमुख याम कृष्ण पौडेलले बताए ।

‘हावा प्रोजेक्ट २.०’ सन् २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ । भविष्यमा नेकका विद्यार्थीहरूलाई इन्टरनेसनल एक्सपोज प्राप्त गर्न प्रोजेक्टले ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

काठमाडौँ, १७ पुस :
सर्वोच्च अदादतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज जलवायु परिर्वतनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवतmा पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।
जलवायु परिवर्तनलाई अनुकुलन तथा न्यूनिकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथासीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ । (रासस)

काठमाडौँ, १७ पुस :

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । (रासस)

काठमाडौँ, १५ पुस :

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् ।

उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ र उनीहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी थुनामा राखेको थियो ।

उक्त प्रदर्शनका क्रममा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ । (रासस)

चितवन, १५ पुस :

 चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ ।

क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत केही दिन यता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ ।” पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताउनुभयो ।

सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिती पनि राम्रो रहेको उहाँले बताउनुभयो । सङ्घका महासचिव गुणराज थपलियाले शनिबार सबै कोठा भरिएको र र आइतबार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताउनुभयो । युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उहाँको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ तारिखसम्मका लागि शतप्रतिशत बुकिङ भएका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन् । ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिनसक्ने क्षमता छ । होमस्टे सहित गणना गर्दा सैराहमा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन् । आइतबार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उहाँले बताउनुभयो ।

सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जीप सफारी गर्न जान्छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जीप सफारी हुन्छ । भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जीप सफारी भइरहेको छ । ती जीपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ ।

निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जीपले अनुमति पाएका छन् ।यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौ वटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट छ वटा र कुजौलीबाट दुई वटा जीपले जंगल सफारीको अनुमति लिएका छन् ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताउनुभयो । उहाँका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन् । जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । आउँदा दिनहरुका लागि बुकिङ राम्रो छ । उहाँले भन्नुभयो “अब हामीलाई आशावादी बनाएको छ ।” सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ । दसैँपछि पर्यटकको राम्रो चहलपहल भएको उहाँले बताउनुभयो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार उहाँहरुसँग भएका ३० वटा हात्तीले दैनिक तीन पटक पर्यटक घुमाइरहेका छन् । यद्यपि कतिपयले हात्ती चढ्ने पालो समेत पाउन सकेका छैनन् । उहाँका अनुसार राति सौराहामै बसेका पर्यटकहरुले पालो मिलाएर हात्ती चढेको भएपनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपय हात्ती चढ्न पाएका छैनन् ।

सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ । तेस्रो मुलुकका पर्यटकहरु यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ । पटिहानीको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताउनुभयो । पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उहाँको भनाइ छ ।(रासस)

काठमाडौँ, १४ पुस :

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो । संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय टे«ड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो । ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो । प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताउनुभयो । प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो । (रासस)

भरतपुर (चितवन), १४ पुस :

 चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिनुभयो । उहाँले हात्तीलाई झण्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताउनुभयो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताउनुभयो । “जसरी हामी वनभोज खान जाँदा रमाउँछाँै, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्”, उहाँले भन्नुभयो, “राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।” उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ । पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए । सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन । हात्ती सुन्दरी र डुङ्गा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । (रासस)

बाह्रबीसे (सिन्धुपाञ्चोक), ९ पुस :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेको बताउनुुभएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि सरोकारवालासँग तीव्र रुपमा छलफल भइरहेको बताउनुुभयो । “१२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्थाको लागि प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको छु, अब छिट्टै निर्णय हुन्छ”, मन्त्री बस्नेतले भन्नुुभयो ।

उहाँले यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने बताउनुुभयो । मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको बताउनुुभयो ।

उहाँले भन्नुुभयो, “नेपाली शिक्षालाई निःशुल्क गर्दै जाँदा आत्महत्या न्यूनीकरणमा सहयोग पुुग्नेछ ।” उहाँले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्ना विद्यालयमा १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था निःशुल्क गरिसकेको बताउनुुभयो ।

मन्त्री बस्नेतले अब केही वर्षमा लाखौँलाख विद्यार्थीले नेपालमै सहुलियतमा मेडिकल शिक्षा पढ्न पाउने बताउनुुभयो । “यसबाट खरबौँ रुपैयाँ विदेशिनबाट जोगिन्छ, लाखौँले रोजगारी पाउनेछन्”, उहाँले भन्नुुभयो । उहाँले सरकारले एक प्रदेश एक मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाइने बताउनुुभयो । सो अवसरमा उहाँले विद्यालयलाई स्कुल बस प्रदान गर्ने गाउँपालिकाको पूर्वअध्यक्ष केदार क्षेत्रीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरणमन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङलगायतले शुभकामना व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले आजै बाह्रबीसे नगरपालिका–४ सिन्धुपाल्चोकको ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताउनुभयो ।

उहाँले शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुुदायका सबै व्यक्ति लाग्नुपर्ने बताउनुुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।