काठमाडौं, २८ माघ ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ ।

पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले विरोध गरेको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ ।

सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ । न्युज कारखाना
काठमाडाैं, २८ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी छ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू सहभागी छन् ।न्युज कारखाना








काठमाडौं, २८ माघ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।
विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्याएका हुन् ।
घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’
घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २८ माघ ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो।
उक्त मुद्दामा उनलाई ९ करोड ७ लाख ६ हजार २७८ रुपैयाँ जरिवाना र तीन वर्ष कैद फैसला भएको थियो।
उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई जरिवाना र कैद सजाय तोकेको थियो।
त्यसयता थापा फरार रहेका थिए। फरार प्रतिवादी खोजीको सिलसिलामा ब्युरोको टोलीले थापालाई पक्राउ गरेको अधिकारीले बताए।
थापाविरूद्ध नेपाल राष्ट्र बैंकले मुद्दा दायर गरेको थियो। थापा सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्सले फर्जी कागजात तयार गरी ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो। कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले उनीविरूद्ध मुद्दा दायर गरेको थियो। थापालाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।न्युज कारखाना
काठमाडौं, २७ माघ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।
अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सिमित नभइ संसारको सभ्यताको केन्द्र रुपमा रहेको बताएका हुन्। उनले भने, ‘हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ।’
सम्बोधनका क्रममा मन्त्री साउदले थपे,‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ।
समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ।’
हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रुपमा रहेको मन्त्री साउदले उल्लेख गरे।
नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।न्युज कारखाना
काठमाडौं, २७ माघ ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा बिद्यान प्रतिवेदन पेश गरेको छ ।
उक्त प्रस्ताब माथी स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ । आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।
न्युज कारखाना
काठमाडौं, २६ माघ ।
भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले आज साहलाई दोषी ठहर गरेको हो।
अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो।
उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ।न्युज कारखाना
काठमाडौं, २६ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो।
वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
यही माघ ०३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो। बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको छ। न्युज कारखाना
काठमाडौं, २६ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद गरेका छन्। आसन्न फागुन ७—१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीहरुको विचार समेट्न नेता महरले संवाद गरेका हुन् ।
छलफलमा जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माण लगायतका एजेण्डा थिए । नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका सालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी थिए ।
जनसम्पर्क समितिका सभापतिहरूले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।
संवादका क्रममा उनीहरूले आफ्नो दोहोरो नागरिकता अलि बलियो हुनुपर्ने बताएका थिए । नागरिकतामा आफूहरूका अधिकार कम भएको गुनासो उनीहरूको थियो ।
नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो ।
सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।
दोहोरो नागरिकताको विषय अगाडि बढिसकेको भन्दै त्यसलाई थप बलियो बनाउन पार्टीमा सुझाव दिने महरले बताएका थिए । सम्पत्तिको भोगचलन, लगानी र प्रविधि नेपालमा ल्याउने कुरामा पनि कांग्रेसले पहल गर्नेमा महरले आश्वस्त पारेका थिए।
विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।
‘विश्वमा छरिएर रहेका नेपालीहरूको योगदान बीना देश बन्न गाह्रो छ। त्यसैले मुलुकको समृद्धिका लागि उहाँहरूको साथ र सहयोगको खाँचो छ। विश्वमा छरिएर रहेका नेपालीहरूको सिप, ज्ञान, प्रविधि, क्षमता र लगानीलाई नेपालको पक्षमा सदुपयोग हुनेगरि काम गर्नुपर्छ। यो विषय म कांग्रेस महासमिति बैठकमा मेरो प्राथमिक एजेण्डा मध्ये एक हुने छ,’ उनले भने।न्युज कारखाना
नुवाकोट, २६ माघ :
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे ।
राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए ।

“अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”
बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए ।
सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।न्युज कारखाना