२०८२ चैत्र २३
२०८२ चैत्र २३

आरके श्रीवास्तव,राैतहट,२३ गते माघ । 

रौतहट क्षेत्र नम्बर–३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले आज देवाही गोनाही नगरपालिका अन्तर्गत वडा नम्बर–६ कर्कच र वडा नम्बर–५ टिकुलीयामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा उम्मेदवार चौधरीले लामो समयपछि आफू पुनः चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै मतदातासँग सहयोगको अपिल गरेका थिए । “यो मेरो अन्तिम पटकको चुनाव हो, यसमा मलाई साथ दिनुहोस्,” भन्दै उनले स्थानीय मतदातालाई भावनात्मक आग्रह गरेका छन् ।

कार्यक्रममा जसपा नेपालका नेताहरू ईश्वरिप्रसाद यादव, रामप्रवेश दास, राजाबाबु साह,विजय पटेल,धर्मेन्द्र पटेल  लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेताहरूले पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउँदै जनसमर्थन जुटाउने प्रयास गरेका थिए ।

स्थानीय मतदाताहरूले उम्मेदवार चौधरीसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना समस्या र अपेक्षाहरू समेत राखेका थिए ।

आरके श्रीवास्तव,मधेस,२३ गते माघ ।
महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार युवा नेत्री डा. मिनाक्षी ठाकुरले जलेश्वर नगरपालिका–८ रमौलमा मतदाताहरूसँग छलफल गरेकी छन् ।


छलफलका क्रममा डा. ठाकुरले आफू उम्मेदवारको हैसियतले मात्र नभई मतदाताकी छोरी र चेली बनेर आएको बताइन् । “म एउटा चिकित्सक हुँ । म यहाँ उम्मेदवार बनेर होइन, तपाईंहरूकी छोरी बनेर आएकी हुँ,” उनले भनिन्, “मधेस तपाईंहरूको विश्वास र भरोसामा आएको छु।”


मधेस बलिदान र संघर्षको भूमि भएको उल्लेख गर्दै उनले ती बलिदानको आधा शक्ति महिलाको योगदान रहेको बताइन् । “अब समय आइसकेको छ । महिला चुल्हो–चौकामा मात्र सीमित छैनन्, सहनशीलतामा मात्र होइनन्, हरेक क्षेत्रमा महिला सक्षम छन्,” उनले जोड दिइन् ।
डा. ठाकुरले महिलाको हक, अधिकार र सम्मानको संरक्षणका लागि सबै एकजुट हुन आग्रह गर्दै आफ्नै छोरीलाई अवसर दिन मतदातासँग अपिल गरिन् । साथै, सबैलाई छाता छापमा मतदान गर्न आग्रह गरिन् ।


कार्यक्रममा युवा नेता सुशिल राउत, मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, युवा नेता प्रदीप पाठकको उपस्थिति रहेको थियो ।
यसैक्रममा डा. ठाकुरले वडा नम्बर १२ थारूआहीमा पनि पुगेर मतदाताहरूसँग भेटघाट तथा छलफल गरेकी थिइन् ।

आरके श्रीवास्तव,राैतहट,२३ गते माघ ।
रौतहट । रौतहटको बौधीमाइ नगरपालिकामा एचपिभी (HPV) खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालालाई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाकाे आयोजनामा सम्पन्न उक्त कार्यक्रम नगरप्रमुख प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक तारकेश्वर पटेलले एचपिभी खोपबारे सहजीकरण गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूका लागि गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको जानकारी गराए । उनले प्रस्तुत तथ्यांक अनुसार नेपालमा दैनिक औसत ४ देखि ५ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको बताए । एचपिभी खोपले उक्त क्यान्सरबाट ९० प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने उनले स्पष्ट पारे ।

सहजीकरणका क्रममा संयोजक पटेलले एचपिभी खोपको लक्षित समूह मुख्यतया १० वर्ष उमेरका बालबालिका रहेको जानकारी दिए । नेपालमा विगतमा विद्यालय तहमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई यो खोप लगाइसकिएको उल्लेख गर्दै उनले माघ २५ गतेदेखि २८ गतेसम्म पुनः खोप अभियान सञ्चालन हुने जानकारी गराए ।


कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख प्रदीप यादवले एचपिभी खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाले आ–आफ्नो ठाउँबाट सक्रिय सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । नगरपालिकाको तर्फबाट अभियान सफल पार्न पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
त्यस्तै, उप–प्रमुख प्रमिला देवीले पनि एचपिभी खोप अभियानलाई सफल बनाउन आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले खाेप सञ्चालन हुने सम्बन्धि जानकारी गराउन सहभागीहरू लाई अनुराेध गर्नु भयाे ।

साे अवसरमा विभिन्न वडा अध्यक्षहरू, सशस्त्र र जनपद प्रहरीका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२३ गते माघ ।

रौतहट । रौतहट जिल्लामा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी (HPV) खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का चिकित्सक डा. सुरेश सुक्लाले पाठेघरको मुखको क्यान्सरको वर्तमान अवस्था, जोखिमका कारणहरू तथा एचपिभी खोपको महत्वबारे जानकारी गराउनुभएको थियो । उहाँले किशोरावस्थामै एचपिभी खोप लगाउँदा भविष्यमा हुने क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिने स्पष्ट पार्नुभयो ।

स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहका अनुसार एचपिभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी प्रदान गरिनेछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय नजाने सोही उमेर समूहका किशोरीहरूलाई समेत खोप सेवा उपलब्ध गराइने जानकारी उहाँले दिनुभयो । गत वर्ष पनि याे खाेप अभियान सञ्चालन भएको थियो । त्यसमा छुट भएका र कक्षा ६ अध्ययन गर्ने छात्राहरूलाई खाेप दिईने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले खोप अभियान सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र सञ्चारकर्मीहरूको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। सबै पक्षको सहकार्यमा खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य कार्यालय रौतहटले दिएको जानकारी अनुसार पहिलो चरणमा माघ २५ गतेदेखि फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही तथा राजपुर नगरपालिकामा एचपिभी खोप सेवा सञ्चालन गरिनेछ ।

त्यसैगरी दोस्रो चरणमा फाल्गुन ०१ गतेदेखि चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया र राजदेवी नगरपालिका साथै यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जनाइएको छ ।

नेपाल सरकारले २०८१ माघ–फागुन महिनामा देशभर एचपिभी खोप अभियान सञ्चालन गरेको स्मरण गराउँदै स्वास्थ्यकर्मीहरूले यस अभियानले दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सभापति राम अयोध्या राय यादवले एचपिभी खोप अभियानलाई किशोरीहरूको जीवन सुरक्षासँग जोडिएको महत्वपूर्ण पहलको रूपमा व्याख्या गर्दै हरेक किशोरीले सुरक्षित र स्वस्थ भविष्य पाउन खोप अनिवार्य रहेको धारणा राख्नुभयो ।

स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिल कर्णको सञ्चालनमा भएको कार्यक्रममा प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, अनुसन्धान उपनिर्देशक कुमार बुढाथोकी, स्वास्थ्य कार्यालयका राजकुमार साह, संजय झा लगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२२ गते माघ । 

राैतहट क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले जनसम्पर्क अभियानलाई तीव्र बनाएका छन् । यसै क्रममा उनले आज फतुवा विजयपुर नगरपालिका–११ अन्तर्गत बुटवा र राँगी गाउँमा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा उम्मेदवार चौधरीले स्थानीयवासीका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए । उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषिका विषयमा आफ्ना योजनाबारे जानकारी गराउँदै जनताको साथ र विश्वास आवश्यक रहेको बताए ।

अहिलेसम्म चौधरी राैतहट–३ अन्तर्गतका धेरैजसो गाउँ र बस्तीमा पुगिसकेका छन् । स्थानीय तहसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने उनको अभियानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।

स्थानीयवासीहरूले पनि उम्मेदवार चौधरीको सक्रियता र सरल व्यवहारको प्रशंसा गर्दै यसपटक परिवर्तनको अपेक्षा व्यक्त गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,२२ गते माघ । 

महोत्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) की उम्मेदवार डा. मिनाक्षी ठाकुरको नेतृत्वमा  अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । जसपा नेपालको आयोजनामा सम्पन्न उक्त भेलामा पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था, आगामी रणनीति तथा जनआधारित कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो ।

भेलामा डा. मिनाक्षी ठाकुरले क्षेत्र नम्बर ३ का जनताको मुद्दा, मधेसको अधिकार, समानता र समावेशी लोकतन्त्रका लागि जसपा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्दै संगठनलाई स्थानीय तहसम्म अझ मजबुत बनाउने आवश्यकता औँल्याइन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भई जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई तीव्रता दिन आग्रह गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले पनि संगठन विस्तार, कार्यकर्ताको सक्रिय भूमिका र जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए । वक्ताहरूले मधेस, पहिचान, समान अधिकार र समावेशी लोकतन्त्रको एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलामा मधेस प्रदेशकी शिक्षा मन्त्री रानी शर्मा तिवारी, जसपा नेपालका नेता रामकुमार शर्मा, युवा नेता अजय झा लगायत स्थानीय अगुवा तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूको व्यापक उपस्थितिले महोत्तरी–३ मा डा. मिनाक्षी ठाकुरप्रति बढ्दो समर्थन र जसपा नेपालको राजनीतिक माहौल मजबुत बन्दै गएको संकेत गरेको आयोजकले जनाएको छ ।

भेलाले संगठनात्मक एकता सुदृढ गर्ने, स्थानीय तहसम्म पार्टीको प्रभाव विस्तार गर्ने र आगामी राजनीतिक चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्ने निष्कर्ष निकालेको छ ।

आरके श्रीवास्तव,रा‌ैतहट,२२ गते माघ । 

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–२, सितलपुरमा दीर्घकालीन खानेपानी समस्याको समाधानतर्फ महत्वपूर्ण कदम चालिएको छ । वडामा खानेपानी सञ्चालनका लागि आवश्यक ओभरहेड ट्यांकी निर्माण कार्य सुरु गरिएको सो वडाका वडा अध्यक्ष अनिरुद्ध यादव (सञ्जय) ले जानकारी दिनुभएको छ ।

उक्त आयोजनाका लागि संघीय सरकारबाट ९० लाख रुपैयाँ बजेट विनियोजन भएको वडा अध्यक्ष यादवले बताउनुभयो । चालू आर्थिक वर्षभित्रै ओभरहेड निर्माण सम्पन्न गरी खानेपानी सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

अहिलेसम्म कलको पानीको भरमा जीवनयापन गर्दै आएका सितलपुरवासी अब शुद्ध र सुरक्षित खानेपानी पिउन पाउने भएका छन् । यस आयोजनाबाट हजारौं स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूले यस उपलब्धिको श्रेय वडा अध्यक्ष यादवलाई दिएका छन् । उहाँको अथक पहल र निरन्तर प्रयासका कारण यो योजना सम्भव भएको उनीहरूको भनाइ छ । वडा अध्यक्षमा निर्वाचित भएदेखि नै यादवले वडावासीका सेवा–सुविधालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने लक्ष्यसहित काम गर्दै आउनुभएको छ ।

खानेपानी मात्र होइन, उहाँले शिक्षा, कृषि र पूर्वाधार विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान दिनुभएको छ । विशेषगरी मावि सितलपुरमा गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्न सफल हुनुका साथै कृषि बाटो, सिँचाइ र विद्युतिकरणका कार्यहरू पनि अगाडि बढाइएको छ ।

स्थानीयवासीहरूका अनुसार वडा अध्यक्ष यादवको सक्रिय नेतृत्वमा सितलपुर वडामा विकासका कामहरू क्रमशः अघि बढिरहेका छन्, जसले समग्र वडाको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२१ गते माघ । 

रौतहट । विश्व क्यान्सर दिवसको अवसर पारेर रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पुनम यादवले उक्त क्षेत्रमा क्यान्सर अस्पताल निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

क्षेत्रका विभिन्न स्थानमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेतृ यादवले क्यान्सरजस्तो गम्भीर रोगको उपचारका लागि स्थानीय बासिन्दा हाल अन्य जिल्ला वा राजधानीसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न क्षेत्रमै सुविधासम्पन्न अस्पताल आवश्यक रहेको बताइन् । “समयमै उपचार नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको यथार्थ हामी सबैले देखिरहेका छौँ,” उनले भनिन्।

उनले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षणको संस्कार विकास र उपचारमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिइन् । “समयमै परीक्षण र उपचारको पहुँच बढाउन सके धेरै अमूल्य ज्यान बचाउन सकिन्छ,” उनको भनाइ थियो।

स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यादवले रौतहट–३ मा स्वास्थ्य पूर्वाधार सुदृढीकरण अपरिहार्य रहेको बताइन् । स्थानीय समुदाय, स्वास्थ्यकर्मी र सरोकारवाला निकायबीचको सहकार्यबाट मात्र दीर्घकालीन र प्रभावकारी समाधान सम्भव हुने उनले विश्वास व्यक्त गरिन् ।

विश्व क्यान्सर दिवसले दिएको सन्देशलाई आत्मसात गर्दै नेतृ यादवले स्वस्थ समाज निर्माणका लागि जनचेतना, स्वास्थ्य सेवामा पहुँच र पूर्वाधार विकासलाई समान प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

आरके श्रीवास्तव,राैतहट,२१ गते माघ । 

संघीयता, सुशासन, समृद्धि र समाजवादको मूल नारासहित जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. ३ अन्तर्गत क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको छ ।

कटहरिया बजारमा अवस्थित उक्त कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोविन्द चौधरीले गर्नु भएको हो । उद्घाटन समारोहमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा उम्मेदवार चौधरीले लोकतन्त्र सुदृढीकरण, सुशासनको प्रत्याभूति र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ जनता समाजवादी पार्टी निर्वाचन मैदानमा उत्रिएको बताउनुभयो । उहाँले रौतहट क्षेत्र नं. ३ का जनताको समस्या समाधान र समावेशी विकासका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा छाता छापमा मतदान गरी गोविन्द चौधरीलाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका थिए ।

उक्त कार्यालयमार्फत निर्वाचन अभियानलाई प्रभावकारी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गर्ने तथा पार्टीका नीति तथा कार्यक्रम घर–घरमा पुर्‍याउने उद्देश्य राखिएको पार्टीले जनाएको छ ।

 

प्रेमचन्द्र झा,राैतहट,२१ गते माघ । 
रौतहट । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.ले अनुगमन भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बि.क.ले जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखसहित उपस्थित प्रहरी कर्मचारीहरूलाई जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापनलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
यसका साथै जिल्लाभित्र रहेका सीमा नाकाहरूमा कडा चेकजाँचको व्यवस्था मिलाउन, प्रहरी परिचालनलाई प्रभावकारी बनाउन, सुरक्षा जाँचमा कडाइ गर्न तथा उच्चकोटीको प्रहरी आचरण प्रदर्शन गरी नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धि हुने गरी जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न आवश्यक रहेको बताउनुभयो।
अनुगमनका क्रममा उहाँले आपराधिक गतिविधि नियन्त्रण, नागरिकमैत्री प्रहरी सेवा र व्यावसायिकता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।