आरके श्रीवास्तव,राैतहट,१२ गते वैशाख ।
लोकतान्त्रिक पत्रकार संघको सर्लाही जिल्ला संयोजकमा राजीव कुमार साह कानु लाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधानअनुसार पत्रकार साहलाई सर्लाही संयोजकमा मनोनयन गरेको हो ।
‘मेरो सान’ टिभीमा हर्ताकर्ताको रुपमा कार्यरत साह विभिन्न मिडियामा पनि आबद्ध छन् । लामो समयदेखि पत्रकारिता पेसामा रहेका साह एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।

सर्लाहीमा उनकाे आफ्नो छुट्टै नाम पहिचान बनाइसकेका छन् ।
चन्द्रनगर गाउँपालिका–१, लघुवा निवासी साह हाल मलंगवा निवासी साहकाे नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघ सर्लाहीले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले शुक्रबार साहलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा साहको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
आरके श्रीवास्तव,गरुडा,११ गते वैशाख ।
रौतहटको दुइ वटा नापी कार्यालयमा ‘मेरो कित्ता’ प्रणाली अझैं लागू हुन सकेको छैन् । जिल्लाको चार ठाउँ गौर,गरुडा,मौलापुर र चन्द्रपुरमा नापी कार्यालयको सेवा केन्द्र रहेको छ । जसमध्ये दुइ ठाउँ चन्द्रपुर र मौलापुरमा मात्रै ‘मेरो कित्ता’ लागू छ ।
सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था शुरु गरेको थियो । घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने मेरो कित्ताको शुभारम्भ गरिएको थियो । डिजिटल नेपालको अवधारणालाई मुर्तरुप दिन नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणालीको लागू गरिएको थियो ।
नेलिस नापनक्सा कार्यबाट संकलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइनमार्फत घरमै बसेर नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो ।
यस विषयमा नापी कार्यालय गरुडाका प्रमुख इ.यशवन्त सिंहले भन—‘यो प्रणाली लागू गर्ने सरकारको हातमा हुन्छ । सरकारको निती अनुसार नेलिस प्रणाली लागू भएपछि मात्रै मेरो कित्ता सुचारु हुने हो । ’ उनले भने—यस वर्ष यो प्रणाली लागू गराउन पहल गर्दैछौं । सम्भवतः यसवर्ष देखि गरुडामा लागू हुनेछ ।
उता नापी कार्यालय गौरका प्रमुख मोहन महासेठले भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले हरेक वर्ष नेलीस सिस्टम लागू गर्न बजेट छुट्टयाउने गरेको बताए । मन्त्रालयले नै कुन नापी कार्यालयमा यो प्रणली लागू गर्ने निर्धारण गर्ने गर्दछ । यो हाम्रो हातमा हुँदैन् । यसका लागि हामी पहल गर्दैछौं ।
नापी विभागको वेबसाइट वा गुगलमा मेरो कित्तामा गएर लगइन गरी नक्सा निकाल्न सक्ने छिटो, छरितो प्रविधि हो । यो लागू भयो भने सेवाहग्राही धेरै लाभान्वीत हुने छन् ।
तर दुर्भाग्यवश गरुडा र गौर क्षेत्रका जनप्रतिनीधी र नेताहरुको ध्यान नै छैन् । नापी कार्यालय स्थापनाको वर्षौ बितिसक्दा पनि यो प्रणाली लागू गराउन कसैले पहल नै नगरेको देखिदैन् । बजेट चलाउनमा मस्त जनप्रतिनीधीको ध्यान कहिले जाला ? यसलाइ चाँडो भन्दा चाँडो लागु गर्न स्थानियहरुले माग गरेका छन् ।
चन्दन यादव,रौतहट, ११ गते वैशाख ।
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेशको कार्यालय जनकपुरधाममा आगामी बैशाख १४ गते उद्धघाटन हुने भएको छ । लोसपा नेपाल मधेशका अध्यक्ष जितेन्द्र सोनलले एक निमन्त्रणा पत्र जारी गर्दै सो जानकारी गराएका हुन् ।
आइतवार हुने उद्धघाटन कार्यक्रममा पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताम हार्दिक अनुरोध गरिएको छ । उक्त उद्धघाटन कार्यक्रममा लोसपा नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख अतिथ्यता रहने जनाइएको हो ।
साथै पार्टीका वरिष्ठ नेता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको पनि विशेष उपस्थिति रहने अध्यक्ष सोनल द्धारा हस्ताक्षरित निमन्त्रणा पत्रमा उल्लेख रहेको छ ।
मधेस प्रदेश अन्तर्गतका सम्पूर्ण केन्द्रिय पदाधिकारीगण, मधेश प्रदेश समितिका पदाधिकारी एवं सदस्यगण, सम्पूर्ण जिल्ला अध्यक्षगण लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताको गरिमामय उपस्थितिको लागि लासेपा नेपाल मधेश प्रदेश अध्यक्ष सोनलले हार्दिक अनुरोध गरेका हुन् ।
२०८२ वैशाख १४ गते आइतबारको दिन सो कार्यक्रम हुने समेत निमन्त्रणा पत्रमा उल्लेख रहेको छ । कार्यक्रम हुने स्थान जनकपुरधाम ८, रामानन्द चौक जानकी आँखा अस्पताल देखी दक्षिण रहेको छ भने समय बिहान ११ः३० बजे निर्धारण गरिएको अध्यक्ष सोनलले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,गरूडा,१० गते वैशाख ।
रौतहटको मौलापुर नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालय मौलापुरको हाकिमकाे कारण सेवाग्राही मर्कामा परेका छन् । लामो समय देखी कार्यालय प्रमुख बिहीन रहेको मालपोत कार्यालय मौलापुरमा नयाँ कार्यालय प्रमुखको रुपमा कौशल किशोर झा सोमबार हाजिर भएपनि कार्यालयको कामकाज ठप्प रहेको सेवाग्राहीहरुले गुणासाे गरेका छन् ।
नयाँ कार्यालय प्रमुख झा हाजिर भएको ३ दिन बितीसक्दा पनि अख्तियारी नपाएर प्रमुख झाले कार्यालयको कामकाज नगरी सेवाग्राहीहरुलाई थप पीड़ा दिईरहेको नाम नबताउने शर्तमा एक जना सेवाग्राहीले गुणासाे गरेका छन् ।
चैत महिनाको सुरुमा नै फाइल पेश गरेको तर कार्यालयमा हाकिम नरहेको विभिन्न बहानामा कामकाज रोकी बैशाख सम्म कार्यालय धाउन बाध्य बनाएको अर्का सेवाग्राहीले दुःखेसो पोखेका छन् ।
हाल नया कार्यालय प्रमुखको रुपमा कौशल किशोर झा हाजिर भएपनि अख्तियारी नपाएको तथा त्यस्तै विभिन्न बहानामा कामकाज नै नगरी कार्यालयमा बसेर गफ हान्नमा व्यस्त देखिएका छन् ।
स्रोतका अनुसार प्रमुख झाले कार्यालयको बारेमा विभिन्न विवादित कुराहरुको उठान गर्दा तथा विवादित बिषयवस्तुमा विशेष गरेर ध्यान पुर्याएको कारण अख्तियारी पाउन कठिनाई भइरहेको बुझिएको छ ।
मालपोत कार्यालय मौलापुर सञ्चालन भएदेखि नै कार्यालय प्रमुखको रुपमा निरन्तर कामकाज गर्दै आएको बबुनन्दन साहको कार्यकालमा यस्ता समस्याहरु देख्न नपाएका स्थानीय सेवाग्राहीहरूको भनाई रहेको छ ।
हाल कार्यालय प्रमुख उपस्थित भए पनि सेवाग्राहीहरूको कामकाज नहुँदा दिनहु कार्यालयमा आएर बेलुकासम्म प्रतिक्षा गरि निराश भएर घर फर्किनु पर्ने बाध्यता रहेको सेवाग्राहीहरूको भनाई रहेको छ।
यस बिषयमा प्रमुख झासंग कुरा गर्दा विभाग सम्बन्धी कुरा भएकोले विभागीय मन्त्रालयले अहिले सम्म अख्तियारी नदिएको बताए । सम्बन्धित मन्त्रालयका सचिव सरुवा भएकाले अख्तियारी पाउन थप एक हप्तासम्म लाग्न सक्ने उनले बताए । यता कार्यालयमा कामकाजको लागि दिनहु धाउन बाध्य भएका सेवाग्राहीले कार्यालय प्रमुख अख्तियारी नपाउदा सम्म थप मार खेप्नु पर्ने निश्चित छ ।
बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,११ गते वैशाख ।
महोत्तरी । लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) नेपालको पिपरा गाउँपालिका कार्यसमितिले वडा अधिवेशन कार्यक्रमअन्तर्गत वडा नम्बर १ एकरहिया, खैरबा, गम्हरीया, ढेकहा गाउँको अधिवेशन सम्पन्न गरेको छ । पर्यवेक्षक विरेन्द्र रायको उपस्थितिमा सम्पन्न भएको साे अधिवेशनमा वडा अध्यक्ष किशोरी महतोको अध्यक्षता रहेको थियो।
अधिवेशनमा लोसपाका केन्द्रीय सचिवद्वय रमन कुमार ठाकुर र अजय झा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै, केन्द्रीय सदस्यद्वय सत्या देवी महरा र रामकली देवी महतो, मधेश प्रदेश समिति सदस्य अमित कुमार पाण्डेय, जिल्ला युवा अध्यक्ष सुशील महतो, पिपरा गाउँपालिका अध्यक्ष विनित पाण्डेय, पूर्वगाउँपालिका अध्यक्ष तथा लोसपा नेता बिक्रम चौधरी, पालिका नेताद्वय रामविनोद ठाकुर र रामजानकी पासवानलगायत विभिन्न नेताहरूको सहभागिता रहेको थियो।
लोसपाको महाअधिवेशन निर्देशिका २०८१ को दफा १ र २ अनुसार किशोरी महतोको नेतृत्वमा वडा नं. १ को २१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। साथै, निर्देशिकाको दफा २ (ङ) बमोजिम पालिका अधिवेशनका लागि वडाबाट १६ जना प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्।
कार्यक्रममा सहभागी नेताहरूले नवगठित समितिलाई बधाई दिँदै लोसपाको सङ्गठन विस्तार र मधेश प्रदेशको विकासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे। पालिका अध्यक्ष विनित पाण्डेयले नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरूलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। “यो अधिवेशनले हाम्रो पार्टीको आधारलाई थप सुदृढ बनाएको छ। नवगठित समितिले स्थानीय स्तरमा जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउनेछ,” उनले भने।
अधिवेशनमा वडाका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको र सर्वसम्मतिबाट नेतृत्व चयन हुनुले पार्टीभित्र एकताको सन्देश गएको लोसपा नेताहरूको भनाइ छ। यो अधिवेशन पिपरा गाउँपालिकामा लोसपाको सङ्गठनात्मक गतिविधिलाई तीव्रता दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।लोसपा नेपाल पिपरा परिवारले नवगठित समितिलाई स्थानीय समस्याहरूको समाधान र पार्टीको नीति कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न प्रेरित गरेको छ। आगामी पालिका अधिवेशनका लागि तयारी तीव्र पार्ने योजनासहित लोसपाले मधेश प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अघि सारेको छ।
“हामी जनताको विश्वास जितेर मधेशको समृद्धिका लागि अघि बढ्नेछौँ। यो अधिवेशन त्यसैको आधार हो,” पालिका अध्यक्ष पाण्डेयले भने। लोसपाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै अधिवेशनहरू आयोजना गरी सङ्गठनलाई थप मजबुत बनाउने योजना बनाएको पालिका कार्य समितिका अध्यक्ष विनित पाण्डेयले बताएका छन् । सभार रिपब्लिक नेपाल
आरके श्रीवास्तव,राैतहट,१० गते वैशाख ।
लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीको गतिविधि बढाउन ६ जनालाई आफ्नो प्रभारी ताेकेकाे छ । लाेसपा नेपालकाे भातृ/सुवेक्षुक संगठनहरूकाे गतिविधिहरूलाई पार्टीको तर्फबाट समन्वय गर्न पार्टीको विभिन्न पदाधिकारीहरूलाई प्रभारीकाे जिम्मेवारी ताेकिएकाे छ ।
लाेसपा नेपालका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित पत्रमा कुन कुन भातृ संगठनमा क-कसलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ ।

पत्रमा उल्लेख भएअनुसार लाेसपा नेपालकी वरिष्ठ उपाध्यक्ष निर्जला राउतलाई लाेकतान्त्रिक महिला संघ,महासचिव डा.सुरेन्द्र कुमार झालाई राष्ट्रिय शिक्षक मञ्च,महासचिव मनिष कुमार मिश्रलाई लाेकतान्त्रिक यूवा संघकाे प्रभारीमा ताेकिएकाे हाे ।
त्यस्तै अर्का महासचिव द्वय विमल केडियालाई लाेकतान्त्रिक ट्रेड युनियन महासंघ,बिनाेद कुमार सिंहलाई मधेसी निजामती कर्मचारी मञ्च र पार्टीका सचिव ज्ञानेन्द्र झा(ज्ञानु) लाई लाेकतान्त्रिक बिद्यार्थी संघकाे प्रभारी बनाइएको हाे ।
वहाँहरूलाई लाेसपा नेपालले पार्टीकाे प्रभारी ताेक्ने बित्तिकै सामाजिक संजालमा बधाई तथा शुभकामनाकाे ओइरो लागेको देखिएको छ । पार्टीको गतिविधि अब द्रुतगतिमा बढ्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ । यसै क्रमा आज पनि वहाँहरू जिम्मेवारी सुम्पेर काम गर्न भनिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०९गते वैशाख ।
राैतहट प्रिमियर लिग (आरपिएल) मा साेमबार गुजरा राइडर्सले जित निकालेसँगै फाइनलमा प्रवेश गरेको छ । गाैर वारियर्स विरूद्व उसले आफनाे जित निकालेको हाे ।
टस जितेर पहिले ब्याटिङ गरेको गाैर वारियर्सले निर्धारित २० ओभर पनि खेल्न पाएन । उसले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाई १ सय १८ रनकाे याेगफल तयार पार्न सफल भएको थियोे ।
जवाफी ब्याटिङमा उत्रेको गुजरा राइडर्सले १९ ओभर २ बलमा ८ विकेटकाे क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।

खेलमा राइडर्सका खेलाडी ईस्तेयाक आलम मैन अफ दि मैच घाेषित भएका थिए । आज दिउँसो १ बजे राैतहट प्रिमियर लिगकाे फाइनल तराई टाइगर गरुडा र गुजरा राइडर्सको बिचमा हुने राैतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।
आज हुने फाईनल खेलमा पनि गुजरा राइडर्सले राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको टिमका माली साबिर हुसेनले बताएका छन् ।
फाईनल खेदमा ५ वटै टिमका मालिक, सम्पुर्ण खेलप्रेमी, राजनीतिक दल,संचारकर्मी, नागरिक समाज लगायत समस्त जिल्लावासीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।
जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी थिए । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते वैशाख ।
नेकपा एमालेको मधेस प्रदेशकी सांसद जैनव खातुनले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ सन्तपुर दोस्तियामा मोक्तमको शिलान्यास गरेकी छन् । आज सोमबार एक कार्यक्रम समारोहका बीच शिलान्यास गरेकी हुन्।
मुस्लिम सामुदायिककाे धर्म अनुसार मोक्तम विश्राम गर्ने स्थल हाे । प्रदेश सांसद जैनव खातुनको विशेष पहल र मधेश प्रदेश सरकारका युवा खेलकूद समाज कल्याण मन्त्रालयले करिब ४० लाखकाे लागतमा दुई तल्ले भवन बन्ने भएको छ ।
उक्त कार्य उपभोक्ता समिति मार्फत काम हुनेछ । जसको अध्यक्षमा तबरेज खा ,कोषाध्यक्षमा लालमुन खातुन,सचिवमा शेख सदाम रहेको प्रदेश सांसद खातुनले बताईन् ।
उक्त शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सहबान खा, पूर्व गा.वि.स. अध्यक्ष बुधाई खा,नेता शेख मोबिन, सुरेन्द्र यादव , शिउपुजन यादव ,शेख नथुनी, शेख मज्रुल,राजा बाबु खा,शेख अफताब लगायतकाे सहभागीता रहेको थियोे ।
आरके श्रीवास्तव,गरुडा, ०८ गते वैशाख ।
रौतहटको राजपुर नगरपालिकाले विकास निर्माणका साथै आवश्यकता अनुसार जमिन खरिदमा पनि निकै ध्यान दिएको छ । राजपुरले जमिनको अभाव पूरा गर्न र सार्वजनिक सेवा प्रवाहका लागि भविष्यमा पनि जमिनको अभाव हुन नदिने नीति लिएको छ ।
नगरपालिकाको प्रशासकीय भवन र कृषि भवन निर्माणको लागि ४२ लाख रुपैयाको लागतमा ९ कट्ठा जमिन खरिद गरेको छ । नगरपालिकाको आफ्नै संरचना निर्माणको लागि जमिन किन्न गरिएको यो निकै महत्त्वपूर्ण निर्णय भएको स्थानीयहरुको भनाइ छ ।
नगरपालिकाले विद्यालय, स्वास्थ्य चौकी तथा खानेपानी जस्ता आधारभूत सेवा र सुविधाको लागि आवश्यक जमिन खरिद गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छन् । धेरैलाई पायक पर्ने तथा सडक पुगेको ठाउँमा जमिन खरिद गर्नुपर्ने भएको हुँदा नगरपालिकाले सबै विचार गरेर पर्याप्त मात्रामा जमिन किनेको ठाकुरको भनाइ छ ।
नगरपालिकाको नेतृत्वमा डा.मो. राजिक आलाम निर्वाचित भएपछि सार्वजनिक सेवा प्रवाहका लागि जमिन खरिद गर्ने अभियान नै संचालन भएको स्थानीयको भनाइ छ । नगर प्रमुख डा. आलमले शेख इद्रिश आधारभूत विद्यालयको लागि २२ लाखमा १० कट्ठा, मावि बैरिया भवन निर्माणको लागि ४८ लाखमा ९ कट्ठा, आफताब आधारभूत विद्यालयका लागि २२ लाखमा ३ कट्ठा जमिन खरिद गरिएको छ । धेरै हदसम्म विद्यालयहरुका लागि जमिनको तत्कालीन आवश्यकता पूरा गरिएको र अन्य केही विद्यालयको हकमा पनि विचार भइरहेको नगर प्रमुख डा. आलमको भनाइ छ ।
नगर प्रमुख डा.आलम भन्छन् – नगरपालिकामा स्वास्थ्य सेवाको लागि विभिन्न ठाउँमा आवश्यक मात्रामा जमिन खरिद गरिएको छ । राजपुर ५ मा स्वास्थ्य चौकी भवनका लागि १४ लाखमा ३ कट्ठा, वडा नम्बर ४ मा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका लागि ३२ लाखमा १ कट्ठा १० धुर, १५ शैय्याको नगर अस्पताल भवन निर्माणको लागि अपुग ४ कट्ठा जमिन ५८ लाखमा खरिद गरिएको छ । बलुवा स्वास्थ्य चौकी भवनको लागि १ कट्ठा जमिन निशुल्क उपलब्ध भएको छ । स्वास्थ्यको क्षेत्रमा सबै संरचना निर्माण भइसकेपछि निकै सहज हुने नगर प्रमुख डा. आलमको भनाइ छ ।
नगरपालिकाले वडा नम्बर ३ मा खानेपानीको लागि पनि १२ लाखमा ४ कट्ठा जमिन खरिद गरिसकेको छ ।
हालसम्म राजपुर नगरपालिकाले २ करोड ५० लाख रुपैयाको लागतमा प्रशासकीय भवन, कृषि भवन, विभिन्न विद्यालय, स्वास्थ्य चौकी र खानेपानी आदि संरचना निर्माणको लागि २ बिगाहा ३ कट्ठा १० धुर जमिन खरिद गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरको भनाइ छ ।
राजपुर नगरपालिका सार्वजनिक सेवा प्रवाहको लागि सबै किसिमको अवरोध र बाधा व्यवधानलाई छिचोल्दै अगाडि बढिरहेको छ । युवा नेतृत्व भएको कारण सेवा प्रवाहमा सर्वसाधारणलाई निकै सजिलो भएको छ भने जग्गा जमिनको अभाव भएका संस्थालाई पनि सहज हुने गरी काम भइरहेको छ ।
मुकेश कुमार साह,चपुर,०७ गते वैशाख ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटले विद्यार्थी विभागको नेतृत्व श्यामहरी चौलागाईंलाई सुम्पिएको छ। पार्टी सभापती तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले औपचारिक पत्र जारी गर्दै चौलागाईंलाई विभाग प्रमुखमा मनोनयन गरेका हुन् ।
चौलागाईंलाई कांग्रेसको विधान २०७६ को दफा ४८ (७) अनुसार जिल्ला कार्यसमितिको विद्यार्थी विभाग संयोजक पदमा मनोनयन गरिएको बताईएको छ ।
सभापती यादवले आइतवार पत्र दिदै चौलागाईंको संगठनप्रतिको योगदान, विद्यार्थी आन्दोलनमा सक्रियता र नेतृत्वदायी क्षमताको प्रशंसा गर्दै भनेका छन्, “पार्टीले तपाईंको ऊर्जाशील र जुझारु भूमिकालाई मूल्याङ्कन गर्दै विद्यार्थी विभागको प्रमुख जिम्मेवारी सुम्पिएको छ। यो विभाग तपाईंको नेतृत्वमा सशक्त र परिणाममुखी बन्नेमा पूर्ण विश्वास छ। नेपाली कांग्रेसको विधान एवं नियमावलीको परिधिभित्र रही जिम्मेवारी पालन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।”
मनोनयनप्रति प्रतिक्रिया दिंदै चौलागाईंले उक्त जिम्मेवारीलाई अवसर होइन, चुनौती र कर्तव्यको रूपमा लिएको बताए। “पार्टीको विश्वासलाई म कर्म र नतिजाबाट प्रमाणित गर्नेछु,” उनले भने, “विद्यार्थीको हक–हितका सवालमा म संगठित रूपमा अगाडि बढ्नेछु।”
उनको मनोनयनप्रति जिल्लाभरका युवा विद्यार्थी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।