आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख ।
लोकतान्त्रिक पत्रकार संघ केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा संघ दिनप्रतिदिन सक्रिय बन्दै गएको छ । पत्रकारहरूकाे हक, अधिकार र पेशागत पहिचानलाई सशक्त बनाउने उद्देश्यसहित संघले हालै धमाधम जिल्ला संयोजकको मनोनयन प्रक्रिया अघि बढाएको छ ।
अहिलेसम्म संघले मधेस प्रदेशका चार जिल्लामा संयोजक तोकिसकेको छ । बारा जिल्लामा विनोद प्रजापति, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह तथा महोत्तरीमा राजिव राय कुर्मी जिल्ला संयोजकको रूपमा चयन भएका छन् ।

संघका अनुसार यी सबै संयोजकहरू सक्रिय रूपमा संगठन विस्तार र पत्रकारहितका गतिविधिमा जुटिरहेका छन् ।
अध्यक्ष वर्माले बाँकी जिल्लाहरूमा समेत चाँडै संयोजक मनोनयन गरिने जानकारी दिएका छन् । यसकाे लागि कुरा भईसकेकाे उनी बताउँछन् ।
उनका अनुसार संघमा पत्रकारहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले आफूलाई थप उत्साहित बनाएको बताए ।
“अन्य पत्रकार संगठनहरू भन्दा फरक ढंगले हाम्रो संघले पत्रकारहरूको सशक्त पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ,” अध्यक्ष वर्माले भने, “हामी लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादा कायम गर्न कटिबद्ध छौं ।”
संघले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा र सामाजिक उत्तरदायित्वका सवालमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संघले आगामी दिनहरूमा केन्द्रदेखि जिल्ला तहसम्म अझ प्रभावकारी रूपमा काम गर्ने योजना बनाएको छ ।
काठमाडौं, वैशाख २९ गते – लोसपा नेपालका महासचिव मनिष मिश्रले आतंकवादविरुद्ध सम्पूर्ण विश्व एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक संजालमा उनले आफनाे आधिकारिक धारणा राख्दै यस्ताे बताएका हुन् ।
भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा पहलगाम आतंकवादी हमलामा मारिएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारलाई भेट गरेको घटनाप्रति मिश्रले प्रशंसा गर्दै भने, “भारतको यो कदम अत्यन्त सराहनीय तथा मानव सभ्यताको उच्चतम बिन्दु हो।”

उनले नेपालका नागरिकप्रतिको सम्मान र सहानुभूतिलाई कूटनीतिक मर्यादाको उत्कृष्ट उदाहरणका रूपमा ब्याख्या गरेका छन् ।
मिश्रका अनुसार आतंकवाद मानव सभ्यताको साझा दुश्मन हो र यसविरुद्ध सबै देशहरू मिलेर कठोर कदम चाल्नुपर्ने समय आएको बताएका छन् ।
आरके श्रीवास्तव,गरूडा,२९ गते वैशाख ।
राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर ४ मा अवस्थित जीवन विज्ञान योग केन्द्रको वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । “गरौँ योग, बनौँ निरोग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगर प्रमुख कन्थमनी जयसवनल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम मार्फत केन्द्रले आफ्नो पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरी दोस्रो वर्षमा प्रवेश गरेको खुशी सँगै स्थानीय समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन तथा सकारात्मक जीवनशैलीप्रति जागरूकता फैलाउने कार्यमा केन्द्रले पुर्याएको योगदानप्रति सराहना व्यक्त गरिएकाे छ ।

बुद्ध जयन्तीको पावन अवसरमा सोही कार्यक्रममा “माँ दुर्गा ऊर्जा ध्यान योग प्रयोगशाला” नामकरण गरि औपचारिक रूपमा उद्घाटन पनि गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जयसवालले यस्तो सकारात्मक प्रयासले नगरवासीको शारीरिक, मानसिक र आत्मिक शुद्धिकरणमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै नगरपालिकाबाट निरन्तर साथ र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय बासिन्दाहरूले समेत यस्तो पहललाई स्वागत गर्दै आगामी दिनहरूमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख ।
रौतहट । मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत विनियोजित २५ लाख रुपैयाँको बजेटबाट गुजरा नगरपालिका वडा नम्बर ८ जोगौलिया देवीपुरस्थित ऐतिहासिक ईदगाहको स्तरोन्नति तथा घेराबेराको कार्यका लागि शिलान्यास सम्पन्न भएको छ ।

पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास समारोहमा वडाका स्थानीय नेता, समाजसेवी, उपभोक्ता समिति सदस्य, कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिता जनाएका अधिकांश व्यक्तिहरूले चौधरीको दीर्घ प्रयास र निरन्तर पैरवीकै परिणामस्वरूप यो योजना कार्यान्वयनमा आएको बताएका छन् ।

स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ईदगाह क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारसँग समन्वय गरी चौधरीले यस योजनालाई मूर्तरूप दिएका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले धार्मिक सद्भाव, सामाजिक विकास तथा सामुदायिक संरचनाको समुन्नतिमा यस्ता आयोजनाहरू महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि विकासका थप योजनाहरू गाउँसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

स्थानीय बासिन्दाहरूले ईदगाहको स्तरोन्नति कार्यलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै पूर्व राज्यमन्त्री चौधरीप्रति आभार व्यक्त गरेका छन् ।
उक्त कार्यले न केवल धार्मिक स्थलको सौन्दर्य र सुरक्षालाई बढावा दिनेछ, तर समुदायबीचको एकता र सहकार्यलाई समेत सुदृढ बनाउनेछ भन्ने अपेक्षा गरिएको छ ।
काठमाडौं, २८ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘डायबिटिजको बिरामीलाई मिठाई खुवाएको’ संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘यो नीति तथा कार्यक्रमलाई मैले एक शब्दमा भन्नुपर्दा डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो, राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलेआम लुट्ने अनि भ्रष्टाचार गरेको पैसा विदेशमा थुपार्ने, अहिलेको मूल प्रवृत्ति भएको छ । लुटको पैसा, भ्रष्टाचारको कालो धन रोक्छौं र फिर्ता ल्याउँछौं भनेर प्रतिबद्धता हुनुपर्दथ्यो । त्यसरी नीति आउनुपर्दथ्यो । तर, यहाँ त ठीक उल्टो भएको छ, खुलेआम लैजानुहोस भन्नेखालको नीति तथा कार्यक्रम देखिन्छ ।’

विदेशमा श्रममा रहेका लाखौं युावहरुले आफ्नो खुन–पसिना चुहाएर कमाएको पैसा नेपाली जनताको लागि हो कि भ्रष्टाचारीहरुको लागि हो ? भन्दै पूर्वमन्त्री साहले प्रश्न गरे । उनले भने,‘आज जो युवाले वैधानिक तवरले पैसा पठाउँछ, त्यसको पैसा घट्ने, अनि कालो धनसँग साट्दा त्यो पैसा बढेर गाउँमा पुग्ने, के सरकारलाई थाहा छैन ? नेपाली श्रमिक युवाहरु जतिको संख्यामा विदेशमा हुनुहुन्छ, त्यही अनुपातमा विदेशबाट रेमिट्यान्स आएको छैन भन्ने कुरा त सरकारलाई राम्रोसँग थाहा छ त। यहाँ त नेताज्यूहरुको छोराछोरीको लागि पैसा विदेशमा पठाउनुपर्ने छ, यहाँ लुटेको पैसा विदेशमा थुपार्नुपर्ने छ, त्यो मिलान गर्नको लागि जानी बुझिकन यसरी प्रावधान ल्याउने ?’ उनले नेपाल सरकारले वैधानिक तवरले पैसा पठाउनेहरुलाई कर हटाइदिने र थप सुविधा दिनुपर्ने सुझाव दिए ।
उनले नेपाल प्राकृतिक रुपमा धनी र स्वर्ग भएको बताए । उनले भने,‘प्रकृतिले नेपाललाई स्वर्ग दियो, तर नेताहरुको कुकर्मले आज यो नर्क बन्यो । प्राकृतिक स्रोत तथा साधनहरुको आम्दानी आज नेताहरुको स्वार्थमा प्रयोग भैरहेको छ । नेपालको झण्डै आधा भूभागमा जंगल छ । जंगलको रक्षा गर्न, संरक्षण गर्न, विकास गर्न नेपाल सरकारले झण्डै ३० अर्ब खर्च गर्छ, त्यो ३० अर्ब पैसा नेपाली जनताको खुन, पसिनाको पैसा हो । अनि आफ्नै जंगलको काठ किन्नुपर्दा सात समुन्द्रपारीको देशभन्दापनि महँगो तिर्नुपर्ने, जंगलको पैसा के भयो भनेर सोध्ने कि नसोध्ने ? जुन जंगलको लागि हामीले ३० अर्ब लगानी लगाउँछौं, त्यो जंगलबाट कति आम्दानी आउँछ ?’
उनले गाउँघरमा आजपनि दुई बिघामा बगैंचा लगाउँदा एउटा परिवार चल्ने आम्दानी हुने गरेको भन्दै जंगलको रक्षाको लागि अरबौंमा लगानी गर्दापनि एक अर्बपनि आम्दानी गर्न नसकेकोमा भने आलोचना गरे । आक्रोश पोख्दै उनले भने,‘के हाम्रो प्राकृतिक सम्पदा, साधन नेताहरु र उनीहरुको आसेपासेको लागि हो ? हाम्रो खुन अनि पसिना ? हामीले सोध्ने कि नसोध्ने ?’
नेपाल जलस्रोतमा पनि विश्वकै दोस्रो धनी देश भएको उल्लेख गर्दै नदीबाट कति आम्दानी आएको छ ? भनेर प्रश्न तेर्साए । उनले भने,‘आज पानी किनेर खानुपरेको छ, बालुवा, गिट्टी, ढुंगा किन्नुपरेको छ, नदी हाम्रो होईन ?’
उनले देशको जम्मा भूभागको २५ प्रतिशत जग्गा नेपाली जनताले उपयोग गरेको तथ्यांक पेश गर्दै साहले त्यो २५ प्रतिशतको उपयोगबाट झण्डै ६० प्रतिशतको जीवन निर्वाह भएको बताए । उनले भने,‘नेपालमा जति भूभाग छ, त्यसको २५ प्रतिशत नेपाली जनताले जोतिरहेका छन्, नेपाली जनताले जोत्दा झण्डै ६० प्रतिशतको जीवन चल्ने, जिडिपीमा एक तिहाई योगदान पनि हुने, तर नेपाल सरकारको मातहातमा रहेको ३० प्रतिशत जग्गा छ, त्यसको आम्दानी कति आयो ? हामीले सोध्ने कि नसोध्ने ? यो जग्गाबाट यति आम्दानी गर्छु वा उपयोग यसरी गर्छु भनेर प्रतिबद्धता आउनुपर्ने होईन र ?’
राज्यको लुटकारी चरित्रलाई नै बढावा दिनेगरि अहिलेको नीति तथा कार्यक्रम आएको उनको आरोप छ । उनले नेपालमा कर आतंकपनि उस्तै रहेको चित्रण गरे । उनले भने,‘करको कारणले हाम्रो उद्योग धराशयी हुँदैछ । व्यापार तथा व्यवसाय चौपट हुँदैछ । अरु देशको तुलनामा हाम्रो देशमा करका शीर्ष धेरै छन् । करको दर बढि छ, करको दायरा बढि छ । कर लिने निकाय र सरकार पनि बढि छन् । छिमेकी देशहरु भारत र चीन हेरौं, चीन र भारतमा सामान सस्तो किन हुन्छ ? भारत, चीन र नेपालबीच करको बारेमा तुलनात्मक अध्ययन गर्न भन्छु । त्यत्रो ठूलो देश भारत तर कर लिने सरकार जम्मा ३७ वटा छन् । अर्को ठूलो देश चीनमा पनि जम्मा ३४ वटा सरकार छन्, जसले कर लिन्छ । नेपालमा ७६१ वटा सरकार छन्, जसले कर लिन्छन् । भारतमा जम्मा १४ शीर्षकमा कर लिन्छन्, जबकी नेपालमा ४६ वटा शीर्षकमा कर लिन्छन् । केन्द्र सरकारले आयकर, भन्सारकरलगायत झण्डै २१ वटा कर लगाउँछ, प्रदेश सरकारले सवारी, मनोरञ्जनजस्ता कर झण्डै ८, ९ वटा कर लगाउँछ । स्थानीय तहले सम्पत्ति कर, मालपोत करजस्ता झण्डै १४ वटा कर छन् ।’
उनले खुला सिमानालाई वरदान बनाउन सकिनेपनि उपाय सुझाए । उनले सरकारले अघि सारेको अहिलेको नीति तथा कार्यक्रमले देशलाई बर्वाद बनाउने आरोप लगाए । उनले अहिलेको नीति तथा कार्यक्रमले जनतालाई निराशा बनाउने काम गरेको बताए । उनले नीति तथा कार्यक्रमलाई सिधै अस्विकार गर्न पनि सांसदहरुलाई आग्रह गरे ।
आरके श्रीवास्तव,राैतहट,२८ गते वैशाख ।
गौर । ‘रामा यादव स्मृति प्रतिष्ठान’द्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार २०८२ सालका लागि शारदा पोखरेल (बारा, रातोपाटी अनलाइन) र चाँदनी झा (महोत्तरी, टिभी टुडे) लाई प्रदान गरिने भएको प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिनुभएको छ ।

स्वर्गीय रामा यादवको चौंथो पुण्यतिथिको अवसरमा गौरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष सञ्जय कार्कीले दुबै महिला पत्रकारको नाम घोषणा गर्दै स्वास्थ्य पत्रकारितामा योगदान पुर्याएकोमा सम्मान गरिएको जानकारी दिए ।
स्व. रामा यादवको चौथो स्मृतिमा प्रदान गरिने यस पुरस्कारको राशी २६ हजार एक रुपैयाँ रहेको छ । कोरोना महामारीका बेला २०७८ मा दिवंगत यादव सफल सञ्चार उद्यमी थिए । कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूले रेड टेलिभिजन र यादवको योगदानको चर्चा गर्दै संस्थाको प्रगतिको कामना गरेका छन् ।
साे अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय शैलेन्द्रकुमार गुप्ता,प्रेमचन्द्र झा,कान्तिपुरका उपसम्पादक शिवपुरी,प्रभाकुमार झा,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की,श्रमजीवि पत्रकार महासंघका अध्यक्ष सन्तोष पौडेल सहितका सञ्चारकर्मीहरूकाे उपस्थिति रहेको थियो ।
महोत्तरी,२७ गते वैशाख ।
बलवा । महोत्तरी जिल्लाको बलबा नगरपालिकामा आज शनिबार सम्पन्न झण्डा मेला पूजाको विसर्जन कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको विशेष उपस्थिति रहेको थियो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको झण्डा मेला बलबा नगरपालिकाको परम्परागत चाड हो, जसमा प्रत्येक वर्ष हजारौं भक्तजन सहभागी हुन्छन् । पूजाको विसर्जन समारोहमा स्थानीयबासी, विभिन्न जातीय तथा धार्मिक समूहका अगुवाहरू, जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेकाे थियोे ।

मन्त्री भण्डारीले समारोहलाई सम्बोधन गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरूले समुदायमा एकता र सद्भाव कायम गर्न सहयोग गर्ने बताउनु भएकाे छ । उहाँले धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको र यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सांस्कृतिक झाँकी, भजन कीर्तन, तथा पारम्परिक वाद्ययन्त्रसहितको शोभा यात्रा पनि प्रदर्शन गरिएको थियो ।
झण्डा मेला विसर्जन समारोह शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी गराइएको हाे ।
शैलेश गुप्ता, २७ गते वैशाख ।
पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ स्थित रहेको भेद्राहामाई मन्दिरमा माटों पार्क निर्माणको लागी आज जन्मत पार्टीको पार्टी अध्यक्ष तथा माननीय सांसद डा. सिके राउतले मधेश प्रदेश सरकारको मुख्य मन्त्री सतिश कुमार सिंह तथा पोखरिया नगरपालिकाको मेयर प्रदुमन प्रसाद चौहानले एक कार्यक्रमका बिच संयुक्त शिलान्यास गरेका हुन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मधेश प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको यो पार्कको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चार बिघा क्षेत्रफलमा फैलिने यो पार्क जनमत पार्टीको विशेष परियोजना हो, जहाँ मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ । डा. राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई यस पार्कमा स्थान दिइने डा. राउतले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। पार्क निर्माण पछि यसले पर्यटकीय आकर्षण बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

माटो पार्क निर्माणको शिलन्यास कार्यक्रम पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भयको कार्यक्रमको प्रमुख अतिथि जन्मत पार्टीका पार्टी अध्यक्ष तथा माननीय सांसद डा. सि के राउत, विशिष्ठ अतिथि मधेश प्रदेश सरकारको मुख्य मंत्री छतीश कुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह ,उप प्रमुख रूबी कुमारी ठाकुर, पूर्व माननीय सांसद हरिनारायण प्रसाद रौनियार, वडा अध्यक्ष लक्ष्मण साह कानु , किशोरी साह तेली, नौशाद आलम, भगवान प्रसाद कुर्मी , प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सिंह नगर प्रहरी इंचार्ज दिनेश प्रसाद चौहान जिल्ला वन कार्यालय विरगन्ज पर्साका कर्मचारी लगाएत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
बज्जिकाञ्चल संवाददाता,सर्लाही,२७ गते वैशाख । सर्लाही । कुशवाहा बुद्धिजीवी सेवा समाज, जिल्ला समन्वय समितिको आयोजनामा शनिबार एक भव्य भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समिति अध्यक्ष राम विश्वास कुशवाहाको अध्यक्षतामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रुपमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सचिव भरत महतोको सम्मान गरिएको थियो। बाल्यकालदेखि नै मातापिता, दिनदुःखीको सेवा तथा कुशवाहा समाजको समर्पित सेवामा अग्रसर रहँदै आएका महतो हाल नेपाल सरकारको निजामती सेवामा सहायक प्रशासन अधिकृत पदमा सिफारिसमा परेका छन्। यस योगदानको उच्च मूल्यांकन गर्दै बुद्धिजीवी समाजले उनलाई भव्य सम्मान प्रदान गरेको हो।
कार्यक्रमको स्वागत मन्तव्य बुद्धिजीवी समाज सर्लाहीका सचिव तथा प्रधानाध्यापक जवाहर लाल कुशवाहाले दिनुभएको थियो। कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका अध्यक्ष लक्ष्मण महतो, बुद्धिजीवी सल्लाहकार समिति संयोजक रामचन्द्र कुशवाहा, समाज सचिव तथा प्राध्यापक वीरेन्द्र कुशवाहा, निवर्तमान अध्यक्ष कपिलेश्वर कुशवाहालगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बुद्धिजीवी समाजका उपाध्यक्ष आशादेवी, उपाध्यक्ष श्याम महतो, लेखा अधिकृत तथा कोषाध्यक्ष सीकिन्द्र कुशवाहा, सहसचिव जितेन्द्र महतो, समिति सदस्य तथा समाजसेवी पवन कुशवाहा, शिक्षक चन्द्र भुषण कुशवाहा, दिव्या कुशवाहा, सन्तलाल महतो, सविता कुशवाहा, हरिपुर नगर अध्यक्ष बिकाउ महतो, धनकौल नपा अध्यक्ष मदन कुशवाहा र बरहथवा नपा अध्यक्ष राम किसुन महतोलगायतले आ–आफ्नो सान्दर्भिक मन्तव्य राख्दै कार्यक्रममा जीवन्तता थपेका थिए।
उक्त अवसरमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय क्यालेन्डर विमोचन गरिएको थियो। साथै निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमपश्चात बुद्धिजीवी समाजको बैठकसमेत सम्पन्न भएको थियो। बैठकको प्रस्ताव नम्बर ३ अन्तर्गत, नेपाली कांग्रेसका निवर्तमान उप-प्रधानपञ्च तथा वरिष्ठ समाजसेवी स्व. सुखदेव महतो कुशवाहाको नाममा बनाइएको सालिकको निर्माण सम्पन्न भएको जानकारी गराइएको थियो। साथै “शहीद सुखदेव कुशवाहा प्रतिष्ठान” दर्ता भई सञ्चालनको चरणमा पुगेको घोषणा गरिएको थियो। स्व. कुशवाहाको योगदानको स्मरण गर्दै उनका सुपुत्र पिताम्बर कुशवाहा र सम्पूर्ण परिवारलाई उपस्थितले ताली बजाउँदै धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,२७ गते वैशाख ।
रौतहट । गौर नगरपालिका अन्तर्गत सबगढामा आज आम जनता पार्टी (आजपा) द्वारा आयोजित वार्ड भेला भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले सामाजिक न्याय र जनताको अधिकारका सवालमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

भेलाले शून्य कर प्रणालीको कार्यान्वयन र निःशुल्क बिजुली तथा पानीको पहुँच सुनिश्चित गर्न संघर्ष गर्ने घोषणा गरेको छ । साथै, भेलाले ३५ सदस्यीय नयाँ वार्ड कमिटी गठन गर्दै सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकेको छ ।

कार्यक्रममा आजपा रौतहट जिल्ला अध्यक्ष नरेश तुराहा, युवा नेता विवेक साह र रवीन्द्र यादवको विशेष उपस्थिति रहेको थियो । नेताहरूले आगामी दिनमा पार्टीलाई जनमुखी र परिवर्तनमुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए ।
नयाँ कमिटीका सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै आयोजकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।