जनकपुर । आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ । चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको हो ।
सार्वजनिक गरेको बजेटमा शिक्षा, रोजगारी, कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । आइतबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल कुमार यादवले समाजको आधारभूत आवश्यकता र दीर्घकालीन विकास लक्ष्यलाई मध्यनजर गर्दै विभिन्न मन्त्रालयका लागि उल्लेख्य बजेट विनियोजन गरिएको जानकारी दिए ।
शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयतर्फ ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले गुणस्तरीय शिक्षा, सांस्कृतिक संरक्षण, र युवालाई खेल र नवप्रवर्तनमा अभिप्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
मधेशको इतिहास, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्तरीमा मधेश सांस्कृतिक ग्राम निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने सरकारको विश्वास छ । कृषि मन्त्रालयतर्फ २ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण र उत्पादन अभिवृद्धिमा बजेट केन्द्रित गरिएको छ । वन तथा वातावरण मन्त्रालयतर्फ २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ । वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा बजेट लाग्नेछ ।
उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ ३ अर्ब ८ करोड ७१ हजार रुपैयाँ छुट्याइएको छ । यसले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनलाई बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुर्याउने अपेक्षा गरिएको छ । श्रम तथा यातायात मन्त्रालयतर्फ ५७ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । सरकारले स्वरोजगारलाई प्रोत्साहित गर्न ‘हात–हातमा सवारी, घर–घरमा रोजगारी’ भन्ने कार्यक्रम सञ्चालनमा ल्याउनेछ । विशेषगरी शिक्षा, कृषि र स्वरोजगारमुखी कार्यक्रमले मधेशको स्थानीय अर्थतन्त्रलाई सबल बनाउने सरकारको विश्वास छ । आर्थिक न्यूज
बज्जिकाञ्चल संवाददाता,राैतहट,०१ गते असार ।रौतहट जिल्लाको गरुडा नगरपालिका–१ जयनगरमा आइतवार बिहान परेको चट्याङले एक जनाको ज्यान लिएको छ । बिहानको वर्षासँगै परेको चट्याङले बाख्रा खोल्न बाहिर गएका ५६ वर्षीय सियाराम साह बनियालाई चपेटामा पार्दा घाइते भएका थिए ।
घाइते अवस्थामा तत्कालै प्रादेशिक अस्पताल गौर पुर्याइएका साहको उपचारको क्रममा बिहान १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।
पछिल्ला केही दिनदेखि जारी भीषण गर्मीले जनजीवन प्रभावित भइरहेका बेला आइतवार परेको वर्षाले सर्वसाधारणलाई राहत दिएको भए पनि चट्याङका कारण एक परिवारमा भने शोक छाएको छ ।
प्राकृतिक विपत्तिबाट हुने यस्ता घटनाले सावधानी अपनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीय निकायले नागरिकहरूलाई मौसमको जोखिमपूर्ण अवस्थामा सतर्क रहन आग्रह गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,०१ गते असार ।
रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । उपसचिव डा. श्रवण कुमार साहले आइतबार एक औपचारिक समारोहबीच कार्यभार सम्हालेका हुन् । नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख रत्न लामाले उनलाई खादा, माला र टीका अर्पण गर्दै शुभकामना सहित स्वागत गरेका थिए ।
समारोहमा बोल्दै नगर प्रमुख चौधरीले लामो समयदेखि प्रशासकीय अधिकृतको अभावका कारण पालिकाका विभिन्न कामहरू प्रभावित भएको जनाउँदै भने, “डा. साहको आगमनसँगै नगरपालिकाको प्रशासनिक गति फेरि सक्रिय हुनेछ भन्ने हाम्रो आशा छ।”
चौधरीले पालिकाका बाँकी विकास योजना सम्पन्न गर्न र जनसेवा प्रवाहलाई प्रभावकारी बनाउन डा. साहसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए । उनका अनुसार पालिकामा प्रशासनिक स्थायित्व र सुशासन स्थापना गर्न अहिले उपयुक्त घडी हो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको सरुवापछि गुजरा नगरपालिका केही समयदेखि नेतृत्वविहीन रहँदै आएको थियो । जसले आर्थिक र विकास गतिविधिमा असर पारेको थियो ।
पदभार ग्रहणपछि डा. साहले प्रतिक्रिया दिँदै भने, “मैले जिम्मेवारीको गम्भीरता बुझेको छु । सेवा प्रवाहमा ढिलाइ नहोस् भनेर म पूर्ण पारदर्शिता, समयपालना र उत्तरदायित्वमा काम गर्नेछु ।”
डा. साहको अनुभव र नेतृत्वले गुजरा नगरपालिकालाई सुशासन र समावेशी विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०१ गते असार ।
रौतहटकाे राजपुर नगरपालिकाले बजेट ल्याएको छ । आईतवार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । राजपुर स्थित कृषि तथा पशुपंछि सेवा केन्द्रमा नगर प्रमुख डा.राजिक आलमकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे ।
नगरसभाकाे ९ अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५७ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर राजपुर नगरपालिकाले साे समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न गरेर बजेट ल्याउनेमा पहिलो पालिका बनेकाे छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट राजपुर नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।

राजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ५३ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जिल्लामै पहिलोपटक ९ औं नगरसभाबाट बजेट प्रस्तुत गर्दै नगर प्रमुख डा. आलमका अनुसार बजेट निर्माण सीमित स्रोत साधनबीच गरिए पनि शिक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ ।

“प्रत्येक वडामा एउटा स्मार्ट विद्यालय स्थापना, बिद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता, नगरका निरक्षर नागरिकको तथ्यांक संकलन गरी साक्षरता कक्षा सञ्चालन, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनालगायतका योजना प्राथमिकतामा परेका छन्,” डा. आलमले भन्नुभयो ।
बजेट विवरण अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँट ११ करोड ४७ लाख,वित्तीय समानीकरण अनुदान ११ करोड ३९ लाख,सशर्त अनुदान २६ करोड ४२ लाख,
,विशेष अनुदान १ करोड ६४ लाख,समपूरक अनुदान २ करोड ८९ लाख रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट राजस्व बाँडफाँट ८० लाख समानीकरण अनुदान ७७ लाख ७८ हजार,सशर्त अनुदान ८० लाख,विशेष अनुदान ३० लाख,समपूरक अनुदान २० लाख रहेको छ ।

त्यसैगरी आन्तरिक आम्दानी ८५ लाख रुपैयाँ रहेको छ । प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार यो बजेटले नगरको समग्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा समावेश योजनाहरू सम्पादन गर्न कार्ययोजना निर्माण गरी समयमै कार्यान्वयन गरिनेछ ।”
राजपुर नगरपालिकाकाे प्राथमिकतामा परेका अन्य कार्यक्रमहरू प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना,मुख्य सडक कालोपत्रे, सहायक सडक पक्की ढलान,घरघरमा एउटा बिरुवा अनिवार्य रूपमा लगाउने अभियान,बेरोजगारलाई सीपमूलक तालिम र न्यून ब्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगारको व्यवस्था
रंगशाला निर्माण तथा प्रत्येक वडामा सामुदायिक मेलमिलाप केन्द्र सञ्चालन रहेको छ ।
त्यस्तै हालको बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गर्दै थप वडामा विस्तार,नगर सेवा मोबाइल एप समयानुकूल अद्यावधिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण रहेको छ । नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिकालाई समावेशी, आत्मनिर्भर र जनमुखी बनाउने उद्देश्यले बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले सबै योजनाहरू नागरिकसँग सहकार्यमा कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
साे अवसरमा वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

काठमाडौं, ३० गते जेठ ।
मित्र राष्ट्र भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले समवेदना व्यक्त गरेका छन् ।
अध्यक्ष ठाकुरको हस्ताक्षरसहित पार्टीले शुक्रबार जारी गरेको प्रेस–विज्ञप्तिमा अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाजमा सवार २४२ यात्रु सवार एयर इन्डियाको विमानमा दुर्घटनामापरी २४१ जनाले ज्यान गुमाएको खबरले स्तब्ध बनाएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, उक्त दुर्घटनाप्रति लोसपा नेपाल गहिरो दुःख व्यक्त गर्दछ साथै दुर्घटनामापरी घाइते भएकाको शिघ्र स्वास्थ्यलाभको कामनासहित शोकाकुल परिवारजनप्रति पार्टी र म आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।
विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२९ गते जेठ ।
रौतहटको कटहरिया नगरपालिकामा पत्रकारहरूमाथि दुर्व्यवहार र कुटपिट भएको घटनाप्रति प्रेस चौतारी नेपाल, रौतहट शाखाले कडा आपत्ति जनाएको छ । नगरपालिकामा देखिएको खानेपानी समस्यासम्बन्धी सार्वजनिक टिप्पणी गरेका पत्रकार रविन्द्र प्रजापति र सागर ठाकुरमाथि कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले अपमानजनक व्यवहार गरेको भन्दै प्रेस चौतारीले प्रेस विज्ञप्ति जारी गरी विरोध जनाएको हो ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार मेयर जयसवालले पत्रकार प्रजापतिलाई गाली-बेइज्जती गरेका थिए भने अर्का पत्रकार सागर ठाकुरमाथि शारीरिक आक्रमणसमेत गरेका थिए । प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ ।
“जनताको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीजस्तो संवेदनशील विषयमा प्रश्न उठाउँदा त्यसको उत्तर कुटपिट र गालीमार्फत दिनु अस्वीकार्य छ,” प्रेस चौतारीका अध्यक्ष अशोक कुमार पहाडीले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रेस चौतारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई आग्रह समेत गरेको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ २९ गते ।
पत्रकारिता क्षेत्रलाई स्तब्ध पार्ने एक आपराधिक घटना रौतहट जिल्लाको कटहरिया नगरपालिकामा घटेको छ । कटहरिया म्यूजिकल एफ.एम.का समाचारवाचक तथा सागर संगम मिडिया प्रा.लि.का अध्यक्ष सागर संगम ठाकुर र सञ्चारकर्मी रविन्द्र प्रजापतीमाथि बिहीबार साँझ संघातिक हमला भएको हो ।
प्राप्त जानकारीअनुसार, खानेपानीको वास्तविकता सार्वजनिक गरेका कारण र सामाजिक सञ्जालमा व्यक्त विचारका लागि उनीहरूलाई कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले छलफलको बहानामा त्रिशक्ति बोर्डिङ स्कुलको प्राङ्गणमा बोलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको हो । यस घटनालाई पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला आक्रमणका रूपमा लिइएको छ ।
घटनापछि गम्भीर घाइते भएका पत्रकार ठाकुरको प्रारम्भिक उपचार गरुडा स्थित बेटर मल्टिस्पेसलिस्ट अस्पतालमा गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । अर्का सञ्चारकर्मी प्रजापतीलाई पनि सामान्य चाेटपटक लागेको छ ।
घटनाको सर्वत्र निन्दा भइरहेको छ । सामाजिक सञ्जालमा शीघ्र स्वास्थ्य लाभको कामना र दोषीमाथि कारबाही होस, पत्रकारिताको अधिकार लगायतका ह्यासट्याग प्रयोग गरी नागरिक, पत्रकार र सामाजिक अभियन्ताहरूले दोषीमाथि तुरुन्त कानुनी कारबाहीको माग गरिरहेका छन् ।
यस आक्रमणलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर संकटको रूपमा लिइँदैछ । पीडित पक्षले दोषीहरूलाई पहिचान गरी तत्काल कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
पत्रकारिता कुनै अपराध होइन, यो समाजको ऐना हो ।
यस प्रकारको हिंसात्मक घटना दोहोरिन नदिन सम्पूर्ण पत्रकार जगत, नागरिक समाज र राज्य निकाय एकजुट हुन आवश्यक देखिएको छ ।
आरके श्रीवास्तव,राैतहट,२८ गते जेठ ।
रौतहटको यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिक लुटपाट गर्न खोज्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०८२ साल जेठ २८ गते राति करिब १:३० बजे मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाइकलमा सवार दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी ३५ वर्षीय कृष्णमणि झालाई ७/८ जना अपरिचित व्यक्तिहरुले रोकेर लुटपाट प्रयास गरेका थिए ।

प्रहरीलाई घटनाबारे सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनास्थल पुगेर झालाई सकुशल उद्धार गरेको थियो । घटनामा संलग्न २२ वर्षीय मुकेश महतो र २० वर्षीय सिताराम महतोलाई नियन्त्रणमा लिइएको छ । हाल पक्राउ परेका दुवै युवामाथि आवश्यक अनुसन्धान भइरहेको र अन्य फरार व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको राैतहट प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २८ गते ।
रौतहटकाे गरुडा नगरपालिका–८ स्थित बिर्ता चौक नजिक मस्जिदको छेउमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि एक आपराधिक समूहले संघातिक आक्रमण गरेको छ । शुक्रबार साँझ ६:३० बजे भएको उक्त घटनाप्रति जसपा, मधेस प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको कडा भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । “यस्तो आपराधिक गतिविधिले लोकतान्त्रिक राजनीतिमा खलल पुर्याउने खतरा उत्पन्न भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “संबन्धित निकायले यथाशीघ्र दोषी पहिचान गरी कानूनी दायरामा ल्याउनु पर्छ।” यस घटनाले स्थानीयस्तरमा त्रासको वातावरण सिर्जना भएको छ भने सुरक्षाको सवालमा गम्भीर प्रश्न उठेको जनगुनासो छ। प्रहरी प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।
आरके श्रीवास्तव,गरूडा,२७ गते जेठ ।
राैतहटकाे माैलापुर नगरपालपका वडा नम्बर ६ पथरास्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा वि.स. २०७३ सालदेखि सञ्चालनमा रहेको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्ग कार्यक्रमले प्राविधिक शिक्षामा नयाँ उचाइ लिएको छ ।
नेपाल सरकारको “प्रत्येक पालिकामा एउटा प्राविधिक धार” नीति अनुरूप सञ्चालनमा आएको उक्त कार्यक्रम अहिले सशक्त रूपमा अघि बढिरहेको छ । हाल चालू शैक्षिक सत्रमा ४८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ र ९ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई इन्ट्रान्स परीक्षामार्फत नामाङ्कन गरिन्छ ।
चार वर्षको अध्ययन पूरा गरेपछि विद्यार्थीलाई नेपाल सरकारबाट प्रमाणित डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्गको प्रमाणपत्र प्रदान गरिन्छ । विद्यालयका प्रधानाध्यापक राजेश कुमार सिंहका अनुसार, “विद्यार्थीहरूलाई अध्ययनका क्रममा विभिन्न सरकारी तथा निजी कार्यालयहरूमा प्राविधिक अवलोकनका लागि पनि लैजानुका साथै, उनीहरूलाई व्यवहारिक ज्ञान दिइँदैछ।” उनले थपे, “अध्ययनका लागि २० वटा ल्यापटप र ५० वटा डेस्कटप कम्प्युटर छन्, साथै स्मार्टबोर्डमार्फत शिक्षण प्रक्रिया सञ्चालन गरिन्छ ।
” विद्यालयमा प्राविधिक धारका लागि ९ जना दक्ष शिक्षक कार्यरत छन् । तीमध्ये एकजना, शिक्षक लखिन्द्र यादवका अनुसार, “विद्यार्थीहरूमा कम्प्युटर सम्बन्धी प्राविधिक दक्षता अभिवृद्धिमा निरन्तर ध्यान दिइँदैछ ।” विद्यालय सञ्चालनमा राजनीतिक हस्तक्षेप हटाउँदै सहकार्य र समर्पणका साथ अघि बढेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवले भने, “हामीले राजनीतिक गतिरोध अन्त्य गरी विद्यालयमा प्राविधिक शिक्षाको स्तर उकास्न प्राथमिकता दिएका छौं । शिक्षामा गुणस्तर ल्याउने हाम्रो मुख्य उद्देश्य हो ।
” अर्कोतर्फ, लेखापाल भगत साहले जानकारी गराएअनुसार, “नेपाल सरकारबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीका लागि प्रत्येक वर्ष १२ लाख रुपैयाँ बराबरको रकम बजेटस्वरूप प्राप्त हुन्छ ।
अबदेखि त्यो रकम चार वर्षका लागि कूल १२ हजार विद्यार्थी खातामा सिधै पठाउने व्यवस्था गरिएको छ।” श्री मावि पथरा बुधरामको यो प्राविधिक पहलले ग्रामीण क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षालाई टेवा पुर्याइरहेको छ ।