आरके श्रीवास्तव,राैतहट,०४ गते असार ।
अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) र दुर्गाभगवती गाउँपालिका रौतहटको संयुक्त आयोजनामा आज पिपरा भलोहिया स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा एक दिवसीय योग शिविर सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस, मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, समाजका अगुवा, नागरिक समाजका सदस्यहरू, विद्यालयका शिक्षक-विद्यार्थी लगायत ४५० भन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

महावाणिज्यदूत देवी सहाय मिनाले उद्घाटन मन्तव्य दिँदै योगले व्यक्तिगत स्वास्थ्य मात्र होइन, वातावरणीय सन्तुलनमा समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो । वहाँले सन् २०१४ मा नेपाल लगायतका १७७ देशले संयुक्त राष्ट्रसंघमा सहप्रस्ताव पेश गरी योग दिवस मनाउने सहमति जनाएको स्मरण गराउँदै “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने यस वर्षको मूल नाराको महत्व बारेमा समेत जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री यादवले योगले मानिसको जीवनलाई स्वस्थ र सुखी बनाउने बताउँदै दैनिक योग अभ्यासको आवश्यकता औंल्याउनुभयो । नेता कृष्ण प्रसाद यादवले आजको जीवनशैलीमा बढ्दो आलस्यपनले स्वास्थ्य समस्या बढाएको उल्लेख गर्दै दीर्घायु र स्वस्थ जीवनको लागि योग अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष शम्भु सिंहले विद्यार्थीहरूलाई मानसिक सन्तुलन र अध्ययनमा एकाग्रता कायम राख्न दैनिक योगलाई जीवनशैलीमा समावेश गर्न सुझाव दिनुभयो ।

उक्त विद्यालयको एक भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको स्मरण गर्दै, कार्यक्रमले नेपाल-भारत विकास साझेदारीको प्रतीकस्वरूप थप सन्देश दिएको आयोजकहरूले जनाएका छन् ।
महावाणिज्य दूतावास, बीरगंजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू र सहभागीहरूलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
आरके श्रीवास्तव,गरूडा,०४ गते जेठ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–२, पिपरा भलोहिया स्थित रहेको श्री सरस्वती माविमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ । भारतको महावाणिज्य दूतावास, बिरगंज (नेपाल) र दुर्गाभगवती गाउँपालिकाको संयुक्त सहकार्यमा आयोजित यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री कृष्णा यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवको सहभागिता रहेको थियो ।
अर्थमन्त्री यादवले कार्यक्रममा मन्तव्य दिंदै योगको महत्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, “योग केवल शारीरिक अभ्यास नभई समग्र जीवनशैली परिवर्तनको साधन हो । यसले मानसिक शान्ति, अनुशासन र आत्मबल प्रदान गर्दछ । प्रदेश सरकार स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्दै योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने नीति लिइरहेको छ।”
यादवले विद्यालयस्तरबाट नै योग शिक्षाको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँगाउँमा स्वास्थ्य–सचेतना फैलाउन सबै तहका सरकार तथा समुदायलाई सहकार्यमा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का,राैतहट प्रहरी प्रमुख उपरीक्षक नेत्रमणि गिरी,भारतका महावाणिज्यदूत देवी सहाय मीणा,प्रदेशसभा सदस्य नागेन्द्र शाह, गाउँपालिकाका पूर्व अध्यक्ष अरुण शाह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष प्रधुम्न चौधरी, सुरेश चौधरी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष शम्भु सिंहले कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै यति विशिष्ट अतिथिहरूको उपस्थिति आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूलाई विभिन्न योग आसनहरूको अभ्यास गराइएको थियो भने पतञ्जलि, युनिलिभर नेपाल लगायत विभिन्न संस्थाहरूले कार्यक्रमलाई सहयोग गरेका थिए । आयोजकहरूका अनुसार, यस कार्यक्रमले स्थानीय तहमा योगप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
आरके श्रीवास्तव,राैतहट,०४ गते असार ।
बाराकाे करैयामाई गाउँपालिकाले बजेट ल्याएको छ । बुधबार करैयामाई गाउँपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । गाउँपालिकाकाे सभाकक्षमा बजेट अधिवेशन बाेलाईएकाे थियाे ।

नगरप्रमुख शम्भु प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न भएको नगरसभामा विशिष्ट अतिथिकाे रूपमा उपाध्यक्ष सुनैना कुमारी चाैधरी रहेकी थिईन् ।
गाउँपालिकाले १७ अाैं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४३ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर साे गाउँपालिकाले निर्धारित समय अगाडि नै गाउँसभा गरेको हाे ।
धेरै उत्साहका साथ सम्पन्न भएकाे गाउँसभा बाट करैयामाई गाउँपालिकाले जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।
गाउँपालिकाकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँकाे बजेट पारित गरिएकाे प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महताेले जानकारी गराएका हुन् ।
यस वर्ष शिक्षा, स्वास्थ्य,कृषि,भौतिक पुर्वाधार निर्माण कार्य लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको बताइएको हाे ।

साे गाउँसभामा सबै वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू,पत्रकार, सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
आरके श्रीवास्तव, रौतहट, ०३ असार ।
रौतहटको मौलापुर नगरपालिकाको सहकार्यमा अडुवा खोलाबाट सञ्चालित वर्षौंदेखि जिर्ण अवस्थामा रहेको सोनरनिया–पथरा बुधराम महाकारसम्मको कुलोको सरसफाइ कार्य भईरहेकाे छ । कुलोको सफाइपछि सिँचाइमा सहजता आएपछि स्थानीय कृषकहरूमा उत्साह छाएको छ ।
यस ऐतिहासिक कुलो सरसफाइ कार्यमा नेतृत्व प्रदान गर्ने मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना साहप्रति स्थानीयले विशेष आभार प्रकट गरेका छन् ।
श्री मावि पथरा बुधरामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक यादवका अनुसार नगरपालिकाको समन्वय र सहयोगले स्थानीय कृषकहरूलाई ठूलो राहत मिलेको छ। “विगतमा कुलो अवरुद्ध हुँदा खेती गर्न गाह्रो हुन्थ्यो, अहिले पानी सहज रूपमा आउन थालेको छ,” उनले बताएका छन् ।

मावि पथराका शिक्षक लखिन्द्र यादवले कुलो सफा भएपछि वातावरण पनि सफा र स्वच्छ भएको अनुभव सुनाए। “शिक्षालय नजिकैको क्षेत्रमा कुलो सरसफाइ भएपछि दुर्गन्ध हटेको छ,” उनले भने।
त्यस्तै, किसान रामअधार यादवले कुलोमा पानी नहुँदा पहिले खेत सुक्खा पर्ने गरेको स्मरण गर्दै भने, “अब त खेतमै पानी आएको छ, समयमै रोपाइँ गर्न पाएका छौं, नगरप्रमुखलाई धन्यवाद छ।”
किसान लालमहमद अन्सारीले कृषिको आधार सिँचाइ नै भएको बताउँदै भने, “हामी किसानका लागि कुलो जीवनजस्तै हो। नगरप्रमुखले यो कुरा बुझेर काम गर्नु भयो, धेरै खुसी लाग्यो।”
किसान हरिन्द्र ठाकुरले नगरप्रमुख साहको नेतृत्वमा भएका यस्ता व्यवहारिक कामहरूले जनताको मन जितेको बताए । “हामीलाई हेरेर गरिने कामले मात्र नेताको मूल्य थाहा हुन्छ,” उनले भने, “अबको विकास र जनसेवा यस्तै होस् भन्ने चाहन्छौं।”
स्थानीयवासीहरूले नगरप्रमुख रिना साहको नेतृत्वमा विकास र सेवा प्रवाहमा निरन्तरता आउने विश्वास व्यक्त गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,०३ गते असार ।
रौतहटको गुजरा नगरपालिकाको विशेष नगरसभा आज मंगलबारका दिन सम्पन्न हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यप्रति गम्भीर असन्तोष प्रकट गर्दै खेद प्रस्ताव पारित गरेको छ ।
सभाबाट पारित निर्णयअनुसार, नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल कार्यरत रहेका थिए । उनी २०८२ साल वैशाख १७ गते सरुवा भई जनकपुर उपमहानगरपालिकामा खटिएपछि २०८२।०२।११ मा डा.श्रवण कुमार साहलाई गुजरा नगरपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा तोकिएको थियो ।
तर, डा. साह आइतवार असार १ गते मात्र गुजरा नगरपालिकामा हाजिर भएका थिए । दुर्भाग्यवश, सोही दिन मन्त्रालयले उनलाई चन्द्रपुर नगरपालिकामा सरुवा गरेपछि गुजरा नगरपालिका पुनः प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो ।
नगरसभाले यो अवस्थाले नगरपालिकाको दैनिक प्रशासनिक कामकाज, नीति तथा योजना कार्यान्वयन र विकास प्रक्रियामा प्रत्यक्ष असर परेको भन्दै संघीय मन्त्रालयको कदमप्रति खेद व्यक्त गरेको छ ।
सभाबाट पारित निर्णयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अविलम्ब प्रमुख प्रशासकीय अधिकृत खटाउन अनुरोध गरिएको छ । नगर प्रमुख, पदाधिकारी तथा सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थाले जनप्रतिनिधिहरूका प्रयास प्रभावित भएको भन्दै तत्काल व्यवस्थापनको माग गरेका छन् ।
नगरप्रमुख सन्तलाल चौधरीले प्रमुख प्रशासकीय अधिकृतको अभावले नगरको नीति, योजना र बजेट कार्यान्वयन प्रभावित भएको बताउँदै संघीय मन्त्रालयको व्यवस्थापनप्रति प्रश्न उठाएका छन् ।
“विकास प्रक्रिया अवरुद्ध हुनु गम्भीर विषय हो । हामी तत्काल प्रमुख प्रशासकीय अधिकृतको खटाउनको लागि माग गर्छौं,” उनले भने।
आरके श्रीवास्तव,रौतहट,०३ गते असार ।
रौतहटको कटहरिया नगरपालिकाले मंगलबार आफ्नो एघारौं नगरसभा भव्य रूपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सरकारको निर्देशन अनुसार असार १० गते भित्र नीति, कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नगरपालिकाले यो सभा आयोजना गरेको हो । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट प्रस्ताव गरिएको हो ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, शशर्त तथा विशेष अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान र आन्तरिक स्रोतमार्फत संकलन भएको बजेट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, विधुत र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
सभामा सम्बोधन गर्दै मेयर जयसवालले सीमित स्रोतसाधन हुँदाहुँदै पनि नगरले विगत केही वर्षमा रुपान्तरणकारी योजनाहरू कार्यान्वयन गर्दै विकासमा उल्लेखनीय फड्को मारेको बताएका छन् । उनले नगरभित्रका चालु तथा आउँदै गरेका विकास आयोजना, रोजगारी सिर्जना, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य सुधारमा नगरले देखाएको प्रतिबद्धता पनि उल्लेख गरेका छन् ।
सबैको साथ र सहयोग रहने हो भने आफ्नो कार्यकालमै कटहरिया नगरलाई नमुना नगरको रूपमा स्थापित गर्छु,नगरप्रमुख जयसवालले दृढतापूर्वक भनेका छन् ।
बज्जिकाञ्चल संवाददाता,धनुषा,०३ गते असार ।
धनुषा — लोकतान्त्रिक महिला संघको संशोधित विधानअनुसार मोति झा धनुषा जिल्ला संयोजकमा मनोनीत भएकी छिन् । संघका अध्यक्ष मिनु कुमारी ठाकुरले एक विज्ञप्ति जारी गर्दै झालाई मनोनीत गरिएको जानकारी दिँदै उनलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।
अध्यक्ष ठाकुरले विज्ञप्तिमा उल्लेख गरेअनुसार, “देश, मधेश, महिला तथा पार्टीको हितमा मोति झाको कार्यकाल उल्लेखनीय रहने विश्वास लिएको छु।”
संघको नेतृत्वमा महिला सहभागिता सशक्त बनाउने उद्देश्यका साथ गरिएको यो मनोनयनले संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
झा लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहिआएकी छिन्। उनको नियुक्तिले धनुषामा महिला नेतृत्व विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,०३ गते असार ।
कटहरिया । लोकतान्त्रिक महिला संघको संशोधित विधानअनुसार मिना बैठालाई रौतहट जिल्ला संयोजकको रूपमा मनोनयन गरिएको छ । मनोनयनको जानकारी साथ उनलाई संघले औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
संघले मिना बैठाको नेतृत्वमा रौतहट जिल्लामा महिलाको हकहित, सशक्तीकरण तथा लोकतान्त्रिक आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
संघको तर्फबाट जारी सन्देशमा भनिएको छ, “देश, मधेश, महिला तथा पार्टीको हितमा यहाँको कार्यकाल उल्लेखनीय हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ । सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।”
नवनियुक्त संयोजक मिना बैठाले आफ्नो जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्दै महिलाको अधिकार र सहभागितालाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
ओम प्रकाश यादव,असार २ गते, रौतहट।
रौतहटमा आज सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस माधवनारायण नगरपालिका -५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरू नेकपा एकीकृत समाजवादी र नेकपा एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेको बताइएको छ।
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता, कांग्रेसका मधेश प्रदेश सभापति, पूर्व मन्त्री एवं रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सांसद कृष्ण प्रसाद यादवले उनीहरुलाई टिका, माला लगाएर पार्टी प्रवेश गराएका हुन्।
कांग्रेसका मधेश प्रदेश सभापति यादवले नव प्रवेशीहरुलाइ पार्टीमा स्वागत गरेका छन्।
कांग्रेस मधेश प्रदेश सभापति यादवले पार्टीमा आएका नव प्रवेशीहरुलाई आगामी सफल कार्यकालको शुभकामना दिएका थिए।
नेता कृष्ण प्रसाद यादवले प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस निकै पुरानो इतिहास बोकेको ठूलो दल रहेकोले चाहेर पनि कसैले परास्त गर्न नसक्ने बताएका थिए।
अरु दलको कुनै भविष्य नरहेको बताउँदै उनले कांग्रेस पार्टी मात्र देशको स्थायित्व दिन सक्ने भएको हुँदा सबैलाई कांग्रेसमा लाग्नुपर्ने धारणा राखेका थिए।
कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताको विशेष पहलमा उनीहरू विभिन्न दल छाडेर कांग्रेसमा प्रवेश गरेको बुझिएको छ।
राजनीतिमा ठूलो पकड़ भएका र राजनीतिमा ठूलो प्रभाव राख्ने दिगज नेताहरु कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनको लागि मिठुअवा र माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस पार्टी अझै मजबूत भएको कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताएका छन्।
एउटै टोलको सयौं नेता कार्यकर्ताहरुले सामूहिक रूपमै कांग्रेसमा आएकाले आउँदो २०८४ को निर्वाचनमा माधवनारायण नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याउने र बहुमत प्राप्त गर्ने नेता गुप्ताले विश्वास व्यक्त गरेका हुन् ।
कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सचिव मिथलेश मिश्रा लगाएतका वक्ताहरुले देशमा एकमात्र पार्टी नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने भन्दै कांग्रेसमा लाग्न सबैलाई आग्रह गरेका थिए
कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
बज्जिकाञ्चल संवाददाता,रौतहट, २ गते असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले आपराध गरिरहेको बताएका छन् ।
रौतहटको कटहरियामा आज (सोमबार) बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने समयमा मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको बताए ।

‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउबिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसानमारा सरकारलाई किसानको आशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउँने जिम्मेवारी केन्द्रीय सरकारको हो, तर किसानको बारेमा गफ मात्रै दिईरहेको छ मलखाद्य उपलब्ध गराउँन सकेको छैन् ।’
किसानहरु अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘के किसानलाई जिउँदै मार्दा तपाई (ओली)लाई पोलिरहेको छैन् ? किसानको आशुले पोल्छ ।’

किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एकदुई बोरा मल भारतबाट ल्याउदा सीमामा बस्ने प्रहरीले पक्राउँ गरेर बाहुदरी देखाईरहेको टिप्पणी साहले गरे । जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको उनले बताए ।
बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरु नै खुसी देखिएको बताउदै उनले किसान, सर्वसधारणहरु निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे ।
यस्तै, उनले लुटकारी दलतन्त्रका बिरुद्धमा न्यायप्रेमी जनता एवं दलहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलिय सिण्डीकेट लागु गरेर लुट मचाएको आरोप साहले लगाए । लुटकारी दलतन्त्रको बिरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धरासायी बन्दै जाने उनले बताए ।
बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउँबिजन उपलब्ध गराउँन संघर्ष गर्ने निष्कर्ष निकालेको छ । आजपा रौतहट ईन्चार्य धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।