काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरस्थित सव–डिभिजन वन कार्यालयका प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको जाँच गरी कागजातसहित फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा यादवले काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै आयोगले १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
शिवनाथ कुशवाहा, महोत्तरी, साउन १८ अगते ।
साउन महिनाको सुरुवातसँगै महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित पौराणिक टुटेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालु भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ।
देशका विभिन्न जिल्लाबाट आएका काँवरिया भक्तहरूले ‘बोल बम’को जयघोष गर्दै पवित्र जल अर्पण गरिरहेका छन्। भक्तजनको निरन्तर आगमनसँगै टुटेश्वर क्षेत्र यतिबेला शिवभक्तिमय वातावरणले भरिएको छ।
नेपालको ‘बाबाधाम’का रूपमा समेत परिचित टुटेश्वरनाथ महादेव मन्दिर साउन महिनामा विशेष धार्मिक आस्थाको केन्द्र बन्ने गरेको छ। यहाँ भगवान् शिवको दर्शन तथा जलाभिषेकका लागि हरेक सोमबार हजारौँ भक्तजन पुग्ने गरेका छन्।
आस्था, विश्वास र भक्तिको अनुपम संगमका रूपमा परिचित ‘मधेशको कैलास’ टुटेश्वरनाथले यतिबेला धार्मिक पर्यटनलाई समेत टेवा पुर्याउँदै देशभरका श्रद्धालुलाई आकर्षित गरिरहेको छ।
काठमाडौँ । सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले चार स्थानीय तहमा भोली बिहान १० बजेसम्म निषेधाज्ञा कायम राखेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १८ गते बिहान १० बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ ।
प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ ।
यी चार स्थानीय तहबाहेक सुनसरी जिल्लाका अन्य सबै स्थानबाट निषेधाज्ञा हटाइएको छ ।
प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा स्थिति सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौंको आलोकनगरस्थित एक सभाहलमा सम्पन्न भएको छ।
प्रतिष्ठानकी अध्यक्ष तथा मधेश आन्दोलनका शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश आन्दोलनदेखि हालसम्मका उपलब्धि, त्यसको राजनीतिक प्रभाव तथा वर्तमान चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो।
वक्ताहरूले मधेश आन्दोलनले देशको राजनीतिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै पनि आन्दोलनका मूल उद्देश्यहरू अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व र मधेशी समुदायका अधिकार सुनिश्चित गर्ने विषयमा प्रगति भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनीहरूको धारणा थियो।
अन्तरक्रियामा पछिल्लो समय मधेशमा देखिएको राजनीतिक विभाजन, नेतृत्व संकट, सामाजिक ध्रुवीकरण तथा युवापुस्तामा बढ्दो निराशाका विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले मधेशको भविष्य सुधारका लागि साझा दृष्टिकोण, स्पष्ट नीति र प्रभावकारी नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा मधेशको समग्र विकासका लागि शिक्षा, रोजगारी, सुशासन, आर्थिक सशक्तीकरण, सामाजिक एकता र युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा पनि जोड दिइयो। विभिन्न जिल्लाबाट आएका सामाजिक अभियन्ता, युवा, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले सहकार्य र निरन्तर संवादको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमको समापनमा अध्यक्ष ममता चौधरीले शहीदहरूको त्याग र बलिदानको स्मरण गर्दै उनीहरूको सपना अझै अधुरो रहेको बताइन्। उनले न्याय, समानता र अधिकार सुनिश्चित गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै भावी पुस्ताले पनि शहीदहरूको योगदानलाई सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन्।
सहभागीहरूले शहीदहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूले देखाएको मार्गअनुसार समानता, न्याय र सामाजिक परिवर्तनको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। यस्ता कार्यक्रमले साझा मुद्दामा गम्भीर बहस सिर्जना गरी नीति निर्माण र जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा पूर्व प्रहरी अधिकृत, पूर्व संविधानसभा सदस्य, पूर्व प्रदेश सांसद, विभिन्न सामाजिक अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो।
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि खुकुलो पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषणपछि साउन १७ गते बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यू खुकुलो पारिएको जनाएको हो ।
प्रशासनका अनुसार स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यू अझ खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः सूचना जारी गरिनेछ ।
प्रशासनले गोलबजार क्षेत्र भएर सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक सहजीकरण गर्न पनि आग्रह गरेको छ ।
यस्तै, कर्फ्यू खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति समूह बनाएर भेला नहुन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
सिरहा । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव परिवारलाई हस्तान्तरण गरिएको छ । सिरहाको औरही गाउँपालिका-२ तुलसीपुरस्थित परिवारलाई शनिबार साँझ शव हस्तान्तरण गरिएको हो ।
धरानमा पोस्टमार्टम गरिएका उनको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ ।
गणेशको आजै गागन खोला किनारमा दाहसंस्कार गर्ने तयारी भएको परिवारजनले बताएका छन् ।
बिहीबार भएको प्रदर्शनमा गोली लागेर यादवको निधन भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं, साउन १६ — मधेश मुक्ति अभियानले आफ्नो विस्तारित केन्द्रीय समिति बैठकपछि नयाँ केन्द्रीय समिति तथा पदाधिकारीहरूको नामावली औपचारिक रूपमा सार्वजनिक गरेको छ। अभियानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व टोली घोषणा गरिएको जनाएको हो।
विज्ञप्तिअनुसार बैठकमा संगठनको वर्तमान गतिविधि, संगठनात्मक संरचना, विस्तार रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। केन्द्रीय समिति सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्ने वा केही समयपछि गर्ने विषयमा समेत व्यापक बहस भएको र अन्ततः सर्वसम्मत निर्णयमार्फत नामावली सार्वजनिक गरिएको अभियानले जनाएको छ।
अभियानको नयाँ नेतृत्वमा अश्विनी कुमार केन्द्रीय संयोजक चयन भएका छन्। प्रवीण झा सह–संयोजक तथा मनोज यादव महासचिवको जिम्मेवारीमा छन्। त्यसैगरी नन्दिनी पासवान उपमहासचिव, प्रियांशी महतो सचिव, लक्ष्मण दास सहसचिव, प्रभु साह कोषाध्यक्ष तथा सीमा देवी चौधरी सह–कोषाध्यक्ष बनेका छन्। कुमार भागिरथ प्रवक्ता र दीपक मेहता सह–प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।
विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा सुस्वेत यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सुशांक खतुवे, प्रशिक्षण विभाग प्रमुखमा सागर मिश्रा, नीति तथा अनुसन्धान विभाग प्रमुखमा सविना साह, कानुनी विभाग प्रमुखमा बबिता रजक, युवा विभाग प्रमुखमा पिंटु सिंह, महिला विभाग प्रमुखमा समीक्षा चौधरी थारु, विद्यार्थी विभाग प्रमुखमा गायत्री शाक्य, श्रमिक विभाग प्रमुखमा संग्राम सदा मुसहर, किसान विभाग प्रमुखमा चन्द्र प्रकाश मेहता, सूचना तथा सञ्चार विभाग प्रमुखमा सितेश यादव तथा सांस्कृतिक विभाग प्रमुखमा संजय अधिकारी चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा रामेश्वर राय यादव, महन्थ साह तेली, राजेन्द्र यादव, उपेन्द्र मेहता, अनिल कुमार पाठक, हृदयेन्द पासवान, प्रभास सदा, सरिता चौधरी, दीपिका चौधरी थारु, रामसेवक ठाकुर बरही, चैतन्य कुमार राउत, प्रकाश राउत र पवन नारायण माझी रहेका छन्।
मधेश मुक्ति अभियानले आगामी दिनमा संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै मधेशी समुदायको अधिकार, पहिचान, स्वाभिमान तथा सामाजिक–राजनीतिक मुद्दामा प्रभावकारी ढंगले आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनात्मक एकता, जनसहभागिता र योजनाबद्ध कार्यक्रममार्फत अभियानलाई थप सशक्त बनाउँदै लैजाने लक्ष्य पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
अभियानका अनुसार केन्द्रीय समिति सार्वजनिक हुनु संगठनको संस्थागत विकास, प्रभावकारी नेतृत्व निर्माण तथा आगामी रणनीतिक कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण कदम हो। नवगठित पदाधिकारी, विभागीय प्रमुख तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै अभियानलाई थप सुदृढ बनाउन पनि आह्वान गरिएको छ।
जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशलाई कायम राख्दै सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान केही समयका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीबाट साउन १४ गते जारी गरिएको कर्फ्यू आदेश यथावत् रहनेछ । तर, शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको हो ।
प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।
प्रशासनका अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध ढुवानी गर्ने सवारी र फोहोर संकलन गर्ने सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् ।
यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन वा पुर्याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाण साथमा राखी आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी रहेको कर्फ्यू आदेश हटाएर निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यू आदेश साउन १६ गते बिहान ८: ३० बजेदेखि साँझ ५ बजेसम्म हटाइएको हो ।
कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्र समावेश छन्।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरेको छ ।
बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, संसदीय दलका नेता तथा सांसद, मधेस प्रदेश र सुनसरी–मोरङलगायत सम्बन्धित जिल्लाका नेता सहभागी भएका थिए। मधेस प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष तथा प्रदेश र स्थानीय तहका नेता भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
बैठकले कप्तानगञ्ज घटनापछि सरकारको गैरजिम्मेवार, असंवेदनशील व्यवहार तथा नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेसले घाइतेको निःशुल्क उपचार, उचित व्यवस्थापन तथा तोडफोड र आगजनीबाट क्षति पुगेका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निरन्तर दबाब दिने निर्णय पनि गरेको छ ।
पार्टीले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिने जनाएको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न, घाइते परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।
यस्तै, पार्टीका सबै तहका समितिलाई वडा तहसम्म सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा संवाद तथा सहकार्यको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई युवासँग नियमित छलफल तथा संवाद गर्न पनि भनिएको छ ।
सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी तथा नेताहरूलाई सम्भव भएसम्म आफ्ना जिल्लामा पुगेर समुदाय, घाइते र पीडित परिवारसँग भेटघाट गर्दै सामाजिक सद्भाव कायम गर्न पहल गर्न निर्देशन दिइएको छ ।
कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई घटनासम्बन्धी संवेदनशील विषयमा तथ्य नबुझी सार्वजनिक प्रतिक्रिया नदिन, अफवाह र भ्रामक सूचनाको पछि नलाग्न तथा हिंसा र उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
साथै, पार्टीका कुनै पनि तहका जिम्मेवार व्यक्ति वा सदस्य हिंसात्मक गतिविधिमा संलग्न भएको वा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोल्ने कार्यमा सहभागी भएको पाइए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी