२०८३ बैशाख २२
२०८३ बैशाख २२

 

वीरगन्ज, २४ जेठ

दलित जनप्रतिनिधिहरुको नेतृत्व विकास गराउने उद्देश्यले दलित सरोकार मञ्च कञ्चनरुप नपा–८ सप्तरीको आयोजनामा बिरगंज को राणी सती धर्मशालामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

गत जेठ २२ गते सोमबारका दिन देखि सुरु भएको नेतृत्व विकास तालिम जेठ २४ गते आज सम्पन्न भएको छ।कार्यपालिका सदस्य हरुलाई स्थानीय स्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्यले, दलित कार्यपालिका सदस्यहरुको संजालका पदाधिकारी हरुलाई सो तालिम प्रदान गरिएको हो।

साथै दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुनेञजातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूलाई सो नेतृत्व विकास तालिम प्रदान गरिएको हो।

तालिमबाट स्थानीय तहमा नीति तथा कार्यक्रमको निर्माण कसरी गर्ने,दलितमैत्री बजेट तथा त्यसको कार्यान्वयन कसरी गराउने, नगरपालिकामा हुने हरेक खालका योजना छनौटमा दलित अगुवा र दलित जनप्रतिनिधिको सहभागिता गराउनु पर्ने,हरेक योजना छनौट गर्दा अपनाईने १४ ओटा चरण तथा योजना छनौट गर्दा दलितका योजना प्राथमिकीकरण गर्ने ,छुवाछुत अन्त्यका लागी दलित अगुवा तथा दलित जनप्रतिनिधिहरुले खेल्नु पर्ने भुमिका तथा दलित जनप्रतिनिधिले दलित समाजको नेतृत्व कसरी गर्ने र कार्यपालिका सदस्यहरुको कामकर्तव्य, हक अधिकारको बारेमा विशेष तालिम प्राप्त भएको सो तालिममा सहभागी भएका दलित जनप्रतिनिधिहरले बताएका छन ।

यस्तै प्रशिक्षक सोनेलाल चौधरीले नेपालको दलित आन्दोलनका बिषयमा जानकारी गराउँदै नेतृत्व क्षमतामा विकास नभएसम्म अधिकार प्रयोग गर्न नसकिने बताएका थिए ।

नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै उनीहरुलाई तालिमबाट असल अभ्यास र सिकाई तथा विचारको आदान– प्रदान को लागि हौसला प्रदान गरेको बताए। उक्त नेतृत्व विकास तालिममा रौतहट र सर्लाहीको विभिन्न पालिका गरी २८ जना कार्यपालिका सदस्य र १५ जना दलित अगुवा गरि जम्मा ४३ जनाको सहभागीता रहेको थियो।

तालिममा प्रशिक्षक सोनालाल चौधरी,रघु लामिछाने र दलित सरोकार मञ्च का कार्यकारी निर्देशक भोला पासवानले प्रशिक्षण दिएका थिए।तालिम पश्चात् आयोजक संस्था दलित सरोकार मञ्चले,मधेस प्रदेश सरकारका प्रदेश सभा सदस्य श्याम पटेलको प्रमुख अथितियतामा तालिममा सहभागी सम्पूर्ण जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। प्रमाणपत्र हस्तान्तरण गर्दै प्रदेश सांसद पटेलले आफूले तालिममा प्राप्त गरेको ज्ञान पालिका बैठकहरूमा प्रयोग गरी उपलब्धि हासिल गर्न दलित कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन् ।

उनले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताए । तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन्। मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।

त्यसैगरी दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एक गठ भएर अघि बढ्न सुझाव दिए । उनले यस्ता तालिम कार्यक्रमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हक अधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यक्ता अनुसार सञ्चालन गरिरहेको जानकारी पनि दिए ।

उनको भनाइ थियो जति दलित कार्यपालिका सदस्यहरू सक्रिय हुन सके दलित समुदायले अधिकार पाउने सम्भावना पनि उत्तिकै रहन्छ । कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए

। आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरेका थिए ।

बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेका भनाइ पनि उनीहरूले त्यस अवसरमा राखेका थिए ।

उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरेका थिए । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो ।

यसअघि सप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ । केही समयअघि यही संस्थाद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो ।

यस्तो सञ्जालमार्फत दलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको भनाइ छ । पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैँ लिने प्रतिबद्धतासहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिँदै आफूले सिकेको ज्ञानको भरपुर प्रयोग गर्न सुझाएका थिए।

 

आरके श्रीवास्तव,बज्जिकाञ्चल,जेठ २४ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक वडामा सामुदायिक भवन निर्माण हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत फतुवा गाउँमा सामुदायिक भवन निर्माणको लागि शिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको विशेष पहलमा निर्माण हुने सो भवनको वडा अध्यक्ष रामबिस्वास राय यादव द्वारा सामुदायिक भवनको शिलान्यास गर्ने कार्य गरिएको छ ।

भवन निर्माणसँगै सो स्थानमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालाई आफ्ना गतिविधि सञ्चालन र विवाह, ब्रतबन्ध,पार्टी,गोष्टी लगायतका प्रायोजनमा सहयोग पुग्ने वडा यादवले बताउनु भएको हो ।

 

आरके श्रीवास्तव,चन्द्रपुर,२४ गते जेठ

रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय दुई दिन बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण सो नगरपालिकाको बिद्यालयहरू थप २ दिन बन्द हुने भएको छ । चन्द्रपुर नगरपालिकाले आज( बुधबार) एक सुचना जारी गरि जेठ २६ गते शुक्रबार सम्मका लागी पुनः विद्यालयहरु बन्द रहने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी गराउनु भयो ।

यता जिल्लाको अन्य पालिकाहरुमा गर्मी अत्याधिक भएपछि गत जेठ १९ गतेदेखि २४ गते सम्म सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका थिए । चन्द्रपुर नगरपालिकाले भने दुई दिन अझै बिदा दिईएको छ । गर्मी अत्याधिक बढेकाले विद्यार्थीहरु बेहोस हुन सक्ने देखिएपछि विद्यालयहरु बन्द गराउनु परेको प्रमुख सिग्देलले बताउनु भयो ।

बिधालय खुलेपनि अभिभावकहरू बच्चा पठाउने अवस्था नदेखिएपछि बिधालय बन्द गराउनु परेको उनको भनाइ छ । जिल्ला शिक्षा समन्वय ईकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझ्दा जिल्लाको दुई पालिका गुजरा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले बिहान ९ः३० बजे सम्म पालिका भित्रका बिधालयहरू सञ्चालनमा नै राखेको जानकारी गराए ।

आफूहरूले जिल्लाका सबै पालिकाको नाममा एक हप्ता बिधालय बन्द गर्न परिपत्र गरेको बताए । यदि गर्मीको यस्तै अवस्था रहि रह्यो भने आईतवार विपद व्यवस्थापन समितिको बैठक बसी पुनः बिधालयहरू बन्द गरिने उनले बताए ।

जिल्लामा केही दिनदेखि तापक्रम बढेको छ । ४० डिग्रीदेखि ४३÷४४ डिग्री सम्म तापक्रम मापन गरिएको छ । विगतका बर्षको तुलनामा रौतहटमा तापक्रम अत्याधिक बढेकोले बालबालिका,अशक्त,बृद्ववृद्धाहरुलाई घर बाहिर ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।

 

कृष्ण तिवारी,राैतहट,जेठ २२ गते

ग्रामीण क्षेत्रकाे बिधालय बाट कक्षा ११ काे जाँच दिन पाएपछि बिद्यार्थी उत्साहित भएका छन् । अत्यधिक गर्मीको कारण स्कुलहरु बन्द रहेको समयमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर रौतहटको टेङग्राहामा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । अत्यधिक गर्मीसँगै लु जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको फतुवा बिजय पुर नगरपालिका -४ टेङराहा मावि का प्रधानाध्यापक अनिल यादवले जानकारी दिए ।

उनले भने, अत्यधिक गर्मी र लु बाट बाच्न परिक्षार्थीको स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरेका हौँ ।” परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइन थालिएको हो ।

टेङराहा माबिमा ६२जना विद्यार्थी परीक्षा दि रहेका छन ।राष्ट्रिय परीक्षा बोर्डले असार १५गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा सम्पन्न गर्ने निर्देशन दिनु भएको थियोे । परिक्षा को क्रममा वडा अध्यक्ष सतिश कुमार यादव , बिधालय ब्यवस्थापन समितिको अध्यक्ष जयमङल यादव , पत्रकार , अभिभावक हरुले निरिक्षण तथा अनुगमन गर्नु भएको थियोे ।

 

आरके श्रीवास्तव,गरूडा,जेठ २२ गते

समाजमा हरेक क्रियाकलापमा महिलालाई कमजोर मान्ने गरिन्छ । तर रौतहटको गरूडा नगरपालिका वडा नम्बर ७ भिमडाबरमा रहेको श्री प्राथमिक बिद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको छ । बि.स.२०६६ सालमा स्थापना भएको विद्यालमा स्थापना काल देखि प्रधानाध्यापक रिंकु यादवले विद्यालयको प्राधानाध्यपकका रुपमा काम गर्दै आउनु भएको छ ।

सो विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको हो । बिद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धी, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको समन्वयले विद्यालय नमुना बन्न थालेको छ । प्रधानाध्यापक भए पछि कर्तव्य, जिम्मेवारी र उत्तरदायीत्व धेरै रहेको विद्यालयका प्राधानाध्यापक यादवले बताउनुभयो ।

विद्यालयलाई शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोनात्मक सम्बन्ध मार्फत शिक्षण सिकाई प्रभावकारी बनाउदै लगेको बताउनुभयो । हाल विद्यालयमा प्रअ सहित ३ जना शिक्षक रहेका छन भने जसमा १ जना वालविकास सहजकर्ता र एक जना विद्यालय कर्मचारी रहेको उहाँले बताउनुभयो ।

यस विद्यालयमा भौतिक संरचनाहरु अभाव रहेका कारण सबैभन्दा पहिले भौतिक संरचना निमार्णको काम गर्नुपर्ने उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर पहिले तुलनामा बढाउदै लैजाने बताउनुभयो । विद्यालयमा जम्मा २१९ जना विद्यार्थीले अध्ययन गरिरहेको उहाँको भनाई छ ।

महिलाले नेतृत्व गरेको विद्यालयमा केहि चुनौतिहरु रहेपनि राम्रा परिकल्पनाका साथ अगाडि बढेको बताउनुभयो । विद्यालयलाई बालमैत्रि, नमुना विद्यालय बनाउने आफुहरुको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ । बिधालयमा स्थानीय सरकारको तर्फबाट सहयोगको आवश्यकता रहेको छ । बिधालयमा भौतीक अवस्था परिवर्तन गर्नु पर्ने देखिन्छ । एउटा राम्रो सौचालयको आवश्यकता रहेको छ । त्यसैले यता तर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने देखिन्छ ।

 

राैतहट,जेठ २२ गते ।

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । चन्द्रपुर १ पौराईमा भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यलयका प्रमुख डीएसपी एकनारायण कोइरालाका अनुसार सडक किनारमा रहेको ढुंगामा ठोक्किएर दुर्घटना हुँदा २९ वर्षीय शिशिर माझीको मृत्यु भएको हो ।

मधेश प्रदेश ३–०२६प ९८८२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रहेको ढुंगामा ठोक्किएर दुर्घटना भएको हाे । दुर्घटनामा घाईते भएको माझिको उपचारको क्रममा मृत्यु भएको डिएसपी कोईरालाले बताए ।

 

राैतहट,जेठ २२ गते ।

नेपालमा बज्जिका भाषीको संख्या ११ लाख भन्दा बढी रहेको छ । राष्ट्रिय जनगणना २०७८ बाट बज्जिका मातृभाषा बाेल्नेकाे संख्या ११ लाख ३३ हजार ७ सय ६४ संख्या सहित ३.८९ प्रतिशत कायम हुँदै देशकाे छैठौं लामाे भाषाकाे स्थान हासिल गर्न सफल भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ ।

जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथिली हो । नेपालमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । कार्यालयको विवरणअनुसार नेपालमा तेस्रो सबैभन्दा धेरै बोलिने मातृभाषा भाषा हो । नेपालमा भोजपुरी बोल्नेको संख्या १८ लाख २० हजार ७९५ रहेको छ ।

जुल कूल जनसंख्याको ६.२४ प्रतिशत हुनपुग्छ । त्यस्तै देशको ५.८८ प्रतिशत जनसंख्याले थारू र ४.८८ प्रतिशत जनसंख्याले तामाङ भाषालाई मातृभाषाका रुपमा बोल्छन् । जनगणनाअनुसार तमाङ पछि बढि बाेलिने भाषा बज्जिका नै रहेको छ ।

बज्जिका भाषाका अभियन्ताहरूले बज्जिका भाषासेवी र बज्जिका प्रेमीकाे लागि धेरै खुशिकाे कुरा रहेको र बज्जिकाकाे संरक्षण र विकासकाे लागि अझै जाेड ताेड र उत्साहका साथ लाग्नु पर्ने प्रतिक्रिया दिएका छन् । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

 

राैतहट,जेठ २२ गते

राैतहट ।नेपाली सेना वीरदल गण राैतहटले एक विधालयका विपन्न विधार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेका छन । मध्य पुर्बी पृतना हेड क्वाटरकाे निर्देशन र नम्बर २८ वाहिनी अडडाकाे पहलमा विरदल गण राैतहटले उक्त सामग्री सहयोग गरेको हो।

चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नया बस्ति स्थित जनता आधारभुत विधालयकाे कक्षा ४ र ५ मा अध्ययनरत छात्र छात्रालाई विरदल गणका गणपति गंगा वहादुर विष्टले स्टेसनरी सामाग्री वितरण गरेको बताए ।

शिक्षाको स्तर उत्थान गर्नजनहित तथा सर्वलाभ हुने कल्याणकारी सोचका साथ “वन युनिट वन स्कुल स्पोर्ट” योजनाको अवधारणामा बमाेजिम सैनिक नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखि जिमेवारी क्षेत्रमा भाैतिक रुपले जिर्ण र स्रोत साधनबाट विपन्न अवस्थामा रहेका सरकारी समुदायिक विधालयलाई सहयोग उपल्बध गराईएको गणपति विष्टले बताए ।

 

राैतहट,जेठ २२ गते

राैतहटकाे चन्द्रपुरमा विश्व वातावरण दिवस मनाईएकाे छ । समुदाय प्रहरी कार्यक्रम अनुरूप आज डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहट तथा सामुदायिक बन र ईलाका प्रहरी कार्यालय चन्द्रपुर समेतको सहकार्यमा साे

दिवस मनाईएकाे छ। विश्व बातावरण दिवशको उपलक्ष्यमा प्लाष्टिक जन्य प्रदुशन निर्मुल पारौ,वातावरण मैत्री बिकल्पको उपयोग गरौं भन्ने जनचेतना मूलक कार्यक्रम गरिएको ईप्रका चन्द्रपुरले जनाएको छ ।

 

आरके श्रीवास्तव,रौतहट,जेठ २२ गते

रौतहटको गरूडा नगरपालिकामा रहेको एक बिधालयमा कक्षा थप गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा रहेको श्री प्राथमिक बिधालय भिमडाबरमा कक्षा थपिएको प्रधानाध्यापक रिंकु यादवले जानकारी गराएकि हुन् । बर्षाैंदेखि कक्षा ४ सम्म मात्र पढाई हुने सो बिधालयमा कक्षा थप भएसँगै अबदेखि कक्षा ५ सम्मको पढाइ हुने भएको छ ।

बि.स.२०६६ सालमा स्थापना भएको सो बिधालयमा कक्षा ४ सम्म मात्र पढाइ हुँदै आएको थियो । पछिल्लो स्थानीय सरकारले पनि कक्षा थप गर्न सकेको थिएन् ।

नगर प्रमुखमा कन्थमनी जयसवाल निर्वाचित भएपछि उनले सो बिधालयमा कक्षा थप सञ्चालनको लागि अनुमती प्रदान गर्दै आज उद्वघाटन गरि कक्षा सञ्चालनमा ल्याएका हुन् । मेयर जयसवालले आफनो नगरभरि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

उनले यस अघि पनि केही बिधालय लाई यसरी नै कक्षा थपको लागि अनुमति प्रदान गर्दै सञ्चालनमा ल्याईसकेका हुन् । ती बिधालयहरूमा थप कक्षाको व्यवस्था भए सँगै ५ कक्षा पढनको लागी अन्य बिधालयमा जानु पर्ने बाध्यता हटेको छ ।

यसरी कक्षा थप गरि सञ्चालन गर्न सहयोग गरिदिनु भएकोमा नगरप्रमुख जयसवाललाई बिधालयका अभिभावक,बिधार्थी र बिधालय परिवारले धन्यवाद ज्ञापन गरेका हुन् । सो अवसरमा मेयर जयसवाल सँगै शिक्षा सह संयोजक शेख चाँद अलि लगायतका व्यक्तिहरूको सहभागीता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।