२०८३ असार २६
२०८३ असार २६

काठमाडौँ,२७ गते पुस । 

नेपाली राजनीतिक इतिहासमा आज एक महत्वपूर्ण मोड आएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा, नेपाल) बीच औपचारिक एकीकरण सम्पन्न भएको छ । लामो समयदेखि अलग–अलग धारमा रहेका मधेश केन्द्रित दुई प्रमुख शक्तिहरूको यो एकीकरणलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ । पार्टीको चुनाव चिन्ह छाता रहनेछ भने झण्डा रातो, सेतो र हरियो रंगको रहने सहमति भएको छ, जुन यसअघि लोसपा, नेपालले प्रयोग गर्दै आएको झण्डा हो । झण्डाको बीच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ ।

एकीकरणसँगै महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने सहमति भएको छ ।

मिति २०८२ साल पुस १३ गते दुवै पार्टीबीच सहमति भई एकीकरण गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही विज्ञप्तिलाई आधार मानी एकीकरण प्रक्रिया अगाडि बढाइएको हो। एकीकरणसम्बन्धी सम्पूर्ण प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुन अनुसार सञ्चालन गरिने उल्लेख गरिएको छ।

एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । सो समितिले पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णय गर्ने अधिकार पाउनेछ । साथै, समितिले आफ्नै सदस्यहरूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ।

दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको सर्वोच्च निर्णायक निकाय रहनेछ । पार्टी मातहतका सबै तहका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू केन्द्रीय समन्वय समितिको निर्णयअनुसार जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही क्रियाशील रहनेछन् ।

आगामी मिति २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन का लागि पेश गरिने उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति भएको छ ।

केन्द्रीय समन्वय समितिमा महन्थ ठाकुर, उपेन्द्र यादवसहित विभिन्न समुदाय, क्षेत्र र पृष्ठभूमिका ४३ जना नेताहरूलाई समेटिएको छ, जसले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

यो एकीकरणले मधेश आन्दोलन, समावेशिता, संघीयता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ । विभाजित शक्तिहरू एक ठाउँमा आउँदा राष्ट्रिय राजनीतिमा जनता समाजवादी पार्टी, नेपालको भूमिका थप प्रभावशाली हुने नेताहरूको दाबी छ ।

आज सम्पन्न यो एकीकरणलाई मधेश केन्द्रित राजनीतिमा नयाँ अध्यायको सुरुआतका रूपमा हेरिएको छ ।

आरके श्रीवास्तव,मधेस,२६ गते पुस । 

जनकपुरधाम । महान सन्त रामानन्द स्वामी महाराजको शुभ जन्मोत्सवको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारकी शिक्षा मन्त्री रानी शर्मा तिवारी सहभागी हुनुभएको छ ।

शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री तिवारीले रामानन्द स्वामीको शिक्षाले समाजमा समरसता, सहअस्तित्व र मानवीय मूल्यहरूको सन्देश फैलाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महान सन्त रामानन्द स्वामीज्यूका उपदेशहरूले समाजलाई आज पनि मार्गदर्शन गरिरहेका छन् । उहाँका विचारहरूले जात, वर्ग र समुदायबीचको विभाजन हटाउँदै आपसी सद्भाव र एकताको भावना बलियो बनाएको छ।”

शिक्षा मन्त्री तिवारीले सन्तहरूको शिक्षालाई वर्तमान पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउँदै नैतिक शिक्षा, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धनमा यस्ता शिक्षाको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।

जन्मोत्सव कार्यक्रम धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिसहित श्रद्धा र भक्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, धर्मगुरुहरू तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरएन पटेल, रौतहट,पुस २६ गते ।

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघ (Dalit, Oppressed, Tharu, Indigenous and Minority) को रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आज गौरमा सम्पन्न भएको छ।
गौरस्थित श्री रामजानकी धर्मशालामा सुरु भएको उक्त कार्यक्रम जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकको निर्णयअनुसार आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घोषणा तथा सञ्चालन DOTIM परिसंघका महासचिव शशिकपुर मियाँले गर्नुभएको छ भने DOTIM परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले अध्यक्षता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यस्तै जसपा नेपालका पदाधिकारीहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए, जसमा सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी र केन्द्रीय कार्यकारणी सदस्य राम किशोर यादव रहेका थिए।
कार्यक्रमका सल्लाहकारहरूमा डा. पि.के. (पुरुषोत्तम) ठाकुर (प्रमुख सल्लाहकार) तथा पूर्व मन्त्री योगेन्द्र राय यादव सहभागी हुनु भएको थियो।
त्यसैगरी DOTIM परिसंघका सह-संयोजकहरू पंचराम तामाङ (आदिवासी), डा. मोफिज सिद्दीकी (मुस्लिम) र रामआश्रय चौधरीले पनि कार्यक्रममा आसन ग्रहण गर्नुभएको थियो।

कार्यक्रमकै क्रममा DOTIM परिसंघको रौतहट जिल्ला समिति काशीराम पासवानको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको हो। कार्यक्रममा वक्ताहरुले चयन भएका नव गठित DOTIM परिसंघ रौतहटका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन।

कार्यक्रममा दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, संगठन विस्तार, अधिकार संरक्षण तथा प्रतिनिधित्व सुदृढीकरणका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ। सहभागी वक्ताहरूले समावेशी लोकतन्त्र र सामाजिक न्यायको स्थापनाका लागि यी समुदायहरूको सशक्तीकरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन।
DOTIM परिसंघमार्फत पार्टीभित्र रहेका उत्पीडित तथा सीमान्तकृत समुदायलाई संगठित गर्दै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले बताएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

आरके श्रीवास्तव,मधेस,२६ गते पुस । 

जनकपुरधाम । जनकपुर वडा नम्बर २४ बसहियास्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशद्वारा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत निर्माण गरिएको २ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।

आज सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री तिवारीले शिक्षा क्षेत्रमा पूर्वाधारको सुदृढीकरणले सिकाइ वातावरणलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय भौतिक पूर्वाधारको विकाससँगै गुणस्तरीय शिक्षामा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नयाँ भवन निर्माणपछि विद्यार्थीहरूलाई अध्ययन–अध्यापनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

 

काठमाडौं, २५ पुस
काठमाडौं क्षेत्र नं. ९ को सांसद पदका प्रत्याशी इरस श्रेष्ठ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । २०७९ को आम प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ काठमाडौं क्षेत्र नं. ९ बाट ‘लौरो’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज श्रेष्ठ सहित दर्जनौं नेताहरुले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रेष्ठ सहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउदै सफल राजनीतिका लागि शुभकामना दिए ।

श्रेष्ठ सहित रौतहटको गुजरा नगरपालिकाका सामाजिक व्यक्तित्व तथा युवा प्रतिभाहरू नेयाज देवान, मो. साफिक, फिरोज देवान, समिम मिया, जाबेद हुसैन, बच्चे बाबु, हाफिज मह्मद, जुनैद देवान, मो. काबिर लगायतकाले पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा आजपा कार्यालय सदस्य सुधिर यादव, प्रवक्ता चन्द्रभुषण साह, आजपा नेताहरु बिजय यादव, बबिता यादव लगायतको विशेष सहभागिता रहेको थियो । श्रेष्ठ आजपा प्रवेश गरेसंगै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट सांसदको उम्मेदवार हुने चर्चा छ ।

आरके श्रीवास्तव,राैतहट,२५ गते पुस ।
राैतहट । गुजरा नगरपालिकामा जलवायु जोखिम तथा संकटासन्नताका लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत जलवायु परिवर्तन नीति मस्यौदा २०८२ माथि छलफल तथा साझेदारी कार्यशाला सम्पन्न भएको छ ।


ग्रामीण विकास केन्द्र नेपाल र अक्सफाम नेपालको सहकार्यमा आयोजना गरिएको उक्त कार्यशाला २०८२ साल गुजरा नगरपालिकाको सभाहल सिमराभवानीपुरमा सम्पन्न भएको हो ।
कार्यशालामा जलवायु नीति मस्यौदा २०८२ का विषयमा विस्तृत छलफल गरिएको थियो । नीति निर्माण प्रक्रियाको दोस्रो चरणका रूपमा आयोजित कार्यक्रममा प्रशिक्षकका रूपमा बिमल घिमिरे र समी कुँवर रहनु भएको थियो भने कार्यक्रम उद्घोषण ज्योती फुयाल मिश्रले गर्नुभएको थियो ।
आरडीसी नेपालका बोर्ड सदस्य नरवदा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै प्रमुख प्रशासकीय अधिकृत शान्ति विक, नगरपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुखहरू, सब–डिभिजन कार्यालयका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, कृषि समूह तथा सहकारी, जलवायु अनुकूलता तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


कार्यक्रमको उद्देश्यबारे आरडीसी नेपालका संयोजक (जलवायु जोखिम तथा संकटासन्नताका लागि सामुदायिक उत्थानशील परियोजना) चिरञ्जीवी महतोले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार विगत १० महिनादेखि गुजरा नगरपालिकामा परियोजना सञ्चालनमा रहेको छ भने जिल्लाको चन्द्रपुर नगरपालिकामा पनि सो परियोजना कार्यान्वयन भइरहेको छ ।
परियोजनाले कृषि, जैविक तटबन्धन तथा महिला सशक्तीकरण संवाद केन्द्र सञ्चालनजस्ता क्षेत्रमा काम गरिरहेको जानकारी दिइयो । गुजरा नगरपालिकाको वडा नम्बर ५ हरिहरपुर र वडा नम्बर ३ सिमरीमा परियोजनाका गतिविधि सञ्चालन भइरहेको बताउँदै उद्घोषक मिश्राले सिमरीमा जलवायु अनुकूलन गाउँ निर्माणका लागि आवश्यक नीति तथा नियम निर्माण गरी सोही आधारमा परियोजनाका कार्यहरू अघि बढाइएको जानकारी दिनुभयो ।
कार्यशालामा सामाजिक परिचालक सालिम गाैहर, कृषि प्राविधिक सचिन्द्र यादवलगायत संस्थाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, अनुकूलन रणनीति र नीति मस्यौदामा समेटिनुपर्ने विषयहरूबारे सुझाव तथा गुनासो प्रस्तुत गरेका थिए ।

संजय सहनी,राैतहट,२४ गते पुस । 

​हजमिनिया । रौतहटको राजदेवी नगरपालिका-५, हजमिनिया दरबारका २४ वर्षीय उमेश महतो विगत केही समयदेखि ब्लड क्यान्सरसँग लडिरहेका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा समस्या परिरहेको बेला ‘हेल्प मधेशी परिवार’ र समाजसेवी प्रकाश थारुले उहाँको जीवन रक्षाका लागि तत्परता देखाएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी प्रकाश थारु संग गएका स्थानीय समाजसेबी नबिन सिंह ,पत्रकार संजय सहनी ,कन्हैया पटेल सहितको टोलीले ‘हेल्प मधेशी समाज’ बाट संकलित २४,५०० रुपैयाँ पीडित उमेश महतोलाई हस्तान्तरण गरेको छ ।

छोराको ज्यान बचाउन आमा प्रमिला देवी महतोले आफ्नो भएको एउटा घडेरी समेत ७ लाखमा बिक्री गरेर उपचार सुरु गर्नुभएको छ। “म जसरी पनि छोरा बचाउन चाहन्छु, सबैको सहयोग चाहियो,” भन्दै उहाँले भक्कानिँदै सहयोगको अपिल गर्नुभएको छ।

छोरा क्यान्सरसँग जुधिरहँदा पनि स्थानीय जनप्रतिनिधिहरूले कुनै वास्ता नगरेको र कोही हेर्न समेत नआएको अवस्थामा समाजसेवी थारु ‘भगवान’ बनेर आएको भन्दै बुवा फेकन महतोले खुसी व्यक्त गर्नुभयो।

उमेशको उपचारका लागि अझै ४/५ जति रकमको खाँचो रहेको छ। उहाँलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले सिधै तलको बैंक खातामा रकम जम्मा गर्न सक्नुहुने स्थानीय समाजसेबी नबिन सिंहले अपिल गर्नु भएका छन् ।
​खातावालाको नाम: उमेश महतो (Umesh Mahato)
,​खाता नम्बर: २६२०१००७९५५८८९०००००१
​बैंकको नाम: नेपाल बैंक लिमिटेड, राजदेवी शाखा रहेको छ।

​समाजसेवी प्रकाश थारुले उमेशको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको अपील गर्नुभएको छ।

हनुमत कुमार यादव,गाैर,२२ गते पुस । 

‎रौतहट । सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्रदेशीक अस्पताल गौर, रौतहटका लागि निर्माणाधीन अस्पताल भवनको निरीक्षण गरिएको छ । निरीक्षण कार्यक्रम प्रदेशीक अस्पताल विकास समितिका अध्यक्ष अवधेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

‎निर्माणाधीन भवनलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने उद्देश्यले अनुगमन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले निर्माण कार्यमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने बताउँदै समयसीमा र गुणस्तर दुवैमा कडाइका साथ ध्यान दिन निर्देशन दिनुभयो ।



‎अनुगमन कार्यक्रममा सघन सहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियरहरू, प्रदेशीक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय नि. प्रमुख प्रशासकीय अधिकृत राजेश सिह, ओम प्रकाश साह मधेशीया, निर्माण कम्पनीका ठेकेदार तथा अन्य प्राविधिक टोलीको सहभागिता रहेको थियो ।

‎निरीक्षणका क्रममा भवनको संरचना, निर्माणको प्रगति, प्रयोग गरिएका सामग्रीको गुणस्तर तथा सुरक्षाका मापदण्डहरूबारे विस्तृत छलफल गरिएको थियो । प्राविधिक टोलीले निर्माण कार्य सन्तोषजनक गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै तोकिएको समयभित्र काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

‎निर्माण सम्पन्न भएसँगै प्रदेशीक अस्पताल गौरको सेवा प्रवाह थप प्रभावकारी हुने र रौतहटसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फाेटाे फिचर:


आरके श्रीवास्तव,राैतहट,२२ गते पुस । 

रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. २ मा छिट्टै क्रिकेट स्टेडियम निर्माण हुने भएको छ । मधेश प्रदेशका खेलकुद मन्त्री ई. बसन्त कुशवाहाले जेनजी २.० रौतहटका अध्यक्ष तथा युवानेता सोनु कुशवाहासँगको भेटघाटका क्रममा उक्त स्टेडियम निर्माणका विषयमा औपचारिक प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री कुशवाहाले रौतहटमा खेलकुद पूर्वाधार विकासको आवश्यकता औंल्याउँदै क्रिकेट स्टेडियम निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो । साथै, छिट्टै नै प्रस्तावित स्थलको फिल्ड भिजिट गरिने र आवश्यक प्रक्रिया अगाडि बढाइने आश्वासन पनि दिनुभएको सोनु कुशवाहाले जानकारी दिनुभयो ।

यो महत्वपूर्ण पहल युवानेता सोनु कुशवाहाको सक्रिय प्रयास र निरन्तर पहलका कारण सम्भव भएको बताइएको छ । लामो समयदेखि रौतहटमा व्यवस्थित खेलकुद संरचनाको अभाव महसुस हुँदै आएको अवस्थामा क्रिकेट स्टेडियम निर्माणको प्रतिबद्धताले स्थानीयवासी तथा युवाहरूमा उत्साह थपेको छ ।

निर्माण सम्पन्न भएपछि रौतहटका युवाहरूमा खेलकुदप्रति रुचि र सहभागिता बढ्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । स्थानीय सरोकारवालाहरूले यस पहललाई रौतहटको खेलकुद विकासतर्फको ऐतिहासिक कदमका रूपमा लिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२२ गते पुस । 

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल (भारत च्याप्टर) को कार्यक्रम नालंदा भारतमा रौतहटका दुई जना पत्रकार सम्मानित भएका छन । संगठनका नेपाल च्याप्टर मधेश प्रदेशका सदस्य रहेका रौतहट जिल्ला निवासी स्थानीय न्यूज मिडिया प्रा. लि. का सञ्चालक तथा स्थानीय पोष्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादन राज नारायण पटेल ( आरएन पटेल ) तथा सी. एच. खबरका सञ्चालक पत्रकार चन्दन कुमार महतो नालन्दा अंतर्राष्ट्रीय सहभागिता समागम सम्मान- २०२६ द्वारा सम्मानित भएका हुन ।


भारतको बिहारस्थित नालन्दा खुला विश्वविद्यालयमा पुष २० र २१ गते आयोजित अन्तराष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको अवसरमा सो सम्मान गरिएको हो ।कार्यक्रममा नेपालका १२ जना पत्रकार सहित सार्क क्षेत्रका विभिन्न मुलुकका पत्रकारूलाई नालन्दा अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको छ ।
सार्क जर्नलिष्ट फोरमका अध्यक्ष राजु लामा, नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, एभीन्यूज खबरका राजु नापित, पर्सा बिरगंजका मधेश प्रदेश संयोजक चयन भएका सदाब मलिक, दिपेन्द्र प्रजापति,अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम लागायत बाराका श्यामल गिरी सहित नेपाली पत्रकारहरूलाई अवार्ड तथा सम्मान पत्रले सम्मानित गरिएको हो । मातृभाषाको पत्रकारिताको विकासमा योगदान पुर्‍याए वापत ती पत्रकारहरूलाई अवार्ड सम्मान पत्र प्रदान गरिएको आयोजकले बताएको छ  ।


आम्रपाली काला साहित्य सम्मेलन वैशाली बिहार तथा मानवाधिकार टुडेको आयोजनामा सम्पन्न कार्यक्रममा बंगलादेश र भारतका पत्रकारहरूलाई समेत अवार्डद्वारा सम्मान गरिएको छ ।
सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो । सम्मेलनमा ‘पत्रकारिता र मानवअधिकार एक वैश्विक चुनौति’ विषयमा सहभागीहरूले छलफल गरेका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको बताउनु भयो । यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका उनले बताए ।

सार्क राष्ट्रका करिव दुई सयजना पत्रकार सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित सम्मेलनले नेपाल-भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो।
दोस्रो दिन सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो । यस क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवको रुपमा रहेका नालन्दा खण्डर अवलोकन गराई त्यसबारे जानकारी गराइएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।