२०८३ बैशाख १५
२०८३ बैशाख १५

सर्लाही, १४ मङ्सिर :

सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् । जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भए पनि समयमै बेच्दा खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् । उखु मिलमध्ये हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी भए पनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने पत्तो छैन । जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले चालु सिजनको उखुको मूल्य निर्धारण गरेको छैन । उहाँले चिनी मिल समयमै सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाउने चिन्तामा रहेकोे बताउनुभयो । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सुगर मिल कहिले सञ्चालनमा आउँछन् र गत वर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसान सस्तैमा भए पनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो । बरहथवा नगरपालिका–११ का रत्नबहादुर घिमिरेले सस्तोमै सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भए पनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका–२ का उखु उत्पादक किसान रामविलाश महतोले बताउनुभयो । जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोहीअनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा–११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताउनुभयो । उहाँका अनुसार अहिले उखु उत्पादक किसानलाई किसामको मूल्य निर्धारण गरिएको छैन । एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी रायले बताउनुभयो । उहाँका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रतिक्विन्टल बजार मूल्य छ । आफ्नो उद्योगमा प्रत्यक्षरूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताउनुभयो । “भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धरासायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्”, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले बताउनुभयो । उहाँले भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नुपरेकाले लगानीअनुसारको मूल्य नपाएको गुनासो गर्नुभयो । रासस

 

राैतहट,मंसिर १३ गते राैतहट ।

चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । थाई सरकारले सहयोमा गरेको दुई करोड रुपैयाँ को लागतमा यही मंसिर १६ गते वुद्व भगवानको मुर्ति राख्न लातिएको समजसेवी वीर बहादुर रखालले बताए ।

ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रमा मुर्ति स्थापना हुनलागेकोमा स्थानीय जनता निकै उत्तसाहित भएको समाजसेवी रखालले बताए । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुँडिखेलमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साँढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरिने भएको खबरले आफु निकै हर्षित भएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काप्लेले बताए । सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको छ । पुरातात्त्विक महत्त्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको छ ।

सो क्षेत्रको विकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन् भने जङ्गलको संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन् । सो क्षेत्रमा बेल र पारिजातका फूलहरु समेत रहेका छन्। यहि मंसिर १६ गते बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना हुने भिक्षु मेधंकर स्थबिरले बताए ।

उनका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाचो रहेको बताए । ऐतिहासिक रहेको गोल्माराजाको दरबारको इट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको इनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानव बस्तिको बिस्तार सँगै अलपत्र रहेको सो दरबारको इट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीयले बताएका छन् । भग्नावशेष रहेको दरबारको जीर्णोद्धारमा स्थानीयले जोड दिएका छ ।

तीनै तहको सरकारबाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताए । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजारानीको दरबार रहेको स्थानमा पुगिने स्थानीय समीरबाबु कार्कीले बताए ।

दरबार क्षेत्रमा रहेको टुँडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउँछन् । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु रखाल मगरले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने बताए । उनका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसँग अझै सुरक्षित रहेको बताए । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा रहेको छ ।

शेनबंशिय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेल लाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने नगरप्रमुख काफ्लेले बताए । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताए । दरबारको विषयमा पुरातत्व विभागलाई जानकारी भैसकेको बताउँदै उनले यसको संरक्षण र प्रबद्धनमा सबैपक्ष जुट्ने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने सांसद तिमिल्सिनाले दाबी गरेका छन ।

 

बार,१४ मङ्सि।

बारा जिल्लाका दुई वटा इलाका प्रशासन कार्यालयले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई पछिल्लो समय सेवा दिन सकेका छैनन् । इलाका प्रशासन कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय कोल्हवीका कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह प्रभावित भएको हो ।

इलाका प्रशासन कार्यालय सिम्रौनगढमा एक महिनादेखि कार्यालय प्रमुख नहुँदा स्थानीयहरु नागरिकता बनाउन सदरमुकाम कलैया धाउन बाध्य भएका छन् ।

यसअघि गाउँ–ठाउँबाटै एक दिनमै नागरिकता पाएका सिम्रौनगढका स्थानीयले पछिल्लो समय सदरमुकाम धाउनु परेको गुनासो गरेका छन् । सिम्रौनगढ, जानकीनगरका पशु रामले नागरिकता बनाउन कलैया धाउनुपर्दा धेरै पैसा खर्च हुने र धेरै दिन धाउनुपरेको गुनासो गरे ।

सिम्रौनगढस्थित इलाका प्रशासन कार्यालयका प्रमुख दसैँलगत्तै सरुवा भएर अन्यत्र गएपछि नागरिकता जारी गर्ने कार्य रोकिएको हो ।

सो कार्यालयमा अहिले एक जना नायव सुब्बा, २ जना कार्यालय सहयोगी छन् । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र प्रमाणित कागजपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कलैया पठाउने गरेको कार्यालय सहयोगी रामविश्वास कुशवाहाले जनाए ।

उनले इप्रका सिम्रौनगढबाट अभिलेख राख्ने र नागरिकता लिन आउनेलाई सबै कागजातहरु चुस्तदुरुस्त गरेर पठाउने गरेको बताए । इलाका प्रशासन कार्यालय सिम्रौनगढमा यसअघि दैनिक २५ देखि ३० वटा नयाँ नागरिकता र ८ देखि १० वटा प्रतिलिपि जारी हुने गर्दथ्यो ।

जिल्लाको दक्षिणतर्फ रहेको सिम्रौनगढ सँगसँगै उत्तरतर्फ रहेको इलाका प्रशासन कार्यालय कोल्हवीमा समेत पछिल्लो समय प्रमुख नहुँदा नागरिकता जारी हुने कार्य रोकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

कोल्हवीका स्थानीयहरु पनि नागरिकता बनाउन कलैया धाउने गरेका छन् । जसले गर्दा जिल्ला प्रशासन कार्यालयमा कामको चाप बढेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

नियमित रुपमा जारी गरिने नागरिकता, प्रतिलिपि नागरिकता लिन आउने सेवाग्राहीको चाप बढेपछि गृह मन्त्रालयमा अधिकृत पठाइदिन पटक पटक अनुरोध गरे पनि सुनवाइ नभएको प्रजिअ सापकोटाले जनाए ।

 

जनकपुरधाम, १३ मङ्सिर :

प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित तपसी बाबा कुटीमा आजदेखि सुरु भएको शिवशक्ति महायज्ञको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले सबै धर्मावलम्बीले सामाजिक सद्भावलाई थप मजबुत बनाउने क्रियाकलाप गर्नुपर्ने र महायज्ञजस्ता धार्मिक कार्यबाट त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले नेपालको संविधानले सनातन धर्मको रक्षा गर्दै सबैको धार्मिक स्वतन्त्रताको रक्षा गर्ने सङ्कल्प गरेकाले त्यसैको मर्मअनुसार अगाडि बढ्न सबैलाई अपिलसमेत गर्नुभयो । उहाँले अन्न भण्डारका रूपमा रहेको मधेसमा पानीलगायत विभिन्न समस्याका कारण कृषि कर्म सङ्कटमा पर्दै गएको र उत्पादनमा ह्रासका कारण प्रदेशसहित सिङ्गो देश नै खाद्यान्न आयातमा निर्भर हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले तराई मधेसको ‘लाइफलाइन’को रूपमा चुरे विनाश नरोकिए खानेपानीको हाहाकार र कृषि उत्पादनमा थप जटिलता थपिने भन्दै त्यसको दीर्घकालीन समाधानका लागि समयमै काम गर्न सरकार तथा सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । रासस

 

 आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर/

राैतहटकाे राजपुर नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने तीनवटा रक्सी भट्टी नष्ट गरेको छ । राजपुर नगरपालिका– ५ मा अबैध रूपमा सञ्चालन रहेको रक्सी भट्टी नष्ट गरिएको हो ।

विशेष सूचनाको आधारमा बुधबार दिउँसो सावा ३ बजेतिर गएको प्रहरी टोलीले अबैध रूपमा सञ्चालन गरेको उक्त रक्सी भट्टी नष्ट गरेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

भट्टी नष्ट गर्ने क्रममा ६० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । ३ वटा खाली जार प्रहरीकाे नियन्त्रणमा रहेको छ । प्रहरी बरिस्ठ नायब निरिक्षक प्रमानन्द प्रसाद यादवकाे कमान्डमा गएको प्रहरी टाेलीले पूर्ण रूपले रक्सी भठ्ठी नष्ट गरेको हाे । उक्त अबैध रक्सी भठ्ठी इलाका प्रहरी कार्यालय बाट ३ किलोमिटर पश्चिम उत्तरपर्ने ठाउँमा सञ्चालनमा रहेको बुझिएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर ।

राैतहटकाे दुई पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएकाे छ । आज एकै दिन जिल्लाको देवाही गाेनाही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् भने यमुनामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिइएको छ । देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सन्देश यादव हाजिर भएका हुन् ।

उनी यस अघिका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवकाे ठाउँमा आएका हुन् । देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा यादवले कार्यालय प्रमुखको रुपमा हाजिर भएका हुन् । कार्यालय प्रमुखको रुपमा नगर प्रमुख साहले यादवलाई स्वागत पनि गरेका छन् ।

यता उप प्रमुख परनिया देवी पटेलले भने, आफू सँग सल्लाहै नगरी हाजिर भएको भन्दै असंतुष्टी जनाएकी थिईन् । कार्यालयमा हाजिर भएपछि जवाफदिने क्रममा यादवले आफूले नियमानुसार कामकाज गर्ने उपप्रमुख समक्ष प्रतिबद्धता समेत जनाएका थिए । उता जिल्लाकाे यमुनामाइ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी फेरि रामश्रेष्ठ यादवलाई दिइएको छ । यस अघि उनलेे उक्त गाउँपालिकाकाे जिम्मेवारी सम्हालीसकेका छन् ।

२०८० मङ्सिर १३

सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम सञ्चालनको माग गर्दै युवा सडकमा उत्रेका छन्। सप्तरी युथ नेपालले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी सडकमा उत्रेर निरन्तर विभिन्न स्वरूपमा आन्दोलन गरिरहेकाे छ।

एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार १६ पुस ०७५ मा मन्त्रिपरिषद्कोे बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।

यसका लागि २१ जेठ ०७८ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका– १० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।

जग्गाको टुंगो लागेपछि यही जग्गामा २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सञ्चालन हुन सकेको छैन।

गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय भए पनि नेतृत्वविहीन अवस्थामा छ।

समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झा सरुवा भएर अन्यत्र गएपछि कार्यकारी निर्देशकको पदसमेत रिक्त छ। त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्मचारीको म्यादसमेत थप गरिएको छैन।  यद्यपि, उनीहरू कार्यालय आउने–जाने भने गरिरहेका छन्।

आक्रोशित स्थानीयले प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन थालेका छन्। नयाँ पत्रिका

टिकाराम सुनार, चन्दन ठाकुर ,जनकपुरधाम, १२ मङ्सिर :

हिजोआज धेरैले भन्छन्, “संसारमा सबैभन्दा उन्नत भनिएको सङ्घीय व्यवस्थाले समेत परिणाम दिने गरी काम गर्न नसक्दा जताततै निराशा बढ्यो । त्यही निराशाले युवाशक्तिलाई देश छाडेर परदेश रोज्न बाध्य पार्यो र अस्थिरता बढाउँदैछ ।” तर नेपालको संसदीय राजनीतिमा एक परिपक्व र अनुभवी नेता विमलेन्द्र निधि भने ‘निराशा बढ्यो भनेर शिशु सङ्घीय व्यवस्था’माथि दोष थोपर्नु ‘हतार (अधैर्य) र हतास’ मानसिकताको उपज भएको टिप्पणी गर्नुहुन्छ । पूर्वउपप्रधानमन्त्री निधिले भन्नुभयो, “यति चाँडै व्यवस्थाले काम गरेन, केही भएन र केही हुँदैन भनेर उद्वेलित गराउनु हिजोका निर्दलीय व्यवस्थाबाट भरपूर लाभ लिइरहेका तत्वहरूको छट्पटाहटमात्रै हो । यसबाट परिवर्तनकारी शक्तिहरू आत्तिनुपर्ने कुनै आधार देख्दिनँ ।” उहाँले करिब दुई सय ५० वर्ष लामो जहानियाँ राजतन्त्र, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था, विगतको हिंसात्मक द्वन्द्व र अस्थिरताका कारण जकडिएर रहेका तमाम समस्यालाई एकाध दशकमै समाधान गर्न सकिएन भनेर निराश हुनु वस्तुनिष्ठ हुँदैन भन्नुभयो । नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राख्नुभयो । रासससँगको संवाद उहाँले भन्नुभयो, “कसैले देशमा केही भएन भन्यो भने त्यो सरासर झुट र बेइमानीमात्रै हो । सडक, स्वास्थ्य, शिक्षा, निजी क्षेत्रको जबर्जस्त उपस्थिति, सहरदेखि विकट उच्च पहाड र हिमाली क्षेत्रलाई समेत विकासको प्रवाहमा ल्याउन तमाम काम भएका छन् ।” द्वन्द्व, अस्थिरता र प्रतिकूल अवस्थामा पनि यिनै राजनीतिक दल र नेतृत्वले जनताका आधारभूत आवश्यकतासँग जोडिएका विकास पूर्वाधारहरू बनाएका उदाहरण प्रस्तुत गर्दै पूर्वभौतिक, पूर्वाधार तथा यातायातमन्त्री निधिले भन्नुभयो, “सिङ्गो देशलाई काठमाडौँ, सहरबजार, पूर्वपश्चिम राजमार्गसँग जोडिएका निश्चित ठाउँ, एकाध विश्वविद्यालय र औद्योगिक क्रियाकलापले मात्रै हेर्नुहुँदैन ।” कल्पना गर्नुस् त “प्रजातन्त्र आउनुअघिको कर्णाली, मधेस, सुदूरपश्चिम । सम्झनुस् न दूरदराजको नागरिक जनजीवन, महिला, दलित, सीमान्तकृत वर्ग, समुदाय र भूगोल !”, उहाँले उदाहरण दिँदै भन्नुभयो । पूर्वगृहमन्त्री निधिको हिजो राजनीतिक परिवर्तनका लागि एकजुट भएजस्तै आम नागरिक र राजनीतिक नेतृत्वले सवल, सक्षम र आत्मनिर्भर नेपाल बनाउन लाग्नुपर्नेमा जोड छ । विसं २०२५ मा नेपाली कांग्रेससँग आबद्ध अखिल भारतीय नेपाली छात्र तथा युवासङ्घको सदस्यबाट राजनीति क्षेत्रमा प्रवेश गर्नुभएका निधिले नेपाली कांग्रेस धनुषा सदस्य, रारा बहुमुखी क्याम्पस जनकपुरको स्ववियु सचिव, नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र सभापति तथा विसं २०४६ को आन्दोलनमा जनकपुर क्षेत्र एक्सन कमिटी इञ्चार्ज भएर काम गर्नुभयो । “हामीले राजनीतिक परिवर्तन र सामथ्र्यअनुसारको विकास गर्यौँ तर त्यो विकासलाई रोजगारीसँग जोड्न सकेनौँ । अब विकासलाई रोजगारीसँग जोड्ने बेला आयो । केही व्यावहारिक समस्या सुल्झाउँदै रोजगारी र उत्पादन सम्बन्ध जोड्नेभन्दा अर्को प्राथमिकता र विकल्प पनि त छैन हामीसँग । यहीबेला फेरि राजनीतिक परिवर्तनमै रुमल्याउने प्रयास गर्न सक्छन् केही तत्वले । त्यसमा सचेत बन्नु राजनीतिक दल र यो व्यवस्थाका पक्षपाती सचेत नागरिकको कर्तव्य हो”, उहाँले भन्नुभयो । सांसद निधिले संसद्, सरकार र राजनीतिक दलहरूका सङ्गठनलाई परिणाममूलक काममा केन्द्रित गर्न सकेमा व्यवस्था र नागरिक आवश्यकतालाई सम्बोधन गर्न सकिने धारणासमेत राख्नुभयो । सांसद निधिले संसद् र सरकारको भूमिका राजनीतिक दलहरूकै भूमिकामा निर्भर हुने भएकाले यी दुवै अङ्गलाई प्रभावकारी बनाउन लाग्नु समयको आवश्यकता हो भन्नुभयो । “जनतालाई शासन र राज्यमा आफ्नो प्रतिनिधित्व र अपनत्वको आभाष दिलाउने थलो संसद् नै हो । लोकतान्त्रिक व्यवस्थामा जनमुखी सरकारका लागि खबरदारी गर्ने प्रभावकारी माध्यम संसद् अर्थात् व्यवस्थापिकाभन्दा अर्को हुन सक्दैन । तर नयाँ संविधानअनुसार दुईपटक निर्वाचित संसद्मध्ये अघिल्लो संसद् पनि परिणाममुखी हुन सकेन । सरकार बनाउने, भत्काउने र संसद् विघटन गर्ने तहसम्म पुग्यो । अहिलेको संसद्को एक वर्षमा पनि सङ्घीयताको मूल विषयभन्दा गैरराजनीतिक विषयमा अल्झिनुपर्ने अवस्था बन्यो । यसले हामी सबै चिन्तित छौँ”, उहाँले भन्नुभयो । उहाँसँग विसं २०५१ मा प्रतिनिधिसभा सदस्य, विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र २०७० मा संविधानसभा सदस्य भई काम गरेको अनुभव छ । नेता निधि विसं २०५९ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को महामन्त्री तथा विसं २०७५ मा नेपाली कांग्रेसको उपसभापति हुनुभएको थियो । दलहरूले संविधान निर्माणपछि बनेका संसद्ले अहिलेसम्म सङ्घीयताको प्राथमिक र आधारभूत विषयका रूपमा रहेका सात प्रदेशलाई शासनाधिकार दिए पनि प्रहरी प्रशासन (कर्मचारी) सम्बन्धी अधिकार कार्यान्वयन गर्न सघाउने ऐन, कानुन बनाउन नसकेकामा उहाँको चित्त दुःखाई छ । ‘नगर प्रहरी हुने तर प्रदेश प्रहरी प्रशासन नहुने’ अवस्था बदल्न नसकिएकाले सङ्घीयताको महत्त्वपूर्ण अङ्ग प्रदेश संरचना कामयाबी भएन भनेर आलोचना भइरहेको पनि नेता निधिको बुझाइ छ । उहाँ परिवर्तित अवस्थाअनुसारको राजनीतिक संस्कार र आचरण विकास गर्न नसक्दा संसदीय क्रियाकलापसमेत सुसंस्कृत नभएको र त्यसको नकारात्मक प्रभावबाट सरकार र संसद् दुवै ग्रस्त भएको बताउनुहुन्छ । सङ्घीय संसद्को एकवर्षे कार्यकालको अभ्यासले पनि जनतालाई फरक अनुभूति दिन नसकिएको नेता निधिको भनाइ छ । सांसद निधिका अनुसार संसद्भित्र बहुदल भएकाले आलोचना, टीकाटिप्पणी हुने गरे पनि सधैँ सरकार गठन, विघटनमै रुमल्लिँदा अरु प्राथमिक विषय ओझेलमा परेकाले अब भने दलहरू फरक ढङ्गले अगाडि बढ्नुपर्छ । प्रदेश र स्थानीय तहले एक कदम अगाडि बढेर आफ्नो अधिकारसँग जोडिएका कानुन, नीति–नियम बनाउँदा पनि सङ्घीय संसद्ले सोअनुसार अत्यावश्यक कानुन बनाउन नसक्नु आलोच्य विषय भएको जनाउँदै उहाँ प्रदेश र स्थानीय तहलाई कमजोर बनाएर सङ्घीयता बलियो हुन नसक्ने धारणा राख्नुहुन्छ । एकातिर सुशासन, विकास र अर्कोतिर राजनीतिक परिवर्तनले मात्र जनताको अवस्था बदल्न नसकेको भन्ने जिज्ञासामा “हो, हामीले परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ । यसको अर्थ लामो बलिदानी र सङ्घर्षबाट ल्याइएको पछिल्लो परिवर्तन र त्यसका मुख्य घटकहरूमाथिको विश्वसनीयता नै गुम्यो भन्न सकिँदैन । यो व्यवस्था कसैको लहड र लादिएर आएको होइन । तत्कालीन राजाले समेत यो व्यवस्थाको एक शब्दमा विरोध गर्न नसकेको कुरा बिर्सिनु हुँदैन । बहुदलीय व्यवस्थामा केही दल थपिए वा केही असन्तुष्टि बढ्यो भनेर व्यवस्था र हामी दलहरूको विश्वसनीयतामाथि प्रश्न उठाउने र यहीँ बहानामा लोकतन्त्रविरोधी क्रियाकलाप गर्न सकिन्छ भनेर कसैले नसोचे हुन्छ”, सांस्द निधिले यसरी आफ्नो मत राख्नुभयो । सूचना स्रोतमाथि नागरिक पहुँच, नागरिक स्वतन्त्रता, खुला र पारदर्शी समाजका कारण भ्रष्टाचारसम्बन्धी विषय र अरु शासकीय गतिविधि प्रकाशमा आएको दाबी गर्दै सांसद निधिले सुशासनका लागि कानुनसम्मत व्यवहार र नैतिक आचरण विकासका लागि भने सबैले इमान्दार प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले परिवर्तित व्यवस्थालाई संस्थागत र प्रभावकारी तुल्याउन शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने, राज्य पुनःसंरचना अर्थात् सङ्घीयतासँग सम्बन्धित राजनीतिक, संवैधानिक विषयलाई सुल्झाउने र विकास तथा अर्थव्यवस्थालाई उत्पादन र रोजगारीसँग जोड्ने काम गर्नुपर्छ भन्नुभयो । एक प्रसङ्गमा निधि भन्नुहुन्छ, “निराशसँगै निवारणको उपाय हुन्छ र हुनुपर्छ । त्यो अध्ययनको विषय हुनसक्ला । युवापुस्तामा विकास हुँदै गएको मनस्थितिको कुरा गर्दा पोर्चुगलको आँप बगैँचामा १० हजार नेपालीले काम गरिरहेको सन्दर्भ सम्झिन्छु । के नेपालमा आँप बगैँचा हुन सक्दैनन् ? के नेपालमा भेडा चराउन सकिँदैन ? उद्यम गर्न सकिँदैन ? केही पनि गर्न नसकिने अवस्था हो ? त्यसो होइन ।” सरकारले उपयुक्त वातावरण र युवाहरूले स्वदेशमै सिर्जनात्मक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले मुलुक उत्पादन र रोजगारीको युगमा प्रवेश गर्ने बेलामा फेरि निराशाका विषय उठाएर अल्झिन नहुने सुझाव दिनुभयो । रासस

कलैया (बारा), ११ मङ्सिर :

चाडबाड सकिएपछि बाराका किसानलाई धान भित्र्याउन नभ्याइनभ्याई भएको छ । वैदेशिक रोजगार, शिक्षा तथा सहर केन्द्रित बसाइँका कारण गाँउघरमा काम गर्ने जनशक्तिको कमी हुन थालेपछि आधुनिक मेसिनको प्रयोगको गरी किसानले धान भित्रयाउन थालेका छन् । कृषकले आव २०८०/८१ मा विभिन्न जातको अगहनी धान ३४ हजार एक सय २० हेक्टर क्षेत्रफलमा खेती गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश युवा गाउँबाहिर भएकाले मजदुर भेट्न नसक्दा किसानले आधुनिक मेसिनको प्रयोगको गर्न थालेका छन् । गत आवमा कृषकले ३४ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव दुई मेट्रिकटनले धान उत्पादन गरेकामा यस वर्ष उत्पादनमा केही कमी आउने आँकलन गरिएको यादवले बताउनुभयो । “धान भित्र्याएपछि किसानले गहुँ, तेलहन, दलहन, मकै, आलु, उखुखेती गर्नतिर जुटिरहेका छन्”, उहाँले भन्नुभयो । रासस

सर्लाही, ११ मङ्सिर :

आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्दा मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानीका साथै मेहनत खेर गएको भन्दै किसान चिन्तित बनेका छन् । इस वर्ष कम वर्षा, रोग, कीराको सङ्क्रमणलगायत कारणले धान उत्पादन घटेको लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले गुनासो गर्नुभयो । “गत वर्ष धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोपेका थिए”, उहाँले भन्नुभयो, “समयमा पानी नपर्नु, मलखादको अभावलगायत कारणले उत्पादन घटेको छ ।” यो वर्ष मेहनत र लगानीअनुसार धान उत्पादन हुन नसकेको चौधरीले बताउनुभयो । छ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै रु १० हजार खर्च भएको जनाउँदै लगानीअनुसार धान नफलेको किसान अनिरुद्र साहले बताउनुभयो । उहाँका अनुसार यो वर्ष आकाशे वर्षाले साथ नदिँदा धान राम्रो नफलेको हो । “छ कठ्ठामा रु १० हजारको त पानी मात्रै लगाएँ तर लगानी बराबरको पनि धान फलेको छैन”, उहाँले भन्नुभयो । पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको हरिपुर्वाका किसान राजगिरले बताउनुभयो । “जेजति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो”, उहाँले भन्नुभयो । सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्ने किसानको भनाइ छ । जिल्लाका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । प्रत्येक फाँटका किसान धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने काममा व्यस्त छन् । जिल्लामा गत वर्ष एक लाख ६४ हजार एक सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्ष करिब पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन मात्रै उत्पादन भएको किसानले बताएका छन् । कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले सिँचाइ सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भए पनि आकाशे वर्षाका भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा धानखेती केही बढे पनि उत्पादन भने घटेको छ । “पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा उत्पादन घटेको छ”, रायले भन्नुभयो, “केही क्षेत्रमा रोग, कीराको सङ्क्रमण पनि देखिएको छ ।” कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा करिब ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । आवश्यकता अनुसार आकाशे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी लगाएका थिए । दमकलबाट सिँचाइ गर्दा प्रतिघण्टा रु तीन सय तिर्नुपर्ने र एक कठ्ठा खेतमा पानी पटाउन करिब दुई घण्टासम्म दमकल चलाउनुपर्ने किसानले बताएका छन् । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको जिल्लाका किसानले गुनासो गरेका छन् । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।