महोत्तरी, २२ पुस :
नजिकिँदो तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।
गत मङ्सिर २६ गते यसपालिको यामको तौल खोलेर पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । पहिलो चरणमा रु १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको उद्योगले जनाएको छ ।
“रमाइलो गरी मनाइने तिलासक्रायत पर्व के गरी टारौँ भन्ने थियो, त्यस्तै गहुँखेती र अन्य चैतेबाली लगाउँदाको खर्च तिरोतारोको धौधौ परेका बेला उखुको रकम पाइयो”, पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसुस गर्नुभएका भङ्गाहा–४ का किसान हीरालाल महतोले भन्नुभयो । पछिल्ला दुई तीन वर्षयता भुक्तानी क्रमशः सहज बन्दै आएपछि यस भेगमा उखुखेती फेरि बढ्दै गएको छ ।
जिल्लाकै गौशाला–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले पनि ठीक समयमा भुक्तानी पाइँदा घरव्यवहार मिलाउन सजिलो भएको बताउनुभयो । “विगतमा उखुको भुक्तानी पाउन झण्डै वर्ष दिन कुर्नुपथ्र्यो”, कुशवाहा भन्नुहुन्छ, “अहिले दुई साताभित्रै भुक्तानी भएको छ ।” उद्योगले भुक्तानी सहज बनाएपछि किसान फेरि उखुखेतीतिर हौसिएका उहाँको भनाइ छ ।
विसं २०७२ सम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो । त्यसयता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक सङ्घ महोत्तरी र उखु उत्पादक महासङ्घ लगायतको निरन्तरको सङ्घर्षको परिणमले पछिल्ला दुई÷तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखुखेती अलिअलि गरे बढ्दै गएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।
जिल्लामा यसपाली उखुखेती सात हजार बिघाभन्दा बढीमा रहेको कुशवाहाको भनाइ छ । दुई साता नबित्दै तौल भएको उखुको पूरै भुक्तानी पाइएपछि किसान र उद्योगबीच विश्वास तथा भरोसा दुवै बढेको किसान बताउँछन् । उद्योगप्रति बढेको विश्वासले अहिले सर्लाही, रौतहट, बारा र धनुषाका किसानले पनि एभरेष्ट चिनी उद्योगलाई उखु दिन थालेका छन् ।
सर्लाहीको कविलासीका किसान राजनारायण महतोले पोहोरदेखि नै एभरेष्ट चिनी उद्योगले भुक्तानी सहज बनाएको प्रतिक्रिया दिनुभयो । “हामी सर्लाहीका किसानले गत वर्ष यहाँबाट चाँडै भुक्तानी पाएका थियौँ र यसपाली पनि यही उखु दिन आयौँ”, उहाँ भन्नुहुन्छ, “यसपाली त झन हाताहाती नै जस्तो भुक्तानी भएको छ ।” अब उखुखेती बढाइँदै लगिने कुशवाहाको भनाइ छ ।
उद्योगले भुक्तानी सहज बनाएसँगै आपूmहरुका गुनासा सुन्ने, कटान पुर्जी वितरण सरल बनाउने, उद्योग परिसरमा उखु तौलाउन पुगेका किसान र सवारीसाधनको व्यवस्थापन तथा परिसरभित्र खानेपानी र शौचालयको व्यवस्थापनमा पनि उद्योगले यथाशक्य प्रबन्ध गर्दै लगेको किसान बताउँछन् ।
आठ वर्ष पहिले २०७२ मा ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको उद्योगमा उखु घट्दै गएर गत वर्ष २६ लाख क्विन्टलमा झरेको थियो । यसपाली गत वर्षभन्दा चार लाख क्विन्टल क्रसिङ बढ्ने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाको भनाइ छ । बाह्य मुलुकबाट चिनी आयात नगरिए मुलुकमै उत्पादित चिनी बिक्ने र यसले किसानको भुक्तानीमा अझ सहजता ल्याउने शुक्ला बताउनुहुन्छ ।
यसपाली उद्योगले किसानलाई सरकारले तोकेअनुसार प्रतिक्विन्टल उखुको रु पाँच सय ६५ दिँदैछ । किसानले पाउने प्रतिक्विन्टल रु छ सय ३५ मध्ये रु ७० सरकारी अनुदान र रु पाँच सय ६५ उखुको मूल्य भन्ने सरकारले स्पष्ट पारेको छ । भुक्तानी सहज भए पनि उखु किसानका बिलौना भने अझै छन् । उखुको मूल्य निर्धारणमा सरकारले आपूmहरुको मर्का नबुझेको किसान र किसानसम्बद्ध संस्थाका प्रतिनिधि बताउँछन् ।
“उद्योगले क्रमशः भुक्तानी सहज बनाउँदै लगेको छ, यो सन्तोषकै कुरा छ”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा भन्नुहुन्छ, “तर मूल्य निर्धारणमा हामी ठगिएका छौँ ।” सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको मूल्यवृद्धि अनुपात र खेतीको लागतलाई ख्यालै नगरी हचुवामा गरेको उहाँको गुनासो छ । यसपाली रु सात सय ५० प्रतिक्विन्टल उखुको मूल्य पाउनुपर्ने किसानसम्बद्ध सङ्घसंस्थाले माग गर्दै आए पनि सरकारले आपूmहरुको रोदनको केही वास्तै नगरेको कुशवाहाको गुनासो छ । (रासस)
मलङ्गवा (सर्लाही), २२ पुस :
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।
यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार आज दिउँसो १२ः४५ देखि भोलि विहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी गरिएको हो । उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ ।
स्थानीयको प्रदर्शनमा गत शुक्रबार एक जनाको मृत्यु भएको थियो ।(रासस)
वीरगञ्ज (पर्सा), २२ पुस :
सुर्खेतको विद्यापुर–४ घर भई वीरगञ्ज महानगरपालिकामा बस्दै आउनुभएका ५२ वर्षीय जङ्गबहादुर थापाले ‘लेमन टी’ (कागती राखेर बनाइएको चिया)को व्यापारबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले न ठूलो पुँजी लगाउनु पर्यो न त कुनै पसल नै सञ्चालन गर्नु परेको छ । उहाँको कमाइको स्रोत घुमफिर गरी लेमन टी बेच्ने व्यवसाय हो ।
वीरगञ्ज महानगरको घण्टाघर, मीनाबजार र माइस्थान क्षेत्रमा लेमन टी चियावालाको नामले परिचित थापाले बजार क्षेत्रका पसल, चौकचौक र सरकारी कार्यालयमा चिया पुर्याएर छ जनाको परिवारको जीविकोपार्जन गरिरहनुभएको छ । विगत डेढ दशकदेखि यसरी नै लेमन टी बेच्दै आउनुभएका थापाले पाँच जना छोराछोरीको पढाइ खर्च पनि यही व्यवसायबाट जुटाइरहनुभएको छ ।
“लेमन टी बेचेरै जेठो छोरालाई स्नातक (बिए) सम्म पठाएर बिहे गरी दिएँ । ऊ इन्टरनेट कम्पनीअन्तर्गतको अफिसमा काम गर्दैछ”, थापाले भन्नुभयो, “पाँच छोराछोरीमध्ये जेठी छोरीलाई स्टाफ नर्स (पिसिएल नर्सिङ) पठाएर बिहे गरिदिएँ ।” थोरै लगानीबाट सुरु गरेको घुमफिर लेमन टी बेच्ने व्यवसायबाट परिवारको सम्पूर्ण खर्च चलेको उहाँको भनाइ थियो । गरिबी र परिवारिक कारणले आफूले पढ्न नपाए पनि छोराछोरीलाई यो अवसरबाट वञ्चित गर्नुहुन्न भनेर सबैलाई उच्च शिक्षा दिएको उहाँले बताउनुभयो ।
घुमफिर चियाको व्यवसाय गर्दै आउनुभएका थापाले वीरगञ्ज आसपास क्षेत्रमा घरघडेरी जोड्ने तयारी गर्दै हुनुहुन्छ । लेमन टी बेचेर दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुँदै आएको उहाँले जानकारी दिनुभयो । “दिनमा दुईदेखि दुई सय ५० कपसम्म चिया बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो, “एक कपको रु १० पर्छ । यसरी दैनिक दुई हजार भन्दाबढी कमाइ भइहाल्छ ।” स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिने लेमन टीको माग बजारमा अत्यधिक रहेको भन्दै एक्लैले चिया पु¥याउन भ्याइनभ्याइ हुने गरेको उहाँको भनाइ थियो ।
“चिया बेचेर थोरै बचत गरेर राखेको छु”, थापाले भन्नुभयो, “विस्तारै यतै घडेरी किनेर घर बनाउने तयारी गर्दैछ ।” परिवारिक अवस्थाका कारण केही समय भारतको पञ्जाव, हरियाना लगायतका सहरमा मजदुरी गरेर फर्किनुभएका थापाले अरुको मजदुरी गर्नुभन्दा आफ्नै ठाउँमा सानो व्यवसायबाट काम सुरु गर्नु उपयुक्त हुने अनुभव सुनाउनुभयो ।
“अरुको देशमा मजदुरी गर्दा थुप्रै समस्या आउँछन् । अरुको अधिनमा बसेर काम गर्नुपर्दा कहिले बिरामी हुँदा पनि आराम पाइदैन”, थापाले भन्नुभयो, “अहिले आफ्नो घुमफिरको व्यापार छ । स्वतन्त्र रुपमा जति मेहनत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ । अहिले ढुक्क छु ।” थोरै कमाए पनि स्वदेशमै मेहनत गरेर कमाउँदा सन्तुष्टी मिलेको उहाँको भनाइ थियो ।
“विदेशमा गएर कडा मेहनत गर्दा पनि दुःख झेल्नुभन्दा परिवारका सदस्यसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ”, थापाले भन्नुभयो । स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भने विदेश किन जानु? उहाँले प्रश्न गर्नुभयो । दूध हालेर बनाउने चियाले ग्यास्ट्रिक, डाइबिटिजलगायत स्वास्थ्यमा समस्या आउने भएकाले बजारमा धेरै मानिसको राजाइ लेमन टी भएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यको दृष्टिकोणले पनि उयपुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण लेमन टीप्रति बढेकाले थापाको घुमफिर चिया व्यापार फस्टाएको स्थानीय व्यापारी बताउँछन् । वीरगञ्जका स्थानीय व्यापारी कृष्णकुमार कानुले भन्नुभयो, “थापाले आयुर्वेदिक मसला हालेर लेमन टी बेच्ने गरेकाले पनि खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो छ ।” पसलपसलमा पुगेर अरुको तुलनामा सस्तोमा चिया दिने भएकाले पनि थापाको व्यापार फस्टाएको उहाँको भनाइ थियो ।
केही वर्षयता विदेश जाने युवाको लर्काे लग्ने गरेकामा थापाले स्वदेशमा नै कम लगानी गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले थापाबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका अगुवा अशोक मेहतरले बताउनुभयो । (रासस)
जनकपुरधाम, २२ पुस :
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा राष्ट्रिय सम्मेलनको आयोजना गर्नेगरी तयारीमा जुटेको जानकारी दिनुभयो ।
यसअघि नयाँ नेतृत्व चयनका लागि गत असोज २७ देखि यही पुस २० गतेसम्म प्रदेशका आठवटै जिल्लामा सम्मेलन सम्पन्न गरेपछि फागुनमा राष्ट्रिय सम्मेलनका लागि तयारी सुरु गरिएको उहाँले बताउनुभयो । मञ्चले धनुषामा असोज २७, सप्तरीमा मङ्सिर २९, सिराहमा यही पुस १२, पर्सामा १५, बारामा १६, रौतहटमा १८, सर्लाहीमा १९ र महोत्तरीमा २० गते जिल्ला सम्मेलनको आयोजना गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।
जिल्ला सम्मेलनअघि मुक्त हरवाचरवा बाहुल्य यहाँका ६० भन्दा बढी पालिकामा पालिकास्तरीय सम्मेलन सम्पन्न गरिएको मञ्चका अगुवा एवं धनुषा जिल्ला अध्यक्ष राजदेव मुखियाले जानकारी दिनुभयो । “पालिका तथा जिल्लामा सम्मेलन सम्पन्न भएपछि अब हामी राष्ट्रिय सम्मेलनमा जुटेका छौँ । जहाँ हजारौँ मुक्त हरवाचरवा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहने छ”, उहाँले भन्नुभयो ।
अभियानमा सहयोग गरिरहेको संस्था राष्ट्रिय दलित नेटकर्व (आरडिएन)का कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीका अनुसार हरवाचरवाले यही सङ्गठनको सहयोगमा हरवाचरवा समस्याबाट मुक्तिका लागि आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यही आधारमा सरकारले २०७९ साउन २ गते मुक्तिको घोषणा गरिसकेको छ ।सरकारले हरवाचरवा प्रथालाई नेपालको संविधान तथा विद्यमान कानुन र मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रविपरीत भएको स्वीकार गर्दै उहाँहरूको नाममा रहेको अनुचित ऋणको खारेजी, लगत सङ्कलन, भूमि उपलव्ध गराउने, कसैले हरवाचरवा राखेको भेटिएमा कानुनी कारबाही गरिने उल्लेख गर्दै हरवाचरवा मुक्तिको घोषणा गरेको थियो ।
तर सरकारका नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवा पुनःस्थापनासम्बन्धी कुनै कार्यक्रम नल्याएको जनाउँदै सङङ्गठनको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ । यसैक्रममा गत वर्ष चैत २५ देखि २९ गतेसम्म राजविराज र वीरगञ्जबाट जनकपुरसम्म एकसाथ अधिकारयात्रा गर्दै सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यही दबाबमा मधेस प्रदेश सरकार र २५ भन्दा बढी स्थानीय पालिकाले हरवाचरवाको लगत सङ्कलन तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम घोषणा गरेका थिए । सो घोषणा पनि सार्थक ढङ्गले अघि नबढेको मञ्चले जनाएको छ ।
मुक्त गरिएका हरवाचरवाको लगत सङ्कलन, प्रमाणीकरण गरी परिचयपत्र वितरण, कम्तीमा पाँच कठ्ठा जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षासहित पुनःस्थापनाको एकीकृत ‘प्याकेज’ घोषणा हुनुपनुपर्नेलगायतका माग मुक्त हरवाचरवाले गरिरहेका छन् । सो कार्य गर्न प्रदेश सरकारले पुनःस्थापनासम्बन्धी निर्देशिका तथा कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने उनीहरूको मागअनुसार आवश्यक प्रक्रिया सुरु गरिसकेको भनेर प्रदेश सरकारका मन्त्रीहरूले जानकारी दिए पनि आफूहरू विश्वस्त हुन नसकेको मञ्चका महोत्तरी जिल्ला अध्यक्ष सावित्री सदाले बताउनुभयो ।
“सरकारका मन्त्रीले आवश्यक प्रक्रिया सुरु भइसकेको भन्नुहुन्छ । तर त्यसमा ठोस प्रगति नभएमा जनकपुरदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने योजनामा छौँ । त्यसको आधार तयार गर्न आगामी राष्ट्रिय सम्मेलन एक सशक्त माध्यम हुने हाम्रो विश्वास छ”, उहाँले राससलाई भन्नुभयो ।(रासस)
पुस २१ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालनिकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन भएको छ ।
शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा चन्देश्वर सदा, रमेश सि।के नेपाली, सुनिता देवी मोची, सावित्रा बिश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की रहेका छन् ।
भेलाले संगठनको मुख्यसचिवमा प्रदीप घताललाई चयन गरेको छ भने सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दास चयन भएका छन् ।
सप्तरी, २१ पुस :
सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधन जाँच गर्ने क्रममा बिआर५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताउनुभयो । मोटरसाइकलको डिक्कीमा लुकाई भारु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।
उनीसँग भारु पाँच सयका तीन सय ३९ थान, दुई सय का पाँच सय ३० थान, एक सयका एक हजार नौ सय ८० थान, ५० का एक हजार ३४ थान, २० का एक सय ९७ थान, १० का आठ सय ८३ थान नोट फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।(रासस)
काठमाडौँ, २१ पुस :
सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा आज तीन सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहनुभएको छ । सर्लाहीमा यही पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा बरहथवा नगरपालिका वडा नं ५ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।(रासस)
राजविराज (सप्तरी), २१ :
बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताउनुभयो ।
यसैगरी, सप्तरीको राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको रु पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एकजनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । (रासस)
महेन्द्रनगर (धनुषा), पुस २१ :
भारतको कर्नाटक राज्य किस्किन्धाबाट आएको हनुमत रथयात्राका टोलीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ ।
बिहीबार धनुषाको जटही नाका हँुदै जनकपुरधाम प्रवेश गरेको उक्त रथयात्रामा सहभागीले जानकी मन्दिरमा शुक्रबार आरती गरेपश्चात् नगर परिक्रमा गरेको थियो ।
आज जनकपुरधामबाट काठमाडौँका लागि रथयात्रा प्रस्थान गर्ने तयारी भइरहेको अयोध्याबाट आएका धर्मगुरु शङ्कराचार्यले बताउनुभयो ।
भगवान् हनुमान्को जन्म भारतको किस्किन्धामा हनुमान्को प्रतिमा सात सय पाँच फिट अग्लो बनाउने र त्यसको वरपर धाम निमार्ण गर्ने उद्देश्यले रथयात्रा निकालिएको किस्किन्धाबाट आएका गुरु स्वामीले बताउनुभयो । निर्माण गरिने हनुमान्को उक्त प्रतिमा विश्वको सबैभन्दा ठूलो हुने उहाँको भनाइ थियो । उहाँका अनुसार रथयात्रा १२ वर्षसम्म चल्नेछ ।
सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किस्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शङ्कराचार्य, गङ्गाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केसवसहितका धर्मगुरु जनकपुरधाम आएका छन् ।
शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालु भक्तजनको भीड लागेको थियो । त्यस क्रममा गुरु पाठकले इतिहासमै पहिलोपटक भगवान् हनुमान् आफ्नो जन्म भूमिबाट सिधा सीतामाताको भूमिमा आउनुभएको जानकारी दिनुभयो । उहाँले यात्रामा सहभागी भएर सीतामाताको भूमिमा आउँदा खुसी लागेको बताउनुभयो ।
गुरु पाठकले भन्नुभयो, “अयोध्यामा निर्माण भएको राम मन्दिरजस्तै किस्किन्धामा पनि हनुमान्को मन्दिर एवं धाम निर्माण भइरहेको छ ।” सम्पूर्ण जनकपुरधामबासी एवं नेपालीलाई उहाँले एक पटक किस्किन्धा पुगेर हनुमान्को जन्मस्थलको दर्शन गर्न आमन्त्रण गर्नुभयो ।(रासस)
काठमाडौँ, २१ पुस :
सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोली लागेर स्थानीय जयशङ्कर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएका घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
कांग्रेसले मृतकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । उक्त पार्टीले घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नाका साथै घाइते भएकाको उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज विषयमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ ।
मुख्यसचिव पौडेलले हरेक नागरिकले आफ्ना अधिकारका विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित हुन अपिल गर्नुभएको छ ।(रासस)