२०८३ भाद्र २४
२०८३ भाद्र २४

महोत्तरी, २४ माघ ।

नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाअगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

 

माघ २२ गतेबाट सुरु भएको अधिवेशन  सहमतिमा गर्नुपर्ने शीर्ष नेताहरुले जोड दिए पनि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने माहोल सिर्जना भएको  निवर्तमान अध्यक्ष कालिचरण साहले जानकारी दिए । अहिले बलिराम यादव र शिवचन्द्र सिंहको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ, जसमा दुईवटा गुटले यादव र सिंहलाई साथ दिएका छन् ।

 

एमाले महोत्तरीका नेताहरुका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुवीर महासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई र  सरोज यादवको अर्को गुटले बलिराम यादवलाई साथ दिएकाे छ ।

 

एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरु सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो ।

 

दर्जनौँपटक कहिले आन्तरिक कलह त कहिले नेताहरुको निजी स्वार्थको कारण विवादित बन्दै आएको अधिवेशन अहिले भने मनोनयन दर्ता भएसँगै नेता कार्यकर्ताहरूमा उत्साह देखिएको छ । खुलासत्रमा अध्यक्ष केपी सर्मा ओलीले अधिवेशन सहमतिमा नै हुने विस्वास व्यक्त गरेका थिए । तर, तल्लो तहको नेता, कार्यकर्ताहरुको लोकतान्त्रिक प्रक्रियाप्रतिको निष्ठाले महोत्तरी मात्र हैन अन्य जिल्लामा समेत प्रतिरोध हुँदै आएको देखिएको छ ।न्युजकारखाना

रौतहट २४ माघ।
रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका  पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण  गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार  तिवारीको अहिले वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको छ। सूर्या अस्पताल वीरगञ्जका प्रमुख डाक्टर सरोज कुमार सिंहले पत्रकार तिवारीको छातीलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र भर्ना गरेर उपचार भईरहेको बताए ।

 

पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले प्रति ट्रली २० देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको बताउँदै आएका बारा र सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि मंगलवार किसानहरू मिल प्रशासनविरुद्ध नारा लगाउँदै आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको  किसानहरूले आन्दोलन सुरुगरेको उखु उत्पादक किसान संघ रौतहटका उपाध्यक्ष प्रमोद यादव बच्चा बाबुले बताएका छन्।

मंगलबार आन्दोलन गरिरहेका केही किसानलाई समेत मिल सञ्चालकका बाउन्सरहरुले कुटपिट गरेको उपाध्यक्ष बच्चा बाबुले बताए। किसानहरूले उखु काटा गर्ने ठाउँमा बिहानैदेखि नारा जुलुस गरेपछि मंगलबार दिउँसो समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश मिल सञ्चालक ओम प्रकाश जैसवालका छोरा हुन् । उनकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। तिवारीका अनुसार मेयरले इसारा गरेलगत्तै उनका भाइ पिन्टु भन्ने अभयप्रकाश जैसवालले आफूमाथि सबभन्दा पहिले आक्रमण गरेका थिए । जैसवालले हात छोडेलगतै उनको दर्जनौं बाउनसरले पत्रकार तिवारीलाई भुइँमा बजारेर मुड्की, लाती, लठी र उँखुले प्रहार सुरु गरेका थिए। सोही समय त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय कटहरियाको टोलीले जसोतसो पत्रकार तिवारीलाई बचाएका थिए। घटनास्थल पुगेका वरिष्ट सई अरुण सिंहका अनुसार यदी प्रहरी त्यहाँ मात्र १० मिनेट ढिलो पुगेको तिवारीकाे ज्यान जे पनि हुन सक्थ्याे ।

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकका बाउन्सरहरुले लुटपाट गरेको बताइएको छ। मिलकै बाउनसरले एकजना अर्का पत्रकार धीरज यादवलाई समेत कुटपिट गरेका छन्। किसानको पीडाबारे भिडियो रेकर्ड गर्ने क्रममा पहिले यादव र लगत्तै तिवारीमाथि एकैपटक दर्जनौं मानिसले आक्रमण गरेको सई अरुण कुमार सिंहले जानकारी दिएका छन्।

मंगलवार घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको टोलीसँगै उखु उत्पादक किसान संघ रौतहटका पदाधिकारी  बाबा बैजुनाथ सुगर मिलको स्थलगत निरीक्षणमा गएको थियो। टोलीले उखुको तौल घटाएकोबारे जाँच बुझ गर्नु अघि नै मिलले राखेको केही ठेकदारहरुले तौल गर्ने काँटा ठीक भयो भनेर होहल्ला गरिरहेको थिए। सो पछि त्यही काँटामा पहिले तौल भईसकेको तीनवटा टयाक्टरको उखुको पुनः तौल गर्दा डिएसपी खनालको रोहवरमा प्रति ट्रली १६,१४,१२ क्विन्टल घटी देखिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताएका छन्।

उखुको तौल घटेको बारेमा डिएसपी खनालको उपस्थितिमा मिलका निर्देशक बैजु बाबरासँग कुरा गर्दा गैरजिम्मेवारी तरिकाले जथाभावी कुरा गर्दै थर्काउने  व्यवहार गरेको अध्यक्ष यादवले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी खनालले घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन।यसैबिच घटनामा संलग्न मिल्स सञ्चालक संगै दोषीमाथि कडा कारबाहीको गर्न चौतर्फी दबाब उठ्न थालेको छ।

आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।

साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

न्युजकारखाना

बारा, २४ माघ । 

प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो।

 

उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना

रौतहट,२३ माघ ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर अध्यक्षका उम्मेदवारहरू देखा पर्न थालेका छन् । अध्यक्षको उम्मेदवारमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको छ। स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द शाहले अध्यक्ष पदमा उम्मेदवारी दिने आकलन गरिएको छ। यता आफूलाई युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका हालका उपसचिव रूपेश कुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने दाबी गर्दै आएका छन् । यता नेकपा एमालेका नेता भवन सिंहले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी रहने भन्दै सामाजिक सञ्जालबाट मत माग्न थालेका छन् ।

करिब ४ सय  मतदाता रहेको नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ। ४ सय  मध्ये करिब २ सय  मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले नै कुनै पनि उम्मेदवारले अध्यक्षमा विजय हासिल गर्ने आकलन गरिएको छ । अध्यक्ष लगायत अधिकांश पदाधिकारीहरूको ध्यान यतिबेला चन्द्रपुर नगरपालिकामा रहेका प्रतिनिधितर्फ केन्द्रित भएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई अन्य राजनैतिक दलहरूले समेत गम्भीरताका साथ निहाली रहेका छन् । सर्वसम्मत नहुने अनुमान गरेका अधिकांश उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग आफ्नो लागि मत समेत माग्न थालिसकेका छन् ।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनका अध्यक्षका दावेदारहरू कोही यतिबेला प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् भने कोही सामाजिक सञ्जालमै आफूलाई मत दिन आग्रह गरिरहेको देखिन्छ ।न्युजकारखाना

रौतहट, २३ माघ ।

 रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।

किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका थिए।

No description available.

किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेका हुन्।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।

No description available.

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ।

घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।न्युजकारखाना

बारा, २२ माघ ।

२६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमबार विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको छ।

स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकुद सामग्री र संगठमा आवद्ध दुई संचारकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

प्रेस चौतारी बाराले सिमरास्थित नेपाल अपाङ्ग सेवा संघको भवनमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री र खाद्यान्नका साथै ४० हजारको चेक हस्तान्तरण गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको बताइएको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन्। केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक प्रदान गरेका थिए।

चेक ग्रहण गर्दै संघका अध्यक्ष वाग्लेले चौतारी बाराले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गरे।न्युजकारखाना

राजविराज, २२ माघ ।

सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक रहेका सिरहा नगरपालिका-७ घर भएका मधुसुदन कर्णलाई सोमबार ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिका–८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एन्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसाबराबरको निर्माण सामग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युजकारखाना

रौतहट, २२ माघ ।

रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ।

प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन्।

२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भ पतन गरेमात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ। सन्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमान‍्को रहेको दुखेसो गरिन्।

गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छन्।

प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रुपैयाँ व्याग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ।

आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन्।न्युजकारखाना

रौतहट, २२ माघ ।

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी रौतहटले विविध कार्यक्रम गरेर मनाएको छ। सोमबार जिल्ला सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूलाई प्रेस चौतारी नेपालले फलफुल वितरण गरेको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पताल गौरमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको थियो। प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर सोमबार अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको हो।

प्रेस चौतारीको स्थापना दिवसकै अवसरमा सोमबार नै जिल्ला सदरमुकाम गौरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले नेकपा एमालेले गरेका राम्रा कामको विरोध गर्नेहरूलाई प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले जवाफ दिनुपर्ने बताएका थिए।

देशको राम्रो र गौरवशाली पार्टी नेकपा एमाले भएको र एमालेले गरेका राम्रा कामलाई प्रेस चौतारी आबद्ध सञ्चारकर्मीहरुले खुलेर लेख्नुपर्ने उनले बताएका थिए। सो कार्यक्रममा नेकपा एमालेको लेखा आयोगका केन्द्रीय सदस्य राजकिशोर यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव गौतम श्रेष्ठले स्वागत मन्तव्य राखेको सो अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल्सिना संजय मिश्रा, नेपाल पत्रकार महासङ्घका मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारी नेपाल रौतहटका संस्थापक अध्यक्ष शैलेन्द्र गुप्ता, नेकपा एमाले मधेश प्रदेश सदस्य बालविक्रम कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष उत्तम कुमार उपाध्यायको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम चौतारीका जिल्ला सचिव मुकेश कुमार शाहले सञ्चालन गरेका थिए।न्युजकारखाना

 

 ओम प्रकाश् यादव माघ २२ गते, रौतहट।

एक महिनाको लामो तलाबन्दी पछि रौतहटको गरुडा नगरपालिकाको ताल्चा आज खुलेको छ । एक महिना भन्दा बढी दिन्देखी गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताला सोमबार बेलुका ७ बजे खुलेको हो ।

 

नगर उपप्रमुख पुनम देवि चौधरी सहित ६ जना वडा अध्यNo description available.क्षहरुले विभिन्न माग राख्दै बिगत एक महिना देखि नगरपालिका कार्यालयमा तालाबन्दी गरि मुलगेटमा धार्ना दिदै आएका थिए । नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछी नगर उप प्रमुख चौधरी सहित आन्दोलनरत वडा अध्यक्षहरुले आज ताल्चा खोलेका हुन ।

No description available.

जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा मेयर जयस्वाल र आन्दोलनरत पक्ष बीच विभिन्न बुदामा लिखित सहमति भएपछी आन्दोलनरत जनप्रतिनिधिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिदै पालिका कार्यालयमा लगाएको ताल्चा खोलेका छन । ताल्चा खुलाउन जिल्ला प्रशासन कार्यालय रौतहटमा यस् अघि दुबै पक्ष बिच पटक पटक वार्ता हुँदै आएपनि कुरा न मिलेपछी उक्त वार्ता असफल हुँदै आएको थियो ।

No description available.

तर सोमबार पुनः जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बिच भएको वार्तामा सहमति जुटेको थियो । आजको वार्ता सफल भएपछी गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।