२०८३ भाद्र २३
२०८३ भाद्र २३

 ओम प्रकाश यादव गरुडा समाचारदाता फागुन ९ गते, रौतहट ।

रौतहटको बृन्दावन नगरपालिकाको एक विद्यालयको पोखरीमा करोडौंको लागतमा कलापतिमाइको विशाल मन्दिर निर्माण हुने भएको छ । वृन्दावन नगरपालिका वार्ड नं -६ स्थित श्री रूपा नेपाली पाल माध्यमिक विधालय सखुअबा धमौराको नाममा दर्ता रहेको शिशवा, कमलपटी र चमनपुरको बिचमा रहेको पोखरीमा कलापतीमाईको मन्दिर निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

 

बृन्दावन नगर प्रमुख बिनोद प्रसाद कुर्मिले आज बुधबार एक कार्यक्रम बीच उक्त मन्दिरको शिलान्यास गरेका हुन । सो ठाउँमा देविको बास रहेको र पोखरीको डिल भित्र मन्दिरको स्वरुप पटक पटक देखा परेकोले कलापातिदेविको मन्दिर निर्माण गर्न लागिएको जनता समाजवादी पार्टी नेपालका युवा नेता राजकुमार दास तत्माले जानकारी दिएका छन । धार्मिक र सामाजिक काममा लगनशील रहेका युवा नेता दासकै पहलकदमिमा सो मन्दिर निर्माण हुन लागेको छ ।

 

करोडौंको लागतमा अत्याधुनिक सुबिधा सम्पन्न मन्दिर निर्माण हुने उनले बताए । मधेस प्रदेशका दलित बिकाश समितिका सदस्य समेत रहेका जसपा नेता राजकुमार दासका अनुसार उक्त कलापतीमाई देवीको मन्दिरको पुरानो इतिहास रहेको छ ।

 

नेता दासले भने, उक्त ठाउँमा पहिला बरगजको विशाल रुख थियो, त्यहाँ अहिले पनि असाढ महिनामा त्यस पोखरी नजिक रहेका किसानहरू अनिवार्य रुपमा पूजापाठ गरेपछि मात्र खेतिपाती गर्ने चलन छ ।, उक्त देवीलाई नमानी अटेरि गर्नेलाइ नोक्सानी हुने गरेको उनले बताए । देवीलाई पुजा गर्ने पुजारी सुखाडी साहका अनुसार त्यस पोखरीको डिल भित्र मन्दिर रहेको स्वरुप पटक पटक देखेपछि उक्त ठाउँमा मन्दिर निर्माण गर्न शिलन्यास गरिएको हो ।

 

शिलान्यास कार्यक्रमको अवसरमा नगर प्रमुख बिनोद प्रसाद कुर्मी , समाजसेवी राजकुमार दास तत्मा , गजेन्द्र प्रसाद पाल, रामबाबु दास, संजय कुमार साह, पूर्व मुखिया तथा मेयर प्रत्याशी बैनाथ राउत भेडिहर, पूर्व वडा अध्यक्ष जयमंगल पण्डित,समाजसेवी रमज्ञा ठाकुर, तेजनारायण ठाकुर ,भूपेन्द्र दास, परशुराम ठाकुर लगायत सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थिए। मन्दिरको शिलान्यास धमौरा मठका पुजारी रामचन्द्र दासका उत्तराधिकारी महराजि विन्दा दासको कर कमलबाट सम्पन्न भएको नेता राजकुमार दासले जानकारी दिएका छन् ।

बारा, ९ फागुन ।

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्।

बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक मोटरसाइकलमा सवार उनीहरुलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्ण साहा बनियाले बताए।

बाघले आक्रमणपछि सडकमा लडेका उनिहरुलाइ त्यस रुटमा चल्ले बसका रहेका यात्रुले थप उदार गरेको कारण बाघ पुनः जंगलमा भागेको थियो।

बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालम कृष्णको भने सडकमा लडेको हुदा दुवै हातमा चोट लागेको छ।

घाइते दुबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।न्युज कारखाना

राैतहट, ९ फागुन ।

गढिमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा  ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र  ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे । उनीहरुलाई पचारका लागि सिटीअस्पताल गरुडा लैजाँदा  चिकित्सकले परीक्षणपछि मृत घाेषणा गरेका हुन् ।

मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।

बुधबार बिहान ११ बजे  सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेकाे उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।

 

उक्त ट्याक्टमा १७ जना सवार रहेका थिए । जसमध्य दुई जनाको मृत्यु र ७  जना घाइते भएका छन् । घाइतेमध्य एकजना  उपचारपछि घर फर्किएका छन् । बाँकीकाे उपचार प्रादेशिक अस्पताल गाैरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई  साइड दिने क्रममा  ट्याटर बाँधबाट तल खसेकाे थियाे । न्युज कारखाना

काठमाडौं, ९ फागुन ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।


मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको करिब सवा लाख रुपैयाँ बराबरका चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार गौर भन्सार कार्यालयलाई आवश्यक कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।


उनका अनुसार भन्सार छलेर ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको १ लाख १७ हजार २०५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार  आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हो ।
न्युज कारखाना

रौतहट ९ फागुन।

रौतहटको दुर्गा भगवती गाउँपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।  वुधबार दुईदिने निःशुल्क स्वास्थ शिविरको गाउँपालिका अध्यक्ष शम्भु सिंहले उद्घाटन गरेका हुन् । शिविरमा मुटु तथा नशा रोगबाट पीडित बिरामीहरुको विषेशज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिने अध्यक्ष सिंहले बताए ।

 

प्रदेशमै मुटुसम्बन्धी सफल इन्टरवेशन सर्जरी गर्दै आएका नेशनल मेडिकल कलेज वीरगञ्जका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. जीतेन्द्र कुमार मिश्रा, डा अफरोज अन्सारी, तथा वरिष्ठ स्पाईन नशा रोग विशेषज्ञ डा सरफरोज अन्सारीसहितको टोलीले  दुर्गाभगवती स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविरमार्फत् स्वास्थ्य सेवा दिइरहेका छन् ।


शिविरमा निःशुल्क स्वास्थ्य जाँचका साथै मुटु तथा छातीसम्बन्धी समस्या भएका बिरामीलाई ईसीजी, भिडियो एक्सरे, इको, सुगर जाँच, ब्लड प्रेसर लगायत जाँच भइरहेको छ।

बिरामीलाई आवश्यकताअनुसारको औषधिसमेत  निःशुल्क उपलब्ध गराइने अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।

शिविर उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष शिला देवी, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थय संयोजक दिनेश महतो लगायतको उपस्थित रहेको ईन्जिनियर सुरज मिश्राले जानकारी दिए । न्युज कारखाना

रौतहट, ९ फागुन ।

रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।

ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो ।

तर, हाल स्थिति सामान्य भइसकेकोले बुधबार बेलुका  ५ बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्णरुपले हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सार्वजनिक सूचना निकालेर जानकारी दिएका छन् ।

 

कर्फ्यू आदेश हटाइएको सार्वजनिक सूचना

 

यस जिल्लाको ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ती सुरक्षा कायम गर्न २०८०।११।०५ गते बेलुका ५ः०० बजे देखी अर्को आदेश नभए सम्मको लागि ईशनाथ नगरपालिका अन्तरगत वडा नं. २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को क (१) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल स्थिति सामान्य भईसकेकोले क्षेत्र सिमा विस्तार सहितको मिति २०८०।११।०६ मा जारी कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) को ५ बमोजिम मिति २०८०।११।०९ गते बेलुका ५ः०० बजे देखी लागु हुने गरी पूर्णरुपले हटाइएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

हिरालाल रेग्मी
प्रमुख जिल्ला अधिकारी
न्युज कारखाना

रौतहट, ९ फगुन ।

खुला सीमाका कारण भारतीय कुखुरा निर्वाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा भारतीय तस्करहरूले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।

 

सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलाबेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भएपनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान संकटमा परेको उनीहरुले गुनासो गरेका छन् ।

 

भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउन लागेको ६० वटा बोइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ  । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कोपुवा पिपरिया प्रहरी चौकीले ६० वटा कुखुरा बरामद गरेको हो । कुखुरासँगै कुखुरा ल्याउन प्रयोग गरिएको चारवटा साइकल समेत प्रहरीले बरामद गरेको छ । ३८ हजार ४ सय मूल्य बराबरको कुखुरा प्रहरीले नष्ट गरेको हो ।

 

खुला सीमाका कारण भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा छिर्न थालेपछि नेपाली किसानहरु देशको प्रत्यक्ष मारमा परेको कुखुरा व्यवसायी रामविनोद पाण्डेको भनाइ रहेको छ । बेलाबेलामा सीमावर्ती क्षेत्रबाट नेपालभित्रने भारतीय ब्राेइलर कुखुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गर्ने गरेको भए पनि नेपालभित्रने क्रम रोकिन नसकिएको पाण्डेको भनाइ रहेको छ ।

 

रौतहटका कुखुरा व्यवसायीहरूले सीमा मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमै भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै आएका छन् ।  नेपालमा उत्पादन भएका ब्राेइलर कुखुराको तुलनामा भारतबाट आउने ब्राेइलर कुखुरा सस्तो पर्ने भएका कारण नेपाली बजारमा भारतीय कुखुरा बढी बिक्री हुने हुँदा नेपाली कुखुरा उत्पादक किसान मारमा परेको उनीहरूको गुनासो छ ।

 

भारतीय ब्राेइलर कुखुराको चल्ला र मासु प्रयोजनका लागि ठूलै ब्राेइलर कुखुरा नेपाल भित्रिन थालेपछि रौतहटका कुखुरा उत्पादक किसानहरू समस्यामा परेको भन्दै उनीहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन सुरक्षा निकायसँग माग गरेका छन् ।न्युज कारखाना

 

बारा, ९ फागुन ।

वीरगन्जमा केही दिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि बुधवार बाराको जीतपुरमा ‘सद्भाव र्‍याली’ निकालिएको छ ।

 

रौतहटको इशनाथ नगरपालिकामा गत बिहीबार सरस्वती माताको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमा पनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार हिन्दुवादीहरूले वीरगन्ज बजार बन्द गराउनुका साथै  प्रदर्शन पनि गरेका थिए ।

 

यसैलाई मध्यनजर गरी बाराको  जीतपुरमा  ‘सद्भाव रयाली’ निकालिएको हो ।  प्राप्तीको लागि प्रेरणा समूह नेपाल र ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । जीतपुर स्थित वडा कार्यालय परिसरबाट सुरू भएको ‘सद्भाव रयाली’ बकुलिया सडक, केराढोका ,  हुँदै नगर परिक्रमा गरेको थियो ।

 

सो ‘सद्भाव रयाली’ मा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी ,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता शिक्षक–शिक्षिका बिद्यार्थीहरु,नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो ।

 

‘सद्भाव रयाली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,’ ‘हिन्दू–मुस्लिम भाइ भाइ’भन्ने नारासहित जीतपुरमा कुनै अप्रिय घटना न घटोस भनेर सदभाव र्‍याली निकालिएको प्राप्तिका लागि प्रेरणा समुह नेपालका अध्यक्ष अनिल कुमार साहले बताए  । धर्म कै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरू देखि जीतपुरबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव र्‍याली निकालिएको अध्यक्ष साहले बताए ।

 

उनले भने, ‘हामी जीतपुरबासी  एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्‍यालीबाट दिन खोजेका हौँ ।’

 

आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति र्‍याली मा सहभागी हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न र्‍यालीमा  सहभागी भएकाहरुले माँग गरेका छन ।न्युज कारखाना

 

रौतहट ९ फागुन।

रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद गरेको छ।

जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र पाडा बरामद गरेको हो।

डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्रभित्र गस्तीको क्रममा तस्कर समूहसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउण्ड हवाई फायर गरेपछि तस्कर समूह टायर सहितको काठ छोडेर भागेको थियो।

टोलीले उक्त स्थानबाट तिनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए। झण्डै दुई लाखभन्दा बढी मूल्यको काठसहितको टायर गाडा र पाडो आवश्यक कारबाहीको लागि डिवीजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

हिन्दूहरूको पर्व होली नजिकिँदै गर्दा जिल्लाको पूर्वी भेगमा सर्लाहीका अन्य क्षेत्रमा स्थानीय तस्करहरू चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिवीजन वन कार्यालय रौतहटले जनाएको छ।

चाँडपर्वको अवसरमा कर्मचारी तथा सशस्त्र वन सुरक्षा गार्ड विदामा बस्ने पुरानो मानसिक्ता बोकेका तस्कर हाल कर्मचारी र सुरक्षा टोलीको विशेष सक्रियताले हरेस खाएको डिवीजन वन कार्यालय रौतहटले दाबी गरेको छ।न्यूज कारखाना

 फाल्गुन ९ गते प्रेमचन्द्र झा राैतहट ।

देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रदाञ्जली व्यक्त गरेका छन ।

स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस गाैरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवको निधन भएकोमा एक कार्यक्रम बिच श्रदाञ्जली व्यक्त गरिएको हो । देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवका मृत आत्माको चिर शान्तिका लागि कामना सहित एक मिनट माैन धारण गरि श्रदाञ्जली अर्पन गरेका छन।

साे कार्यक्रममा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साह ,नेपाल रेडक्रसका सभापति राजकिशाेर यादव सशस्त्र प्रहरी बल राैतहटका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम कुमार राई सहितले स्वास्थ्य प्रमुख यादवको असामयिक निधन भएको खबरले दुखी बनाएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवम् आफन्तजनमा गहिरो समवेदना समेतब प्रकट गरेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।