२०८३ भाद्र २३
२०८३ भाद्र २३

महोत्तरी, ११ फागुन ।
महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको  जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा वेलावेलामा प्रश्न उठ्ने गर्दछ ।संविधानले निदृष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न नसक्दा मेयरले उपमेयरका जिम्मेवारी हस्तक्षेप गर्ने र उपमेयरले मेयरका अधिकार क्षेत्र हस्तक्षेप गर्ने जस्ता कार्यहरू चर्चाको विषय बन्ने गरेको छ ।

 

अझ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट विभाजन गरिदिएको छ । यसमध्ये उपमेयरले मुख्यतः  न्यायिक समितिको संयोजक भई कार्य गर्ने, प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने जस्ता रहेका छन् ।

तर, गौशाला नगरपालिकामा भने उपमेयर रेणु कुमारी महतोले प्राप्त जिम्मेवारीहरूलाई कार्यान्वयन गर्न खोज्दा मेयर दिपेन्द्र महतोले छेक्ने र विफल बनाउने भूमिका खेलेको आरोप छ ।

 

योजना तथा कार्यक्रमको अनुगमनमा कडाइ गर्दा मेयरको निशानामा

राजनीतिक पृष्ठभूमिमा नै हुर्किएकी उपमेयर महतोका बुबा सर्लाही बरहथवा नगरपालिकाका पूर्व मेयर हुन् । बुबा मेयरमा निर्वाचित भएदेखि जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारको खोजी गर्न लागेकी महतो गौशालामा आफैँ उपमेयरमा निर्वाचित भइन् ।

 

पहिला त उनले उपभोक्ता समिति, ठेकेदारहरूले गरेको कामको निगरानी बढाइन् । अनुगमनको क्रममा भएका कामहरू निकै कमसल र गुणस्तरहीन भएको पहिचान गरेपछि भुक्तानी रोक्न सिफारिस गर्ने प्रक्रियाअगाडि बढाएकी थिइन् ।

 

‘विकास निर्माणका कामहरूमा निगरानी बढाउन थालेपछि यो टाउको दुखाई ठेकेदारको मात्र बनेन,’ उनले भनिन्, ‘स्वयं मेयर  दिपेन्द्रले नै आपत्ति जनाउनुभयोे, मलाई रोक्ने प्रयास भयो ।’

 

स्थानीय सरकार संचालन ऐन २०७४ मा उपमेयरले अनुगमन गरेपछि यदि चित्त नबुझेको खण्डमा भुक्तानी रोक्न सकिनेसमेत उल्लेख छ ।  निर्वाचित भएदेखि नै विकासका कामहरूको अनुगमनमा लागेकी उपमेयरले दर्जनाँै कामहरू गुणस्तरहीन भएको पहिचान गरिन् ।

 

यही विषय नै मेयरको मुख्य असन्तुष्टि बन्यो । त्यसपछि उपमेयरले प्रमाणित नगरेका कतिपय विकास निर्माणका कामहरूको भुक्तानी धमाधम हुन थाल्यो ।

 

कर्मचारीहरूको समेत असहयोग

गुणस्तरहिन कामहरूको पहिचान गरेपछि भुक्तानी रोक्न योजना शाखालाई उपमेयर रेणुले निर्देशन दिए पनि मेयरको आडमा भुक्तानी भएको छ ।पटकपटक लिखित, मौखिक निर्देशन दिए पनि कर्मचारीहरूले अटेर गरेपछि उपमेयरले सुरुमा फाइल नै नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् ।

 

यही विषयमा कर्मचारीहरूले मेयरको उक्साहटमा लागेर हातपात गरेको आरोप समेत लगाए । उनिहरूले कारबाहीको माग गर्दै उपमेयरविरुद्ध सामूहिक विज्ञप्तिसमेत निकालेका थिए ।

 

‘तर, मैले त्यसको बेवास्ता गर्दै आफ्नो काम, कर्तव्य र अधिकारलाई निरन्तरता दिइरहेँ,’ उपमेयर रेणुले भनिन्, ‘उनीहरूले तोड्न खोजे, मैले रोक्न खोजे ।’  यदपी केही कर्मचारीहरूले भने उपमेयरविरुद्ध विज्ञप्ति निकाल्नु बाध्यता रहेको प्रतिक्रिया दिएका थिए ।

 

उपमेयरलाई सशंकित बनाउने प्रयास

उपमेयर महतोले आफ्ना अधिकार क्षेत्रमा आक्रामक ढंगले लाग्न थालेपछि कमिसनको प्रतिशत लिने कर्मचारीदेखि जनप्रतिनिधिहरूको टाउको दुखाई बनेको स्थानीय बताउँछन् ।

परिणामस्वरूप उनलाई एक्ल्याउने, मनोबल कमजोर बनाउने र मेयरको स्वार्थअनुसार काम गर्न बाध्य बनाउने चलखेल सुरु भयो । यही क्रममा उनी चढेको गाडीलाई पछ्याउने, आक्रमण प्रयाससमेत हुन थाल्यो । मेयर समर्थक केही समूहको उपमेयरलक्षित हुलहुज्जत बढ्न थालेपछि उनले मेयरबाटै आफ्नो ज्यानको असुरक्षा भएको भन्दै पत्रकार सम्मेलन गरेर उपमेयर रेणुले सार्वजनिक रुपमा जानकारी गराएकी थिइन् ।

गत जेठमा पत्रकार सम्मेलन गर्दै उपमेयर रेणुले अधिकारको बेवास्ता गरी मेयर डा. दिपेन्द्र महतोले आफूखुसी गर्न खोज्ने र आफू अनुकूल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियमविपरीत काम गर्न दबाब दिएको बताएकी थिइन् ।

सम्पूर्ण अधिकारलाई बाइपास गर्दै मेयरले गरेको अनैतिक कार्यमा संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि सांघातिक आक्रमणमा समेत उत्रिएको उपमेयर रेणुको आरोप छ । उनलाई सोही समयमा कार्यकक्षमा नै मेयरका नाता पर्ने व्यक्तिहरूले हातपातको प्रयास समेत गरेका थिए ।

 

अदालतको सहारा

नगरप्रमुख दिपेन्द्र महतोले उपमेयर विना नै धमाधम निर्णय गर्न थालेपछि उनले अदालतको सहारा लिन सुरु गरिन् । यसअघिको नगरसभामा नगरप्रमुख महतोले मनोमानी ढंगले निर्णय गरेको भन्दै अदालतमा पुगेकी उपमेयर कै पक्षमा फैसला भएपछि नगरप्रमुख थप आक्रामक बनेका थिए ।नगरसभा कार्यान्वयन नगर्न जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आफूलाई थप सुरक्षाको चुनौती बढेको उपमेयर रेणु बताउँछिन् ।

 

उपमेयरको चालक मेयरको निशानामा

एकदिन उपमेयर जनकपुर जाँदै थिइन् । एक्कासि लालगढमा पुगेपछी उनको गाडी ट्राफिक प्रहरीले रोके । जनताको कामले नै जनकपुर जान लागेकी उपमेयरलाई ट्राफिक प्रहरीहरूले विना कारण झन्डै १ घण्टा त्यहीँ रोके ।

१ घण्टापछि मेयरको चालक त्यही बाटो भए आए अनि उपमेयरलाई यति लामो समयसम्म रोकेछन् भन्दै सान्त्वना दिन थाले । उपमेयरलाई यो हर्कत मेयरको नै निर्देशनमा हो भन्ने शंका लाग्न थाल्यो ।

अर्कैलाई गरेको फोन अचानक उपमेयरको ड्राईभरलाई आयो र मेयरकै निर्देशनमा उपमेयरको गाडी रोकिएको उक्त आवाजवाट पुष्टि भयो । सोही रेकर्ड सुरक्षित गरेर ड्राईभरले उपमेयरलाई मात्र त्यो आवाज सुनाएनन् कानुनी प्रक्रियामा समेत पुष्टि गर्ने आधार बनेपछी उनी पनि मेयरको निशाना बनेका थिए ।

 

यहीबीचमा मेयरले अनुशासनको कारण देखाउँदै उपमेयरको चालकलाई निष्काशन गरे । पछि रोक्ने प्रहरीकाविरुद्ध कानुनी प्रक्रियाअगाडि बढाएपछि उनले समेत मेयरकै नाम लिएका थिए ।

 

चेतावनीकाे एक वर्षपछि उपमेयरको गाडीमा आगजानी

नगरप्रमुख दिपेन्द्र महतोले करिब एक बर्ष अगाडि भनेका थिए, ‘ड्राईभर मैले भनेको राख्नुस्, नत्र गाडीमा केही भयो भने हामी जिम्मेवारी हुने छैनौँ ।’

उपमेयर महतोले गाडी आगजानी भएपछि सवैभन्दा पहिला मेयरले भनेको कुरा सम्झिन् । विहान उठेर हेर्दा उनी चढ्ने  प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा दायाँतर्फको टायर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने पछाडि आधा भाग जलेको थियो ।

आफ्नै घरमा पार्किङ गरेर राखेको गाडी आगजनी भएपछि उपमेयर रेणुले पहिले मेयरले गरेका हर्कतहरू सम्झिन् । ‘मलाई मेयरले दिएको चेतावनी मात्र हैन गाडी पछ्याउनेदेखि सांघातिक आक्रमण यसैको शृङ्खला हो भन्ने लाग्यो ।’

मेयरप्रति उनी निकै सशंकित बनिन् । प्रहरीलाई खवर गरिन् ।  तर, दोषी अझै पक्राउ परेका छैनन् भने मेयरको निर्देशनमा अन्य जनप्रतिनिधिहरू उपमेयरलाई दोषी देखाउन थालेका छन् । अझ बनिबनाउ निर्णय कार्यापालिका वैठकमा प्रस्तुत गरि उपमेयरलाई गाडी आगजनी हुनुमा दोषी देखाइएको छ ।

 

कार्यापालिकाको बैठकमा उपमेयर नै दोषी रहेको निष्कर्ष

गत माघ २६ गते बसेको बैठकले उपमेयरले नै सुरक्षा सतर्कता नअपनाएको भन्दै सम्पूर्ण दोष लगाइएको छ  । घटना घटेको थाहा पाउनासाथ खोजतलास गर्ने प्रयास नगरिएको, रिस उठेको व्यक्तिलाई आरोप लगाइएको, व्यक्तिगतरुपमा आफैले ड्राईभर राखेको जस्ता आरोप लगाउदै गाडीको क्षतिपूर्ति र ममर्तसम्भार खर्च आफैँले बेहोर्नु पर्ने निर्णय गरिएको छ ।

दोषीलाई तत्काल खोजी गर्न पनि उपमेयरलाई बैठकबाट नै निर्देशन दिएको छ । तर, उपमेयर रेणुले सोही बैठकको निर्णय १०औँ बुँदामाथि आपत्ति जनाएकी छन् । घरमा नै राखेको ठाउँमा आगजानी गर्दा पनि दोषी उपमेयरलाई नै बनाएर मेयरले घटनालाई गुपचुप बनाउन खोजेको कतिपय स्थानीयको आरोप छ । स्थानीयले मेयरमाथि नै अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

 

माइन्युटको खाका तयार गरेपछि मात्र बैठक

स्थानीय सरकार संचालन ऐन २०७४ मा बैठकमा एजेन्डाहरू प्रस्तुत गरेर छलफल गरेपछि मात्र निर्णयको सहमति र असहमति लिने प्रचलन छ ।तर, नगरप्रमुख लगायत केही व्यक्तिहरू बसेर निर्णय र छलफलपछि मात्र हस्ताक्षर गर्न माइन्युट बैठकमा पेश गरिने उपमेयर रेणु  बताउँछिन् ।

 

‘एजेन्डाहरू पारित गर्नुभन्दा पहिला सन्तुष्टि, असन्तुष्टि रहन सक्छन । तर, त्यो नगरिकन सिधै हस्ताक्षर गर्न पेपर अगाडि ल्याइन्छ,’ उनले भनिन्, ‘वास्तवमा लोकतान्त्रिक प्रक्रियामा यो जत्तिको निरकुंश के नै हुन सक्ला र ।’

 

के विषयमा छलफल हुँदै छ भन्ने समेत थाहा नदिइकन कार्यापालिकामा हस्ताक्षर गर्ने प्रक्रिया लोकतान्त्रिक नभएको भन्दै उनले मेयर दिपेन्द्रको अत्याचार बढ्दै गएको बताइन् ।

 

बैठक लाइभ गर्न माग

उपमेयर महतोले नगरपालिकामा हुने सम्पूर्ण निर्णय सार्वजनिक गर्न माग गरेकी छन् । जनतावाट निर्वाचित जनप्रतिनिधिहरूले गरेको निर्णय र छलफल जनताले सुन्न र हेर्न पाउने अधिकार रहेको उनको भनाइ छ ।

‘जनतालाई लुकाएर गर्नुपर्ने निर्णय नै के पो हुन्छ र । यसमा पार्दर्शी हुनुपर्छ,’ उनले भनिन्, ‘जनताको कार्यापालिकामा जनताले थाहा पाउनुपर्छ कि आफ्ना जनप्रतिनिधिहरूले के–के गरिरहेका छन् भनेर ।’

मेयर दिपेन्द्रले गर्ने रवैया मात्र हैन आफूहरूको समेत मुल्यांकन कार्यापालिका बैठकवाट नै जनताले गर्न सक्ने बताउँदै लाइभ गर्ने विषयलाई अस्वीकार गर्नु गलतलाई प्रश्रय दिइरहेको प्रमाणित हुने उपमेयर रेणु बबताउँछिन् । आफू यस्तै बेथितिविरुद्ध लडिरहेको उनको भनाइ छ ।

तर, नगरप्रमुख दिपेन्द्र महतोले उपमेयरले लगाएको सबै आरोप निराधार झुटो रहेको भन्दै खण्डन गर्छन् । सुशासनको लागि आफू लागिपरेको बताउदै उनले उपमेयर रेणु स्वयं बिफल बनाउने अभियानमा लागेको आरोप लगाए ।

आर्थिक समृद्धिका कामहरू अगाडि बढेको र आफ्नो कार्याकालमा महसुस हुनेगरी विकास गर्ने उनको दाबी छ । न्युज कारखाना

 रौतहट,१० गते फागुन ।

भारतको तमिलनाडु प्रान्त स्थित कोयम्बतुरमा रहेको अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेजमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरुले किसानसित अन्तरक्रियात्मक प्रदर्शन गरेका छन् । विश्वविद्यालयको रावे RAWE कार्यक्रमको एक भाग को रूपमा बीउ प्राइमिंग र बीउ छर्राबारे कोयम्बतुर जिल्लाको माइलेरिपलायम पञ्चायत अन्तर्गत एलुर गाउँमा विद्यार्थीहरुद्वारा एक प्रदर्शन आयोजित गरिएको थियो ।

सीड प्राइमिङ भनेको बीउको नियन्त्रित हाइड्रेशनको प्रक्रिया हो जसले प्रि–जर्मिनेटिभ मेटाबोलिक गतिविधिलाई अगाडि बढ्न अनुमति दिन्छ, तर रेडिकलको वास्तविक उदयलाई रोक्छ । यसले उदयको द्रुत गतिमा मद्दत गर्दछ । यसले प्रतिकूल कृषि–जलवायु परिस्थितिहरूमा पनि बीउ अंकुराउन र उभर्न सक्षम बनाउँछ । बीज प्रिमिङले बीउको शेल्फ लाइफ बढाउँछ भनेर विद्यार्थीहरुले कृषकलाई बुझाउन सफल भएका छन् ।

साथै सीड पेलेटिङ् भनेको बायोएक्टिभ केमिकलसहितको टाँसेको प्रयोग गरी फिलर सामग्रीमा बीउलाई घेर्नु हो र सजिलैसँग ह्यान्डल गर्नको लागि बीउको एकल र आकार बढ्छ । बीउको टुक्राले सानो बीउको आकार र तौल बढाउन मद्दत गर्छ, यसरी सटीक रोपण बढाउँछ र यसले खेत वा ट्रेमा एकै किसिमको बिरुवा निस्कन मद्दत गर्छ । एक समान आकार र आकार, पर्याप्त तौलको साथमा, मेकानिकल पृथकीकरणलाई हावा बनाउँदछ र रोपण कार्यको क्रममा सहज, सहज प्रवाह सुनिश्चित गर्दछ ।

एभििभतष्लनले वृद्धि नियामकहरू र सूक्ष्म पोषक तत्वहरू आपूर्ति गर्न मद्दत गर्दछ र प्रत्येक बिरुवाको लागि, फंगी वा कीराहरूबाट सुरक्षात्मक ढाल प्रदान गर्दछ । हामीले सहभागी कृषकहरूलाई यस्तो महत्वपूर्ण विषयको बारेमा जानकारी दिएकोमा सकारात्मक प्रतिक्रिया पायौ ं। विद्यालयका डीन डा.सुधीश मनालिलका साथै समूह सहजकर्ताहरू, डा. वी मार्तण्डन, डा. जी. बुपाथी र डा. वी वनिताको नेतृत्वमा प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको प्रदर्शनमा सहभागी रौतहटकी छात्रा सृष्टि गुप्ताले जानकारी गराएकी छन् ।

वीरगञ्ज, १० फागुन ।

प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो।

प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो।

पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका माझीविरुद्ध मुद्दासम्बन्धी कसुर मुद्दा दर्ता अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
न्युज कारखाना

पर्सा, १० फागुन ।

बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
न्युज कारखाना

 

बारा, १० फागुन ।

बाराकाे पचरौता नगरपालिकाकामा एकैदिन बर्थिङ सेन्टर र वडा कार्यालय भवनको शिलान्‍‌न्यास गरिएको छ । पचरौता नगरपालिका नगर प्रमुख जलन्धर सिंहले  बर्थिंग सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

पचरौता नगरपालिका वडा नं ७ स्थित भिखना पोखरीको डिलभित्र बर्थिङ सेन्टरको भवन र वडा न ७ को वडा कार्यालयको भवनको शिलान्‍‌न्यास गरेका हुन् । ६० लाखको लागतमा बर्थिङ्ग सेन्टर र १ करोडको लाह्तामा वडा कार्यालयको भवन निर्माण हुने नगरपालिकाले जनाएको छ  ।

शिलान्याश कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले,सुत्केरी हुन सदरमुकाम कलैया,बिरगंज अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्नको लागि बर्थिङ सेन्टर निर्माण गर्न लागेको बताए ।

“नगरपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ”, उनले भने,“आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ।”

उक्त शिलान्‍‌न्यास कार्य्रकममा पचरौता नगरपालिकाका उपप्रमुख नसिमा खातून, वडा अध्यक्षहरु लक्ष्मी यादव, बनारसी मुखिया, धेनुक मुखिया, स्थानीय नेताहरु सुरेश यादव, भैयाराम सहनी, नेवाजी अन्सारी लगायतको उपस्थिति रहेको थियो ।न्युज कारखाना

रौतहट १० फागुन।

सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्भालेका हुन् ।

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरी  बाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्भालेका हुन् ।  २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।

 

यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा  विभाग काठमाडाैँ सरुवा भएको छ।न्युज कारखाना

मुकेश कुमार साह,रौतहट १० फागुन ।

  गुजरा नगरपालिका भित्र फागुन  १३ गतेदेखि १७ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

आज गुजरा नगरपालिकाको सभाहलमा  आयोजित नगर स्तरीय खोप समन्वय समिति एवं संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक बिजयवावु चौधरीले नगरका ९ वटै वडामा फागुन १३ देखि १७ गतेसम्म दादुरा, रुबेलाविरुद्धको खोप कार्यक्रम चल्ने जानकारी दिए ।

No description available.

उनले गुजरामा १७ हजार  बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको   बताए । उनले कक्षा १ देखी  कक्षा १० सम्म पढ्ने १५ बर्ष मुनिका विद्यार्थीलाई खोप लगाइने जनाए । स्वास्थ्य संयोजक चौधरीका अनुसार १७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनी खोप पर्याप्त रहेकोले जती बालबालिका रहेपनि सवैलाई खोप लगाईने छ । चौधरीका अनुसार स्वास्थ्यकर्मीले प्रत्येक विद्यालयमा पुगेर र खोप केन्द्रमा बसेर ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउने छन् ।

 

खोप कार्यक्रमबारे स्वास्थ्य शाखा प्रमुख चौधरी र रंगपुर स्वास्थ्य चौकीका प्रमुख  सैफुल्लाह देवानले   प्रष्ट पारे । अन्तक्रिया कार्यक्रममा मन्तव्य राख्दै मा.वी मैढाका प्राधानाध्यापक   राम अयोध्या चौधरी लगायतले सबै मिलेर खोप कार्यक्रम सफल पार्नुपर्ने बताए । अभिमुखीकरणमा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक,स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी तथा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

बारा, १० फागुन । 

बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् ।

पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरुको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी-सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९.७५ किलोमीटर निर्माणको क्रममा सडक बिस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन् । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन् ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

केपी ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश गरेका छन्। आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा एमाले प्रवेश गरेका हुन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर राेकेर आयाेजित पार्टी प्रवेश कार्यक्रममा  कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।

 

केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए।  गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले केपी शर्मा ओलिलाई गद्दार भन्दै  एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।न्युज कारखाना

रौतहट १० फागुन।
जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनविपरीत यहाँका कुनै पनि स्थानीय तहले आफ्नो लेटरप्याडसहितका काजगातमा नेपाली सम्वत उल्लेख गर्ने गरेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गत माघ १ गते एक सूचना जारी गर्दै सबै स्थानीय तह तथा सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटले गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्रअनूसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत लेख्न निर्देशन दिएको थियो ।

गत माघ १ गतेदेखि ती निकायहरुले बिक्रम सम्वत लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको थियो।


जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत उल्लेख गर्न पत्र लेखेको एक महिनाभन्दा बढी समय बित्दा पनि जिल्लाको १८ स्थानीय तह मध्ये प्रायः कुनै पनि तहले आफ्नो लेटरप्याडमा नेपाली सम्वत उल्लेख गरेको देखिँदैन । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।