वीरगन्ज- वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।
वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।
घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए। छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन्।
यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगन्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।न्युज कारखाना
रौतहट- रौतहटको पश्चिमिभेग फतुवा विजयपुर नगरपालिका-११ स्थित श्री आधरभूत विद्यालय राङ्गीको प्राङ्गणमा सरस्वती माता मन्दिरको शिलान्यास गरिएको छ।
मन्दिर निर्माणका लागि सयौं समाजसेवी बुद्धिजीवी र शिक्षा प्रेमी महानुभावको उपस्थितिमा मंगलबार स्थानीय अच्युत मैनालीको ममतामयी माता ज्येष्ठ नागरिक कृष्णलक्ष्मी मैनालीको हातबाट मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
राङ्गी गाउँका १५२ घरधुरीको आर्थिक सहयोगमा मन्दिर निर्माण हुन लागेको हो। ज्येष्ठ नागरिकको हैसियतले सम्मानस्वरुप शिलान्यास गरेपछि मन्दिर निर्माण हुने सोही विद्यालयका प्रधानाध्यापक विजयकुमार कुशवाहले जानकारी दिएका छन्।न्युज कारखाना
आगामी मंसिर १ गतेदेखि पञ्चवर्षीय मेला लाग्दै
सञ्जय मिश्रा
रौतहट- जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ। त्यही स्थान हो रौतहटको गुजरा नगरपालिका वडा-३ सिमरी गाउँमा रहेको नवनिर्मित गढीमाई मन्दिर।
यो मन्दिरको मंगलबार उद्घाटन गरिएको छ। वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहासिक गढिमाई मन्दिर निर्माण भई मंगलबार विधिवत् रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष अशोक चौधरीले बताएका छन्। यसअघि सानो तथा जीर्ण मन्दिरमा पूजा हुँदै आएको थियो।
सिमरी गाउँस्थित नवनिर्मित गढीमाई मन्दिरमा बत्ती बालेर पूजा गरेपछि मात्र विश्वप्रसिद्ध बाराको ठूलो गढीमाई मन्दिरमा बत्ती बालेर पूजा सुरू हुने परम्परा रहेको छ।
यस पटक सिमरीस्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुरस्थित गढीमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पूजा सुरू हुने बताइएको छ। यसअघि उनका बुवा दुखन धामी कछडिया तान्त्रिक पुजारी रहेका थिए।
चार वर्षअघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछडियाले तान्त्रिक पुजारीको रूपमा जिम्मेवारी पाएका छन्।
प्रत्येक पाँच वर्षमा विश्वप्रसिद्ध बारास्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल-भारतलगायत संसारको धेरै देशबाट लाखौं मानिस मेला भर्न आउने गर्दछन्।
पाँच वर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मुसा, बोका, परेवा, सुँगुर, राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।
सबैभन्दा बढी बली चढाउने भएकाले बाराको वरियारपु स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा छ।
मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबली चढाएपछि सर्वसाधारणले भाकलअनुसार बली चढाउने गर्छन्।
गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकालेर चढाएरपछि बली सुरू हुन्छ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बली भएको गढीमाई पूजा व्यवस्थापन समितिले जनाएको छ। भाकल पूरा भएर मेला भर्न पूजा गर्न आउने भक्तजनहरूले हजारौं परेवा उडाउने गर्छन्।
बारा गढीमाई मन्दिरमा पूजा हुनुअघि रौतहट गुजारा नगरपालिका-३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पुजारी उमाशंकर धामी (कछडिया)ले विशेष पूजा, आराधाना गरेसँगै आफ्नो शरीरको पाँच ठाउँबाट रगत निकाली नर बलीस्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यसपछि रांगा, बोका, परेवा र पाठीको बली दिएर मन्दिरमा बत्ती बालेर तान्त्रिक पुजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।
तान्त्रिक पूजारी कछडिया, बारा गढीमाईका मूल पुजारी मंगल चौधरी, अन्य पुजारीहरूका साथमा रही रातभर पूजा हुन्छ। पूजा-आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफैं बत्ती बल्छ र पञ्चबली हुने गरेको पुजारी उमाशंकरले बताएका छन्।
परापूर्वकलदेखि हिन्दु धर्म संस्कृतिमा पशु बलीलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन रहिआएको छ। शक्तिस्वरुपा देवीलाई खुसी बनाउन बली अनिवार्य भएको प्रचलन रहिआएको छ।
विश्वप्रसिद्ध पञ्च वर्षीय गढीमाई मेला यस वर्ष आगामी मन्दिरमा लाग्दैछ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन् २०२४ नम्बर १६ तारिखदेखि मंसिर ३० डिसेम्बर १५ तारिख एक महिनासम्म मेला लाग्ने छ।
गढीमाई मन्दिरमा विशेष पूजा तथा राँगा बली मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बली त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिख हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।
बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने एक महिने मेलाको लागि स्थानीयहरू एक वर्ष अगाडिदेखि तयारी सुरू गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिनाभरि बस्ने कारण आ-आफ्नो क्षमता अनुसार खाने/बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन्।न्युज कारखाना
रौतहट- रौतहटमा मापदण्ड पूरा नगरी खोलिएका दर्जनौं निजी अवैध अस्पतालहरूमा झोले डाक्टरहरूले उपचार गरी सयौं नेपालीको ज्यानसँग खेलवाड गरिरहेका छन। उनीहरूले उपचारको नाममा त्यस्ता अस्पतालमा बिरामीसँग लाखौं रुपैयाँ लुटिरहेका छन्।
तर, नियमनकारी निकाय मौन बसेको गुनासो बढ्दै गएको छ। नियमनकारी कुनै पनि निकायबाट त्यस्ता अवैध अस्पतालहरूको अनुगमन/निरीक्षण भएको देखिएको छैन।
त्यसको ज्वलन्त उदाहरणको रुपमा रहेको छ शिवनगरस्थित आनन्द हस्पिटल। जिल्लाको मध्यभाग गरुडा नगरपालिका शिवनगरमा रहेको उक्त अस्पताल वर्षौंदेखि अवैध रूपमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको छ।
उक्त अस्पतालमा प्यारालाइसिस पक्षाघात (लकवा) रोगको ग्यारेन्टी उपचारको नाममा झोले डाक्टर उमेशप्रसाद जैसवालले प्रत्येक बिरामीसँग एकदेखि डेढ लाख रुपैयाँसम्म लुट्दै आएका छन्।
तर नियमनकारी कुनै पनि निकायले हालसम्म नियमन/अनुगमन गरेको छैन। स्थानीय प्रशासन, स्थानीय निकाय अथवा औषधी व्यवस्था विभाग वीरगन्ज मुकदर्शक बनेको छ।
आनन्द पोलिक्लिनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएर २०७६ फागुन १३ गते गरुडा नगरपालिकामा नवीकरण गरेको तथ्यांक रहेको छ। तथ्यांकमा आनन्द पोलिक्लिनिक एक्युपञ्चर रहेको छ तर यथार्थमा आनन्द हस्पिटल प्रालि नाम राखेर वर्षौंदेखि सञ्चालन गर्दै झोले डाक्टर जैसवालले बिरामीहरूसँग लाखौं रकम लुट्दै आएका छन्।
अस्पतालमा बेड राख्ने प्रक्रिया पूरा नै नगरी दर्जनौं बेड राखेर नक्कली डाक्टर उमेशप्रसाद जैसवालले बिरामीहरूको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरिरहेका छन्।
स्थानीय स्रोतका अनुसार जैसवालले नियमनकारी निकायलाई पैसाको प्रभाव र राजनीतिक दबाबमा पारेर अहिलेसम्म बिरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएका छन्।
गाउँ-गाउँमा दलाल राखेर पक्षाघात (लकवा) भएका बिरामीहरूलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको नाममा उनले आर्थिक लुट मच्चाउँदै आएका छन्। झण्डै एक दशकदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरीत गैरकानुनी रुपमा हस्पिटल सञ्चालन गर्दै आएको स्थानीयहरूले बताएका छन्।
निजीस्तरको हस्पिटल सञ्चालन गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्वारा निर्धारण गरिएको परिपत्र अनुसार २८ वटा बुँदामा लेखिएका पूर्वाधार पूरा गर्नु पर्दछ।
तर, बिनापूर्वाधार आनन्द हस्पिटल प्रालि गैरकानुनी रुपमा सञ्चालन रहँदा कुनै पनि निकायबाट कारबाही नगरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्।
आनन्द हस्पिटल एउटा उदाहरण मात्र हो, रौतहट जिल्लाको प्रायः सबै पालिकामा मापदण्ड विपरीत दर्जनौं निजी अस्पताल सञ्चालनमा रहेका छन्।
अबैध रुपमा सञ्चालित त्यस्ता अस्पतालहरूमा एकातर्फ बिरामीको स्वास्थ्यसँग खेलवाड भइरहेको छ भने अर्कोतर्फ उपचारको नाममा बिरामीसँग लाखौं लाख असुल भइरहेको छ।
यस्तै, गुनासो आएपछि केही महिनाअघि जिल्ला प्रशासन र जिल्ला प्रहरीको संयुक्त टोलीले सुकदेव चौकस्थित एक निजी अस्पतालमा छापा मारी तीन जना भारतीय नक्कली डाक्टरलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो।
पालिकाभित्र कसैले पनि बिना मापदण्ड पूरा गरी अस्पताल, क्लिनिक, मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थसँग खेलवाड गर्छ भने त्यस्तालाई कारबाहीको दायरामा ल्याउने अधिकार स्थानीय निकायसँग रहेको छ।
तर विभिन्न राजनीतिक प्रभावको कारण जिल्लाको १८ स्थानीय तहमध्ये प्रायः कुनै पनि पालिकाले अहिलेसम्म अनुगमनको पहल गरेको देखिएको छैन।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानुनी रुपमा जिल्लामा सञ्चालनमा रहेका निजी अस्पतालहरूमा अनुगमन गर्ने पहिलो अधिकार स्थानीय निकायको रहेको बताएका छन्।
तर, स्थानीय तहसँगै अन्य निकायले ध्यान नदिँदा जिल्ला प्रशासनबाट चाँडै अनुगमन सुरू गर्ने तयारी भइरहेको रेग्मीले जानकारी दिएका छन्।
शिक्षा र स्वास्थ्यजस्ता नागरिकसँग प्रत्यक्ष सरोकारको विषयमा स्थानीय प्रशासनसँगै स्थानीय निकायका प्रमुखहरूको पनि ध्यान जान जरुरी रहेको छ।न्युज कारखाना
चन्द्रपुर,१३ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वन बनहुअरीमा बनेको वृद्ध आश्रम यतिबेला अलपत्र अवस्थामा परेको छ । नेपाल सरकारको ३ करोडको लागतमा बनेको सो वृद्धाश्रमको भवन यतिबेला अलपत्र अवस्थामा परेको भएपनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।
केही राजनैतिक दलका नेता तथा ठेकेदारको आफ्नै इच्छा अनुसार डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको वन बनबहुअरी सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने वनको जग्गामा बनेको सो भवन यतिबेला अलपत्र अवस्थामा परेको हो । केही राजनैतिक दलका नेता तथा वन बनबहुअरीकै ठेकेदार देवराज अधिकारीले आफ्नै मनोमानी तरिकाले जंगलको छेउमा बनाएको वृद्ध आश्रम संचालनमा नआउदा राज्यको तीन करोड स्वाह भएको छ । वनको जग्गामा जंगलको छेउमा ठेकेदार अधिकारीले राज्य संयत्रको सेटिङमा बनाएको बृद्धाआश्रम अहिले भत्कले अवस्थामा पुगेको छ । जंगलको छेउमा भएका कारण समेत त्यहाँ आश्रम संचालनमा समस्या आएको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।
जंगलको छेउमा सघन सहरी विकास मन्त्रालयले ठेकेदार अधिकारी मार्फत तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धा आश्रम संचालनमा आउन नसकेर अलपत्र अवस्थामा पुगेको स्थानीयले बताए ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको बुद्धा आश्रम नै राज्यको नियम विपरित रहेको र घना वनको छेउमा रहेका कारण संचलनमा ल्याउन समस्या भएको जानकारहरुको भनाइ रहेको छ ।
निर्माण सम्पन्न भएको दुइ बर्ष हुन लाग्दा समेत भवन संचालन आउन सकेन, के कारणले संचालन हुन नसकेको स्थानियले बुझ्m्न नसकेको बताउछछन् । उक्त भवनमा ठेकेदारको ईच्छा अनुसार अनकन्टार स्थानमा निर्माण भएका कारण समेत संचालनमा आँउन नसकेको जानकारहरुको भनाइ रहेको छ ।
करोडौको लागतमा बनेको सो भवन दुइ वर्षदेखी अलपत्र बनेको छ । राज्यको तीन करोड लगानी भएको सो भवन यतीबेला सम्म संचालनमा नआँउदा भवन प्रयोगमा नआँउदै भत्कने अवस्थानमा पुगेको एक स्थानीय बासिन्दाले बताए । न्युज कारखाना
रौतहट,१३ जेठ । गढीमाइ नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ ।
गढीमाई नगरपालिकाका मेयर र हाकिमकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाउदै आएकाछन् ।
नगर प्रमुख र हाकिमको साथ पाएका ठेकेदारले ति दुबै घाटमा मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन गरी चरम दोहन गरिरहेको स्थानियले जानकारी दिएका छन ।
समनपुरको बागमती नदिको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्बी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिएका छन ।
ति दुबै घाटमा अहिले दिनरात स्काभेटर र टिपर चलिरहेको स्थानियले जानकारी दिए । स्थानियबासीले दिएको जानकारी अनुसार पुल उत्तर ४ वटा स्काभेटर चलेका छन भने पुल दक्षिण पनि ४ वटा स्काभेटरले भकाभक नदी उत्खनन गरिरहेका छन ।
नगरपालिकाले पुल उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको छ ।
दुबै क्षेत्रमा माछा पाल्ने किसिमको ठुल्ठुला पोखरी तथा नदि बगिरहेको ठाउबाट नै बालुवा गिटी निकाल्ने काम भइरहेको पाइएको छ । नदीमा चरम दोहन भएपछि शुक्रबार स्थानियले केही बेर अबरोध पनि गरेका थिए ।
नदीजन्य पदार्थको अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु पनि कानमा तेल हालेर बसेका छन । अनुगमन समितिको गैर जिम्मेबारपनको कारण रौतहटको बिभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ । यसैबिच गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादवले चाडै नै सो क्षेत्रको अनुगमन गर्ने बताएका छन ।
नदीजन्य पदार्थ निकाशी गर्ने जेठ मसान्त सम्म मात्र रहेको नेपाल सरकारको प्राबधान छ ।
नदीजन्य वस्तुको अवैध उत्खननबाट नगरपालिकाका हाकिम र मेयरलाई धेरै लाभ हुने भएका कारण समय सीमा सकिनु अगाडि नै नियम विपरीत बागमती खोला धमाधम उत्खनन भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुखकै मिलो मतोमा मनोमानी रुपमा बागमती धुन हुँदा वर्षायाममा बागमती गाउँ पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले पटकपटक घडीमाई नगरपालिकाको कार्यालय घेराउ गर्दै आएका छन् । नगरपालिकाका जनप्रतिनिधिले आफ्नो लाभका लागि मनोमानी रुपमा बागमती उत्खनन गराउँदा आउँदो वर्षायाममा बागमतीको बाढी गाउँमा बस्ने खतरा बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । न्युज कारखाना
रौतहट ११ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा निःशुल्क बिजुली पानी र बढ्दो भ्रष्टाचार बिरुद्द आमजनता पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ।
प्रभु साह नेतृत्वको आजपाको शुक्रवार बसेको नगरकमिटीको बैठकले निःशुल्क बिजुली पानी र भ्रष्टाचार बिरुद्द संघर्ष गर्ने निर्णय गरेको हो ।
नगरपालिकामा बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा छलफल भएको छ ।
पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल , पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव,
नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष ब्रह्ममा यादब, दीप नारायण साह, दीप नारायण चौधरी , नगर उपाध्यक्ष रधाकानत यादव, मुस्लिम मोर्चाका केन्द्रिय महासचिव शेख मोविन्, महिला मोर्चाका केन्द्रीय सचिव सुनिता देवी महतो,दलित मोर्चाका केन्द्रिय सचिव रमा शंकर पासवान, आइटी आर्मीका नगर इञ्चार्ज रामशरण यादव, नगर अध्यक्ष गोपाल साह, सानु भुजेल, रामअधार पटेल, युवा नेता मुकेश साह, प्रमोद पासवान, रामकिशोर साह, रामानन्द यादव,रामाकन्त साह, सहदेव हजार प्यारेलाल यादव लगायतका लगायतको सहभागिता रहेको थियो ।
बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।न्युज कारखाना
बारा ११ जेठ। उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी निकट नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव एक कार्यक्रम बीच प्रेस युनियनमा प्रवेश गरेका छन ।
बाराको सदरमुकाम कलैया स्थित शुक्रवार आयोजित कार्यक्रममा उनले जनता समाजबादी पार्टी नेतृत्व प्रती असन्तुष्टी जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए।
उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै युनियनमा भित्र्याएका थिए। उक्त अवसरमा प्रेस युनियन बाराका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।न्युज कारखाना
आरके श्रीवास्तव,राैतहट,१० गते जेठ ।
बज्जिका भाषाका अन्वेषक एवम् साहित्यकार संजय साह मित्र कृत बज्जिका भाषाको पहिलो बुद्ध महाकाव्यको लोकार्पण भएको छ । आज बिहिवार एक कार्यक्रम बीच साे महाकाव्यकाे लोकार्पण गरिएको छ ।

भगवान् गौतम बुद्धको २५६८ औं जयन्तीको अवसरमा आकृति क्रिएसन हेटौडा मकवानपुरको आयोजना तथा बज्जिका साहित्य संगम गरुडा ४ रौतहटको व्यवस्थापनमा साे कार्यक्रम भएको थियोे ।

कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानु, पुर्ब प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर प्रसाद सिन्हा,बज्जिका अभियन्ताहरू शिवचन्द्र साह,रामचन्द्र महताे कुशवाहा र शैली देवी ठाकुरले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन।

मधेस प्रदेशको तेस्रो ठूलाे भाषाकाे रूपमा रहेको बज्जिका भाषाकाे याे महाकाव्य लाेकार्पण कार्यक्रममा वक्ताहरूले साहित्यीक क्षेत्रमा ठूलाे धमाकाकाे संज्ञा दिएका छन् ।

बज्जिका भाषाको विकास संरक्षणको लागि निरन्तर रुपमा कलम चलाउदै आएका संजय साह मित्रले लेखेका पहिलो बज्जिका भाषाको बुद्ध महाकाव्यको लोकार्पण गरिएको हो।





कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख साहले मातृभाषा बज्जिकालाइ राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले गरिएको यो रचनाले बज्जिका भाषाको विकासमा थप उर्जा प्रदान हुने विश्वास व्यक्त गरेका छन्।
बुद्ध महाकाव्यको रचनाकार संजय साह मित्रले २०७८ सालको कोरोना भाइरसको प्रचण्ड प्रकोपको बेला घरमा बस्नु पर्ने अवस्था सृजनाले रचना गर्ने मनमा जिज्ञासा उठे पछि बज्जिका भाषामा बुद्धको जीवनमा आधारित महाकाव्यको रचना गरेको बताए।
वज्जिका भाषामा बिभिन्न लेख, रचना, कविता, खण्ड काव्य, कहावत, लगायतको रचना गरी सकेका साहित्यकार साहले बज्जिका भाषामा पहिलो पटक महाकाव्यको रचना गरेर पाठक माझ ल्याउन पाउदा हर्शित भएको बताए।
५५ अध्याय २४० पृष्टमा विस्तार गरिएको महाकाव्य बज्जिका भाषिको लागि उपयोगी हुने रचनाकारको विश्वास रहेको छ।
कार्यक्रमकाे अध्यक्षता रामअविकासले गरेका थिए । भने कार्यक्रम सञ्चालन किसुन दयाल यादव गरेका थिए ।
काे हुन् संजय साह मित्र ?
वि.स.२०३० सालमा साविक गेडही गुठी हाल गरूडा नपा २ मा पिता अच्छेलाल साह र माता अनुरगियादेवी कनुइनकाे काेख बाट जन्मिएका मित्रले नेपाली साहित्य र इतिहासमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् ।
वि.स.२०६१ सालमा पच्चीस डेङ बज्जिका कविता संग्रह बाट पुस्तक लेखन सुरू गरेका उनको एक दर्जन कृतिहरू प्रकाशनमा छन् ।
उनलाई दुई वटा ठूलाे उपाधी पनि दिईएकाे छ । २०७७ सालमा बज्जिका समृद्धि समाज सर्लाही द्वारा बज्जिका शिराेमणी र २०७४ सालमा मधेस संस्कृतिक प्रतिष्ठान राैतहट द्वारा मधेशरत्न उपाधी हासिल गरेका छन् ।
उनलाई धेरै पुरस्कारहरू प्रदान गरिएको छ भने दर्जनौं सम्मानपत्र द्वारा सम्मान गरिएको छ ।
सिरहा, ९ जेठ। सिरहामा पछिल्लो समय ग्राभेल माफियाहरुले अबैधरुपमा गर्ने गरेको उत्खनन्ले स्थानियहरु आजित भैइसकेका छन्। गाँउ बस्ती नै डुवानमा पर्नेगरी विना दर्ताकै ग्राभेल माफियाहरुले गरेको अवैध उत्खन्न्ले स्थानियहरु आजित भएका हुन्।
आज विहान बवैध रुपमा ग्राभेल उत्खन्न् गरिरहेको अवस्थामा प्रहरीले नगरहा गाउँ पालिका ३ खोरियाबाट दुईवटा टिपर र एकथान स्काभेटर नियन्त्रणमा लिएको छ।
स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा खानी समेत दर्ता नगराई ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल गोलबजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्वरको टिफार र नम्वर नखुलेको स्काभेर नियन्त्रणमा लिएको हो।
स्थानीयले दिएको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीले उत्खनन गरिरहेको स्थानबाटै टिफर र स्काभेर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गोलबजारको प्रहरी निरीक्षक दशरथ अधिकारीले जनाएको छ।नियन्त्रणमा लिएको टिफर र स्काभेटर गाउँ पालिकाको जिम्मामा लगाउने कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
नरहा ३ को दर्जनौं स्थानबाट अबैधरुपमा उत्खनन् भईरहेपनि स्थानीय प्रहरी र जनप्रतिनिधीको मौनताले उनीहरुको संलग्नता स्पस्ट देखिएको स्थानीयहरु बताउँछन्। कुनै खानी दर्ता नभएपनि यहाँका पहुँचबाला व्यसायीहरुले प्रशासन र जनप्रतिनिधीलाई प्रभावका पारेर ग्राभेल निकाल्ने गरेको स्थानीय एक शिक्षकले जानकारी दिए।
उनका अनुसार दिनभरी मिर्चैया प्रहरीको डिउटी बसेकै क्षेत्रबाट ग्राभेल लानेगरेपनि प्रहरी देखेको नदेखेझैं गरेकाले प्रहरीको नीयत त्यसै उदाङ्गो भएको देखिन्छ।
उनले भने, ‘पालिकाकै अगाडीबाट दिनहुँ दर्जनौ टिफर जान्छ, वडा अध्यक्षलाई हामीले पटक पटक भन्दा पनि वास्ता गर्दैन, प्रहरीलाई भन्दा पनि सुन्दैन, आज बल्ला सशस्त्रले गाडी समायो। यो अबैध धन्दा रोकिनु पर्छ।’
ती शिक्षकले पक्राउ परेका टिफरहरु पनि निश्चित राजस्व बुझाएर छोड्नु नहुने बताउँदै भने, ‘यो चोर पुसको खेल जस्तो भयो, महिना दिन चलाउँछ। स्थानीयको धेरै विरोध हुन थालेपछि पकडेर देखाएजस्तो गर्छ। यो देखावा सकियो। अव उनीहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।’
नरहा गाउँ पालिकामा आजसम्म कुनै खानी दर्ता नभएको प्रशासनले जनाएको छ। यहाँ बाट निस्कने सवै ग्राभेल चोरी निकासी गरेर निस्कने गरेको छ। न्युज कारखाना