२०८३ भाद्र ५
२०८३ भाद्र ५

काठमाडौँ । सुनसरीको देवानगन्जमा भएको घटनामा गोली लागेर घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो ।

बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो ।

मेहताको निधनसँगै सुनसरीमा मात्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

सुनसरी घटनापछि फैलिएको तनावमा सिरहामा समेत एक जनाको गोली लागेर ज्यान गएको थियो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार काठमाडौंको आलोकनगरस्थित एक सभाहलमा सम्पन्न भएको छ।

प्रतिष्ठानकी अध्यक्ष तथा मधेश आन्दोलनका शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश आन्दोलनदेखि हालसम्मका उपलब्धि, त्यसको राजनीतिक प्रभाव तथा वर्तमान चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो।

वक्ताहरूले मधेश आन्दोलनले देशको राजनीतिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै पनि आन्दोलनका मूल उद्देश्यहरू अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्। संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व र मधेशी समुदायका अधिकार सुनिश्चित गर्ने विषयमा प्रगति भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनीहरूको धारणा थियो।

अन्तरक्रियामा पछिल्लो समय मधेशमा देखिएको राजनीतिक विभाजन, नेतृत्व संकट, सामाजिक ध्रुवीकरण तथा युवापुस्तामा बढ्दो निराशाका विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले मधेशको भविष्य सुधारका लागि साझा दृष्टिकोण, स्पष्ट नीति र प्रभावकारी नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा मधेशको समग्र विकासका लागि शिक्षा, रोजगारी, सुशासन, आर्थिक सशक्तीकरण, सामाजिक एकता र युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा पनि जोड दिइयो। विभिन्न जिल्लाबाट आएका सामाजिक अभियन्ता, युवा, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले सहकार्य र निरन्तर संवादको आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको समापनमा अध्यक्ष ममता चौधरीले शहीदहरूको त्याग र बलिदानको स्मरण गर्दै उनीहरूको सपना अझै अधुरो रहेको बताइन्। उनले न्याय, समानता र अधिकार सुनिश्चित गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै भावी पुस्ताले पनि शहीदहरूको योगदानलाई सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन्।

सहभागीहरूले शहीदहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूले देखाएको मार्गअनुसार समानता, न्याय र सामाजिक परिवर्तनको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए। यस्ता कार्यक्रमले साझा मुद्दामा गम्भीर बहस सिर्जना गरी नीति निर्माण र जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा पूर्व प्रहरी अधिकृत, पूर्व संविधानसभा सदस्य, पूर्व प्रदेश सांसद, विभिन्न सामाजिक अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो।

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १४ गते दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा आयोजना गर्न वा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार कर्फ्युको क्षेत्र उत्तरतर्फ लक्ष्मीनिया गाउँपालिका–७ को लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी सडकस्थित एमक्यू स्टिलबाट ५०० मिटर पूर्वको पेट्रोल पम्प, हुलाकी सडक हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका हुँदै नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दूधमती पुल, बेला र कादरी मस्जिदसम्म तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ। एभरेष्ट न्यूज एजेन्सी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने जनाएको छ। युवालाई सरकारी सेवामा आकर्षित गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पूर्वाधारतर्फ सडक विस्तार, तमोर–चिसाङ डाइभर्सन, तमोर–लेउती सुरुङमार्ग र चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने भएको छ। ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पाथीभरा, हलेसी, कन्याम, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

कृषिमा चिया, अलैँची, अदुवा, दूध तथा तरकारी उत्पादन र निर्यातमा जोड दिइएको छ भने शिक्षातर्फ प्राविधिक शिक्षा र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने तथा मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने सरकारले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

सुनसरी, कात्तिक १३ गते ।
लोकतान्त्रिक पत्रकार संघ, सुनसरी (कोशी प्रदेश) ले पत्रकार देवराजा यादवमाथि भएको आक्रमण प्रयासप्रति तीव्र निन्दा र आपत्ति जनाएको छ । संघले पत्रकारमाथि भएको आक्रमण प्रयासलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।

 

संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सुनसरीको कोशी गाउँपालिका–८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादवमाथि बुधबार साँझ समाचार संकलनका क्रममा कोशी व्यारेजस्थित भन्सार कार्यालय अगाडि केही भन्सार एजेन्ट तथा व्यापारीहरुले आक्रमण प्रयास गरेका थिए ।

 

विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, समिम शेख नामका व्यक्तिले पत्रकार यादवको माइक र बुम तोडफोड गर्दै शारीरिक आक्रमणको प्रयास गरेका थिए । पीडित पत्रकार यादवले घटनापछि आफ्नो सुरक्षाको माग गर्दै सम्बन्धित निकायलाई मौखिक जानकारी गराइसकेका छन् ।

 

घटनाबारे प्रतिक्रिया दिँदै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले मौखिक जानकारी प्राप्त भएको र लिखित उजुरी आएपछि प्रहरीलाई छानबिन र कानुनी कारबाहीका लागि निर्देशन दिने बताएका छन् ।

संघका सुनसरी जिल्ला अध्यक्ष सितेश कुमार दासले पत्रकारमाथिको यस्तो आक्रमण प्रयास प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण भएको बताउँदै दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । उनले राज्यका सुरक्षा निकाय र प्रशासनलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै, पत्रकार देवराजा यादवको सुरक्षाको पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने बताएका छन् ।

संघले विज्ञप्तिमार्फत पत्रकार यादवप्रति ऐक्यबद्धता जनाउँदै भविष्यमा यस्ता घटनाहरू नदोहर्याउन आवश्यक कानूनी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

 

बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।

सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

आरएन पटेल,रौतहट, २० गते माघ ।

राैतहट । मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका रहेको बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन उर्फ राजू यादवले दाबी गरेका छन। रौतहटको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन तथा समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख वक्ता बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन यादवले समग्र मधेश र मधेशी समुदायको भविष्य सुनिश्चितता तथा हक अधिकार प्राप्तिको लागि जसपा नेपाल बाहेक अन्य केहि विकल्प नरहेको बताएका छन।

पालिकाको नगर कमिटि अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा शनिबार वडा नं.२ मा जसपा नेपालको वडा कमिटिको तथा समाजवादी युवा संघ नेपालको विस्तारित बैठकबाट बौधिमाई नपा २ ईनवामा आदेश प्रसाद पटेलको अध्यक्षतामा ४१ सदस्यीय जसपा नेपालको वडा कमिटी तथा बैनाथ प्रसाद पटेलको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको नगर कमिटी गठन कार्यक्रममा नव गठित जसपा नेपालको वडा कमिटी पदाधिकारी लगायत युवा संघ नेपालको नगर कमिटिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व नगर प्रमुख यादवले समग्र गाउँ विकासका मधेसको विकासका लागि जनता समाजवादी पार्टी नेपाल बाहेक विकल्प नरहेको बताएका छन। हाल बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव जन निर्वाचित भएपछि अहिलेसम्म विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही गर्न नसकेको जिकिर गरेका छन।

बौधीमाई नगरपालिकाका अधिकाँश निर्वाचित जनप्रतिनिधिहरु बजेटको भागभण्डाका कारण ३ वर्ष बितिसक्दा पनि हेर्न लायक कुनै ठोस विकास गर्न नसकेको उनले आरोप लगाए। जसपा नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले मधेसीहरुको लागि विभिन्न आरक्षण कोटा समेत उपलब्ध गराएको एवं समग्र मधेश तथा मधेशीको हकहितको लागि मधेश आन्दोलन समेत गरि अधिकार प्राप्तिमा ठुलो भूमिका खेलेको स्पष्ट पारेका छन।

वास्तवमा रौतहटको क्षेत्र नम्बर दुईका सांसद,प्रदेश सांसद तथा नगर प्रमुख विकासको नाममा भ्रष्ट्रचार बाहेक अन्य केही नगरेको उनले बताए। बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले ३ वर्षको कार्यकालमा विद्यार्थी देखि जनप्रतिनिधिहरुलाई कसरी मुद्दा मामिलामा भसाउने सड्यन्त्र चाल्ने बाहेक अरु केहि गर्न नसकेको उनले बताए।

आफ्नो कार्यकालमा आफुले कसैलाई बनाउन नभयाएको खण्डमा उसलाई बिगार्न समेत कुनै पहल नगरेको बताउदै, आउने दिनमा समाजमा भाईचरा कायम राख्ने, मेलमिलाप गराउने जस्ता क्रियाकलाप एवं गतिविधि गर्ने जनप्रतिनिधिलाई मात्र अवसर दिन उनले सम्पूर्ण जनसमुदायलाई आग्रह गरेका छन। कार्यक्रमलाई सम्बोधन गरिदै समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेलले सयौ वर्ष देखी देश चलाएका नेपाली कांग्रेस र नेकपा एमालेले मधेश र मधेशीको लागि एक पटक पनि आवाज नउठाएको तर समग्र मधेश र मधेशीको हकअधिकारको लागि एक मात्र माननीय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल रहेको बताए।

देश निर्माण तथा विभिन्न मधेशी आन्दोलनमा लगायत मधेश र मधेशीको अधिकार प्राप्तिमा युवा वर्गको ठुलो भूमिका रहेकोले आज गठन हुने समाजवादी युवा संघ नेपालको नगर स्तरीय युवा कमिटीले असल विचार तथा जोस जागर सहित संगठन निर्माण गरि पार्टी तथा देश निर्माणमा सहयोग गर्न अपिल गरेका छन। अहिलेको जननिर्वाचित जनप्रतिनिधिहरुले विकासको नाउमा खुद्रा बिकास गरेर भ्रष्टाचार बाहेक अरु केहि गर्न नसकेको आरोप लगाएका छन।

नगर क्षेत्र लगायत वडा नं.२ इनर्वामा पूर्व मेयर राजीव रंजन यादवको कार्यकालमा भएको सम्पूर्ण बिकास निर्माणको कार्य ठोस रहेको तथा आफु मन्त्रालयमा कार्यरत हुदा आफुले गरेको सम्पूर्ण बिकास निर्माणको कार्य पनि अविष्मरणीय रहेको दाबी गरेका छन। अहिलेको जनप्रतिनिधिले गरेको बिकास निर्माणको कार्य मात्र प्रचार प्रसारमा सीमित रहेको उनले बताए।

 

बिरगंज,माघ, ११ गते २०८१ ।

आम जनता पार्टी (आजपा)ले बिरगंजमा आज सडक पत्रकार सम्मेलन गरेको छ । बिरगंजको घण्टाघरमा आयोजित सो पत्रकार सम्मेलनमा पर्साबाट संघीय मन्त्री भएकासंग आजपाले प्रश्नै प्रश्न गरेको छ ।

पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासका लागि यि मन्त्रीले केही पनि नगरेको गम्भिर आरोप आजपाले लगाएको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाएका छन् । समृद्ध बिरगंज उजाड बनाइएको बताउदै उनले बिरगंजलाई देशको आर्थिक राजधानी बनाउँन माग गरे ।

‘बिरगंज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उहाँहरुले बिरगंजको बिकासका लागि के के गर्नुभयो जनता जान्न चाहन्छ ।’

बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारीसभा बिरगंजमा हालैसम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।

सडकमै पत्रकार सम्मेलन गरेको आजपाले पर्साबाट केन्द्रमा मन्त्री भएकालाई बिभिन्न प्रश्न गर्दै बिरगंजको बिकासका लागि के के गरेको भन्ने बारेमा पर्साका नागरिकलाई जानकारी गराउन माग गरेको छ । आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरुले पर्साबासीलाई ढाटने बाहेक अरु केही काम नगरेको आरोप लगाए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जिर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? बिरगंजको चिनीमिल कहिले सञ्चालन हुने ?’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसंग कहिले जोडने ? समृद्धि बिरगंज उजाड किन भयो ?’

बिरगंजमा देखिएको बिकास पञ्चायतकाल र गणतन्त्र अघि नै भएको बताउदै उनले पर्साका मन्त्रीहरुले बिरगंजको बिकासमा ध्यान नदिएको आरोप लगाए । यस्तै आजपाले भ्रष्टाचार बिरुद्ध गरिरहेको बिभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएको छ । आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले बिरगंजको बिकासका लागि मन्त्री भएकाहरुले बेइमानी गरेको टिप्पणी गरे । यस्तै सिमावती क्षेत्रमा भन्सारको नाममा भईरहेको छिनाझपटीको अन्त्य गर्न उनीहरुले माग गरे । सर्वसधारण नागरिकलाई सिमावती क्षेत्रमा प्रहरीले मनोमानी गरिरहेको भए पनि पर्साका मन्त्रीहरु के पनि नगर्नु लाजमर्दो बिषय भएको पटेलले जनाएका छन् ।

राैतहट, ०६ गते माघ २०८१ ।

रौतहट बचत तथा ऋण सहकारी संघले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी सहकारी मस्यौदाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, संघका प्रतिनिधिहरू, र सहकारीप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

होटल आरोहीमा भएको कार्यक्रमको प्रारम्भमा बिशिष्ट अतिथि रौतहट दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रमका दौरान सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरूबारे उपस्थित व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । संघका पूर्व सल्लाहकार तथा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सरकारले जारी गरेको अध्यादेशले सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पुर्‍याउने भए पनि केही प्रावधानले सहकारी क्षेत्रको व्यावहारिक पक्षलाई असर पुर्‍याउने भएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।

नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु तिवारीले अध्यादेशका केही प्रावधान सहकारीहरूको हित विपरीत रहेको भन्दै यसलाई सच्याउनका लागि संघले आवश्यक पहल गर्नुपर्ने र सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीहरूको दीर्घकालीन अस्तित्वका लागि एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।

त्यसैगरी, वृन्दावासिनी साकोसका संचालक आलोक कोइरालाले सहकारी क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारद्वारा जारी अध्यादेश सकारात्मक रहेको बताउँदै, सहकारीहरूले नियमअनुसार आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।

संघका लेखा समिति संयोजक जितेन्द्र चौधरीले राष्ट्र बैंकको मस्यौदाले वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, साना सहकारीहरूका लागि यसले केही चुनौती खडा गर्न सक्ने भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्लाभरका सहकारी संघका अध्यक्ष, व्यवस्थापक, र प्रतिनिधिहरू गरी ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो। उपस्थित सहभागीहरूले सहकारी क्षेत्रको समग्र सुधार र पारदर्शिताका लागि यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको औंल्याए।
संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको समापन गर्दै सहकारी क्षेत्रमा आएका समस्याको समाधानका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले सहभागीहरूको धारणा र सुझावलाई भविष्यका रणनीतिहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उपस्थित सबैले सहकारीहरूको दिगो भविष्य सुनिश्चित गर्न सहकार्य र संवादको आवश्यकता रहेकोमा एकमत भएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।