काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष बाङ्गासँग नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणका विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरेका थिए । त्यसैगरी, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका क्षेत्रमा समेत गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल भएको थियो ।
भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको बताएका थिए ।
अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका थिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित विश्व बैंकका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो एभरेष्ट न्यूज एजेन्सी,
रौतहट,असोज,१६ गते
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुलाई परेको छ । उनलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार परेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।
साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । पुरस्कारबारे जानकारी दिन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उनलाई तत्काल फोन गरेर बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए । त्यसमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरी खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार थिए ।
कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेता पनि छनोट गरिएको विभागले जनाएको छ । ती विजेताको कुपनसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५३ कम्पनिका एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रो बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १०.११ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर ९.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ९.६६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको २२ करोड ८१ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो । आज हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ८.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर ३.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ८३ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० दिनका लागि २० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी कार्तिक १३ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।
बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।
यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन समेत सञ्चालनमा आएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुईवटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ भने स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका ६ वटा फिडर निकालिएको प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने र यसबाट विद्युत चुहावट घट्नुका साथै न्यून भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुने प्राधिकरणले जानकारी दिएको छ । साथै, स्थानीय क्षेत्रमा विद्युतको बढ्दो माग व्यवस्थापन गर्न तथा आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्युतको प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गरे ।
करिब २० किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा एक अर्ब १२ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो । एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,राैतहट,०५ गते असाेज ।
रौतहटको मध्य भाग शिवनगरस्थित जय बाबा विश्वकर्मा इन्टरप्राइजेज पछिल्लो समय सवारी धनीहरूका लागि पहिलो रोजाइ बन्दै गएको छ। वि.सं. २०७५ सालमा स्थापना भएको टिभीएस मोटरसाइकल तथा स्कुटीको यो आधिकारिक शोरूमले उत्कृष्ट सेवा र ग्राहकको विश्वास जित्दै जिल्लाभरि नै छुट्टै पहिचान बनाउन सफल भएको हो।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि असोज १ गते विश्वकर्मा पूजाको विशेष अवसरमा ५० वटा भन्दा बढी मोटरसाइकल र स्कुटी बिक्री गर्दै जय बाबा विश्वकर्मा इन्टरप्राइजेज रौतहट जिल्लामै बिक्रीका हिसाबले प्रथम स्थान हासिल गर्न सफल भएको छ। साथै, देशमै उत्कृष्ट स्थान र नाम कमाउन सफल भएको कम्पनीले जनाएको छ। प्रोप्राइटर सन्दिप कुमार शाहको कुशल नेतृत्वमा सञ्चालित यस शोरूममा टिभीएसका चर्चित तथा लेटेस्ट मोडलहरू—जस्तै अपाची, रोनिन लगायतका विभिन्न ब्रान्डका सवारी साधनहरू उपलब्ध रहेका छन्।

चाडपर्वको अवसर पारेर शोरूमले ग्राहकहरूका लागि आकर्षक छुट र उपहार योजनाहरू पनि सार्वजनिक गरेको छ। कम्पनीका सेल्स म्यानेजर अभिमन्यु कुमार गुप्ताका अनुसार यस चाडपर्वमा ग्राहकहरूलाई विशेष सुविधा दिनका लागि विभिन्न अफरहरू ल्याइएको छ।
सेल्स म्यानेजर अभिमन्यु कुमार गुप्ता भन्नुहुन्छ:
स्थानीय ग्राहकहरूको विश्वास र रोजाइका कारण रौतहटकै नम्बर वान शोरूमको रूपमा स्थापित ‘जय बाबा विश्वकर्मा इन्टरप्राइजेज’ले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शोरूमले टीभिएसको ‘भाग्यको चाबी तपाईंको हातमा’ विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत सवारी खरिद गर्ने प्रत्येक ग्राहकले सुपर स्योर उपहार, रु. १० लाखसम्मको क्यास डिस्काउन्ट, गोल्ड कि (गोल्ड कि) तथा १००% क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकलाई ५ वर्षसम्मको नि:शुल्क सर्भिस सुविधा प्रदान गरिने जनाइएको छ ।

सवारी खरिदलाई सहज बनाउन शोरूमले ‘फटाफट फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ, जसका लागि नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्र भए पुग्नेछ। चाडपर्वलाई लक्षित गरी सबै बाइक तथा स्कुटीहरूको पर्याप्त स्टक आइसकेकाले समयमै शोरूम पुगेर यो आकर्षक अफरको फाइदा उठाउन जय बाबा विश्वकर्मा इन्टरप्राइजेजले सबैमा अनुरोध गरेको छ।
पर्याप्त स्टक, सरल फाइनान्स सुविधा र थरीथरीका छुट अफरका कारण शिवनगरस्थित जय बाबा विश्वकर्मा इन्टरप्राइजेजमा यतिबेला नयाँ मोटरसाइकल तथा स्कुटी खरिद गर्ने ग्राहकहरूको बाक्लो उपस्थिति रहने गरेको छ । कम्पनीले सबै मोडलका सवारी साधनहरू उपलब्ध रहेकाले ढुक्क भएर सेवा लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी अपरा लाहोर खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावरको शेयर ६.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयर १४.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४२ करोड ७६ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।
त्रिशूली नदी बेसिनमा सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् ।
१२ वटा विद्युत् आयोजना बन्द
बाढीबाट प्रभावित विद्युत् आयोजनामा रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुङ्गी (साञ्जेन) ७८ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट, साञ्जेन ४२ दशमलव ५ मेगावाट, चिलिमे ५२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, माथिल्लो मैलुङ १४ दशमलव ८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन् ।
यसैगरी, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ ।
१९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन
बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
सम्पर्कविहीन भएकामध्ये त्रिशूली–३ ‘बी’ आयोजनाको निर्माणस्थलमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृह क्षेत्रमा ६ जना, आवास क्षेत्रमा १ जना, त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना र रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना रहेका छन्।
त्यस्तै, त्रिशूली–३ ‘ए’ को विद्युत्गृह मर्मतमा संलग्न ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना, रसुवा वितरण केन्द्रका २ जना तथा धादिङको त्रिशूली २२० केभी उपकेन्द्रमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
रसुवामा पूर्ण रूपमा विद्युत् अवरुद्ध
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
धादिङको जहरेस्थित ३३ केभी उपकेन्द्रमा करिब ५ फिट लेदो जमेको छ। अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका विद्युत् पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
त्रिशूलीस्थित २२० केभी मुख्य उपकेन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी मुख्य टावरमा समस्या आएपछि प्रसारण सेवा अवरुद्ध भएको छ।
चार प्रमुख प्रसारण लाइनमा क्षति
बाढीबाट विभिन्न प्रसारण लाइनमा समेत क्षति पुगेको छ। क्षति पुगेर अवरुद्ध भएका प्रमुख प्रसारण लाइनमा समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे मुख्य–त्रिशूली–३ ‘बी’ मुख्य–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन रहेका छन् । विभिन्न स्थानमा प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ ।
उद्धारसँगै विद्युत् पुनःस्थापनाको प्रयास
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको र सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको उर्जा मन्त्रालयले जनाएको छ ।
वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी प्रभावित क्षेत्रमा आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्ने तयारी
सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन गरी चौघोडा उपकेन्द्र चालु गर्ने तयारी भइरहेको छ भने गजुरीदेखि गल्छीसम्म धादिङबेँसी उपकेन्द्रमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
सम्भव भएका स्थानमा विद्युत् लाइनको निरीक्षण, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको काम भइरहेको र विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई विद्युत् प्रणाली यथाशीघ्र सुचारु गर्न आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,