काठमाडौं, २० फागुन ।
चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने सालिन मृत फेला परेकी थिइन्। बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अहिले सामाजिक सञ्जालमा शालिनको मृत्यु प्रकरणले तातेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।
शालिन रत्ननगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन्। उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन्।
बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीसाथ बस्दै आएका छन्। आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन्।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
दूग्ध किसानको ७ अर्ब रुपैयाँ बक्यौदा बाँकी रहेको भन्दै प्रदर्शनमा उत्रिएका बेला सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुक्तानी दिने प्रवन्ध गर्न आग्रह गरेका हुन् ।
साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति लामिछानेले उनको मृत्युको विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । न्युज कारखाना
काठमाडौं, २० फागुन।
संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।
शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।
आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।
सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् । न्युज कारखाना
काठमाडौँ, २० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बतााएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन् ।
“आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए ।
कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम देखेको बताए ।
नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ, २० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
“सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”

सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिएका छन् ।
नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् ।
संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
शुक्रबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २५ चैत बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त २६ चैत बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी २६ चैतकै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।
२७ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने स्वीकृत कार्यक्रममा उल्लेख गरिइको छ ।
निर्वाचन कार्यक्रमअनुसार आगामी १५ वैशाख बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रवक्ता पौडेलका अनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको छ।
आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ काे १ मा उपनिर्वाचन हुन लागेकाे हाे ।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताएका छन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामा समेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताए । ‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले भने ।
ओलीले अहिले पार्टी र संसदमा एक सिट पनि नभएको व्यक्ति समेत प्रधानमन्त्री बन्छु भन्दै हिँडेको अवस्था रहेको बताए । ‘यहाँ त संसदमा पनि भएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’, ओलीले भने ।
नेकपा एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको ओलीले स्पष्ट पारे । नेकपा एमाले आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उनले प्रष्ट पारे ।
ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताए । अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको ओलीले टिप्पणी गरे ।
कोभिड पछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उनले प्रष्ट पारे । ओलीले विद्यालयको पढाइले मात्र पठन संस्कृति विकास नहुने बताए । सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृति विकास आवश्यक रहेको उनले प्रष्ट पारे ।न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको आरोप लगाएका हुन् ।
सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा अहिले दैनिक करिब डेढ करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । न्युज कारखाना
काठमाडौं, १८ फागुन ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिन सरकारले आनाकानी गरेकाले यथास्थितिमा बैठक अघि बढ्न नसक्ने बताए । यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।
उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ ।
बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।
उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् । न्युज कारखाना