काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन् ।
१. आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल र दुर्वल पक्ष तथा जटिलताको समिक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदअनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकतामा दिने ।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरि विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।
५. राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनको आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतिको सरकारको लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा र समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।
७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिव्रता दिने ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् ।
दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।
सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने र दुई वर्षसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने रहेको संसदलाई जानकारी दिएका छन् । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट पुरस्कृत हुने चार जना पुरस्कार प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा. हरिप्रसाद पराजुली र डा. योगेन्द्रप्रसाद यादवलाई पुरस्कार प्रदान गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जनालाई विपी पुरस्कार दिने घोषणा गरेको थियो । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।
सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।
प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।
नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।न्युज कारखाना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।
उनले भने, ‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।’
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।
आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ ।
पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन् ।
विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले उल्लेख गरेका छन् ।
रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलंक रहेको पनि दाबी गरेको छ ।
रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन् । यस प्रकरणमा उनी विरुद्ध संसदको राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ ।न्युज कारखाना
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथो पटक विश्वासको मत लिन लागेका हुन् ।
असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनेपर्ने भएको हो ।
यसअघि तीन पटक सम्म विश्वासको मत पाएर पद जोगाएका जमकट्टेलले यस पटक विश्वासको मत नपाउने निश्चित रहेको छ ।
११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्- ‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।
यसैबीच परराष्ट्र मन्त्रालयले बंगलादेशमा प्रदर्शन शुरु भएदेखि अहिलेसम्म ८ सयभन्दा बढी बिद्यार्थी नेपाल फर्किसकेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरु सडक र हवाई माध्यमबाट स्वदेश फर्किएको जनाएको छ ।
बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्केपछि हिंसात्मक घटना हुन थालेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार हाल बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेका छन् ।न्युज कारखाना
बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदै छन् ।
प्रदेश सभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेले सर्मथन फिर्ता लिदै पाँच मन्त्रीले गत असार २० गते नै राजीनामा दिएका थिए ।
गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई त्यति बेला एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाले समर्थन गरेका थिए ।
एमालेले समर्थन फिर्ता लिना साथ अहिले महरा अल्पमतमा परेका छन् । कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।
संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ ।
अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ । अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ ।
मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् ।
त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् ।
त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ ।
यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।
अर्को तर्फ १४ सिट रहेको राप्रपाले भने ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएको छ । राप्रपाले संबिधान संशोधनको खाका स्पष्ट रुपमा आएपछि मात्र सरकारलाई समर्थन गर्ने बताएको छ ।
त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छन् । तीन दलको गरि प्रतिनिधिसभामा ६३ मत रहेको छ । त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ ।न्युज कारखाना