काठमाडौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इरानमाथि लगाइएको प्रतिबन्धको निगरानी जारी राख्ने अमेरिकी प्रस्ताव रूस र चीनको असहमतिका कारण असफल भएको छ । रूस र चीनले प्रस्तावमा विरोध जनाएपछि राष्ट्रसंघीय विशेषज्ञ समूहको निगरानीसम्बन्धी व्यवस्था अन्त्य हुने भएको छ ।
अमेरिकाले इरानमाथि पुनः लगाइएको प्रतिबन्ध कार्यान्वयन भए–नभएको अध्ययन गर्न राष्ट्रसंघीय विशेषज्ञ समूहको कार्यकाल थप एक वर्ष बढाउने प्रस्ताव गरेको थियो । मतदानमा ११ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मत दिएका थिए भने रूस र चीनले विरोध गरेका थिए । सोमालिया र पाकिस्तान मतदानमा सहभागी भएनन् । रूस र चीनको स्थायी सदस्यका रूपमा रहेको असहमतिले प्रस्ताव पारित हुन सकेन ।
इरानमाथिका राष्ट्रसंघीय प्रतिबन्धमा विदेशमा रहेका केही सम्पत्ति रोक्का गर्ने, हतियारसम्बन्धी कारोबारमा प्रतिबन्ध लगाउने तथा आणविक र क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गतिविधिमा निगरानीलगायतका व्यवस्था छन् । राष्ट्रसंघका अनुसार इरानसम्बन्धी विशेषज्ञ समूहको वर्तमान कार्यादेश सेप्टेम्बर २६ मा सकिँदै थियो ।
इरानमाथि पुनः प्रतिबन्ध लगाउने प्रक्रिया सन् २०१५ को आणविक सम्झौतासँग जोडिएको छ । फ्रान्स, बेलायत र जर्मनीले सम्झौताका प्रावधान प्रयोग गर्दै ‘स्न्यापब्याक’ प्रक्रिया अघि बढाएपछि सन् २०२५ मा राष्ट्रसंघीय प्रतिबन्ध पुनः लागू गरिएको थियो। इरान, रूस र चीनले भने उक्त प्रक्रियाको कानुनी वैधतामाथि प्रश्न उठाउँदै आएका छन् ।
रूसले अमेरिकी प्रस्तावलाई कानुनी आधार कमजोर भएको दाबी गर्दै अस्वीकार गरेको छ । मस्कोले इरानमाथि प्रतिबन्ध पुनः लागू गर्ने प्रक्रिया नै गलत रहेको बताउँदै आएको छ। चीनले पनि इरानको आणविक विवाद समाधानका लागि दबाबभन्दा कूटनीतिक संवाद आवश्यक रहेको धारणा राख्दै आएको छ ।
अमेरिकाले भने विशेषज्ञ समूहको निगरानी समाप्त हुँदा प्रतिबन्ध उल्लङ्घनबारे स्वतन्त्र र प्रमाणमा आधारित जानकारी प्राप्त गर्ने राष्ट्रसंघको क्षमता कमजोर हुने बताएको छ । अमेरिकी पक्षले यसबाट प्रतिबन्ध छल्ने गतिविधिको निगरानीमा कमी आउन सक्ने चेतावनी दिएको छ ।
इरानले भने रूस र चीनको कदमको स्वागत गरेको छ । इरानी पक्षले राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास रोकिएको दाबी गरेको छ ।
यस निर्णयसँगै इरानको आणविक कार्यक्रम, राष्ट्रसंघीय प्रतिबन्ध र त्यसको निगरानीलाई लिएर अमेरिका तथा उसका युरोपेली साझेदारहरू एकातिर र रूस–चीन अर्कोतिर रहेको मतभेद थप स्पष्ट भएको छ । राष्ट्रसंघको विशेषज्ञ समूहले प्रतिबन्ध कार्यान्वयनबारे सूचना संकलन, उल्लङ्घनको अध्ययन र सुरक्षा परिषद्लाई सुझाव दिने काम गर्दै आएको थियो ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । साझा यातायातले आफ्ना दैनिक कार्यसञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल बनाएको छ ।
विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गतेदेखि नयाँ प्रणाली पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले साझा यातायातले गत वैशाखदेखि नयाँ प्रणालीको परीक्षण तथा मूल्यांकन गर्दै विभिन्न प्राविधिक र व्यावहारिक परीक्षण सफल भएपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको साझा यातायातले जनाएको छ ।
नयाँ व्यवस्थाअन्तर्गत साझा यातायातका सबै बसको प्रत्यक्ष गतिविधि, स्थान, यात्रुको चाप र चालक–सहचालकको कार्यसम्पादन एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गरिनेछ भने यसबाट बस व्यवस्थापन, समयतालिका तथा आकस्मिक अवस्थामा तत्काल समन्वय गर्न सहज हुने साझा यातायातले जनाएको छ ।
यात्रुले अब बसभित्रै नगदरहित रूपमा भाडा तिर्न सक्नेछन् । वित्तीय संस्थाले जारी गरेका बैंक कार्ड ट्याप गरेर तथा नेपालपे क्यूआरसहित विभिन्न क्यूआरमार्फत टिकटको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यात्रुले नयाँ कार्ड लिन वा छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन ।
नियमित यात्रुलाई थप सहज बनाउन नेपालपेसँगको सहकार्यमा सार्वजनिक यातायातका लागि छुट्टै यात्रा कार्ड ल्याउने तयारीसमेत भइरहेको र उक्त कार्डबाट ट्याप गरेर केही सेकेन्डमै भाडा भुक्तानी गर्न सकिने बताइएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्रत्येक डिजिटल टिकटलाई स्वतः भाग्यशाली उपहार योजनामा समावेश गरिनेछर यात्रुले दैनिक, साप्ताहिक र मासिक रूपमा विभिन्न उपहार जित्न सक्ने तथा प्रविधिको प्रभावकारी कार्यान्वयनमा योगदान गर्ने चालक तथा सहचालकलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको साझा यातायातले जानकारी दिएको छ ।
साझा यातायातले नगदरहित कारोबार, पारदर्शी व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत यात्रुलाई सुरक्षित, भरपर्दो र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
धादिङ । पृथ्वी राजमार्गको ज्यामिरेघाटनजिक चौकीभीरमा पहिरो हटाइएपछि यातायात सुचारु भएको छ ।
चौकीभीरको सडकखण्डमा गएरातिदेखि पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। सडक योजनाले निर्माण व्यवसायीका मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।
सडकमा निर्माण कार्यसमेत जारी रहेकाले तथा वर्षायाममा पहिरो र लेदो खस्ने जोखिम रहने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन सडक आयोजनाले आग्रह गरेको छ । यात्रा गर्दा लेन अनुशासन पालना गर्न र संयमित भएर सवारी चलाउनसमेत अनुरोध गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,