२०८३ भाद्र ३०
२०८३ भाद्र ३०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र काठमाडौँ उपत्यकामा २-२ जनाको मृत्यु भएको छ भने मधेश, बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा १८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा २५  जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा १२ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।  एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । ७८औँ एमी अवार्डको मुख्य विधाका विजेताहरू घोषणा भएका छन् । अमेरिकाको लस एन्जलसमा सम्पन्न समारोहमा ‘वाइडोज बे’ उत्कृष्ट हास्य शृंखलाका रूपमा चुनिँदा ‘द पिट’ले लगातार दोस्रो वर्ष उत्कृष्ट नाटक शृंखलाको पुरस्कार जितेको छ ।

‘वाइडोज बे’ले उत्कृष्ट हास्य शृंखलासहित अभिनयतर्फ पनि महत्वपूर्ण सफलता हात पारेको छ । यसका लागि म्याथ्यु राइसले उत्कृष्ट हास्य शृंखला अभिनेताको पुरस्कार जितेका छन् भने केट ओ’फ्लिनले उत्कृष्ट सहअभिनेत्री र स्टिफन रुटले उत्कृष्ट सहअभिनेता पुरस्कार जितेका छन् । यस शृंखलाले यस वर्ष कुल १४ एमी पुरस्कार जित्दै हास्य शृंखलातर्फ नयाँ कीर्तिमानसमेत बनाएको छ ।

‘द पिट’का नोह वाइलले उत्कृष्ट ड्रामा शृंखला अभिनेताको पुरस्कार जितेका छन्। उनले लगातार दोस्रो वर्ष यो पुरस्कार प्राप्त गरेका हुन् भने ड्रामातर्फ उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘प्लुरिबस’की रिया सिहोर्नले जितेकी छन् ।

‘ह्याक्स’की जाँ स्मार्टले उत्कृष्ट हास्य शृंखला अभिनेत्रीको पुरस्कार जित्दै लगातार पाँचौँ पटक एमी हात पारेकी छन् । यो उनको अभिनय करियरको आठौँ एमी पुरस्कार हो । उनी एउटै शृंखलाको हरेक सत्रमा उत्कृष्ट हास्य अभिनेत्रीको पुरस्कार जित्ने पहिलो अभिनेत्री बनेकी छन् ।

सीमित वा सङ्ग्रह शृंखला अथवा चलचित्र विधामा ‘डिटिएफ सेन्ट लुइस’ उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट अभिनेता म्याथ्यु राइसले ‘द बिस्ट इन मी’का लागि पुरस्कार जितेका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘रिमार्केबल ब्राइट क्रिएचर्स’का लागि स्याली फिल्डले प्राप्त गरेकी छन् ।

ड्रामा शृंखलातर्फ उत्कृष्ट सहअभिनेताको पुरस्कार ‘टास्क’का टम पेल्फ्रेले तथा उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार ‘द डिप्लोम्याट’की एलिसन जेनीले जितेका छन् । ‘द ट्रेटर्स’ उत्कृष्ट वास्तविकता प्रतिस्पर्धात्मक कार्यक्रम घोषित भएको छ भने ‘द लेट शो विथ स्टिफन कोलबर्ट’ले उत्कृष्ट विविधता कार्यक्रमको पुरस्कार जितेको छ ।

लेखनतर्फ नाटक शृंखलाको पुरस्कार ‘प्लुरिबस’का लागि भिन्स गिलिगनले र हास्य शृंखलाको पुरस्कार ‘वाइडोज बे’का लागि केटी डिपोल्डले जितेका छन्। निर्देशनतर्फ नाटक शृंखलामा ‘स्लो हर्सेस’का लागि साउल मेट्जस्टाइन तथा हास्य शृंखलामा ‘वाइडोज बे’का लागि हिरो मुराई विजेता बनेका छन् ।

यस वर्षको समारोहको सञ्चालन मारिस्का हार्गिटेले गरेकी थिइन् । अभिनेता माइकल जे फक्सलाई मानवीय सेवाका लागि प्रदान गरिने बब होप मानवीय पुरस्कार प्रदान गरिएको छ ।

७८औँ एमी अवार्डको मुख्य समारोह सेप्टेम्बर १४ मा लस एन्जलसको पिकक थिएटरमा आयोजना गरिएको थियो । यसअघि सेप्टेम्बर ५ र ६ मा सिर्जनात्मक तथा प्राविधिक विधाका केही पुरस्कार घोषणा गरिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा-तास खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा जाँच गरेको थियो ।

जाँचका क्रममा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद साटेर हारजित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ लेखिएका ८ थान क्वाइन, १० हजार रुपैयाँ लेखिएका १९ थान क्वाइन, १ हजार रुपैयाँ लेखिएका ८८ थान क्वाइन, १ सय रुपैयाँ लेखिएका ५ थान क्वाइन र नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।

आयोगको भदौ ३० गतेको निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

त्यस्तै न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार बाबुराम दाहाललाई पनि सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

आयोगले नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका रिक्त पदमा योग्य कर्मचारीलाई बढुवा गरी सम्बन्धित पदमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको हो । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।