काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा १४ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा ४ जना र गण्डकीमा ५ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर सांकेतिक विरोध गरेका छन् ।
विहिबार अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध गरेका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताएका छन् ।
उनीहरूले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । साथै, उनीहरुले सरकार जनताका समस्याप्रति उदासीन रहेको, सुशासनको नारा केवल भ्रम मात्र भएको बताउदै आवश्यकताभन्दा बढी ग्यास भित्रिदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको आरोप लगाएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सप्तरीको राजविराजमा सडकमै महिलाले बच्चा जन्माएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनामा सरकारको ध्यानाकर्षण गराउदै स्वास्थ्यमन्त्रीको जवाफ मागेका हुन् ।
उनले राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएको जानकारी दिदै सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी महिलाले पैसा नभएका कारण अस्पतालले भर्ना नलिएको र त्यसपछि महिलासँग २५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी