काठमाडौँ । पेरिसस्थित आइफिल टावरमा धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई ड्युटीबाट हटाइएको आरोपपछि विवाद चर्किएको छ । करिब १०० सदस्यीय हिन्दू धार्मिक प्रतिनिधिमण्डलको भ्रमणका क्रममा केही महिला कर्मचारीलाई जिम्मेवारीबाट हटाएर पुरुष कर्मचारी खटाइएको आरोप लागेपछि आइफिल टावरका कर्मचारीले विरोध जनाएका थिए ।
विवादपछि आइफिल टावर सञ्चालन गर्ने कम्पनीले प्रतिनिधिमण्डलबाट महिला कर्मचारीसँग कम सम्पर्कमा रहने माग आएको स्वीकार गर्दै त्यस्तो सर्त स्वीकार गर्न नहुने बताएको छ । कर्मचारीहरूले व्यवस्थापनसँग माफी माग्दै घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् । कर्मचारीको बैठकका कारण सोमबार आइफिल टावर सर्वसाधारणका लागि खुल्न केही ढिलाइ भएको थियो ।
प्रतिनिधिमण्डलसँग सम्बन्धित बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस)ले भने आफ्नो भ्रमणका क्रममा कसैलाई पनि आइफिल टावर प्रवेश गर्न नरोकेको स्पष्ट पारेको छ । ठूलो प्रतिनिधिमण्डल भएकाले अन्य पर्यटकलाई कम असुविधा होस् भनेर आइफिल टावरको टोलीसँग समन्वय गरी बिहानको समयमा भ्रमण तय गरिएको र घटनाबाट कसैलाई दुःख पुगेको भए हृदयदेखि माफी माग्ने संस्थाले जनाएको छ ।
यसैबीच, पेरिसका मेयर इम्यानुएल ग्रेगोयरले घटनाका सबै तथ्य सार्वजनिक गर्न छानबिनको आदेश दिएका छन् । यो विवाद पेरिसनजिकै बीएपीएसको हिन्दू मन्दिर उद्घाटन भएको केही दिनपछि आएको हो । उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल रूपमा सहभागी भएका थिए । बीएपीएसले आपसी सम्मान र सेवा भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने कोशीमा १३ जना, काठमाडौँ उपत्यकामा २ जना, सुदूरपश्चिममा २ जना, बागमतीमा १७ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, कर्णालीमा १ जना र गण्डकीमा ४ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ ।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।
रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ । बिहिबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटका १९८१ र विदेशी पर्यटक ५८७ जना रहेका छन् ।
त्यस्तै, प्राधिकरणले अहिलेसम्म १३५७ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ ।
प्राधिकरणले अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको जानकारी दिएको छ ।
प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ । एभरेष्ट न्यूज एजेन्सी,