२०८३ भाद्र १७
२०८३ भाद्र १७

लमजुङ । बेंसीसहर नगरपालिका–६ खरखरेभिरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षापछि गएराति पहिरो खसेपछि मनाङ जोड्ने मुख्य सडक बन्द भएको हो । बेंसीसहरदेखि करिब साढे ३ किलोमिटर दूरीमा सडक अवरुद्ध हुँदा मनाङ तथा मर्स्याङ्दी गाउँपालिकातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रहरीले लोडर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ । सडक खुलाउन समय लाग्न सक्ने भएकाले प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौं । राजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ ।

सडक भासिएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । हाल पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई मात्र उक्त मार्गबाट चल्न दिइएको र अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्राविधिक टोली पुगेर अध्ययन गरिरहेको र अध्ययनपछि क्षतिको कारण तथा मर्मत योजना तय गरिने जनाइएको छ ।

सडकको अवस्था सामान्य नहुँदासम्म यात्रुलाई सुरुङमार्ग प्रयोग गर्न र सावधानी अपनाउन विभागले आग्रह गरेको छ । नागढुंगा–नौबिसे सडकमा हुने अवरोधले राजधानीबाट पश्चिम तथा तराईतर्फ जाने हजारौँ यात्रु र सवारीसाधन प्रभावित हुने गरेका छन् ।

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका नौ कोरियाली नागरिकसहित अन्यको खोजीका लागि दक्षिण कोरियाले विशेष उद्धार टोली नेपाल पठाएको छ ।

४४ सदस्यीय कोरियाली विपद् उद्धार टोली बुधबार काठमाडौं आइपुगेको हो । टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र अग्नि उद्धार अधिकारीहरू सहभागी छन् । टोलीले नेपाली अधिकारीसँग सहकार्य गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ । उनीहरु अहिले रसुवा पुगिसकेका छन् ।

टोलीले पाँचवटा उद्धार कुकुरसहित उच्च क्षमताका ड्रोन, भग्नावशेषमा पुरिएका व्यक्तिको आवाज तथा दृश्यबाट पहिचान गर्न सक्ने उपकरण र ताप पहिचान गर्ने उपकरण ल्याएको कोरियन टाइम्सले उल्लेख गरेको छ ।

भदौ १० मा रसुवामा आएको बाढीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणस्थलबाट नौ कोरियाली नागरिक बेपत्ता भएका थिए । तीमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया दक्षिण-पूर्वी विद्युत् कम्पनीका कर्मचारी रहेका छन् ।

नेपाली सुरक्षाकर्मी तथा कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, उद्धार कुकुर र अन्य उपकरण प्रयोग गरी रसुवाको धुन्चे क्षेत्रमा खोजी गरिरहेका छन् । कठिन भौगोलिक अवस्था, ठूलो क्षेत्रफल तथा माटो र भग्नावशेषका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

दक्षिण कोरियाली अधिकारीहरूले बेपत्ताहरूको मोबाइल फोनको स्थान पहिचान गर्ने विकल्पबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको बताएका छन् । कम्पनीहरूले समेत हवाई खोजी तीव्र बनाएका छन् । पछिल्लो अपडेट अनुसार भोटेकोशी बाढीपछि ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजार भन्दा बढी अझै सम्पर्कविहिन रहेका छन् ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले  नेपाल समाजवादी पार्टी गोरखाका सांसद फणिन्द्र देवकोटा गण्डकी प्रदेश सरकारमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । गण्डकीमा एमालेले सरकार छाडेपछि पाण्डेले देवकोटालाई सरकारमा ल्याएका छन् । यसअघि ऊर्जामन्त्री रहेका कांग्रेसका नन्दप्रसाद न्यौपाने भौतिक पूर्वाधारमन्त्री बनेका छन्।

५९ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन् । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् ।

यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन । एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट रहेको छैन  ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।