काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा दुर्व्यवहारको निन्दा गरेका छन् ।
पौडेलले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउन नै कठिन भइरहेको अवस्थामा नागरिकको सेवाका लागि ज्यान जोखिममा राखेर दूरदराजमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको बताएका छन् ।
उनले अस्पतालभित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाको तत्काल पूर्ण छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।
पौडेलले नागरिकको ज्यान बचाउने स्वास्थ्यकर्मीको आफ्नै ज्यान जोखिममा पर्ने अवस्था आउनु गम्भीर विषय भएको भन्दै सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउनुपर्ने बताएका छन् ।
उनले देशभरका स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्नसमेत सरकारसँग माग गरेका छन्।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ३ जना तथा गण्डकी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना र कर्णालीमा ७ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गरिएको थियो । त्यसपछि अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी त्यहाँ रहेका सामानमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी