२०८३ श्रावण ६
२०८३ श्रावण ६

शिवनाथ कुशवाहा ,रौतहट, साउन ५।

अखिल (क्रान्तिकारी) रौतहटका जिल्ला सचिव रोहित जयसवालले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारको निर्णयलाई विद्यार्थी आन्दोलन, अभिभावक र आमनागरिकको संयुक्त दबाबको सकारात्मक परिणाम भएको बताएका छन्।

उनले सरकारको पछिल्लो निर्णयले जनभावनाको सम्मान गरेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा थप आर्थिक भार थोपर्ने नीति जनहितविपरीत हुने धारणा व्यक्त गरे।

जयसवालका अनुसार विद्यार्थीहरूको निरन्तर खबरदारी र आन्दोलनकै कारण सरकार आफ्नो निर्णय पुनर्विचार गर्न बाध्य भएको हो। उनले भने, “विद्यार्थी र नागरिकको एकताले सरकारलाई जनपक्षीय निर्णय लिन बाध्य बनाएको छ। यो संगठित आन्दोलनको सफलता हो।”

उनले भविष्यमा शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकमाथि अतिरिक्त आर्थिक बोझ पार्ने कुनै पनि नीति ल्याउने प्रयास भए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनीसमेत दिए।

साथै, सरकारले दुर्गम क्षेत्र, विपन्न, दलित तथा सिमान्तकृत समुदायका नागरिकलाई गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

अन्त्यमा जयसवालले “संघर्ष, खबरदारी र जनअधिकारको अभियान निरन्तर जारी रहनेछ,” भन्दै विद्यार्थी आन्दोलन जनताको हक, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रेसले प्रमुख तीन दलले प्रदेशमा एक साथ सरकार बनाउन नहुने अडान लिएपछि एमाले र नेकपा नजिकिएका हुन् ।

प्रदेशमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच छलफल भएको छ ।

नेकपा सचिव महेश बस्नेतले दुवै नेताको छलफलपछि प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिएका छन् । बस्नेतले यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्ने बताउदै वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरेका छन् ।

सातै प्रदेशमा सहकार्यको मोडल बारे अब छलफल टुंगिने नेताहरुले बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कोल्कोत्ता बन्दरगाहमा ३०,००० मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।

मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने १२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब आज नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि आज नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड भई प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ ।

बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकताअनुसार देशभर वितरण गरिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । आज जुलाई २२ अर्थात् विश्व मस्तिष्क दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मस्तिष्कसम्बन्धी रोगबारे जनचेतना फैलाउने, सामाजिक विभेद अन्त्य गर्ने र सबै नागरिकको उपचारमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस सन् २०१४ देखि विश्व स्नायु विज्ञान महासङ्घको पहलमा मनाउन थालिएको हो ।

यस वर्षको विश्व मस्तिष्क दिवसको नारा ‘सबैका लागि मस्तिष्क स्वास्थ्य’ रहेको छ । विश्वभर ३ अर्ब ४० करोडभन्दा बढी मानिस विभिन्न स्नायु तथा मस्तिष्कसम्बन्धी रोगबाट प्रभावित रहेको अवस्थामा उपचार सेवामा रहेको असमानता हटाउँदै सबैलाई समान अवसर उपलब्ध गराउने सन्देश यस वर्षको अभियानले दिएको छ ।

अभियानले समयमै रोग पहिचान, प्रारम्भिक उपचार, रोगको रोकथाम, स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरण तथा मस्तिष्क स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नीतिगत सुधारमा जोड दिएको छ। विशेषगरी दुर्गम तथा स्रोतसाधनको अभाव भएका क्षेत्रमा पनि गुणस्तरीय उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

विश्व स्नायु विज्ञान महासङ्घका अनुसार मस्तिष्कसम्बन्धी रोग विश्वमा अशक्तताको प्रमुख कारणमध्ये एक बनेको छ। त्यसैले उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी समस्याको नियन्त्रण, नियमित शारीरिक व्यायाम, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाउन सके दीर्घकालीन रूपमा मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण योगदान पुग्ने विज्ञहरूले बताएका छन्।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान  र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भू-भागका र सुदुरपश्चिम प्रदेशका पहाडी  र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन ६ गते बुधबार ईस २०२६ जुलाई २२ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, साध्य योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २१ मिनेटमा र सूर्यास्त साँझ ७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन सकारात्मक सोच र दृढ आत्मविश्वासका साथ अगाडि बढ्ने अवसर मिल्नेछ। बिहानदेखि नै कार्यक्षेत्रमा व्यस्तता बढे पनि तपाईंको मेहनतले राम्रो परिणाम दिनेछ। नयाँ योजना सुरु गर्न वा पुराना योजनालाई गति दिन समय अनुकूल रहनेछ। वरिष्ठ व्यक्तिको साथ र विश्वास प्राप्त हुँदा जिम्मेवारी पनि बढ्न सक्छ। व्यापार–व्यवसायमा विस्तारका सम्भावना देखिनेछन् भने आर्थिक रूपमा आम्दानी सन्तोषजनक रहनेछ। खर्चमा संयम अपनाउन सके बचत पनि बढ्नेछ। परिवारमा सुख, शान्ति र आपसी समझदारी कायम रहनेछ। जीवनसाथी वा प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त पानी पिउने र आराम गर्ने बानीलाई बेवास्ता नगर्नुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई धेरै क्षेत्रमा सफलता दिलाउनेछ। कार्यक्षेत्रमा पुराना प्रयासको सकारात्मक परिणाम देखिन थाल्नेछ। सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ र नयाँ अवसर पनि हात लाग्न सक्छ। आर्थिक अवस्था मजबुत बन्दै जाने संकेत छ। परिवारमा आत्मीयता बढ्नेछ र घरको वातावरण सुखद रहनेछ। आफन्तसँगको भेटघाट वा शुभ समाचारले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ र मानसिक शान्ति कायम रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशीलता, चतुर व्यवहार र प्रभावकारी बोलीले धेरैको मन जित्नेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ र आफ्नो क्षमता देखाउने मौका पनि मिल्नेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह तथा स्फूर्ति कायम रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारको साथ र सहयोगले तपाईंको मनोबल उच्च रहनेछ। घरमा खुसीको वातावरण रहनेछ र कुनै शुभ समाचार प्राप्त हुने सम्भावना पनि देखिन्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, लगनशीलता र जिम्मेवारीको प्रशंसा हुनेछ। रोकिएका कामहरू पूरा हुनेछन्। आर्थिक रूपमा सामान्य सुधार आउनेछ। नयाँ योजना बनाउन वा महत्त्वपूर्ण निर्णय लिन दिन अनुकूल रहनेछ। प्रियजनसँगको आत्मीय संवादले सम्बन्ध थप सुदृढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास, साहस र नेतृत्व क्षमताले तपाईंलाई नयाँ सफलता दिलाउनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत देखिन्छ। आर्थिक अवस्था बलियो बन्दै जानेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप बलियो बन्नेछ। साथीभाइसँगको छलफलबाट नयाँ योजना बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा पर्याप्त ऊर्जा रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय उपलब्धि प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। अनावश्यक खर्च घटाउन सके भविष्यका लागि राम्रो बचत गर्न सकिनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ ज्ञानले भविष्यमा प्रगतिको ढोका खोल्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित दिनचर्याले थप स्फूर्ति दिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभदायक अवसर दिलाउन सक्छ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि प्रसन्नता कायम रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले तपाईंलाई उल्लेखनीय सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो लगानी वा निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु उचित हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप प्रगाढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, आत्मविश्वास र उत्साहले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ योजना सुरु गर्न तथा भविष्यका लक्ष्य निर्धारण गर्न दिन निकै अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र मन उत्साहित रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। घरमा शान्त र सुखद वातावरण रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मविश्वास र सन्तुष्टि बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि ऊर्जा तथा स्फूर्ति कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना बलियो छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर प्राप्त हुने शुभ समाचारले मनमा नयाँ आशा, उत्साह र भविष्यप्रतिको विश्वास थप मजबुत बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।