२०८२ चैत्र २८
२०८२ चैत्र २८

आरके श्रीवास्तव,मधेस,२७ गते चैत । 

सप्तरी । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले कृषि शिक्षालाई समयअनुकूल, व्यवहारिक र गुणस्तरीय बनाउनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसहित मन्त्री तिवारीले सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा विश्वविद्यालयको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापन अवस्थाबारे विस्तृत जानकारी लिइएको थियो ।

अनुगमनपछि मन्त्री तिवारीले कृषि क्षेत्रको दिगो विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा प्रणालीलाई अझ व्यवहारिक बनाउनुपर्ने बताउनुभयो । “कृषि शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै गुणस्तरीय बनाउनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।

 

उहाँले विश्वविद्यालय प्रशासन, शिक्षक तथा सम्बन्धित सरोकारवालाहरूलाई विद्यार्थीहरूलाई उत्कृष्ट र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न सक्रिय र जिम्मेवार ढंगले काम गर्न आग्रह गर्नुभयो । साथै, मधेश प्रदेश सरकार कृषि तथा शिक्षाको समग्र विकासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

यस अवसरमा मुख्यमन्त्री यादवले प्रदेश सरकार शिक्षा र कृषि क्षेत्रको सुदृढीकरणमा प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै आवश्यक नीति तथा स्रोत व्यवस्थापनमा सरकार सधैं तत्पर रहने धारणा व्यक्त गर्नुभयो ।

 

अनुगमन टोलीले विश्वविद्यालयको सुधारका लागि आवश्यक सुझाव तथा निर्देशनसमेत दिएको थियो ।

आरके श्रीवास्तव,राैतहट,२७ गते चैत । 

रौतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ स्थित स्वास्थ्य चौकीमा कर्मचारीहरूको लापरवाही पुनः देखिएको छ । सरकारले तोकेको कार्यालय समय बिहान ९ बजेदेखि लागू भइसके पनि शुक्रबार बिहान १० बजेसम्म स्वास्थ्य चौकीको मूल गेटमै ताल्चा लागेको अवस्थामा भेटिएको हो ।

कार्यवाहक नगरप्रमुख अम्बेया खातुन नेतृत्वको अनुगमन टोली स्वास्थ्य चौकी पुग्दा ल्याबमा कार्यरत एक कर्मचारी रामईश्वर साह बाहेक अन्य कोही पनि उपस्थित थिएनन् । उक्त स्वास्थ्य संस्थामा कुल ८ जना कर्मचारी कार्यरत रहेकामा ६ जना अनुपस्थित रहेको पाइएपछि उनीहरूको हाजिरी काटिएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले चैत २३ गतेदेखि लागू हुने गरी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय निर्धारण गरेको छ भने हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ । तर, सो व्यवस्था कार्यान्वयनमा भने उक्त स्वास्थ्य चौकीमा लापरवाही देखिएको छ ।

यसअघि पनि कार्यवाहक नगरप्रमुख खातुनको टोलीले अनुगमन गर्दा कर्मचारीहरू समयमा उपस्थित नभएपछि चेतावनी दिइएको थियो । पटक–पटक निर्देशन दिँदा पनि सुधार नआएपछि यसपटक कडा कदमस्वरूप हाजिरी काटिएको जनाइएको छ ।

अनुगमनका क्रममा प्रदेश सांसद प्रत्याशी मोहम्मद सेराज समेत सहभागी थिए ।

यता स्वास्थ्य चौकीका इन्चार्ज रघुनाथ साहले भने कर्मचारीहरूको ढिलाइलाई सामान्य ठहर गर्दै “गाउँघरको अवस्था भएकाले खाना खाएर आउँदा अलि ढिलो हुन सक्छ” भन्ने प्रतिक्रिया दिएका छन् । तर स्थानीय तहका जनप्रतिनिधिहरूले भने यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहार अस्वीकार्य रहेको बताएका छन् ।

स्थानीयवासीहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीहरूको लापरवाहीले सेवाग्राही मारमा परेको गुनासो गरेका छन् । उनीहरूले नियमित र जिम्मेवार सेवा सुनिश्चित गर्न कडा अनुगमन र कारबाही आवश्यक रहेको बताएका छन् ।

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।