आरके श्रीवास्तव,राैतहट,०६ गते फाल्गुन ।
रौतहट । आगामी प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार गोविन्द चौधरीले बुधबार फतुवा विजयपुर नगरपालिकाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
उम्मेदवार चौधरीले फतुवा विजयपुर नगरपालिका अन्तर्गत सन्तपुर, पेटभर्वा र रामदासी क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गर्दै चुनावी माहोल तताएका हुन् । घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता र विकासका योजनाबारे जानकारी गराएका थिए ।

सो अवसरमा चौधरीले आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘छाता’मा मतदान गरी सहयोग गर्न मतदातासँग अपिल गरेका थिए । उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो कार्यक्रममा सहभागी मतदाताहरूले उम्मेदवार चौधरीलाई स्वागत गर्दै ‘छाताछाप जिन्दावाद’ का नारा लगाएका थिए । स्थानीयले चौधरीसँग खुला रूपमा समस्या तथा अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएको अभियान टोलीले जनाएको छ ।

चुनाव नजिकिँदै जाँदा रौतहट–३ मा उम्मेदवारहरूको घरदैलो र भेटघाट कार्यक्रम तीव्र बन्दै गएको देखिएको छ ।
रामअधार प्रसाद यादव,राैतहट,०६ गते फाल्गुन ।
राैतहट — प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिस्ट पार्टी की उम्मेदवार पुनम यादवले आफ्नो निर्वाचन क्षेत्रका मुख्य एजेन्डा सार्वजनिक गरेकी छन् ।
घरदैलो अभियानअन्तर्गत शिवनगरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै यादवले क्षेत्रमै क्यान्सर अस्पताल स्थापना गर्ने तथा आगामी पाँच वर्षभित्र १५ हजार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताइन् । उनले पार्टीको प्रतिबद्धता पत्रसमेत सार्वजनिक भइसकेको जानकारी दिँदै विकास र रोजगारी केन्द्रित योजना लिएर जनतामाझ पुगेको उल्लेख गरिन् ।
यसै क्रममा महम्मदपुरमा भएको घटनाबारे प्रतिक्रिया दिँदै यादवले आफूलाई ठूलो विरासत भएको ठान्ने व्यक्तिहरूको समय सकिएको टिप्पणी गरिन् । “यो क्षेत्रमा गुण्डाराज होइन, जनताको राज चल्छ,” उनले भनिन् । साथै एक मन्त्री नेताको अभिव्यक्ति शैली उपयुक्त नभएको संकेतसमेत गरिन् ।
घरदैलो अभियानका क्रममा जनताबाट सकारात्मक साथ र समर्थन पाइरहेको दाबी गर्दै यादवले मतदाताले जितका लागि आश्वासन दिइरहेको बताइन् । महिला उम्मेदवारका रूपमा कुनै विशेष चुनौती नरहेको स्पष्ट पार्दै उनले समान प्रतिस्पर्धाका आधारमा चुनावी मैदानमा उत्रिएको धारणा व्यक्त गरिन् ।