२०८२ फाल्गुन ६
२०८२ फाल्गुन ६

 

काठमाडौं, १ फागुन । आम जनता पार्टी (आजपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ पत्रकार एवं नेता ऋषिराज धमला, सहअध्यक्ष तिलक थापामगर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभुत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सारेको छ । यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता जनाएको छ ।

प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ । पार्टीले सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरेको छ । पार्टीले गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ ।

भ्रष्टाचार नियन्त्रणमा विशेष कानूनी संरचना र न्यायालयको पूर्ण डिजिटलीकरण
पार्टीले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिबद्धता जनाएको छ । मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने, नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पत्ति जफत गरी कडा कारबाही, न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना पार्टीले अघि सारेको छ ।

रोजगारीको ग्यारेन्टी
पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । हरेक विद्यार्थीले अनिवार्य रूपमा कम्तीमा एक उच्च प्राविधिक सीप सिक्नुपर्ने व्यवस्थाको ग्यारेन्टी गर्ने सार्वजनिक घोषणापत्रका उल्लेख छ ।

शिक्षा, स्वास्थ्य र आधारभुत सेवा निःशुल्क
पार्टीले पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता आम जनता पार्टीले जनाएको छ ।

पूर्वाधार, ऊर्जा र आवास
पार्टीले मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधिको निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना घोषणापत्रमा समावेश छ । विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्राण्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने दाबी आम जनता पार्टीको छ । पार्टीले भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,०१ गते फाल्गुन । 

रौतहट । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै रौतहट क्षेत्र नम्बर–३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेको छ । यसै सन्दर्भमा (जसपा नेपाल) का प्रतिनिधि सभा सदस्य उम्मेदवार ले गुजरा नगरपालिका–३ सिमरामा मतदाता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्नुभएको छ ।

कार्यक्रमका क्रममा सिमराका आम जनता पार्टीका नेता तथा वडा प्रत्याशी उमाशंकर प्रसाद तिवारी आफ्ना सयौँ समर्थकसहित जसपा नेपालमा प्रवेश गर्नुभएको छ । त्यस्तै, गुजरा नगरपालिकाको मेयर पदकी प्रत्याशी रहेकी नेतृ राजेश्वरी बन्ठा पनि दर्जनौँ महिलासहित जसपा नेपालमा समाहित हुनुभएको बताइएको छ ।

नवप्रवेशीहरूलाई उम्मेदवार गोविन्द चौधरी तथा पूजा चौधरीले माला, टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा नेताहरूले नवआगन्तुकहरूलाई बधाई दिँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य चुल्हाई राय यादव, गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी, जननिर्वाचन परिचालन समितिका संयोजक रामप्रवेश दास ,रामदरेश दास लगायतका नेताहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले क्षेत्रीय विकास, सुशासन र समावेशी राजनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै छाता चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आह्वान गरेका थिए ।

रौतहट–३ मा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गर्न थालेसँगै चुनावी वातावरण झन् सक्रिय र उत्साहपूर्ण बन्दै गएको स्थानीयहरूले बताएका छन् ।

बज्जिकाञ्चल संवाददाता,बारा,फाल्गुन १ गते । 

आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं १का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले गरिब, दलित तथा भूमिहीन समुदायको जीवनस्तर सुधार गर्ने स्पष्ट एजेन्डासहित चुनावी अभियानलाई तीव्रता दिएका छन्।
आज शुक्रबार बारा गढी गाउँपालिकाको मलाही र दौर्वा गाउँमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी हुँदै उनले जनताको वास्तविक समस्या बुझ्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
उम्मेदवार यादवले भने, “गरिबलाई आवास र भूमिहीनलाई जमिन दिनु हाम्रो प्राथमिकता हो। जबसम्म जनताको आधारभूत अधिकार सुनिश्चित हुँदैन, तबसम्म समृद्धि र विकास सम्भव हुँदैन। आम जनता पार्टी जनताको अधिकारका लागि संघर्ष गर्ने पार्टी हो।” उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि उत्पादन, सिंचाइ, सडक, युवा स्वरोजगार तथा स्थानीय विकासलाई प्राथमिकतामा राखेर जनमुखी सरकार निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।


कार्यक्रमका क्रममा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्या, किसानका पीडा, बेरोजगारी र गरिबीका मुद्दा संसदमा उठाउने दृढ संकल्प व्यक्त गरे।
स्थानीय मतदाताले पनि घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै जनताको मुद्दा उठाउने उम्मेदवारलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्। आजपा उम्मेदवार यादवले बारा निर्वाचन क्षेत्र नं. १ मा “अबकी बार जनता सरकार” नारासहित परिवर्तनको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्‍याउँदै जनसमर्थन विस्तार गर्ने अभियान जारी रहेको बताए।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०१ गते फाल्गुन । 

राैतहटकाे ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय औरैयाकाे प्रधानाध्यापक भीखर प्रसादलाई आज सम्मान तथा बिदाई गरिएकाे छ । शिक्षण पेशाबाट अनिवार्य अवकाश हुनु भएकाे प्रधानाध्यापक प्रसादलाई आज एक कार्यक्रमकाे बिच सम्मान तथा बिदाई गरिएकाे हाे ।

ईशनाथ नगरपालिकाकी नगर प्रमुख काैशल्या देवीकाे प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा आज सम्पन्न कार्यक्रम मार्फत वहाँकाे सम्मान तथा बिदाई गरिएकाे विद्यालयकाे शिक्षक संजय कुमार यादवले जानकारी दिनु भयाे । माध्यमिक तहकाे गणित शिक्षककाे रूपमा शिक्षण सेवामा प्रवेश गर्नु भएकाे वहाँ अस्थायी र स्थाथी गरी झण्डै २९ वर्ष सेवा गरी अनिवार्य अवकाश हुनु भएकाे हाे ।

विद्यालयकाे माध्यमिक तहकाे सामाजिक शिक्षक राम विश्वास मुखियाले सञ्चालन गर्नु भएकाे साे कार्यक्रममा ईशनाथ नगरपालिकाकाे याेजना शाखा प्रमुख इशराजुल खान, शिक्षा शाखाकाे निरंजन सिन्हा, स्थानीय समाजसेवी डा• निरज सिन्हा, प्रमोद कुमार यादव, विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष लालबाबु प्रसाद यादव, पूर्व अध्यक्ष रामवचन साह, वि व्य स सदस्य नारायण महताे, चन्दा देवी, मा वि डुमरियाकाे प्रधानाध्यापक दिपक मेहता, मा वि घिउराकाे प्रधानाध्यापक चन्देश्वर यादव, मा वि मठियाकाे प्रधानाध्यापक अरविन्द साह, मा वि बन्जरहाकाे प्रधानाध्यापक नारायण साह लगायतकाे विशेष उपस्थित रहेकाे थियाे ।

अवकाश हुनु भएकाे प्रधानाध्यापक प्रसादकाे याेगदानकाे कदर गर्दै विद्यालय परिवार र विद्यार्थीहरूले अबिर, फूलमाला र गम्छा ओढाएर सम्मान गरेकाे थियाे । विद्यालयकाे माध्यमिक तहकाे विज्ञान शिक्षक खुर्शिद आलममे स्वागत् मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा बाेल्ने बक्ताहरूले प्रधानाध्यापक भीखर प्रसादकाे शिक्षा र विद्यालयप्रतिकाे याेगदान तथा सेवा भागकाे खुलेर प्रशंसा गरेकाे थियाे।

कार्यक्रमकाे समापन पछि वहाँलाई विद्यालयकाे शिक्षक तथा विद्यार्थीहरूले स- सम्मान घरसम्मै पुर्याएकाे थियाे ।

आरके श्रीवास्तव, रौतहट,०१ गते फाल्गुन ।

राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले आज गरूडा नगरपालिका–५ महम्मदपुरमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

मेयर प्रत्यासी अनिल यादवको नेतृत्वमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो । घरदैलोका क्रममा मतदाताहरूले “तपाईं चुनावमा नहुँदा हामी अलगअलग थियौं, तपाईं आएपछि फेरि एकजुट हुन थालेका छौं” भन्दै समर्थन व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले आफू ३५ वर्षअघि ‘आम छाप’ बाट चुनाव जितेको स्मरण गर्दै अहिले ‘छाता’ चुनाव चिन्ह लिएर जनताको सेवामा पुनः आएको बताए । “विगतमा जस्तै अहिले पनि जनताको भरोसा र एकताले नै जित सुनिश्चित गर्छ,” उनले भने ।

उक्त कार्यक्रममा जसपा नेपालका नेता चुल्हाई राय यादव सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस्तै गुजरा नगरपालिकाकाे वडा नम्बर ३ बलुआ टाेलमा उम्मेदवार चाैधरी मतदाताहरू सँग भेटघाट गरेका छन् ।

रौतहट–३ मा चौधरीको सक्रियता बढेसँगै चुनावी माहोल थप तातेको स्थानीयहरू बताउँछन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।