प्रेमचन्द्र झा,राैतहट,माघ २४ गते ।
रौतहट। रौतहट क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार अशोक जयसवाल यतिबेला चुनावी चर्चाको केन्द्रमा रहनुभएको छ। हालै गठन भएको प्रलोपा पार्टीमा अध्यक्ष परिषद्का सदस्यसमेत रहनुभएका जयसवालले वैकल्पिक राजनीति, सुशासन र भ्रष्टाचारविरुद्धको एजेन्डाका कारण स्थानीय मतदाताको ध्यान तान्न सफल देखिनुभएको छ।
लामो समयदेखि पुराना राजनीतिक दलहरूको प्रभावमा रहेको रौतहट–२ मा पछिल्लो समय मतदाताहरूमा असन्तुष्टि बढ्दै गएको देखिन्छ। यही परिस्थितिमा जयसवालले अघि सारेको नयाँ वैकल्पिक शक्तिको अवधारणाले विशेष गरी युवा र सचेत मतदातालाई आकर्षित गरेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
जयसवाल माओवादी जनयुद्धका शहीद परिवारका सदस्य हुनुहुन्छ। माओवादी पार्टी परित्याग गरी नयाँ राजनीतिक धार निर्माणमा सक्रिय भएकाले स्थानीयस्तरमा उहाँलाई ‘विद्रोही’ र ‘परिवर्तनको संवाहक’का रूपमा हेरिएको छ। त्याग र राजनीतिक पृष्ठभूमिले उहाँप्रति सहानुभूति र विश्वास बढाएको बताइन्छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले सार्वजनिक गरेको ८ बुँदे संकल्प र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिले पनि मतदातामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ। जयसवालको नेतृत्वमा भइरहेका चुनावी सभाहरूमा भ्रष्टाचारमुक्त प्रशासन, प्रशासनिक ढिलासुस्तीको अन्त्य, र शहीद परिवारको सम्मान जस्ता मुद्दा प्राथमिकताका साथ उठाइँदै आएका छन्।
वैकल्पिक राजनीतिक धारलाई मजबुत बनाउने क्रममा बाबुराम भट्टराई र जनार्दन शर्मा जस्ता नेताहरूको वैचारिक समर्थन तथा रास्वपाका पूर्व नेता सन्तोष परियारसँगको सहकार्यले युवाहरू ‘आँखा’ चुनाव चिह्नप्रति आकर्षित भएको देखिन्छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसपटक रौतहट–२ मा अघिल्लो निर्वाचनका विजेता किरण साहसहित पुराना राजनीतिक शक्तिहरूलाई जयसवालले कडा टक्कर दिने सम्भावना देखिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा जयसवालले घरदैलो अभियानलाई तीव्र बनाउँदै प्रत्येक गाउँमा संगठन विस्तार गरिरहनुभएको छ।
चुनावी माहोल तातिँदै जाँदा रौतहट–२ मा वैकल्पिक राजनीतिले कस्तो परिणाम ल्याउने हो भन्ने चासो बढ्दो छ।
रामशरण यादव,बारा ,माघ २४ गते ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका लागि यस पटक कडा त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच मुख्य भिडन्त केन्द्रित हुँदै गएको आम मतदाता बुझाइ रहेको छ। आम जनता पार्टीबाट विजय यादव उम्मेदवार रहनु भएको छ, भने नेकपा एमालेबाट अच्युत मैलानी र नेपाली कांग्रेसबाट सम्भु बहादुर बुढाथोकी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। तीनै दलका उम्मेदवारहरू प्रभावशाली र क्षेत्रीय रूपमा परिचित भएकाले बारा–१ को चुनाव अत्यन्तै प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ।
चुनावी अभियान तीव्र बन्दै जाँदा उम्मेदवारहरू घरदैलो अभियान, जनसम्पर्क तथा संगठन विस्तारमा सक्रिय देखिएका छन्। मतदाताबीच विकास निर्माण, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक तथा सिंचाइ जस्ता विषय प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार बारा–१ मा कुनै पनि दललाई सहज जित सुनिश्चित नभएको र अन्तिम समयसम्म मत परिणाम अनिश्चित रहने सम्भावना उच्च छ। त्रीपक्षीय प्रतिस्पर्धाले मत विभाजन हुने र अन्तिम नतिजा निकै रोचक हुने अनुमान गरिएको छ।
स्थानीय मतदाताले यस पटक उम्मेदवारको विगतको कार्यसम्पादन, पार्टी नीति, विकास प्रतिबद्धता र जनतासँगको सम्बन्धलाई आधार बनाएर मतदान गर्ने तयारी गरिरहेका छन्।
बज्जिकाञ्चल संवाददाता,सर्लाही, माघ २४ गते ।
देशमा विद्यमान राजनीतिक निराशा र परिवर्तनको तीव्र चाहनाबीच नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाप्रति सर्लाहीका युवामाझ उल्लेख्य मात्र होइन, अभूतपूर्व आकर्षण देखिन थालेको छ। युवापुस्ताले “अब की बार, गगन सरकार” भन्ने नारालाई केवल नारा मात्र नभई अभियानकै रूपमा अघि बढाउँदै उनलाई भावी नेतृत्वको रूपमा स्वीकार गर्न थालेका छन्।
शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता आम नागरिकसँग प्रत्यक्ष जोडिएका विषयमा स्पष्ट, साहसी र प्रगतिशील धारणा राख्दै आएका थापाले युवाको भरोसा जित्दै गएको स्थानीय युवाहरूको भनाइ छ। पारदर्शी शासनप्रणाली, भ्रष्टाचारविरुद्धको अडान र पुरानो राजनीतिक संस्कृतिको विकल्प खोज्ने दृढ इच्छाशक्तिका कारण गगन थापा आज युवापुस्ताको आशा र विश्वासको केन्द्रमा उभिएका छन्।
सर्लाहीका विभिन्न पालिका, गाउँ तथा शहरी बस्तीहरूमा युवाहरूबीच भइरहेको राजनीतिक छलफल, भेटघाट र संवादमा गगन थापाको नेतृत्वबारे सकारात्मक बहस तीव्र बन्दै गएको छ। “अब भाषण होइन, परिणाम देखिने नेतृत्व चाहिन्छ” भन्ने धारणा युवामाझ दिनानुदिन बलियो हुँदै गएको देखिन्छ।
मधेश प्रदेश सरकारका पूर्व मन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहको आफ्नै निर्वाचन क्षेत्र रहेको सर्लाहीमा नेपाली कांग्रेसको परम्परागत बलियो पकड रहेको नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार–प्रचार प्रसार विभागका सचिव निकेश त्रिपाठीले बताए। उनका अनुसार सर्लाहीमा पार्टीप्रति जनविश्वास कायमै रहँदा गगन थापाको नेतृत्वप्रतिको आकर्षणले संगठनलाई थप उर्जाशील बनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार सर्लाहीमा देखिएको युवाको यो उत्साह केवल कुनै एक व्यक्तिप्रतिको समर्थनमा सीमित छैन, बरु यो समग्र राजनीतिक परिवर्तनको संकेत हो। युवाको बढ्दो सक्रियता र चासोले जिल्लाको राजनीतिक वातावरण नयाँ दिशा र बहसतर्फ मोडिन थालेको उनीहरूको विश्लेषण छ।
युवाको निरन्तर समर्थन, बढ्दो जनचासो र स्थानीय तहसम्म फैलिँदै गएको अभियानसँगै सर्लाहीमा ‘अब की बार, गगन सरकार’ भन्ने नारा दिनप्रतिदिन थप व्यापक बन्दै गएको छ। यसले आगामी दिनमा जिल्लाको मात्र होइन, समग्र राष्ट्रिय राजनीतिक समीकरणमा समेत महत्वपूर्ण प्रभाव पार्ने आँकलन गरिएको छ।
आरके श्रीवास्तव,राैतहट,२४ गते माघ ।
रौतहट जिल्लाको गुजरा नगरपालिकामा आगामी निर्वाचनलाई लक्षित गर्दै नगरस्तरीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको छ । पूर्व वडा अध्यक्ष मो. आरिफ मिया दर्जीको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिले जनता समाजवादी पार्टी नेपाल राैतहट क्षेत्र नं. ३ का लोकप्रिय उम्मेदवार गोविन्द चौधरीलाई छाता छापमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउने उद्देश्य लिएको छ । संघीयता, समावेशिता तथा मधेशका सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्न र जनताको सशक्त आवाज संसदसम्म पुर्याउने लक्ष्यसहित समिति गठन गरिएको जसपा नेपालका युवा नेता पुनित रामले जानकारी गराएका हुन् ।

नवगठित समितिले घरदैलो अभियान, जनसम्पर्क, प्रचार–प्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ । स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउँदै मतदातालाई सचेत गराउने कामलाई प्राथमिकतामा राखिने समितिका पदाधिकारीहरूले बताएका छन् ।
समितिका अध्यक्ष मो. आरिफ मिया दर्जीले लोकतन्त्र सुदृढीकरण र जनअधिकारको संरक्षणका लागि उम्मेदवार गोविन्द चौधरीको विजय आवश्यक रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अभियानमा जुट्न आग्रह गर्नुभयो ।
आरके श्रीवास्तव,राैतहट,२३ गते माघ ।
रौतहट । फतुवा बिजयपुर नगरपालिका–२ शितलपुरस्थित दलित टोलमा सडक ढलान सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू खुशी भएका छन् । वडा स्तरीय योजना अन्तर्गत सम्पन्न भएको सडक ढलानले वर्षौंदेखि रहेको आवतजावतको समस्या समाधान भएको स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष अनिरुद्ध यादव सञ्जयको सक्रिय पहल र लगनशीलतामा उक्त सडक ढलान गरिएको हो । सडक ढलान सम्पन्न भएपछि स्थानीयहरूले वडा अध्यक्ष यादवलाई धन्यवाद दिएका छन् ।

वडा अध्यक्ष यादव निर्वाचित भएलगत्तै सो टोलको सडकमा ग्राभेल हालेर अस्थायी रूपमा भए पनि आवागमन सहज बनाएका थिए । त्यस समयमा उनले दलित टोलका बासिन्दासँग पक्की सडक निर्माण गर्ने वाचा गरेका थिए, जुन वाचा उनले अहिले पूरा गरेका छन् ।
सडक ढलानपछि दलित टोलका बासिन्दाहरूले वर्षायाममा हिलो र धुलोका कारण भोग्नुपरेको समस्याबाट राहत पाएको बताएका छन् । स्थानीयका अनुसार अब विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावत गर्न सहज भएको छ ।
सडक ढलानपछि प्रतिक्रिया दिँदै वडा अध्यक्ष अनिरुद्ध यादव सञ्जयले भने,
“वडाका सबै समुदायको समान विकास मेरो प्राथमिकता हो । निर्वाचनका बेला जनतासँग गरेका वाचा पूरा गर्नु मेरो दायित्व हो । शितलपुर दलित टोलका बासिन्दाले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न पाउँदा म खुशी छु । आगामी दिनमा पनि आवश्यकताका आधारमा पूर्वाधार विकासका काम निरन्तर अघि बढाइनेछ ।”
अभिमनु पटेल,रौतहट, २३ माघ ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जनप्रतिनिधिद्वारा कर्मचारीमाथि गम्भीर दुर्व्यवहार भएको आरोप लागेको छ।
नगरपालिकाका मेयर प्रदीप राय यादवले आफ्नै पालिकामा कार्यरत एक स्वास्थ्यकर्मीलाई कुटपिट तथा गालीगलौज गर्दै करिब एक घण्टासम्म शौचालयमा थुनेको घटना सार्वजनिक भएको हो।
घटनामा बौधिमाई नगरपालिका वडा नम्बर- ६, पिपरिया टोलस्थित स्वास्थ्य चौकीमा कार्यरत पाँचौँ तहका सिएमए (CMA) स्वास्थ्यकर्मी अनिल साह पीडित भएका छन्।
सर्लाहीको बसवरिया गाउँपालिका- गोनरवाका स्थायी बासिन्दा साहलाई क्षयरोगसम्बन्धी एक औषधि नगर प्रहरीलाई नदिएको भन्दै मेयर यादवले अशोभनीय शब्द प्रयोग गर्दै कुटपिट गरेको र पदको दुरुपयोग गरी शौचालयमा बाहिरबाट ढोका बन्द गरेर थुनेको आरोप पीडितले लगाएका छन्।
करिब एक घण्टापछि त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूको पहलमा साहलाई शौचालयबाट बाहिर निकालिएको थियो। त्यसपछि मेयर यादव र स्वास्थ्यकर्मी साहबीच दुबै तर्फबाट हातपात तथा गालीगलौज भएको पीडित पक्षको भनाइ छ। स्थानीयका अनुसार मेयर यादव विगत पौने चार वर्षको कार्यकालमा पटकपटक विवादमा मुछिँदै आएका छन्।
उनले यसअघि पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, सचिव, जिन्सी शाखा प्रमुख र पशु शाखा प्रमुख लगायत कर्मचारीहरूलाई कुटपिट, दुर्व्यवहार, कोठा तथा शौचालयमा थुन्ने जस्ता घटनाहरूमा संलग्न भएको आरोप लाग्दै आएको छ।
स्थानीय तहलाई जनताको हकअधिकार सुनिश्चित गर्ने थलो बनाउनु पर्ने भएपनि बौधिमाई नगरपालिकामा विकासभन्दा बढी विवाद, मुद्दा, झगडा र त्रासको वातावरण सिर्जना भएको पीडित पक्षको गुनासो छ। मेयरले पदको धाकधम्की देखाएर सर्वसाधारण र कर्मचारीलाई तर्साउने, सामान्य विषयमा पनि विपक्षीमाथि मुद्दा दर्ता गराउने, आफूअनुकूल नचल्ने कर्मचारीमाथि तानाशाही शैली अपनाउने गरेको आरोप लगाइएको छ।
घटनाका क्रममा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, सहसंयोजक, उपप्रमुख, वडा अध्यक्ष मुक्तिनारायण, नरेन्द्र कुमार सिन्हा तथा नगर प्रहरीको उपस्थितिमा समेत मेयरको व्यवहारको खुलेर विरोध गर्न कसैले साहस गर्न नसकेको भन्दै पीडित अनिल साहले आफू अत्यन्त पीडित र दुखित भएको बताएका छन्। यस विषयमा नगर प्रमुख यादव सँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन् सकेन् ।