काठमाडौँ,२७ गते पुस ।
नेपाली राजनीतिक इतिहासमा आज एक महत्वपूर्ण मोड आएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा, नेपाल) बीच औपचारिक एकीकरण सम्पन्न भएको छ । लामो समयदेखि अलग–अलग धारमा रहेका मधेश केन्द्रित दुई प्रमुख शक्तिहरूको यो एकीकरणलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ । पार्टीको चुनाव चिन्ह छाता रहनेछ भने झण्डा रातो, सेतो र हरियो रंगको रहने सहमति भएको छ, जुन यसअघि लोसपा, नेपालले प्रयोग गर्दै आएको झण्डा हो । झण्डाको बीच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ ।
एकीकरणसँगै महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने सहमति भएको छ ।

मिति २०८२ साल पुस १३ गते दुवै पार्टीबीच सहमति भई एकीकरण गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही विज्ञप्तिलाई आधार मानी एकीकरण प्रक्रिया अगाडि बढाइएको हो। एकीकरणसम्बन्धी सम्पूर्ण प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुन अनुसार सञ्चालन गरिने उल्लेख गरिएको छ।

एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । सो समितिले पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णय गर्ने अधिकार पाउनेछ । साथै, समितिले आफ्नै सदस्यहरूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ।
दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको सर्वोच्च निर्णायक निकाय रहनेछ । पार्टी मातहतका सबै तहका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू केन्द्रीय समन्वय समितिको निर्णयअनुसार जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही क्रियाशील रहनेछन् ।

आगामी मिति २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन का लागि पेश गरिने उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति भएको छ ।
केन्द्रीय समन्वय समितिमा महन्थ ठाकुर, उपेन्द्र यादवसहित विभिन्न समुदाय, क्षेत्र र पृष्ठभूमिका ४३ जना नेताहरूलाई समेटिएको छ, जसले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

यो एकीकरणले मधेश आन्दोलन, समावेशिता, संघीयता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ । विभाजित शक्तिहरू एक ठाउँमा आउँदा राष्ट्रिय राजनीतिमा जनता समाजवादी पार्टी, नेपालको भूमिका थप प्रभावशाली हुने नेताहरूको दाबी छ ।
आज सम्पन्न यो एकीकरणलाई मधेश केन्द्रित राजनीतिमा नयाँ अध्यायको सुरुआतका रूपमा हेरिएको छ ।
बनेपा, २६ पुस ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको कारण देखाएर २१ फागुनको निर्वाचन सार्ने षड्यन्त्र भईरहेको बताएका गरेका छन् ।
आज (शनिबार) काभ्रे जिल्लाको बनेपामा आयोजित आजपाको काभ्रे क्षेत्र नं. २ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले देश र जनता चुनावको मुडमा रहेको भन्दै अब बहानावाजी गरेर चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिए ।
‘म यहीँबाट प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु–देश र जनताले चुनाव चाहेका छन्, अहिले मुलुक विषम परिस्थितिमा गुज्रिएको छ, यस्तो बेलामा तोकिएकै समयमा निर्वाचन गराउनु हामी सबैको दायित्व हो, तर कुनै एक दलको आन्तरिक कलह, घरझगडा र महाधिवेशनको विवादलाई बहाना बनाएर चुनाव सार्ने काम भयो भने तपाईंको नाम इतिहासले कंलकको रुपमा बुझ्नेछ । नो इफ, नो बट, ईलेक्शन अन टाईम ईज द बेष्ट सोलुसन, यो कुरा याद गर्नुहोस,’ आजपा अध्यक्ष साहले भने ।
भदौ २३ गते कलिला युवाहरुमाथि ताकि–ताकि गोली हानेर हत्या गर्नेहरुसँगै नै वर्तमान सरकार र यसको नेतृत्वले साँठगाँठ गर्नु जेनजी जनविद्रोहको नै उपहास भएको टिप्पणी साहले गरे । उनले जेनजी जनविद्रोहमा दमन गर्ने तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा बोलाएर सुशीला कार्कीले गरेको सुलहले पनि जेनजी शहिद परिवारलाई चोट पुगेको बताए ।
जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तवरले देशको नेतृत्व गर्न पुगेकी सुशीला कार्कीलाई आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् । यस्तै, जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमालेलाई भने उनले दमनकारीको संज्ञा दिएका छन् । अहिले आन्दोलनको हाईज्याकर र दमनकारीबीच अस्वभाविक उठबसले जेनजी जनविद्रोहलाई समेत गिज्याएको उनको आरोप छ ।
चुनाव गराउने सरकारले बालुवाटारमा दमनकारी केपी ओलीलाई बोलाएर घण्टौं बहस गर्नु र न्यानो आतिथ्यता प्रदान गर्नु जेनजी शहिदहरुप्रतिको अपमान भएको साहको गुनासो छ । अहिले नेपाली कांग्रेसको महाधिवेशन विशेष कि नियमित भन्ने विवादलाई लिएर चुनाव सार्ने षड्यन्त्र हुन थालेको र त्यो षड्यन्त्रको तानाबाना बालुवाटारमा बुन्न खोजिएको आभाष भएको भन्दै साहले त्यस्तो दुस्साहस नगर्न पनि चेतावनी दिए ।
कुनैपनि बहानामा निर्वाचन सार्ने काम भयो भने सुशीला सरकारको औचित्य त्यही दिन समाप्त हुने उनको टिप्पणी छ । आजपा अध्यक्ष साहले भने, ‘जुन दिन यो सरकारले निर्वाचन सार्ने काम गर्छ, त्यही दिन यो सरकारको औचित्य समाप्त हुन्छ । देशको समय भनेको मजाक गर्ने कुरा होईन, कुनै दलविशेषको विवाद देखाएर यो सरकारले निर्वाचन सार्ने काम भयो भने प्रतिकार हुन्छ । सरकारमा भएकाहरुले आफ्नो झोली–तुम्बा बोके हुन्छ । चुनावको मिति सार्ने अनि सरकारमै रजाईं गर्ने सोचेको हो भने त्यो दिवासपना हुनेछ । खबरदार, चुनाव तोकिएकै मितिमा गराउ ।’
फरक प्रसँगमा उनले देश अन्यन्तै जटिल मोडमा उभिएको र भू–राजनीतिक चलखेलसमेत बढ्दो अवस्थामा रहेको खतरा औंल्याएका छन् । उनले अब देशभक्त र परिवर्तन चाहने शक्तिहरुबीच एकताको खाँचो रहेको बताए । नयाँ र विकल्प दिन्छु भन्नेहरु नक्कली–नेता भएको र यिनीहरुले देशलाई कुनैपनि हालतमा पार लगाउन नसक्ने भन्दै साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको आलोचना गरे ।
उनले नयाँ भनिनेहरु कोही ठग, कोही अनाडी र कोही भ्रष्ट रहेको भन्दै उनीहरुले देशको संकट हल गर्न नसक्ने ठोकुवा गरे । देशलाई दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रबाट बाहिर निकाल्नका लागि आजपाले सुरुदेखि नै संघर्ष गरेकोले आफ्नो पार्टी सधैं जनताको पक्षमा उभिएको साहको दाबी छ । खराब संविधान र खराब व्यवस्थाको कारण मुलुकको अवस्थापनि खराब भएको उनको टिप्पणी छ । उनले अहिलेको संविधानले देशलाई कुनैपनि हालतमा निकास नदिने ठोकुवा समेत गरे ।
आरके श्रीवास्तव,मधेस,२६ गते पुस ।
जनकपुरधाम । महान सन्त रामानन्द स्वामी महाराजको शुभ जन्मोत्सवको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारकी शिक्षा मन्त्री रानी शर्मा तिवारी सहभागी हुनुभएको छ ।
शनिबार कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री तिवारीले रामानन्द स्वामीको शिक्षाले समाजमा समरसता, सहअस्तित्व र मानवीय मूल्यहरूको सन्देश फैलाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महान सन्त रामानन्द स्वामीज्यूका उपदेशहरूले समाजलाई आज पनि मार्गदर्शन गरिरहेका छन् । उहाँका विचारहरूले जात, वर्ग र समुदायबीचको विभाजन हटाउँदै आपसी सद्भाव र एकताको भावना बलियो बनाएको छ।”

शिक्षा मन्त्री तिवारीले सन्तहरूको शिक्षालाई वर्तमान पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउँदै नैतिक शिक्षा, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धनमा यस्ता शिक्षाको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।

जन्मोत्सव कार्यक्रम धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिसहित श्रद्धा र भक्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, धर्मगुरुहरू तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।